(आफ्नो सबै रचनाहरु एकै ठाँउमा राख्ने क्रममा, धेरै पहिला गोरखापत्रमा प्रकाशित यो लघुकथा टाँस्दैछु आज)
ऊ कारखानाको ईमान्दार कर्मचारी थियो । एकदिन कारखानालाई आगलागीबाट जोगाउने क्रममा उ नराम्रोसंग घाईते भयो । तल्लो तहको कर्मचारी भएको र उपचारार्थ विदेश पनि जानु पर्ने देखीएकोले उसले आफ्नो शाखा प्रमुख समक्ष उपचार खर्चको लागि निवेदन गर्यो । घटनाको प्रकृतिको गहन अध्ययन पश्चात् शिफ्ट ईन्चार्जबाट कार्यालय प्रमुखलाई खबर गरियो ।
संवेदनशील विषय भएकोले शाखाबाट सिफारिश सहितको टिप्पणी उठाइयो । उपचार खर्च बढी देखीएकोले हाकिम एक्लैले निर्णय गर्न आँट गरेनन् र उक्त विषयलाई बोर्ड बैठकबाट पारित गर्ने आश्वासन दिईयो ।
जरुरी कामको सिलसिलामा विदेश गएका बोर्ड अध्यक्षले फर्कनासाथ बैठक बोलाए। हचुवाको भरमा त्यत्रो रकम खर्च गर्दा आर्थीक अनियमितता बढ्न सक्ने संम्भाबना देखिएकोले अध्यक्षले घटनाको विस्तृत अनुसन्धान गरि प्रतिवेदन पेश गर्न यौटा समिति गठन गरे ।
समितिले तदारुकताका साथ दुई हप्ताभित्रमा आफ्नो निर्णय पीडित कर्मचारीको पक्षमा भएको प्रतिवेदन पेश गर्यो ।
यसरी दूर्घटना घटेको करिब दुई महिनापछि उसको उपचार खर्च सरकारले व्यहोर्ने निर्णय भयो, तर अत्यधिक पीडा र आर्थिक विपन्नताका कारण उपचार हुन नसकी एक हप्ता अगाडि नै उसको मृत्यु भैसकेको थियो ।
धन्यवाद दिलीपजी ,
ReplyDeleteसबै रचनाहरु एकै ठाउँ राख्ने तपाईंको प्रयासले यो लघुकथा पढ्न पाईयो । अझैपनि हाम्रो देशमा कुनै कारखाना होस या कार्यालय , कर्मचारीहरुको हक अनुशार यस्ता दुर्घटनामा पर्नेहरुको तत्काल उपचार गराउन सक्ने गरी न्यायोचित विमा गरिएको हुँदैन , अर्कोतिर आवश्यकता भन्दा ज्यादा सुबिधा पाउने हाकिमहरु तत्काल कुनै निर्णय गर्न नसकेर यस्तै बैठकहरुमा अल्मलिईरहन्छन् । तपाईंको कथा समय सापेक्ष छ अझैपनि र रहनेछ सायद अझै निक्कै लामो कालसम्म ।
पहिले प्रकाशति भइसकेका तर मैले नपढेका वा पढ्न नपाएका कथा तथा गजलहरु पढ्न पाउँदा साह्रै खुशी लागेको छ । खुशी यस अर्थमा पनि लागेको छ कि, मैले पनि लघूकथा लेख्ने आइडिया सिकिरा'छु दिलीप दाइ को कथाहरुबाट ।
ReplyDeleteअनि यो उपचार खर्च (कसलाई थाहा ? ) कथा मात्र नभइ एउटा वास्तविकता हो, नेपालको । ठोकुवा त गर्न सक्दिन, तर जहाँसम्म हिजो हिमालयन टाइम्स डटकम मा पढेअनुसार अस्ति गुण्डाहरुव्दारा घाइते बनाइएका सर्लाहीका ट्याक्सी चालक को पैसा को अभाव मा भिडियो एक्सरे सम्म पनि गर्न सकेनन् रे या भनौँ, हस्पिटलमा उपचार को सिलसिला मा करिब ५२० रुपैयाँ को अभाव मा उपचार अघि बढ्न सकेन रे ! उनको अस्तिकै दिन मृत्यु भैसकेको छ, उनका साथीहरुका अनुसार भिडियो एक्सरे गरेर उपचार अगाडि बढाइएको भए उनी बाँच्न पनि सक्थे रे !
जेहोस् थोरै रकम को अभाव मा ट्याक्सी ड्राइभरले ज्यान गुमाए तर अब उनलाई क्षतिपुर्ति दिने अनि हत्यारालाई कडा कार्वाही हुने सहमति भएको छ, हिजो ।
अनि तपाईको उपचार खर्चले पनि यस्तै वास्तविकता उकेल्छ । अनि अर्को कुरो के भने, मैले यस सम्बन्धि कथा लेखेँ तर कुरो ठ्याक्कै तपाईको कथा सँग मेल खान पुगेछ, अब के गरौँ त दिलीप दाइ ?
:)
दीपक जी!, आकार जी!
ReplyDeleteकमेण्ट र समाजको यथार्थताबारे दिनु भएको सूचनाको लाग धन्यबाद!
यो सत्य घटनामा आधारित त होईन तर दिन दिनै यस्ता घटना घटिरहेका हुन्छन पनि ।
आकार जी !
तपाई हामी यौटै समाजमा बस्छौं र त्यसको अध्यारो-उज्यालो दुबै पाटोलाई हेरेर नै हामी लेख्छौं । त्यसैले तपाईको कथा मेरो कथासंग मेल खान गएर धन्ना नमान्नुस, मज्जाले छपाउनुहोस कलेजको बुलेटिनमा अनि ब्लगमा पनि राख्नु होला, हाम्रो लागी। यौटै बिषयमा कलम चले पनि प्रतेक व्यक्तिको प्रस्तुतिमा आ-आफ्नै नविनता हुन्छन ।