ओशोको कुनै किताबमा पढेको एउटा वाक्यले मलाई सधैं झकझ्कयाई रहन्छ । ओशोले कुनै प्रवचनको क्रममा भन्नु भएको छ कि: मानिसमा कुनै पनि स्थान, वातावरण वा परिस्थितिसंग अनुकूल भएर बस्ने गज्जबको शक्ति र लचकता हुन्छ । नर्कमा पनि मानिसलाई २-४ दिन मात्रै पीडा हु्न्छ … केहि दिन पछि त मानिसलाई त्यो वातावरणमा पनि बानी पर्छ र त्यसमै समन्वय गरेर बस्न समर्थ हुन्छ ।
पहिलो पटक यो वाक्यहरु पढ्दा म हाँसेको थिएँ। तर, विस्तारै परिस्थिति र जिवनका आरोह-अबरोहसंग ढल्दै जाँदा मलाई अनूभव भयो, यो कुनै ठट्टा थिएन। मलाई यस वाक्यको व्यावहारिक यथार्थको जानकारी हुँदै गए पछि मैले यो वाक्यमा झनै सत्यता देखें र कोटेशन बनाएर भित्तैमा टाँसेर राखें ।
केहि दिन यता यो वाक्यले फेरी मेरो पहिलो हसाँईलाई गलत सावित गर्दै मलाई खिज्याईरहेको जस्तो महशुस भैरहेको छ ।
हुनत ओशो जस्तै, म पनि नर्कको भौगोलीक अस्तित्वलाई कहिल्यै मान्दिन, तर जिन्दगीका सबै आयामहरुलाई केलाएर हेर्दा धेरै चोटी नर्कको झलक भने समाजमा बस्ने सबैलाई मिलेकै हुनुपर्छ । नर्क मतलब, पिडा, नर्क मतलब अभाव, नर्क मतलव विछोड, नर्क माने रोग र असुरक्षा वा समग्रमा नर्क मतलव प्रतिकूल अबस्था ।
एकैछिन देशको बारेमा सोचें, बत्ती छैन, पेट्रोल छैन, पानी समेत छैन, दिन दिनैको हडताल र बन्दले तरकारी र उपभोग्य वस्तु समेत छैन । अरु त भयो भयो, अब कसैको सुरक्षा र जिवनको प्रत्याभूति पनि छैन । तर घर-परिवार र साथिहरुसंग भलाकुसारी गर्दा लाग्छ सब ठिक-ठाक छ।
मतलव हामीलाई बानी पर्दैछ र हामी प्रतिकूल अबस्थामा पनि आफूलाई सामन्य राख्न अभ्यस्त भैसकेका छौं । हामीलाई तीन घण्टा लाममा लागेर बाईकको ‘ट्यांकी फुल’ गर्न पाउँदा परीक्षामा उतिर्ण भएजस्तै आनन्द आउँछ, ३ दिन कुरेर ४ गाग्रा पानी थाप्न पाउँदा अमृत वर्षाको आभास हुन्छ। त्यस्तैमा कुनै दिन देशभर कतै बन्द-हडताल नभै दिनभर बत्ती पनि निभेन भने त सुन्दै छु सानो सानो चाडवाडको जस्तै माहौल बन्छ रे नेपालमा ।
करिव २ महिना जत्ती अगाडि एकजना आफन्तकहाँ फोन गरेको थिएँ, उनी खुशीसाथ भन्दै थिए “… आज शुक्रवार, आज मेरोमा बत्ती निभ्दैन,… हप्ता दिनको समाचार हेर्छु आज … ”
आधा रातमा मौका छोपेर ‘च्याट’ मा बसेका अर्का मित्रले एक पटक “वाह!, आज अझै ३ घण्टा बत्ती आउँछ … ” भनेर लेख्दा पनि मैले माथिको ओशोको वाक्य सम्झेको थिएँ । यस्तो विपरीत स्थितीमा पनि हामी शान्त छौं । दुई दिन पानी नआएर के भो त?, तेस्रो दिन त आईहाल्छ नी, ५ घण्टा लाममा बस्नु परेर के भो त!, ३ लिटर पेट्रोल त पाईहालिन्छ नी, हप्तामा एक दिन नै किन नहोस !, पुरै दिन विजुली आउँछ नि। करिव करिव हामी हरेक प्रतिकूल अबस्था र पीडाको यस्तै यस्तै मानसिक र वैचारीक उपचार खोजेर बसेका छौं ।
म अर्को कोणवाट पनि सोच्न खोज्छु र दिमागलाई एउटा सोचको डोरबाट ह्वात्तै विबरित दिशामा घुमाउँछु । वाह! नेपाल … मलाई विश्वास हुन्छ, नेपाल साँच्चै देवभुमी रहेछ, नत्र कहाँवाट आउँछ यत्रो धैर्य, यत्रो सहनशीलता र यस्तो शान्तपन । ओशोले जे सुकै भनुन, हामी विस्तारै नर्कको पिडा भोग्न पनि अभ्यस्त हुँदैं गएको हैन, यो त हाम्रो महानता हो, बुद्धको सम्यक दृष्टी, सनातन धर्मको निग्रह र गान्धीको सादा जिवनको सिद्धान्त सबै हाम्रो कण कणमा भरीएको छ ।
हो त नी, म बुद्धको देशको वासी हुँ, मैले सम्यक दृष्टी पाएको छु, म कमसेकम सुबिधामा बाँच्न सक्छु । म हिंसाको प्रतिकार गर्दीन, एउटा गालामा हान्नेलाई दोश्रो गाला र पुगेन भने परिवारका अन्य सदश्यका तेश्रो, चौथो गाला दिन पनि तयार छु । समष्टीमा हामी मरुभूमिका केक्टस जस्तै हरेक अभावमा पनि ‘सप्रन’ सक्छौं ।
सोच्दा सोच्दै मेरो नजर पून: भित्तामा टाँसीएको ओशोको वाक्यमा पुग्छ । मलाई त्यो बाक्यले झनै खिज्याएको जस्तो महशुस हुन्छ। मेरो सचेतन मन हार स्विकार्न मान्दैन र म र त्यसलाई केवल कोरा तर्कको संज्ञा दिन्छ । तर मनमा झनै तुफान चल्छ र अन्तर्द्वन्दको भूमरीमा अबचेतन मनले ओशो नै ठिक भएको ठहर्याउँछ ।
हेर्दा हेर्दै मलाई त्यो भित्ताको लेखोट कुनै चार हरफको निष्प्राण वाक्य हैन, कुनै जिवीत व्यक्ती नै भएको भान हुन्छ र त्यसले निरन्तर मेरो मजबूरीलाई व्यङ्य गरी रहेको जस्तो लाग्छ । लाग्छ, उ मेरो अभाव, पिडा र अकर्मण्यतालाई गिज्याँउदै भन्दैछ “…गलत तर्क म हैन, तिमी गर्दै छौ … तिमी न त बुद्ध हौ, न गान्धि, न शंकाराचार्य … तिमीसंग तिनका महानता र उचाई छैन, खाली अभाव र दुर्बलता मात्रै छ। उनीहरु स्वेच्छाले सहन्थे, तिमी मजबुरीमा … ”।
अन्तर्द्वन्द अझ घनीभूत हुँदां मलाई भित्ताको त्यो वाक्य मेरो विवशता र लाचारीलाई गिज्याएर अट्टाहास गरेको महशुस हुन्छ । म हत्तपत्त भित्ताबाट सो कोटेशन निकालेर फाल्छु र नयाँ कोटेशन टाँस्छु:
“अमृतस्य पुत्रोहऽम, तेन त्यक्तेन भुञ्जीथा”
हो हामी धेरै कुरा सहन अभ्यस्त भएका छौं, र यो सामान्य हुनु ओशोले भनेजस्तै अनुकुलताको सिदान्तमात्र पनि होइन, यहानेर विवशता र मजबुरीका प्रशस्त अंशहरु छन ।
ReplyDeleteजे चाहदैनौं त्यो भै दिनु परेको छ, र यसलाई जति नै सकारात्मक सोच र तर्कसंग जोडेर सही साबित गर्न खोजे पनि भित्रि मन फेरी मान्दैन । र मान्छे हुनुको चेतना पलपल पराजित भएको महशुश हुन्छ । यस्ता तर्कना हरुको अंतर्द्वंदमा कहिले कुनले जित्छ कहिले कुन ? त्यो पनि परिस्थिति अनुसार फरक पर्छ शायद!
तर अझै मलाइ चाहि नया कोटेशनको स्पष्ट र पुरा अर्थ थाहा भएन है ! अगाडिको चाहि अलि कति बुझे, पछाडी को गाह्रो भयो, अलंकारिक अर्थ केहि बुझे केहि नबुझे जस्तो भयो ! ?? हैन हैन... पटक्कै नबुझेको अवस्था भयो ।
यति सजिलै जे मा पनि अभ्यस्त हुनुले के देखाऊँछ भने हामीसंग विद्रोह गर्ने र परिश्थिति बदल्न मेहेनत गर्ने चाहना ज्यादै कम छ। यति धेरै राजनीतिक परीवर्तन गर्न सक्ने नेपालीसंग कसरी विद्रोह-चाहना कम भयो भन्ने कुरा उठ्न सक्छ, तर हामीमा विध्वंशक चाहना बढी भएको मात्रै हो। वास्तविक विद्रोहले अनुभव गर्न सकिने परीवर्तन ल्याउँछ।
ReplyDeleteअध्यात्म मिसिएको सुन्दर टाँसो पढ्न दिनुभएकोमा हार्दिक धन्यबाद!
कृष्णजी, वसन्त जी, टिप्पिको लागी धन्यावाद ।
ReplyDeleteयो वास्तवमा ईशावास्य उपनिषद्को एउटा ऋचाको अंश हो । पूर्ण श्लोक भने यस्तो छ:
ॐ ईशा वास्यमिदँ सर्वं यत्किञ्च जगत्यां जगत्।
तेन त्यक्तेन भुञ्जीथा मा गृधः कस्यस्विद्धनम्॥
जसले अखिल विश्वमा भएको सबै पदार्थमा ईश्वर व्याप्त भएको र भोग्य पदार्थमा आसक्त नहुन र संग्रहमा लोभ नगर्न भन्छ । समग्रमा यसले “यो संसारमा मेरो केहि पनि छैन” भन्दै त्यसैले कुनै पनि पदार्थमा अधिकारको दावा नगर्न भन्छ ।
माथी वसन्तजीले भन्नु भएजस्तै हामी केवल भिडको मानसिकता लिएर विध्वशं मात्रै गर्न जान्ने तर वास्तविक 'विद्रोह' गर्न भने नस्कने भएकोले पुरै ऋचामा पनि निकै लोकप्रीय रहेको यो तीन शब्द मात्रै आफैंले आफैलाई व्यङ्य गर्दै यहाँ प्रयोग गरेको हुँ ।
सायद केहि प्रष्ट भएँ होला :)
तेन = त्यसैले (त्यसलाई), त्यक्तेन = त्याग पूर्वक, भुञ्जिथा = भोग गर
thats our feature we can change us depending to environment.
ReplyDeleteनकरात्मकताभित्रको सकरात्मकता खोज्दै जाँदा दिलीप दाइका कुरा एकदमै चित्तबुझ्दो छ । वास्तवमा नेपालमा हामीले केहि पाएनौँ भन्दा पनि यो अवस्थाले हामीलाई धेरै कुराको सहि मुल्य सिकाएको छ । नेपालीलाई जस्तो बिजुली र पानीको मुल्य बाहिर देश बस्नेलाई थाहा हुन्छ ? जसले दु:ख बुझ्दैन उसले सुख भनेको पनि थाहा पाउँदैन । अहिले भयङ्कर दुखमा बसेका हामीलाई सानो कुराले पनि खुसी बनाउँछ । जस्तो दिनभरि बत्ती आयो भने हामी कति खुसी हुन्छौँ । बाहिरका मान्छे बत्तीले ल्याएको खुसी बुझ्न सक्छन् र ?
ReplyDeleteबाँच्ने न्युनतम आधार भने हुनुपर्छ तर यस्ता कठिनताले समग्रमा हामीलाई भोलि आइपर्ने जस्तासुकै परिस्थितिको पनि सामना गर्ने क्षमता प्रदान गर्छ ।
अभ्यस्तता नै जीवनयात्राको जननी भनेसरह भएको छ यहाँ । अरू कुनै देशमा हाम्रो भन्दा पनि दयनीय नियति पनि होला, तर हाम्रो त भएको अथवा हालतभन्दा पनि गिर्दै गएकोले हालत नाजुक भन्ने लागेको हो । हुँदाहुँदा यो त केही पनि होइन भन्ने लाग्न थालेको छ । यस्तो लाग्छ, यति गिरेको दैनिक जीवनयापन बदल्न र सरोकारवालाप्रति विद्रोहको कदम चाल्न जावगर नचल्नुको कारणहाम्रो सहनशीलताभन्दा पनि निरीहता र दयनीयता हो जस्तो लाग्छ । यो चुपचाप यथास्थितिको भाव रहनुमा ध्यान-ज्ञानको चेतना त हुँदै होइन । हुनैपर्ने आधारभूत सेवा तथा सुविधा कटौती भएर आंशिक रूपमा परिपूर्ति हुँदा पनि 'अहो आयो, पाइयो' भनेर उत्सव मनाउनुपर्ने स्थिति पक्कै अभ्यस्तताले छरेको खतरनाक बीज । यसबाट भोलि अझ कठिन परिस्थिति आउँदा पनि सहने बल मिल्छ भन्नुभन्दा पनि हाम्रो संवेदना र मान्छे भएर बाँच्ने अनुभूतिकै धरातल कता पुग्ने हो, मलाई त कहाली लाग्दैछ ।
ReplyDeleteदिलीप दाइ दैनिक जीवनप्रणालीलाई आध्यात्मिक रङमा संयोजन गरेर यति गहन विषयलाई अघि सार्नुभएकोमा धेरै आभार । मैले पनि यो श्लोक स्वामी आनन्द अरूणको 'अन्तर्यात्रा' पुस्तकमा पढेको थिएँ । पुन ताजा भएँ । भोगीभोगी भोगको चाखलाई तिलाञ्जलि दिने यसको सन्देश यसो सोच्दा निकै प्रभावशाली लाग्छ । तर सबै भाव र विषय यो नियम लागू गर्न सम्भव छ के ?
हैन दिलिप ब्रो, ओशोले नै भनेको हैन ब्यक्तीलाई शान्ती समाजलाई क्रान्ति चाहिएको छ भनेर ? ध्यान पनि गरौ आन्दोलन पनि गरौ भनेको पो हो कि..
ReplyDeleteमाथी बसन्त जि ले भन्नु भएको जस्तै मलाई पनि कहिले कांही धेरै सहनशिल भएकोले नै नेपाली जनता यि भातमाराहरुलाई "कसरी नेपाल बिगार्ने" भन्ने Reality Show चलाऊन दि रहेका छन जस्तो लाग्छ :(
ReplyDeleteतर हामीमा Darwin लाई नै अचम्म पार्ने गरी adaptability छ । बाहिरबाट हेर्दा त असम्भार नै छ, तर नेपालमा बसे पछी बिस्तारै बानी परेर it's way of life भनेर चित्त पो बुझाईन्छ कि जस्तो लाग्छ । शायद हाम्रो अधिकार के हो भन्ने पूर्ण रुपमा ज्ञान नभएर पो हो कि चित्त बुझाएर बसेको, वा डोर बहादुर बिष्टले भन्नु भएको जस्तै नेपालीहरु Fatalism को १००% सिकार हुन ।
यता अमेरिकामा conservative हरुले anti-government rhetoric लिएको देख्दा अच्च्मै लाग्छ, त्यस्तो government लाई त governemnt keep out of my way भन्ने हरुलाई नेपालको government फेला परे के भन्ने हुन कुन्नी :)
ओसोको सिद्धान्तको पुर्ण रुपमा जानकारि नभए पनि दिलिप जी संगको कुराकानि बाट पनि धेरै सिक्ने मौका त पक्कै पाएको हो । त्सैले धन्यबाद दिन चाहन्छु पहिले ।बसन्त जी को कुरामा म पनि समर्थित भए नेपालीहरु जुनै पनि कुरामा सजिलै संग अभ्यस्त हुनुको कारण मेहनतको कमि र सच्चा बैचारिक बिद्रोहको कमि नै हो कि जस्तो लाग्छ ।
ReplyDeleteहुन त बाच्नको लागि आवस्यक न्युनतम आवस्यकता हरु पनि पुरा हुन गाह्रो हुने हाम्रो ठाँउमा ओशोको सिद्धान्तले मेल खाएकै हो । अब बानि नै भै सक्यो नेपालीहरुको दिनचर्या समयसंगै बग्ने यो हैन की समस्याको निराकरण तिर लाग्ने ।
त्सैले त होला म पनि आजभोलि यो खाडिको चर्को घाम सजिलै पचाउन सक्छु (सिद्धन्तकै आधारमा)
कुरो यथार्थ हो - एक दम घत लाग्यो दिलीप जी? यसो मैले पनी निकै घोत्लिएर सोचे - कुरो ठीकै हो , हादी सम्म को लचकता रहेको हुन्छ हामीमा - यसको जलन्त उदाहरण नेपाली जनताहरु लाइ नै लिन सकिन्छ |
ReplyDeleteअन्त्य तीर अर्को सही कुरा राख्नु भएको रहेछ - त्यो कुरामा थप पुष्टि गराउनको लागी -"तिमी न त बुद्ध हौ, न गान्धि न शंकाराचार्य … तिमीसंग तिनका महानता र उचाई छैन खाली अभाव र दुर्बलता मात्रै छ, उनीहरु स्वेच्छाले सहन्थे, तिमी मजबुरीमा …"
यी कुराले मेरो मन चास घोच्यो |
सारै गम्भीर पोष्ट परेछ ... तेश्रो पटकमा नि कस्तो "टिप्पि" लेख्ने फुरेन ..
ReplyDeleteबाँच्न कै लागि भए नि ओसो वा डार्विनले भने झैं बानि नपारी नहुने रहेछ | अनि त्याग पुर्वक गर्ने भोग चाहिं बंचाई सजिलो र ब्यबहारिक बनाउने उपाय हो कि | जे होस् मेरो बिचारमा ई दुवै कुरा बाध्यता कै उपज हुन् |
जिबनको वास्तविक्ता, भोगाइ र गहन सोचबाट यस्तो बिचारको जन्म हुन्छ अनी जुनकुरा मनबाट निस्कन्छ त्यो अरु कसैका लागि प्रेरणाको बिषय बन्छ। हामी पटक पटक हाम्रो देश संसारको सबै भन्दा राम्रो भन्छौ, संसारको एकमात्र स्वर्ग हो भनेर भन्छौ। केही समय अगाडि मात्र facebook मा एक जना Tom नाम गरेका मित्रले मलाई सोधेका थिए कि म कहाँबाट हुँ। मैले भनेको थिए नेपाल heaven of the earth । Prajwol जि ले भने जस्तै शायद हामीमा Darwin लाईनै अचम्म पार्ने गरी adaptability छ र हामी नरामो लाई पनि राम्रो देख्छौ। यो यथार्थ रहेछ शायद। म त दिलिपजी लेख पढेर झस्के, र कयौ पटक सोचे पनि। अब म आँफैलाई प्रश्न गरी राखेको छु कि स्वर्ग के हो र के लाई भन्ने? मलाई त पिडा पो भयो त दिलिपजी तपाईंको लेख पढेर। अती नै सुन्दर लेख।
ReplyDeleteयौटा कष्टकर अवस्था अभ्यस्त भएर आउनलाई सयौं कष्टकर अवस्थाहरु पार गरेर आईपुग्नु पर्छ सायद मान्छेले र हाम्रो देशमा हामीले सय गुणा सय त्यस्ता अवस्थाहरु पार गरिसक्यौं । ओशोले मान्छेको विवशता मनन गरेरै भने होलान् त्यसरी । ऋचाको हरफ त प्रतिक्रियामा अर्थ खुलाईसक्दा पनि गुदिसम्म बुझ्न सकेको लागेन ।
ReplyDeleteयहाँनेर फेरी केहि कुराकानी गर्नु पर्ने जस्तो लागेर केहि लेख्दैछु:
ReplyDeleteप्रवेशजी, कठिनताले हामीलाई जस्तासुकै परिस्थितिको पनि सामना गर्ने क्षमता प्रदान गर्नेमा कुनै शंका छैन, तर मलाई लागेको डर धाइबाजीले लेखीसक्नु भएको छ। यसले हामीमा चरम आलस्य र अझ सिधा शब्द प्रयोग गर्दा हुत्तिहारापन त ल्याउँदै छैन भन्ने हो। हामीहरु करिव करिव आधारभूत आवश्यक्तलाई समेत ‘सुबिधा’ मान्ने मानसिक हालतमा पुगी सकेका छौं ।
एकलकाटेजी, रमाईलो कुरा गर्नु भयो। ध्यान र आन्दोलन संग-सगै लानु पर्ने हो तर हामिकहाँको जस्तो गाईजात्रे आन्दोलन चाहि हैन। सामाजिक सुधारकोलागि त कुनै आन्दोलन भएकै छैन भन्दा पनि हुन्छ हामीकहाँ। जनताहरु खाली--प्रज्वलजीको शब्द सापट लीदां—एउटा भातमारा हटाएर अर्को भातमाराहरुलाई सत्तामा पुर्याउने आन्दोलनमा मात्रै प्रयोग गरीए ।
प्रज्वलजी, मलाई पनि लाग्दैछ हामी विस्तारै Fatalism को volunteer सिकार हुँदैंछौं ।
सिकारुजी, बेदनाथजी, मिलनजी, आवश्यक समयमा परिस्थितिसंग सम्झ्यौता गर्नुको विकल्प नै छैन । तर हरेक ‘पेलाई’ र ‘अधिकार हनन’ लाई नियति सम्झने बानी पर्ला भन्ने मेरो डर हो ।
दूर्जेयजी, हामी सबैको चाहना र देशप्रेमले आफ्नो देशलाई “नेपाल-- heaven of the earth” सम्झनु एकदमै प्राकृतिक वा सामान्य हो । मेरो लेख पढेर झस्कें भन्नु भएको रहेछ, मैले वास्तवमा सबैलाई यो एक तमासको प्रमादबाट झस्काउनै खोजेको हो । कुनै कुरालाइ मजबूरीका बिच सहनु र नियतिका रुपमा लिनु फरक छ। मलाई लाग्दैछ लामो अभ्यासका कारण हामी सबै प्रतिकूलतालाई नियतिको नाम दिएर अबचेतन मन देखी नै सबै कुरा स्विकार्ने हालतमा पुग्दैछौं, त्यसैले झस्काएकै हो है !
दीपकजी, केहि कुरा माथी पनि लेखी सकेको छु, यो आफैं माथीको व्यङ्य हो भनेर। वास्वबमा ‘तेन तेक्तेन भुञ्जीथा’ भन्ने उदघोष भोगबाट वाक्क भएपछि आउनु पर्ने हो। तर हामी भने फ्याउराले अंगुर खान खोज्दा नभेटे पछि “अंगुर अमीलो हुन्छ, म खान्न” भने जस्तै गरेर मजबूरीको त्यागलाई अँगाल्दै छौं । यो उदघोष आफ्नो लाचारी छुपाउने वैचारीक खोलको रुपमा प्रयोग गरेको हुँ । प्रष्ट भएं कि झनै अलमल भयो कुनी !
सबैलाई आफ्नो अमूल्य विचार राख्नु भएकोमा धन्यवाद ।
दिलीप जी,
ReplyDeleteओशोको भनाई र दर्शन मलाई पनि असाध्यै मन पर्छ । जसमा पनि उनैको भनाईलाई सारतत्व बनाई नैकै मिठो र आशाबादी आफ्नो बिचार राख्नु भएको पाएँ । पढन पाउँदा धेरै हदसम्म खुशी लाग्यो । यसको लागि धन्यवाद !
जती गहिरो आर्टिकल त्यती नै गहिरो कमेन्ट हरु !
ReplyDelete( सररर पढे राम्रो लाग्यो तर कमेन्ट लेख्नु आएन ! यस्तो गहिरो बिषय मा कमेन्ट लेख्न मलाई त २-४ चो टि दोहोर्याएरै पढ्नु पर्छ बा ! )
तर्क,विचार, भाषा र प्रस्तुति सबैमा पूर्ण सहमत छु । अंग्रेजीमा पीँध नभएको गर्तलाई abyss भनिन्छ र लाग्छ त्यो पीँध बिहीनताको खाडलमा झर्ने क्रमको हाम्रो नियति यात्राको अधोगतितर्फ जारी छ । राजनीति र आक्रोश विध्वंशको ऊर्जाले ओतप्रोत भए पनि रचनात्मकता, सीर्जनशिलता अनि उद्देश्यमूलकताको लगामले नबाँधेको निर्बन्ध छ र यसलाई कुनै हुल्याहाले सजिलै तमाशाका लागि प्रयोग गर्न सक्छ र त्यही गरिरहेछन् ।
ReplyDeleteजब अति नकारात्मकतामा हामी अभ्यस्त हुन थाल्छौँ त्यो किंकर्व्यबिमूढता र उपायबिहीनताले सिर्जना गर्ने अकर्मण्यता, भावी पुस्ताको लागि पनि डरलाग्दो पार नलाग्ने पर्खाल बनेर कडा हुन पुग्छ । अहिलेको पुस्ताले बाटो पाएन भन्दा पनि ( किनभने यसको आशा बाँकि पनि रहेन )आउँदो पुस्ताले हाम्रो विरासतमा पाउने नेपलाको सम्झना गर्दा आङ सिरिङ्ग हुने स्थति आएको छ । भोलिका लागि आशाहरुको समाप्ति बनाउने यो परिस्थति भयकारी हो , हाम्रो मानसमा ।