बोधार्थ तथा कार्यार्थ:
मेरो धेरै अघि मधुपर्कमा पनि छापीइसकेको एउटा कथा आफ्नो नाममा छाप्ने सारक महोदय----१
प्रथम नेपाल खुल्ला लघुकथा प्रतियोगीतामा पुरस्कृत मेरो कथा आफ्नो नाममा छाप्ने अर्का सारक महोदय--------------------------------------------------------------------१
मेरो गोर्खापत्रमै पूर्व प्रकाशीत अर्को तीन सुत्र कथा विना सूचना (कथा पुरै सार्न सक्ने लेखकको नाम भने सार्न नसक्ने) एकदमै नीच मारेर “मैले लेखेको हैन” भनेर आफ्नो ब्लगमा हाल्ने सारक महोदय--१
मेरो गजलमा तखल्लुस परिवर्तन गरी आफ्नो नाम राखी आफ्नो ब्लगमा हाल्ने सारक महोदय-१
मेरो कान्तिपुरमा प्रकाशित कविता, गोर्खापत्रमा प्रकाशीत व्यङ्ग्य लगाएत अन्य केहि टाँसोहरु होलसेलमै विना सूचना आफ्नो ब्लगमा छाप्ने सारक महोदय --------------------------१
र अन्य ज्ञात, अज्ञात सारक महोदयहरु
महोदयहरु,
पत्रिकाहरुमा, प्राय:लेख्ने र पढ्ने कार्य सक्कीए पश्चात, करिव करिव त्यो लेख वा खवरको औपचारिकता पनि सक्किने कुरा त यहाँहरुमा बिधितै होला। पत्र–पत्रीकामा, साधारण अबस्थामा त्यो लेखौटको बारेमा टिका-टिप्पणी, मत-मतान्तर र समर्थन अनि बिरोधका उपक्रमहरुको सुलभ पाटाहरु नहुनाले, न लेखकको खास सोचसंग पाठक परीचित हुन सक्छन, न त आफ्नो लेख-रचनाका बारेमा पाठकको तटस्थ धारणा बुझ्न नै लेखकले अवसर पाउँछन ।
यस अर्थमा हेर्दा, यो ब्लगरलाई, ब्लग लेखन वास्तबमै रोमाञ्चक र चुनौतिपूर्ण कार्य जस्तो पनि लाग्छ । म त भन्छु, पत्रकारीता भन्दा पनि ब्लग लेखन अझ बढि ‘दुस्साहस’पूर्ण छ । जहाँ लेखीएका प्रत्यक हरफहरुको समेत लेखकले जिम्मेबारी लिनु पर्ने हुन्छ, वा कमसेकम सो को बारेमा आउने ‘जस’ वा अपजस सहन तयार भएर बस्नु पर्ने हुन्छ ।
यहाँ लेखिएका कुराले आफनै तारीफ गर्न खोजीएको जस्तो लाग्न सक्ने भ्रमलाई पहिल्यै नकार्दा पनि ब्लग लेखनमा निक्कै मेहनत र अध्ययन लागेको हुन्छ भन्ने कुराको यहाँहरुलाई जानकारी दिन भने म पछि पर्दीन ।
सानो होस वा ठुलो, आफूले नबुझेको कुराको बारेमा म लेख्दीन र आफूले जानेको वा बुझेको कुरा लेख्दा पनि कमसेकम त्रुटी होस भनेर भेटे जत्तीका सन्दर्भ सामाग्री हेर्ने पनि गर्छु । मलाई लाग्छ प्राय: सबै ब्लगरहरु यसरी नै लेख्छन । यस अर्थमा ब्लगमा लेखिने कुनै पनि सामाग्री तयार गर्न ब्लगरको निकै मेहनत, परिश्रम र समय लागेको हुन्छ, भने यसरी समय र श्रम लगाएर ब्लगमा टाँसीएका प्रत्यक हरफ र शब्द समेत ब्लगरका बौद्धिक सम्पत्ति हुन ।
महोदयहरु,
केहीदिन अगाडि कुनै सूचना खोज्न गुगलको सर्च ईन्जिन खोतल्दा अचानक मेरो ब्लगमा टाँसीएको मेरो रचना यहाहरुको साईटमा देखें। हुन त, यस्तो भएको पहिलो पटक भने हैन । यो भन्दा पहिला पनि यहाँहरुका अग्रजहरुले बसन्तजीको कविता र दौंतरीको रचना पनि चोरर वा विना सूचना अन्तै छापेका थिए ।
अँ त, आफ्नो एउटा रचना यहाँहरु मध्यकै एकजनाको साईटमा देखेपछि मनमा खुल्दुली भयो र अरु पनि यस्तो भा’छ कि भनेर गुगलमा एकैछिन बिताएँ । एक-एक गरेर खोज्न समय र परिस्थिति दुबैले नदिएकोले केहि ‘चोरी हुनसक्ने सम्भाव्य रचनाहरु’ लाई लक्षीत गेरेर खोजी सुरु गरें ।
करिव आधा घण्टाको खोजीमा मेरा १२-१५ रचनाहरु कतै नामसम्म राखेर त कतै आफ्नै नाममा र कतै साह्रै नीच मारेर “यो मैले लेखेको हैन” भनेर यहाँहरुकै साईटमा भेट्पछि म अलमल्ल समेत परें ।
हुन त, मेरो रचनाहरु ‘कपि-पेष्ट’ गर्ने यहाँहरु मध्यका केहीले रचनाको मुन्तीर नदेखिने सानो अक्षरमा मेरो मेरो नाम पनि दिने कष्ट गरेर मेरो ठुलै कल्याण पनि गर्नु भएको छ, तर जे सुकै भए पनि मेरो विचारमा यसरी विना सूचना रचना कपि पेष्ट गर्नु गलत कार्य हो (जबकि अहिलेको समयमा ब्लगरसंग सम्पर्क गर्नु सजिलो भन्दा पनि सजिलो छ)।
सुरुमा एउटा मात्रै रचना देख्दा यहाँहरुकै ब्लगमा गएर कमेण्ट बक्समा ‘आपत्ती जनाउँछु’ भनेर सोचेको थिएँ । यसरी अरु लेखकले लेखेको लेख रचना विना सूचना सारेर ‘सारक’ बन्नेहरु धेरै भेटेपछि भने रनभुल्ल पनि परें । त्यसमा पनि यहाँहरु मध्य केहि सारकहरुको ब्लगमा ‘कमेण्ट डिसएबल’ समेत गरीएका कारण बाध्य भएर यो पत्र कोर्दै छु ।
जानकार महोदयहरु,
नेपालमा प्रतिलिपि अधिकार ऐन २०५९ र प्रतिलिपि अधिकार नियमावली २०६१ दुबै लागु भैसकेका छन र यसले कुनै पनि व्यक्तिले लेखेको कुनै पनि लेखौट, साहित्यिक रचना, चित्र वा चिन्ह समेतलाई बौद्धिक सम्पत्तिको रुपमा व्याख्या गरेको छ भन्ने जानकारी यहाहरुलाई होला नै, नभए यसै पत्र मार्फत सो को पनि जानकारी होस।
यहाँहरुको सुबिधाको लागि निम्न बमोजिमको जानकारीहरु यसै पत्रसंगै नत्थी गरेको छु:
बौद्धिक सम्पत्ति र बौद्धिक सम्पत्ति अधिकारका बारेमा संक्षिप्त जानकारी
प्रतिलिपि अधिकार नियमावली २०६१
आशा छ यहाँहरुले आगामी दिनमा यो वा अन्य ब्लग र अरु कसैको रचनाहरु विना स्विकृति आप्नो नाममा वा आ-आफ्नो साईटमा टाँस्नु हुने छैन ।
अन्य ब्लगरहरुका अरु-अरु ब्लग पोष्टहरु कपि पेष्ट गर्ने व्यस्तताका बीच यहाँहरु मेरो ब्लगमा छिर्न भ्याउनु नहोला भनेर आजैका मितिमा यहाँहरु सबैको भेटिएसम्मको ईमेल ठेगानामा पनि यहि पत्रको नक्कल प्रेषीत गरेको छु । यो पोष्ट हेर्न भ्याउनु भएन भने सो नक्कल लाई नै सक्कल मानी गर्नु, गराउनु होला !
धन्यवाद् ।
कसैको रचना सापटी लिए त्यसको रचनाकार को नाम लेख संगै प्रस्तुत गर्नु हरेक को धर्म हो | र सम्भब भएसम्म मूल रचनाकार लाइ छिटो जानकारी दिनु पनि | तर यहाँ त कतिपय ले त्यो लेख आफैं ले लेखेको हुँ भनि रहेका छन् ... यो त केवल गल्ति मात्र होइन..अपराध हो | स्पस्टिकरण दिन खोज्ने ले जस्तो सुकै शब्दमा दिए नि यो एक घृणित र निन्दनीय कार्य हो | यसको हामी सबैले डटेर बिरोध गर्नु पर्छ |
ReplyDeleteयो चोर फटाहा जाली भन्ने मान्छे एउटै देश वा जातिमा मात्र नहुँदो रहेछ | केहि समय अगाडी चर्चित भारतीय कबियित्री हरकिरात हकिर (http://harkirathaqeer.blogspot.com/2009/04/blog-post_10.html) र सारक मुनाब्बर सुल्ताना बीच चोरीको यस्तै बिबाद परेको थियो | त्यहाँ त चोरले छाती पिटेर भनेकी थिईन ... हो मैले चोरेको हुँ ...
हाम्रा नेपाली ब्लगरले अरुबाट नराम्रा कुरा चाहिं नसिकुन...
दिलीप जी चोरी गर्नेलाई सजाय मिल्नैपर्छ ।
ReplyDeleteअझै थाहा नभएका धेरै होलान्, यसो खोजखाज गरौँ । गर्न सकिने उपाय त अरु केही देखिँदैन ।
ReplyDeleteIt is sad to hear someone's creation has been stolen for the sake of creating own pseudo identity. it is not only the poem and the stories, it is also passion and the energy someone has poured in to them...
ReplyDeleteHowever, there is other facet of the story. Someone has really appreciated your deeds, impressed and didnot hesite to name his/her own, in spite of the prospective risk of acusation ahead..
This action has made you more precious..
Salule for the wonderful creation!
माथी मिलनजीको कुरामा सहमत छु । सबै जातीमा यस्तो चोर , फटाहा , जालीहरु छन् र तिनले धर्म भुलेर केवल जाती मात्र सम्झेका छन् क्यार । घिनलाग्दो काम गर्नेहरुको अनुहार पनि हेरियो उपरान्तमा देखिएको ब्लगको झ्यालमा ।
ReplyDeleteदाङ्गै copy paste नै गरेर चोर्नु त अतिनै हो। त्यसमाथि पनि आफैले लेखेको भनेर ठोक्नुचै आपराध हो। यो कार्यलाई निरुत्साहित गर्नुपर्छ सबैले।
ReplyDeleteहा हाहा... सारक भन्या के रहेछ भन्या त !
ReplyDeleteयस्ता चोरलाई त केही गरेर पनि साध्य लगाउन मुश्किल छ दाइ । र पनि हामीलाई आफ्नो रचनाको माया लाग्छ, मूल्य थाहा छ । र तानिएका र सोहोरिएका ती सामग्री हाम्रा हुन् भनेर हामीलाई थाहा छ । कसैले उता हेरेर पछि आफ्नो हेर्न आइपुगेर प्रश्न गरेमा निर्धक्क जवाफ दिनलाई आफ्नो सर्जकीय स्वाभिमानको खुलस्त्याइँ हुने नै छ हामीसँग । चोरलाई ताल्चा लगाएको घर त सुरक्षित हुन्छ भने खुलमखुला ब्लग त झन् अखडा नै हुन्छ उसलाई । मैले पनि 'सारक'हरूको 'सिर्जनशील' ब्लगडरूमा चियाएँ, कतिपयमा साभार गरिएको भनिएको रहेछ, नाम बेगर । साभार सामग्री पनि त्यसरी राख्नुअघि सम्बन्धित सर्जकसँग अनुमति लिनुपर्ने हो, तर नियत खराब भएकासँग के पो लाग्छ र ?
जे होस्, कुरा गम्भीर छ । यो गम्भीर प्रसङ्गलाई बुनेर ल्याउनुभएको व्यङ्ग्यात्मक प्रस्तुतिले खितखित बनायो । रमाइलो लाग्यो, चोरीको महात्म्य पनि ।
आफ्ना चोरहरू पनि पत्तो लाग्छन् कि, खोज्नुपर्यो अब ।
ओहो, मज्जाले हेरियो हात लम्ब्याएर पराइको ढोका फोर्न खोज्नेहरुको चर्तीकला पनि । यसरि बिना सम्पर्क लेखहरु चोर्नु भनेको सरासर अनैतिक र निन्दनिय कार्य नै हो । अब अनुहारमा क्यामेरा परिछकेपछि त हिडडैनन होला नि ठाटिएर? जे होस यस्ता कार्यहरु गर्नेहरुलाई राम्रै सबक दिनुपर्छ । दिलिप जी अनैतिक कार्यको भण्डाफोर गर्नु भएकोमा धन्यबाद ।
ReplyDeleteहा हा दिलिप जी, तपाईका लेख रचनाहरु सार्ने सारक महोदयहरुको हुलमा खानतलासी गर्दा तखल्लुस परिवर्तन गरि तपाइको गजल छाप्ने महोदयको घरभित्र बाट मेरो मझेरीमा प्रकाशित गज़ल पनि पो पत्तो लाग्यो त ! अब सारक महोदयहरुलाइ आफुले गल्ति गरेको हैन भन्ने लागेको छ भन्ने लागेको छ भने पनि माथि नत्थी गरिएका पत्रहरु राम्ररि पढ्नु होला !र यस्तो कार्य नदोहोर्याउनु होला, चेतना भया !
ReplyDeleteIt is sad to hear that your creations have been stolen (copied) by various sites (people) without giving you the proper credit for your intellectual works. However, I agree with 'Sumiran' that this act has made your works even more precious!
ReplyDeleteसुरुमा त म यस पालि दिलिपजिले कुनै रमाईलो कुराको उठान गर्न लाग्नु भो जस्तो पो लागेको थियो त। जब म लिंकहरु हेरे अचम्मनै परे। एक जनाले त कम्सेकम तपाईको त नाम दिएका रहेछन् तर मैले लेखेको हैन भन्दै लेख्ने महाशयको कुराले एक पटक त दया लागेर आयो। कसै बाट प्रेरित भएर हुबहु सारको नक्कल कुनै हद सम्म सहन सकिन्छ तर जस्ताको जस्तै त्यो पनि आफूले लेखेझै राख्नु निन्दनिय कुरा हो। त्यसो त कुनै जानकारि मुलक कुराहरुको हुबहु टासो मैले पनि गरेको छु तर सके सम्म स्रोत खुलाएको छु बिषेश गरि बैज्ञानिक जानकारीका लागि। तर रचनाहरु माथि यस्तो अन्यायका लागि मेरो खेद छ।
ReplyDeleteतर दिलिपजि ब्लगमा राखिएका कुराहरु जो कोहिका लागि खुल्ला हुने भएर पनि होला यस्तो क्रम रोकिने छैन तर पाए सम्म निरुत्साह गर्नु पर्छ।
यो समस्याले हामी सबैलाई धेरै दु:ख दिने निश्चित छ। इण्टरनेट र यूनिकोडले गर्दा लेख्नेलाई सजिलो भएको छ, चोर्नेलाई झन् सजिलो भएको छ।
ReplyDeleteयसैगरी खबरदारीको आवाज उठाईरहनु अति आवश्यक छ, हामी सबैले।
अर्काको लेख आफ्नो ब्लगमा टांसेर कसलाई देखाएर के पाउंछु भन्ठानेको होला ? टांस्ने नै भए स्रोत खुलाएर traceback छोडे त राम्रै हुन्थ्यो । अलिकती Code of Conduct त हुनै पर्यो नि । यसो ति ब्ल्गर हरुको तस्विर हेर्दा त परिपक्कै होलन जस्तो छ, किन यस्तो गर्नु परेको होला? दिलिप जि, आफ्नो लेख आफ्नै सन्तान सरि हुन्छ, पछ्याउने र भन्डाफोर गर्ने कार्य जारी राखौं है !!
ReplyDeleteठीक कुरा उठ्यो । अरु कुरा भन्दा प्रस्तुति पो राम्रो लाग्यो हौ मलाई ।
ReplyDeleteयसमा कमेण्ट गरेर साथ दिने सबैमा मेरो आभार र कृतज्ञता ।
ReplyDeleteईण्टरनेटमा टाँसीएको भन्दैमा अरुले मेहनत गरेर लेखेको कुरालाइ थपक्क 'कपि', 'पेष्ट' गरेर राख्नु पक्कै पनि सहि कुरा होईन र आफनो ठाँउबाट यस्को बिरोध हामी सबैले गर्नै पर्छ ।
यो बिचमा फुर्सदमा खोजी पस्दा अरु पनि केहि ब्लगमा मेरो र अरु साथिहरुको अन्य रचना पनि भेटें (केहिको कमेण्ट बक्समा लेखें पनि तर डिलिट गरीएछ) ।
ब्लगमा पहिला त कोड राखेर 'कपि', 'पेष्ट' डिलिट पनि गरेको थिएँ, तर त्यो खाली ईमान्दारलाई देखाउने ताल्चा मात्रै भएको र 'सार्छु' नै भनेर आउने सारकलाई केहि नलाग्ने देखी झीकें ।
तर हामी सबैले चनाखो भएर बेला-बेलामा खोज्ने र यस्ता कार्यको पर्दाफास भने गर्नै पर्छ ।
सबैलाई पून धन्यवाद ।
मेरो नाम नराखी मेरो गजल छापिएको साइटबाट स्पष्टीकरणसहित जवाफ आएको छ; http://www.basantagautam.com/2009/02/blog-post_06.html मा हेर्न सक्नुहुन्छ। हाम्रो जागरुकता र खबरदारीकै नतिजा हो यो। यो जागरुकता र खबरदारीको हामीमा कहिल्यै कमी नहोस्।
ReplyDeleteपहिला त दौतरी देखेर झस्यांग भए कता दौतरीमा चोरी सामाग्री आयो भनेर। ब्लगको हुल संगै दिमाग खालीहुनेहरु सामाग्री चोरेर दिमाग भर्दै सन्तोषको सास फेर्छन। दौंतरीका सामाग्री पनि निकै चोरी भएको सुनेको छु।
ReplyDeleteतर तपाइले भने चोरहरुको खोजी गरेर तीनीहरुलाइ लाइमा ल्याउन प्रयास गर्नुभएको मा सर्हाना गर्दछु।
चोरी गर्नु अपराध हो तर चोरी गरे पछी थाहाँ नपाए जस्तो गरेर बस्नु अझ ठुलो अपराध हो, त्यो ब्लग मैले एक पल्ट नियाले त्यहा 60%+ Dilip सर का लेखहरू भेटे, ब्लग मा अरूको पोस्टहरू राखेर पनि ब्लग चलाउने हरू धेरै भेटेको छु, हामी सबैले चनाखो भएर बेला-बेलामा खोज्ने र यस्ता कार्यको पर्दाफास भने गर्नै पर्छ ।
ReplyDelete