13 February, 2009

चुरोट, चिया र खाजा !

ज पनि ऊ १० बज्नु अगाडि नै कार्यालयमा उपस्थित भैसकेको थियो। आफ्नो सानो कामकोलागी उसले यो कार्यालय धाउन थालेको करीब हप्तादिन नाघिसकेको छ। तर उसको सम्बन्धित फाइल भने अझै ‘खर्साब’ को टेबुलबाट पास हुन सकेको छैन ।

वास्तबमा उसको काम एकदमै साधारण र नियम कानुनको दायरा भित्रै पर्ने कुरा हो, तर पनि किन हो उसको काम हुन सकेको छैन । आज त जुनसुकै हालतमा आफ्नो काम पूरा गराएर मात्रै छाड्ने निश्‍चय लिएर ऊ फेरी खर्साबको कोठामा पस्यो:“मेरो काम भयो होला ?”, “अँ …… ” खर्साब कुनै साप्ताहिक पत्रिकाको राजनैतिक परिचर्चा पढ्नमा व्यस्त थिए । “…… अँ, तपाईको काम भैहाल्छ नि …… ” हप्तौसम्म आफ्नो कोठामा धाईरहेका ती आगन्तुकको आवाजसंगै उनी परिचित भैसकेका थिए त्यसैले खर्साबले आगन्तुकतर्फ हेर्नु जरुरी सम्झेनन र पत्रिकाको त्यो महत्वपूर्ण खबरबाट आफ्नो टाउको नउठाईकनै जबाफ दिए ।

“तपाईको काम भैहाल्छ नि” – हो, उसले सधैं यस्तै खाले जबाफ पाउने गरेको छ। तर काम भने कहिल्यै भएको छैन । दिन दिनैको एउटै जबाफबाट वाक्क भएको उसको मुखबाट निस्कीयो “हैन, सधैं त्यसै भन्नुहुन्छ, सात–सात दिन भैसक्यो आखिर मेरो काम किन हुँदैन त?” यस पटक उसको आबाजमा अलिकता आक्रोश पनि थियो । “…… यसो चुरोट-सुरोट ख्वाउने व्यबस्था गर्नुस न, काम गर्ने त म छदैंछु नि …… ” आज भने खर्साब अलि खुलेर बेग्लै जबाफ दिए ।

उसले जिन्दगीमा कहिल्यै चुरोटको एक सर्को पनि तानेको थिएन । चुरोटलाई उ सधैं बट्टामा लेखिने जस्तै “धुमपान स्वास्थको लागि हानिकारक छ” भनेर मात्रै चीनेको थियो, तर आज एक्कासी खर्साबले चुरोट पिलाएमा काम बन्ने संकेत दिएकोले ऊ तुरुन्तै बाहिर निस्कियो । फर्केर आउँदा उसको हातमा एक बट्टा निक्कै राम्रो चुरोट थियो ।

उसले चुरोटको बट्टा खर्साबतर्फ बढायो। यसपटक खर्साबले उसलाई एकदमै विष्फारित नेत्रले हेरे, एकैछिन गम्भिर देखिए अनि फेरि एक्कैचोटि जोडसंग हाँस्न थाले । हाँस्दा हाँस्दै उनले आफूसंगैको कुर्सीमा बस्ने अर्का एकजना साथीलाई सम्बोधन गरे :“ हेर्नुस त पाण्डेजी!,…… उहाँले के ल्याउनु भयो …… ” । खर्साब पुन: हाँसो रोक्ने असफल प्रयाससंगै संगै बस्ने पाण्डेजी सहित खित्का छोड्न थाले । यो हाँसो केका लागि उसले केहि बुझ्न सकेन। खर्साब आफैले चुरोटको लागि आग्रह गरेका थिए र उसले पनि सोहि अनुसार ल्याएको थियो । तब यसमा हाँस्नु पर्ने कारणनै के छ र? ।

“पाण्डेजी …… हेर्नुस् त ……” दुबैजना फेरि यस्तो किसिमले हाँस्न थाले, मानौ त्यहाँ कुनै अप्रत्याशित अनौठो घटना गटेको छ । हाँसो शान्त भएपछि उसले केहि सोध्नु र बुझ्नु भन्दा पहिल्यै खर्साबले उसलाई अलिक नजिक आउने ईशारा गरे। अनि करीब करीब उसको कानै नेर आफ्नो चुच्चो ल्याएर विस्तारै सम्झाउन थाले “ चुरोट भनेको …… हो त …… पो भनेको त …… ” । यस पटक बल्ल उसले ‘चुरोट’को वास्तविक अर्थ र खर्साबको हाँसोको गुढ रहश्‍य पनि बुझ्यो । तर उसलाई यो चित्त बुझेन। उसले सानैदेखि यस्तो कुराको बिरोध गर्दै आएको थीयो, फेरी ऊ कुनै गैह्र कानुनी कार्य पनि त गराउन खोज्दै थिएन । ‘अँह, हुँदैन, …… यो हुनै सक्दैन …… म यो गर्दै गर्दिन…… ’ ऊ बिचार गर्न थाल्यो “मेरो काम नियम बिपरीत छैन र नियमानुसारको काम गर्न म कुनै हालतमा पनि ‘चुरोट’ दिन्न ।”Cartoon

न्याय अझै जिउँदै छ र म माथिसम्म पुगेर यस्तो प्रथाको विरोध गर्छु भन्ने सोचेर उ त्यहाबाट निस्क्यो र सुब्बा साहेबको कोठामा पुग्यो । सुब्बा साहेब दुईवटा क्वाईल मध्ये यौटा मात्रै बल्ने पुरानो हिटरमा हात सेकाउँदैं टेबुलमुनि टाउको निहुराएर कुनै गहिरो विचारमा डुबेका झै देखिन्थे, मानौं विश्‍वको सबैभन्दा ठुलो समस्या उनकै टेबुल अगाडिको कपडाको पोको भीत्र बेरिएको नेपाली कागजको फाईलमा छ ।

‘माडसाब!’ उसले सुब्बासाबको ध्यान खीच्यो र जिल्लाबाट आएर सानो कामको लागि यत्रो दिन अल्मल्लीनु परेका कारण भएको आर्थीक भारको समस्या समेत पोख्दै आफ्नो समस्या सुनायो । मैलो मैलो र करीब करीब भाँच्चिनै लागिसकेको मेचमा बसेका माड्साबले उनको कुरा यसरी सुने मानौं कुनै अदालतमा न्यायाधीशद्वारा कानुनी बहसको सुनवाई हुँदैछ ।

आफ्नो सबै वृतान्त बताईसकेपछि उसले एक नजर माड्साबतर्फ फर्कायो र भन्यो “आज त जसरी भएपनि मेरो काम सकिनै पर्छ ” । माड्साब एकैछिन घोरीए अनि खर्साबकै पारामा रहश्यमय तरिकाले मुस्कुराए, “हेर्नुस् काम अलि असजिलो जस्तो छ …… तर धन्दा नमान्नुस …… यसो ‘चिया’ ख्वाउने व्यबस्था गर्नुस न काम बनिहाल्छ नि” । उसले यस पटक चिया मागाउने गल्ती गरेन किनकि अब त उसले यहाँको भाषा अलिअलि बुझ्न थालीसकेको थियो । फेरी ‘चुरोट’को दाँजोमा ‘चिया’ पक्कै पनि अझै महंगो पर्नेमा कुनै शंका थिएन । तर उ यस्ता गलत प्रथाको बिरोध गर्न जहाँसुकै पनि पुग्ने मनस्थीतिमा थीयो, त्यसैले उ त्यो कोठाबाट पनि निस्कियो र अझ ‘माथिको’ कोठामा पुग्यो ।

‘माथिको’ कोठामा पुगेर उसले अलि सफा कुर्सी र ठुलो टेबुल राखेर बसेका भलादमीलाई खर्साब र माड्साब कहाँ भएको सबै बेलिबिस्तार लगायो र आफ्नो काम गरिदिन बिन्तीभाउ गर्‍यो । अगाडिको कुर्सीमा बिराजमान सज्जनले उसको कुरालाई निक्कै ध्यान दिएर सुनिरहेका थीए । “…… अँ त …… ” उसको बिन्तीभाउ समाप्त भएपछि ति सज्जनले विस्तारै मुख खोले “…… तल दुबै ठाँउबाट काम भएन छ, मतलब तपाईको काम पक्कै पनि असजिलै छ …… , तर ठीकै छ तपाई यसो ‘खाजा’ साजाको व्यबस्था गर्नुहोला काम गराईदिने जिम्मा चाहि मेरो भयो ल …… ”

अब भने उसले दिउँसै तारा देख्‍न थाल्यो, आफ्नो त्यत्ती साधारण काम किन जति जति माथि गयो उति उति जटिल हुँदै गैरहेको छ, उसले बुझ्न सकेन, तर अब यो भन्दा माथि जाने आँट पनि आएन उसलाई। ऊ सोच्न थाल्यो अझ माथि गएमा अवश्य पनि मागहरु पनि क्रमश: बढ्दै जानेछन्। हुनसक्छ चुरोट, चिया वा खाजा भन्दा माथी पुग्दा उसले ‘लन्च’ वा ‘डिनर’ कै व्यबस्था पनि गर्नु पर्ला । अब के गर्ने त? भोली त उसलाई जसरी’नी घर नफर्की हुँदैन, घरबाट आमा बिरामी भएको खबर आएको पनि तिन दिन भैसक्यो, साथमा ल्याएको खर्च पनि सक्कीन लागीसक्यो । आज त जसरीनि काम सक्नै पर्छ । तर कसरी?, सोच्दा सोच्दै उसलाई के विचार आयो कुन्नि उ पुन: खर्साबको कोठातिर लाग्यो ।

उस्को प्रवेसलाई खर्साबले बढो विजयी मुस्कानकासाथ स्वागत गरे “ अनि के बिचार गर्नु भयो त ?” “ठीकै छ, म तपाईलाई चुरोट दिन राजि छु …… मेरो काम भने आजै हुनु पर्‍यो” उसले एकै सासमा भन्यो । उसको वाक्य पुरा नहुँदै खर्साबले ३ दिन अगाडिनै तयार भैसकेको उसका कागजात टेबुलमै राखिदिए । यता ऊ विस्तारै आफ्नो पर्सबाट ‘चुरोट’ झिक्न थाल्यो।

8 comments:

  1. An 'interesting' & real 'story'! a sarcastic one. However, I would have loved to see a 'positive' end to the story. There can be no denial that our traditional bureaucracy works in the way you have narrated in your story but, a message discouraging 'all these evil activities' is what required! Nonetheless, I found the post 'humorous' as you have rightly labeled the same under "Fun/Humor" section.

    ReplyDelete
  2. प्रस्तुतीकरण सारै रमाईलो लाग्यो| घूसखोरी नराम्रो होला त्यों एउटा कुरा हो, तर मेरो बिचारमा यो कथाको ब्याबहरिक अन्त्य यही हो | धुम्रपान स्वास्थ्यको लागी सधै हानिकारक कहाँ हुँदो रहेछ र...

    ReplyDelete
  3. मज्जा को प्रसंग .....अनि ब्यंग का कुरा .... सम्बंधित पक्ष सबै ले सुनिदिए ,भुझिदिएर ...बेस हुने थी'यो की?
    आज का मनीष लाइ ब्यंग गरेर केही फाइदा छैन दिलीप जी .... देख्नेलाइ भन्दा ...हेर्ने .लाइ लाज ...भने झै .... हो ।

    ReplyDelete
  4. धेरै उथलपुथल र 'क्रान्ति' हरु पार गरीसक्दा पनि हाम्रो सामाजिक स्थितिको यथार्थ यहि हो। बडो सटीक कथा!

    ReplyDelete
  5. नेपालि वास्तबिकता बोकेको अति पठनिय प्रसंग । देशमा कैयौ कुराहरु परिवर्तन् भएपनि यो प्रस्तुतिको अन्त्य हुने कुनै कुराको परिवर्तन् भएन । धन्यबाद दिलिप जी निकै गहन् ब्यङगात्मक लेखको लागि ।

    ReplyDelete
  6. यो व्यङ्ग्यको छालले नेपाली अड्डा-अदालतको कुरूप यथार्थ राम्रै गरी उदाङ्गो पारेको छ । छरितो कथानक । भ्रष्टाचार निमिट्यान्न पार्ने बोली र पनि जहाँतहीँ सुन्न पाइन्छ । काम बनाउने मेसोमा हामी निमुखा अझै यो गणतान्त्रिक नेपालमा पनि बलिमा चढिरहेछौँ ।

    ReplyDelete
  7. सबैले भनेझैं सबल ब्यँग बोकेको कथा साथमा हास्य पनि । मजा लाग्यो पढ्दा ।

    ReplyDelete
  8. टीप्पणीको लागि सबैलाई धन्यवाद ।
    दिपेन्द्र जीले भन्नुभए जस्तै यो कथाको 'सकारात्मक' अन्त्य हुनुपर्ने हो, तर जबसम्म सामाजिक यथार्थ यस्तै छ, तबसम्म कथा र कहानिमा मात्रै यो सकारात्मक अन्तले केवल आत्मरती मात्रै गराउने छ भनेर यो यथार्थ चित्रण गरेको हुँ। हेरौं न, स्थिति केहि परिवर्तन भएछ भने यसको अर्को पाटो पनि लेखौंला ।

    सबैलाई पून धन्यवाद ।

    दिलीप आचार्य

    ReplyDelete