स्कुल पढ्ने बेलामा एकदिन अंग्रेजीको शिक्षकले एउटा अंग्रेजी भनाईको माने सम्झाउँदै भन्नु भएको थियो “ … महान मान्छेबाट पनि गल्ती हुन्छन्” । मैले भने त्यतिबेला त्यो भनाईको अर्थ अर्कै निकालेको थिए : “गल्ती गर्ने मात्रै महान बन्छन” । शिक्षकले शब्दार्थ देखाएर तर्क प्रस्तुत गरे, मैले सत्यार्थ दर्शाएर बुझ्न ईन्कार गरें । उनले आफ्नो शिक्षकवादको हैकम देखाएर मलाई हप्काए, मैले आफ्नो विद्यार्थी जोश देखाएर उनलाई रन्काएँ । कक्षामा निकै वेर चर्काचर्की भयो। त्यतिबेला मलाई आफ्नै तर्क शतप्रतिशत ठीक लागेको थियो, तर स्थितिको गाम्भीर्यलाई ध्यानमा राखेर म नै चुप बसें (कारण त्यतिबेलाका शिक्षकका हातमा एउटा लठ्ठी पनि हुने गर्थ्यो :)
बीचमा केहि समय शिक्षकको तर्क ठीक लाग्यो, तर वरिपरिको वातावरण र अहिलेको स्थिति हेर्दा लाग्छ स्कुल समयको मेरै तर्क सहि रहेछ । तपाई आफैं हेर्नुस न, यहाँ गल्ती नै नगर्ने ठूलो मान्छे को नै छ?।
कुर्सी पाएपछि भोट हाल्ने जनता भुल्ने नेता, प्रसिद्धि पाएपछि सुटीङमा ढिला आउने अभिनेता, आँखा अगाडि घटेको घटना नदेख्ने तर हावा खबर लेख्ने पत्रकार, आफ्नै घर्रामा भएको फाईल नभेट्ने र कामवालालाई पुरै कार्यालय घुमाउने कर्मचारी , सबै नै आ-आफ्ना क्षेत्रमा अगाडि बढ्दैछन। यी सबलाई तपाईले बदमासी गर्दा गर्दै समात्नु भयो भने सबैले एउटै जबाफ दिनेछन : “के गर्ने गल्ती त मान्छेबाट भैहाल्छ नि …” । तर मेरो बिचारमा यो वास्तबमा भुल हैन, माथी माथी चढ्ने पुल हो । किनकि अहिलेको जमनामा भुल नगरिकन ठूलो मान्छे बन्नु असम्भव नै छ। पत्याउनु हुन्न ?, हेर्नस त :
तपाई सरकारी कर्मचारी हुनुहुन्छ र तपाईले कुनै काम गर्नु छ, तपाईसंग समय प्रशस्त छ र काम गर्ने वातावरण पनि छ, तर पर्खनुस !, हतार गरेर त्यो काम नगरिहाल्नुस, किनकि अर्काले एकचोटि भन्ने बित्तीकै काम गरिहाल्ने व्यक्ति कहिल्यै ठूलो मान्छे बन्न सक्दैन । पहिला त दुई तीन पटक भोलीभोलीको वहानामा उसको दिमाग तताउनुहोस, त्यसपछि चार पाँचपटक कार्य व्यस्तताले गर्न नसकेको बताउनुहोस। अनी कुनै दिन, फुर्सद भयो र ‘मुड’ पनि चल्यो भने बल्ल उसको काममा हात चलाउनुहोस। यस बीचमा ऊ पन्ध्र पटक निवेदन लिएर आउनेछ, सत्र पटक चीया र खाजा खुवाउने छ। अन्त्यमा उसको काम गरिदिएकोमा धन्यवाद पनि दिने छ (काम र ठाम हेरी आउने अदृश्य वस्तुहरुको चर्चा भने अहिले नगरौं)।
तर सो व्यक्ति आउनेबित्तिकै तपाईले उसको काम गरिदिनु भएको भए के हुन्थ्यो त तपाईलाई थाहा छ? । उ तपाईको कार्यालय कोठामा प्रवेश गर्थ्यो, तपाइ लुसुक्क उसको काम सक्काईदिनु हुन्थ्यो, उ खुरुक्क आफ्नो बाटो लाग्थ्यो । सायद बाटोमा यस्तो सोच्दो हो – “ओहो ! निक्कै नाम सुनेको थिएँ, निक्कै व्यस्त हुन्छन् भन्थे त !, के को व्यस्त हुनु, काम नै केहि रहेनछ … । ऊ तपाईलाई निकम्मा सम्झदों हो, बेकारी सम्झदों हो, धन्यवाद र कृतज्ञताका शब्द त कता हो कता । त्यसैले काम हेरी कम्तीमा पनि सानो कामलाई ३ दिन, मझ्यौलालाई ५ दिन र ठूलोलाई १० दिन सम्म झुलाउनु होस् । हैन तपाईलाई ठुलो मान्छ बन्नु छैन भने त भिन्दै कुरा।
अब भुलाउने र झुलाउने कलाको बारेमा पनि केहि चर्चा गरौं । यसका मुख्य दुईवटा मात्रै अति असरदार र जोडदार तरिका छन्- एक व्यस्तता देखाउने, दुई भुलेको नाटक गर्ने । व्यस्तताको नाटक गर्न धेरै सजिलो छ। तपाई अफिसको टेबुलमा टाउको अड्याएर निदाई रहनु भएको छ, फोनको घण्टीले तपाईको निन्द्रा खलबलिन्छ । “हेलो !, म भूँडिवाल अग्रवाल … ” उताबाट आबाज आउँछ “ मेरो काम … ”। उताको आबाजलाई बीचैमा काटेर भन्नुहोस “ … अँ, आजभोलि कामको भिडले गर्दा केहि गर्न भ्याएको छैन, दुई तीन दिनपछि सम्पर्क गर्नुहोस न ”। उताबाट सधन्यवाद फोन राखीन्छ र उ तपाईको व्यस्तताको गुणगान गाउन थाल्छ, तपाई चाहिँ निंन्द्रा बिगारेकोमा उसलाई सराप्न थाल्नुहोस ।
तर कहिलेकाही कामवाला यस्ता हुन्छन्, जो बिना फोन एक्कैचोटी तपाईकहाँ पुग्नेछन (बदमासहरु!), तर नआत्तिनुहोस्, झट्ट फोन उठाएर गरको नम्बर डायल गर्नुहोस “अँ … म फलानो … कति बजे रे आजको मिटिङ … ल ल म तुरुन्तै निस्कें” बस् फोन राखेर अगाडिको मानिसलाई हेरेर हिस्स हाँसिदिनुहोस् अगाडिको मान्छे आफैं माफी मागेर हिंडछ । (ऊ तपाईको अफिस बाहिर जान्छ, तपाई ट्वाईलेट सम्म गएर फर्कनुहोस –एक पन्थ दुई काज) । साथै त्यस्तै अपर्झट परेको बेलामा धुल्याई सकेको फाईल पल्टाउने वा श्रीमतीको चिठ्ठी हेरेर घोरिई दिने गर्नाले पनि अगाडिको मान्छे फर्कन सक्छ ।
अब कामको बोझले गर्दा भुलेको बहाना गर्ने उपाएहरुको बारेमा सोचौं । यो त झन माथिका उपाएहरु भन्दा पनि सजिलो छ । बस मनमनमा “यो मोरो कहाँबाट आईपुग्यो!” भन्ने भाव आएपनि मुखले भने “… हे हे हे ! हेर्नुस कामको भीडमा तपाईको त ठ्याक्कै भुलेछु, एक दुई दिनमा हेर्छु है !” भन्नुस, कामवाला सम्झन्छ ‘ओहो, यत्रोविधि काम समालेर बसेका छन, एक दुईवटा त बिर्सन पनि सक्छन नि!” । ऊ तपाईले ढाँटेको थाहा पाउँदैन र तपाईको कार्य व्यस्तताको राग अलाप्दै फर्कन्छ । तपाई आफ्नो सफलतामा गुनगुनाउन थाल्नुहोस ।
मान्छे अगाडि छैन र फोनमा भुलेको देखाउनुछ भने त झनै सजिलो । हेर्नुस त तपाईको फोनको घण्टी बज्दैछ … , किन हतार गरेर उठाउन लागेको, पाँच-सात घण्टी बज्न दिनुहोस। ल, अब उठाउनुस “ हेलो, म मालामाल कम्पनीबाट बोलेको, मेरो निबेदन … ” उताबाट आबाज आउँछ, ल! तपाई किन आत्तेको?, जबाफ म सिकाईदिन्छु “ ओहो मालामालजी ( काम बिर्सेको मान्छेको तपाईले नाम पनि बिर्सन सक्नु हुन्छ ) हेर्नुस न … यो हप्ता साह्रै काम थिए, तपाईको त झण्डै बिर्सेको … तर धन्दा नमान्नुस म अर्को हप्ता हेरिदिन्छु” । उताबाट सधन्यबाद फोन राखीन्छ । ‘अरुको यत्रोविधि काम हुँदा हुँदैम पनि मलाई सम्झिरहेका रहेछन’ ऊ, वास्तविकता भन्दा धेरै परबाट तपाईको गुणगान गाउँन थाल्छ, तपाई भने त्यो मालामाल कम्पनीको को मान्छे होला र त्यसको के काम थियो होला भनेर सोच्दै गर्नुस ।
माथिका उदाहरणरुको अनुसरण गरेमा तपाई पनि एकदिन अवश्य ठूलो मान्छे बन्नु हुनेछ । त्यसैले तपाई पनि आजै देखी भुल्ने र गल्ती गर्ने बानी सिक्नोस्। एकचोटि गल्ती भएपछि सुधार्ने बानी छ भने त्यो पनि छाडनुस किनकि यहाँको चलन नै यस्तै छ :
अमर हुनलाई पहिला मर्नुपर्छ ।
महान बन्न धेरै गल्ती गर्नुपर्छ ।।
तपाईले कोहि नमरीकन अमर भएको मान्छे देख्नु भएको छ?, कोहि गल्ती नै नगर्ने महान् व्यक्तिलाई चीन्नु भएको छ ?
(गोरखापत्र ०१-०४-२०५६)
हा हा हा! 'नेपाली रोग'माथि कडा प्रहार गयो नि दाइ!
ReplyDeleteजोडदार प्रस्तुति दिलिप दाई ।
ReplyDeleteनेपाली यथार्तको मिठो ब्यङय
अब गल्ति गरेर नै महान बन्नु पर्ला जस्तो छ । हा. हा..
ओहो दिलीप जी ! लौ आज त मिठो र रमाइलो खिचडी नै बनाउनु भएको रहेछ ............. खूब स्वाद माने मैले त |
ReplyDelete" आजै देखी भुल्ने र गल्ती गर्ने बानी सिक्नोस्"
कतै मलाई पो घोच्या होइन ! कसले लगाएछन मेरो सुराकी - तपाई लाइ | हाह हां ...........हाह हां ..
निकै रोमाञ्जकारी हास्य ब्यङग्य लाग्यो मलाई त । नेपालको प्रशासनिक व्यवस्थाको खुलस्त चित्रण छ यसमा । अब त यी टिप्सहरुको शिरोधार्य गर्नुपर्छ होला...... महान् बन्न.....हा...हा....हा...
ReplyDeleteधन्यवाद दिलीप दाई तपाईलाई
लेखोट मलाई निकै घत राम्रो लाग्यो दिलीप जी मलाई त.........
ReplyDelete“के गर्ने गल्ती त मान्छेबाट भैहाल्छ नि …” ।
ReplyDeleteतर मेरो बिचारमा यो वास्तबमा भुल हैन, माथी माथी चढ्ने पुल हो ।
गज़बको झटारो दिलिप जी,
साँघु, तुईन, झोलुंगे देखि पक्कीपुल सम्म छपक्कै यस्ता पुलहरूले हाम्रो देश भरिएको छ, अनि किन नहिडून तल देखि माथि सम्म - महानहरु लमक लमक लम्किदै ?....
महान बन्ने सजिलो तरिका ल। वास्तवमै यसरी रहेछ महान बन्ने। जे होस् चोटिलो प्रहार दिनु भयो। शायद यसरी बनेका रहेछ्न महान नेपालका महान मान्छेहरु। मलाई लाग्योकी अब मलाई महान बन्नु छैन जे छ ठिकै छ। बेकारमा महान बन्ने धुनमा समय खत्तम पारीएछ। हा हा
ReplyDeleteराम्रो बिचार र सही बिबेचना।।
चटनी पनि छाक टार्ने चटनी नै लाग्यो यो चाहिँ । ५६ सालको कुरो ६६ सालमा पनि सदावहार छ । रचनाको तागत यहीँनेर देखिन्छ ।
ReplyDeleteगल्ती गर्ने, झुलाउने, व्यस्त बन्ने कामलाई बढावा दिने खासमा धेरै हदसम्म जिम्मेवार सेवाग्राही नै हुन्, उनीहरूको दृष्टिमा महान्ता तिनै ढाँट-छल र नौटङ्कीले बडप्पन देखाउने खुबी हो । ढोकाबाहिर व्यस्त लेखेको 'नामपाटी' नै योग्य कर्मचारीको प्रमाणचिन्ह हो । के कुरामा व्यस्त हो, कुर्सीमा ढपक्कोक ओढाएको कोट मात्र 'व्यस्त' हो कि, केही अर्थ राख्दैन । गल्ती गर्ने महान् हुन्छ भन्ने बाउँठिएको मान्यता धेरै सक्रिय भइरहने र काम गरिरहने मान्छेबाट त्यसक्रममा गल्तीहरू पनि उत्तिकै हुन्छन् भन्ने स्वाभाविक क्रियाबाट अपभ्रंस भई आएको हो । तर हामीकहाँ चाहिँ बुझाइ नै उल्टो भयो ।
धन्यवाद दाइ रमाइलो व्यङ्ग्य लेखका लागि ।
अनि दाइ, लेवलमा रहेको हास्य व्यङ्यलाई 'हास्य व्यङ्ग्य' बनाउनुहोला । अझ, हास्य त्यहाँनेर विशेषण (हाँस्न लायक) को रूपमा आएको होइन र नवरसमध्येको एक हास्य रस (नाम)को रूपमा प्रयुक्त भएको हो भने भने दुवैलाई जोडेरै 'हास्यव्यङ्ग्य' लेख्दा उत्तम होला । धन्यवाद !
राम्रो ब्यङ्ग्य गर्नु भएछ तर हाम्रो प्रसासनिक कार्यालय कहिले पनि सुध्रीदैन।
ReplyDeleteधाइबाजी गल्ती औंल्याईदिनु भएको धेरै आभार ।
ReplyDeleteयाद पनि भएको थिएन। अहिले सुधार गरेर 'व्यङ्य'लाई 'व्यङ्ग्य'बनाएँ ।
लेख्दाखेर कहिले 'हास्य' मात्रै त कहिले 'व्यङ्ग्य' मात्रै होलान भनेर 'हास्य' र 'व्यङ्ग्य'लाई भने अझै छुट्याएरै राखेको छु । (कतै यो पनि भाषा माथि नै त व्यङ्ग्य भएन :)
गजबकै जुक्ति लेख्नुभएछ । यसलाई पढेर त व्यङ्ग्य भन्दा पनि जुक्ति नै सम्झेलान् मान्छेहरुले ।
ReplyDeleteमलाई यो मन परेन... यो त दाइ को आज सम्म कै सबभन्दा झुर पोष्ट गएछ ... धेत यस्तो पनि लेख्ने हो ...! ल हेर ...कमेन्ट गर्ने पनि कस्ता ... जे पायो त्यै लेख्छन ... हे भगवान कुन जुनीमा बाँचिए छ नि यस्तो पोष्ट देख्न...
ReplyDeleteअन्यथा नलिनु है... दाइले दिनुभा फर्मुला युज गरेको नि ... कत्ति अरु मात्रै महान बन्छन त ...
साँच्चै गज्जब रहेछ पोष्ट...
पख्नुस् दिलिप ब्रो पैला मलाई मर्न त दिनुस् अनी तपाईं को चुनौती को जवाफ दिनुपर्ला..किन भने तपाईं ले खोजेको जस्तो मैले अरु त चिनेको छैन अब मै पो हो कि भन्न त पैला मर्नु पर्ने भो..अब म मर्चु नै भन्ने पनि के ग्यारेन्टी भो र ?बाचुन्जेल जवाफ दिनै मिलेन...
ReplyDeleteगल्तिहरु प्रसस्त गर्छु म..अनी भविस्य मा पनि गरी नै रहने बिचार छ..हेरम कत्तिको सिक्छु
रमाइलो लेख :)
ReplyDeleteशिक्षकको र तपाईं को तर्क सार्है रमाइलो र सान्दर्भिक लाग्यो
ज्या !
ReplyDeleteलेख्न त लेख्नु भो दिलिप जि तर मलाई त डर लाग्यो !
यस्तो सँग लेख्नु भएको छ कि साच्चै नै हो नै झै गरी ( त्यो महान बन्ने तरिका नि ! )
कोइ न कोइ ले त २० प्रतिशत मात्रै भने पनि यस्तै गर्न बेर छैन ! ( यो २० प्रतिशत सिको गर्ने भनेर चै सज्जन लाई भन्या नि ! )
यस्तो उल्टो उल्टो पनि सिकाउने !
राम्रो भन्दा नराम्रो कुरा मान्छेले सजिलै सिक्छन !
तपाईं जस्तो राम्रो मान्छेले पनि यस्तो कुरा सिकाउने ! मलाई मन परेन ।
( शुभ चिन्तक पाठक को नाताले मन परेन भनिदिए जस्ताको तस्तै , मन दुखे छेमा दिनुस् है ! )
हावा ब्रो !,
ReplyDeleteगल्तीहरु प्रसस्त गर्नुहुन्छ भने पक्कै पनि भविष्यमा महान बन्नु होला । तर अमर बन्नु छैन भने त मर्नु जरुरी छैननि हो ।
लुनाजी,
डर मान्नु पर्दैन यो व्यङ्ग्य मात्रै हो । ठुलाले धेरै गल्ती गर्छन तर गल्ती गरेर ठुलो हुने त हैन नी !
आफ्नो मनमा जे लाग्छ त्यस्तै लेख्नुस है, यसमा चित्त दुख्ने वा क्षमा माग्ने सबालै छैन । आफूले लेखेको कुरामा अरुले नकारात्मक टिप्पणी नै नगरोस भन्ने भए त ब्लगमा राख्नुको पनि के मतलब हुन्छ र हैन ?।
सबैलाई टिप्पणीको लागि धन्यवाद ।
म त ढिला पो भएछु दिलिप जी हाँस्नलाई ।साह्रै रमाइलो सँग पढें ,सरकारि काम कहिले जाला घाम । हाहाहाहा
ReplyDeleteIts Awesome !
ReplyDelete"तपाईले कोहि नमरीकन अमर भएको मान्छे देख्नु भएको छ?, कोहि गल्ती नै नगर्ने महान् व्यक्तिलाई चीन्नु भएको छ ?" यो कुरा मा अति नै चित्त बुझ्यो !!
ReplyDeleteनमरी सोर्ग देखिन्न होला !!!!!!!!!!जिऊदो अमर बहादुर लाई देखेकै हो
ReplyDelete