मान्छे जन्मे पछि मर्नै पर्ने प्राकृतिक नियम छ भने मान्छे मरे पछि गरिने दाह संस्कार भने बिभिन्न जाति, समाज र स्थान बिशेषमा फरक फरक छन् । यसरी आ-आफ्नै प्रचलन र परम्परा अनुशार कतै मृत शरिरलाई जलाउने, कुनै जातिमा गाढ्ने र यदा कदा विश्वका कुनै कुनै स्थानमा पानीमा बगाउने प्रथा समेत रहेको पाईन्छ । तर नेपालको छिमेकि मुलुक चिनको श्वशासीत क्षेत्र तिब्बतमा यौटा अत्यन्तै भिन्न र सामान्य मानिसको सोच भन्दा बाहिरको प्रक्रियाबाट मृत शरिरको दाह संस्कार गरिन्छ ।
मृत शरिरलाई जमिनमुनी गाढेको मात्रै देखेका केहि बिदेशीहरुलाई हिन्दूहरुको अग्नि संस्कार समेत एकदमै असामान्य र हृदय बिदारक लाग्ने गरेको कुरा यदा कदा सुन्नमा आउने गरेको छ । तर मृत शरिरलाई खसी बोकाको मासु भाग लगाउन लाई काटे जस्तै गरी टुक्रा टुक्रा पारिन्छ र त्यति मात्रै नभई चिल गिद्धलाई आह्वान गरेर त्यो मृत शरिरको मासु खुवाईन्छ भन्ने कुरा पहिलो पटक सुन्दा सबैको आङ जिरिङ्ग हुनसक्छ र कसैलाई विश्वास नलाग्न पनि सक्छ । तर यो यौटा बास्तबिकता हो र यो संस्कार अहिले पनि बिद्यमान छ र यसलाई तिव्बतमा एकदमै सामान्य रुपमा लिईन्छ । मृत शरिरको संस्कार गर्ने यहि पद्दतिलाई 'आकास संस्कार' भनिन्छ ।
त्यसै पनि तिव्बती समाजमा गरिने मृत्यु पछिको दाह संस्कारको प्रक्रिया अलि जटिल र अन्य बाह्य जगतको भन्दा अत्यन्त भिन्न र अबुझ देखिन्छ, त्यसमा पनि शरिर नष्ट गरिने यो आकास संस्कारको प्रक्रिया बाह्य समाजलाई झनै असामान्य र बिचित्र देखिन्छ ।
मानिसको मृत्यु पछि यो संस्कारको शुरु हुन्छ र सबैभन्दा पहिला आकास संस्कार गरिने मृत शरिरलाई आकास संस्कार गर्ने तैयारिको लागी सफा गर्ने कार्य हुन्छ । यो सफा गर्ने कार्यमा साधारण पानीको मात्रै नभई बिभिन्न सुगन्धित पदार्थहरु, केशर, कपुर आदि प्रयोग गरिन्छ । त्यसपछि कुनै रेङपोछे वा आफ्नो धर्म गुरुले बताएको दिनको बिहानै मृत शरिरलाई आकास संस्कार गर्ने स्थानमा पुर्याईन्छ । तिव्वतमा आकास संस्कार गरिने स्थानहरु प्रायजसो ठूला ठूला ढुङ्गा वा चट्टान भएको अलि अनकण्टार ठाँउमा रहेकाछन र ति मध्यका केहि स्थानमा म पुगेको पनि छु।
पुरै तिव्वत भरि यस्तो आकास संस्कार गर्ने कति वटा स्थान छन् भन्ने बारेमा पक्का तथ्याङ्क नभए पनि हाल प्रयोगमा रहेका र नरहेका समेत गनेर हेर्दा यस्ता स्थानहरु सयौंको संख्यामा रहेको बताईन्छ । मानव बस्ति भएको प्रायः सबै ठाउँमा र कतै कतै घना बस्ति भएको ठाँउमा भने एक भन्दा वढि यस्ता "संस्कार शिला" रहेका छन
यसरि आकास संस्कार गर्दा मृत व्यक्तिका एकै परिवारका व्यक्ति त्यस स्थानमा जादैंनन् र टाढाका नातेदार र छर छिमेकहरु मात्रै यस संस्कार कार्यको मलामीमा सहभागी हुन्छन् । यसरि आकास संस्कार गरिने प्रत्येक संस्कार स्थलमा मृत शरिरलाई काटेर टुक्रा पार्ने र चिल गिद्धलाई खुवाउने कामको लागी छुट्टै व्यक्ति हुन्छन् र तिनलाई "संस्कारक" भनिन्छ ।
मृत शरिरलाई आकास संस्कार गरिने स्थानमा पुर्याए पछि पहिला बोक्ने मलामी र संस्कारकलाई मृत व्यक्तिको घरबाट ल्याईएको नून चिया, चम्पा (एक प्रकारको सत्तु) र मासु आदि खुवाईन्छ र त्यसछि मात्रै यो संस्कारको उपक्रमहरु शुरु हुन्छन् ।
सबै भन्दा पहिला संस्कारकले उक्त स्थानमा धुपी अदि बिभिन्न सुगन्धित धूप बालेर धुनि जगाउँछन । यो धूनि र धूवाँ बास्तवमा त्यस क्षेत्र वरिपरिका चिल गिद्धको 'आहृवान' वा निमन्त्रणाको लागी हुन्छ । लामो समय देखिका अभ्यस्त चिल र गिद्धहरुलाई यो धूवाँ र बास्ना पाउने बित्तिक्कै त्यस क्षेत्रमा संस्कार कार्य हुन लागेको ज्ञात हुन्छ र तुरुन्तै संस्कार क्षेत्र वरिपरि सैयौंको संख्यामा चिल र गिद्धहरु झुम्मिन्छन् । त्यस पछि संस्कारकले मृत शरिरलाई घोप्टो पारेर राख्छ र काट्दा खेरि नचिप्लियोस भनेर घाँटिमा डोरिले बानिन्छ । त्यस पछि आकास संस्कारको बिधान अनुशार मृत शरिरको ढाडमा पहिलो प्रहार गरिन्छ … । अनी माथी बाट तल गर्दै पुरै ढाड खोलिन्छ त्यसपछि शरिरलाई उत्तानो पारिन्छ र अगाडिको भाग काटिन्छ । यसपछि मात्रै हात खुट्टा टुक्रा पारिन्छ ।
यहाँनिर काटिएका अंगहरु काट्दै खुवाउदैं गरिन्न र त्यसलाई टुक्रा पारेर छुट्ट्याएर मात्रै राखिएको हुन्छ । अन्तमा टाउको र बाँकि हाड खोडलाई तह लगाईन्छ । सुन्नमा आए अनुशार तन्त्रका बिषेश साधना गर्न चाहिने मानिसको खप्पर (जसलाई "खप्परु" पनि भनिन्छ) यसै बेलामा झिक्ने गरिन्थ्यो र अहिले पनि आवश्यक भएको र सबै बिधि बिधान अनि तारतम्य मिलेको बेलामा तन्त्रको लागी आवश्यक खप्पर निकालिन्छ ।
यसरी काट्ने काम सक्किए पछि संस्कारकले हाड खोडलाई चम्पामा मिलाएर डल्लो बनाँउछ र अनि मात्रै चिल गिद्धलाई खुवाउने काम शुरु हुन्छ । खुवाउने क्रममा सबैभन्दा पहिला चम्पामा मिलाएर राखेको हाड खोड दिईन्छ र त्यसपछि मात्रै शरिरका अन्य अंगका मासु । शुरुमै मासु खान दिएमा चिलले हाड खोड नखाने र त्यसरि आकास संस्कार गर्दा कुनै व्यक्तिको शरिरका कुनै भागहरु चिलले नखाई शेष रहेमा उक्त व्यक्ति स्वर्ग जान नपाउने उनिहरुको मान्यता छ । यहि कारणले गर्दा यो खुवाउने काम निक्कै संवेदनशिल मानिन्छ ।
बाह्य संस्कृतिको अध्ययन गर्ने वा चाख राख्नेलाई यो सम्पूर्ण प्रकृया भित्र यस लेखमा उल्लेख नगरिएका अन्य केहि अकल्पनिय लाग्ने उपक्रमहरुको सामना गर्नु पर्ने हुन्छ । भिन्न संस्कृति र फरक समाजमा हुर्केकाहरुलाई अत्यन्तै अस्वभाविक लाग्ने र मानिसलाई बिचारशुन्य बनाईदिने त्यस्ता केहि उपक्रमहरुलाई यहाँ उल्लेख गरिएको छैन ।
त्यसो त पुरै तिव्वत भरि मृत्यु पछि गरिने संस्कारमा केवल यहि आकास संस्कार मात्रै यौटै भने होईन । त्यहाँ पनि बुद्ध धर्म अनुशार साधनाको यौटा निश्चित तह सम्म पुगेका व्यक्तिको अग्नि संस्कार पनि गरिन्छ, साथै झै-झगडा वा लर्डाईमा मर्नेको आकास संस्कार गर्न नहुने रिबाज भएकोले त्यस्ता व्यक्ति र अन्य केहि बिशेष कारणले मर्नेहरुलाई पानीमा बगाउने वा गाढने पनि गरिन्छ । यद्यपि ति अन्य बिधिहरु संसारका अन्य भागमा पनि बिद्यमान रहेकाले यि सबैभन्दा आकास संस्कार एकदमै अबुझ, असामान्य र अकल्पनिय देखिन्छ । तर यस संस्कारको बारेमा उनिहरुको आफ्नै मान्यता र तर्कहरु छनः
यौटा मान्यता अनुशार मृत्यु अर्को जिवनको शुरुवात पनि हो तर शरिरका अवयवहरु वा शरिरका सम्पूर्ण भागहरु पूर्ण रुपमा नष्ट नभएसम्म आत्माको अग्रगमन वा पूनर्जन्ममा बाधा अडचन परि रहन्छ । मृत शरिरलाई जमिन मुनी गाढ्दा शरिर गल्न निक्कै समय लाग्छ भने जल संस्कार वा अग्नि संस्कारमा समेत शरिरका केहि भाग नष्ट नभई लामो समय सम्म रहन सक्ने डर हुन्छ । यस दृष्टिले हेर्दा आकास संस्कारमा नै शरिर सबैभन्दा छिटो, पूर्ण र प्रामाणिक रुपमा नष्ट हुन्छ । अर्को भनाई अनुशार शरिरका कण कण सबै चिल गिद्धको माध्यमबाट आकास मार्ग हुदैं र्स्वर्गलोकमा सजिलै पुग्छन । मान्छे-मान्छेको आफ्नै विचार हुन्छन। यसै क्रममा मेरा एकजना तिब्बती मित्र भने आफुले जिन्दगिभर मांसाहार गरेकोले आफू मरेपछि आफ्नो शरिर पनि चिल गिद्धलाई खु्वाँउदा त्यसको पापबाट मु्क्त हुने मात्रे होईन यसले 'ईको सिष्टम' लाई पनि मद्दत पुग्ने बिचार व्यक्त गर्छन ।
बाह्य संस्कृतिका केहि प्रथा, रिवाज र चलनहरु अर्को कुनै संस्कृतिमा रहने लाई अनौठो लाग्नेनै गर्छ । हिन्दू समाजमा प्रचलित गौ-मूत्र र गोबरको सेवन अन्य भिन्न समाजका मानिसलाई अनौठो लागेझैं तिव्वतको आकास संस्कार पनि हामिलाई अनौठो र अस्वभाविक लाग्छ नै, तर तिव्बतमा यो यौटा सहज र स्वभाविक रिवाज हो र यसलाई सामान्य रुपमै हेरिन्छ ।
Technorati Tags: तिब्बती संस्कृति,मृत्यु संस्कार
मलाई थाहा भएसम्म, "क्याराभान" चलचित्र मा आकास संस्कार देखाइएको छ ।
ReplyDeleteअनि सबै जाति अनि धर्माबलम्बीहरु को आ-आफ्नै तौर तरिका र रितिस्थिति हुन्छन, यसमा अचम्म लाग्नु स्वभाविक नै हो ।
जेहोस्, एउटा पृथक जानकारीका लागि धन्यवाद !
मैले पहिले पनि सुनेको थिएँ यो संस्कारको बारेमा । संस्कार अनेक प्रकारका हुन्छन् तर पनि मान्छेहरुले सुन्दा आश्चर्य प्रकट गर्ने गर्छन् । हाम्रै झापामा पनि पहिले पहिले सन्थाल जातीहरुले मरेको शरिरलाई जंगलमा लगेर खाट जस्तो बनाएर सुताएर रुखमा अड्याएर ठाडो पारेर राख्ने गर्थे रे पक्कै जंगली जनवारले खाओस् भनेरै होला । पछि मैले जान्दा चैं सन्थालहरुले मरेको शरिरलाई गाड्ने गर्थे र अझै गाड्छन् नै ।
ReplyDeleteयो आकाश संस्कार गर्नेहरु कालान्तरमा गएर चिल गिद्दहरु कारणवस् लोप भए भने चैं स्वर्ग जान नपाउने भए नि त ।
आकारले भनेजस्तै मैलेपनि 'क्याराभान' चलचित्रमा हेरेको थिएँ यो संस्कारका बारेमा ।
ReplyDeleteअनि दीपक दाइले भनेको 'यो आकाश संस्कार गर्नेहरु कालान्तरमा गएर चिल गिद्दहरु कारणवस् लोप भए भने चैं स्वर्ग जान नपाउने भए नि त ' चैँ चित्त बुझ्यो अनि हाँस उठ्यो पनि !!!!
हो, साथिहरुले भने झै मैले पनि क्याराभान फिल्ममा हेरेको थिए र यो फिल्ममा मात्र होला भन्ने ठानेको थिए तर आज यथार्त नै रहेछ, जानकारिको लागि धेरै धेरै धन्यबाद् दिलिप जि ।
ReplyDeleteनिकै जानकारीमूलक टाँसो छ यो। मृत्यु-संस्कार कुनै पनि संस्कृतिको एउटा प्रमुख भाग हो। मैले अहिले पढिरहेको जनकलाल शर्माको किताब "हाम्रो समाज:एक अध्ययन"मा पनि केहि उल्लेख छ तिब्बतको यो संस्कारको बारेमा।
ReplyDeleteमान्छेको जातै लोभी! मरेपछिको 'परलोक'को आनन्दको लोभ झन बढी! त्यहि लोभले मान्छेलाई यस्ता अनौठा-अनौठा संस्कार सोच्न बाध्य बनाऊँछ। त्यसबाहेक स्थानीय भूगोल, हावापानी आदिलाई पनि ध्यान दिईन्छ होला। यहि तिब्बती संस्कारकै प्रसंगमा पनि, अग्नि-संस्कार गर्न चाहिने दाउराको जोहो गर्नु सजिलो नहुन सक्छ तिब्बती बञ्जर भूमिमा। त्यसैले अग्नि-संस्कार 'उच्च-वर्गीय'हरुका भागमा मात्रै प-यो।
जल-संस्कार (जल-समाधि)का लागि गहिरा खोलानालाको कमी होला।
आफू तिब्बत नपुगेकाले, मेरा अनुमान मात्रै हुन् है! दिलिप दाइबाटै अरु थप जानकारी आउने छ भन्ने आशा छ।
टिप्पणीको लागि सबैलाई धन्यवाद् ।
ReplyDeleteदीपक जी ले दिनु भएको मरेको "शरिरलाई जंगलमा लगेर खाट जस्तो बनाएर सुताएर रुखमा अड्याएर" गरिने संस्कारको जानकारिको लागी पनि धन्यवाद् ।
बसन्त जी को अनुमान, अनुमान होईन बास्तबकता पनि हो ।
वास्तबमा संसारका सबै धर्म कायम हुनुमा लोभ र त्रास को ठूलो भूमिका रहन्छ । मृ्त्यु पछिको 'अर्को लोक' मा सुविधा को लोभ र पाप भोग्नु पर्ने त्रास नहुने हो भने धेरै धर्मको जग हल्लिन्छन ।
तिब्तको बंजर भूंमी एक त tree line वा timberline भन्दा माथी हुनुले त्यहा अग्नि संस्कारको लागी चाहिने दाउरा सुलभ छैन । अर्को, भौगोलिक कारणले गर्दा चट्टाने भूमि र त्यसमाथी संसारकै छानो भनिने ठाँउ हाई अल्टिच्युटमा रहेकोले कडा परिश्रम गरी गहिरो खाडल खन्न पनि वास्तबमै मुस्किल पर्ने भएकोले जमिन मुनि गाढने कार्य पनि सहज छैन ।
धर्म र संस्कृति पढ्दा जे सुकै लेखीएको भए पनि मलाई पनि लाग्छ यि धरातलिय यथार्थले यो संस्कारको उद्भवमा महत्वपूर्ण भुमिका खेलेका छन ।
फेरी झ्वाट्ट हेर्दा अलिकता असहज लागे पनि कुनै पनि ईन्धन वा जमिन खेर नजाने र प्रदूषण नहुने माध्यम भने यहि मात्रै हो भनेर मान्न सबैलाई कर लाग्छ ।
चिल गिद्दहरु कारणवस् लोप होलान भन्ने बारेमा चाहि, केहि रोगी शरिरको भक्षण गरेर चिल गिद्दहरु एक चोटि मरे पछि हाल यो कार्यमा निक्कै कडाई गरीएको छ र विभिन्न रोगबाट मृत्यु भएकालाई यो संस्कार नगर्न भनिन्छ । प्रसंगकै क्रममा चीन सरकारले तिब्बतमाथी अधिपत्य कायम गरेपछि यो पद्दतीलाई केहि बर्षको लागी रोक्ने प्रयास पनि गरेको हो र पछि यो फेरी चालु भएको छ ।
‘आकास संस्कार’ -मृत्यु संस्कारको यौटा अबुझ पद्धति- अनौठो लाग्यो - त्यो भन्दा पनी मलाई त तपाइले एसको शीर्षक -"गिद्र को आहार -मान्छे " राख्नु भएको भए राम्रो हुन्थियो की ? जस्तो लाग्यो ।
ReplyDeleteत्यसमा पनी तपाइले तस्वीर सहित देखाउनु भएको रहेछ -त्यसले झन रोचक बनाएको छ ।
तर आफुत साहाकारी परियो -साचो कुरा गरौं भने मलाई पढ़दा कस्तो घिन लागी रह्र्यो । तर अनौठो लागेको ले पढेरै भ्याए । मैले थाहा नपाएको कुरा र नसुनेको कुरा को जानकारीको लागी धन्यवाद !
बेदनाथ जी!
ReplyDeleteप्रतिक्रियाको लागी धन्यवाद् ।
तपाईले पढ्दा दिगमिग लागेको कुरा उल्लेख गर्नु भएको रहेछ। वास्तबमा मैले यो पोष्टमा लाश काट्दै गरेको केहि फोटो पनि राख्न लागेको थिएँ तर पछि आफैलाई मन नलागेर झीकेँ। मैले खाली भएको बेलामा मात्रै त्यो संस्कार शिला हेरेको हो संस्कार हुँदा भने हेर्ने आँट आएन । केहि तस्बिरहरु भने एकजना तिब्बति मित्रले दिएकाले म संग छ ।
I am utterly surprised to know that the Tibetans still carry on ancient rituals like sky burials thus exhibiting a timeless attachment to the old ways of life and death. It seems they are almost unaffected by the changes that are rapidly affecting other Buddhist nations and the rest of China. I have read that sky burial is closely related with Buddhism followed in the Himalayan region. Buddhists believe life recycles and urge for kindness and charity. The spirit of the dead is believed to have left the body soon after one dies and the dead should be fed to hungry vultures as a last token of charity...It's okay if it remains up to reading...but you have said that you have excluded some of the terrible/unthinkable stuffs from your post. I just wonder what could they be! I know that 'death' is probably the biggest truth of 'life', but still these stereotyped behavior in the name of tradition/religion disturbs me...
ReplyDeleteNevertheless, thanks for this informative post.