21 August, 2009

के नेपालमा साहित्यको बजार छैन ?

नेपाली साहित्यका माहिर हस्तीहरु वा ‘लेखेर खाने’ कसैसंग पनि मेरो सामान्य चिनजान समेत छैन । तर बेला-बखतमा पत्र-पत्रिका र अन्य माध्यमबाट केही चर्चित साहित्यकार वा लेखेर खाने अनि केही भने ‘खाएर लेख्‍ने’ हरुको पनि सामूहिक गुनासो भने सुन्ने गरेको छु । शब्द वा वाक्यमा केही हेरफेर भएपनि मूल चुरो एउटै हुन्छ “नेपालमा साहित्यको बजार छैन”

म साहित्यकार हैन, तर एकजना पाठकको दृष्टिले हेर्दा मलाई यो कुरा कहील्यै पनि चित्त बुझ्दैन । हुन त, नेपालमा साहित्यको बजार छ वा छैन भन्ने गहनतम बिषय प्रवेश गर्न मेरो सामान्य सुझ-बुझ वा अध्ययन काफी छैन भन्नेकुराको हेक्का मलाई छ तैपनि मेरो सामन्य सोच भने यहाँ राख्दै छु ।

कुरोको चुरोमा पुग्नु पहिले एउटा घटना:

केही साल अगाडि, एकजना साथीको स्कूलमा एउटा जादूगर जादू देखाउन आएको थियो। उसको कार्यक्रम सक्केपछि, साथीले यत्तीकै उसलाई ‘कमाई कति हुन्छ?’ भनेर सोध्दा जादूगरले भनेको थियो “हजुर !, ...आजकल जादू कौन देखता है ...” ।

जादूगर, एफ.एम., टि.भी र विद्युतीय मनोरञ्जनका साधनले गर्दा आफ्नो ‘मार्केट’ घटेकोमा चिन्तित थियो । मलाई पनि लाग्यो, सायद अबका दिनमा यस्ता चटक देखाएर गुजारा गर्न सजिलो छैन ।

तर त्यसको करिब एक महिना पछि काठमाण्डौंमा कुनै एकजना ‘सरकार’ नामधारी जादूगरको आगमन भयो। उनले राजधानीको एउटै हलमा महिनादिन भन्दा पनि बढी समय, दिनको २ शोका दरले जादू देखाए । उनका शोको टिकट साधारण नेपालीको ‘औकात’ भन्दा माथीको थियो । तर यो पनि उनको जादू नै थियो सायद, तिनै साधारण नेपालीको भीडले उनको शो सधैं हाउसफूलका साथ चल्यो ।

नेपालमा साहित्यको बजार नभएको प्रसंग कतै पढ्यो कि आजकल मलाई सधैं यो घटना याद आउँछ। जहाँ एकजना चटकी स्कूल-कलेज र क्लबहरु चहारेर पनि आफनो कलाको ‘मार्केट’ भेटदैनथ्यो भने, अर्को जादूगरले भने औसत नेपालीको औकात भन्दा माथिको टिकट बेच्दा पनि टिकट पाउन मुस्किल हुन्थ्यो ।

यो कुरा उठाउँदा कसैको मानमर्दन गरेको नठहरीयोस, तर वास्तविकता यही नै हो । हामीकहाँ साहित्यको बजार वा पाठकको अभाव पक्कै छैन । छ त केवल उत्कृष्ट उत्पादन र प्रकाशन संस्था वा प्रकाशकका पाठकसम्म पुग्ने सबल रणनितीको र समुचित प्रचार प्रसारको ।

सामाजिक जीवन र राजनैतिक परिवर्तन संगै साहित्यको दायरा पनि दिनदिनै बढदै छ र अहिले नेपाली साहित्यले पनि कुनै न कुनै रुपमा विश्‍व साहित्यको प्रतिस्पर्धा गर्नु परेको छ (यो लेखकले चाहेर हैन, समय र पाठकमा उपलब्ध विकल्पहरुका कारण स्व-निर्मित अबस्था हो) ।

हुन त, हामीकहाँ विश्‍व साहित्य पढ्नेहरुको संख्या धेरै छैन, तर पनि भाषिक समानता र सहज उपलब्धताका कारण छिमेकी मुलुकका सहित्यहरुले पनि हाम्रो बजार सधैं गर्माएको हुन्छ ।

मलाई लाग्दैन कि ‘हेरी पोर्टर’ जस्तो ‘दन्त्य कथा’ र छिमेकी देशकै प्रेमचन्द, अरुन्धती राय वा मनोज र शोभा डे समेतका किताव वा रचना खोजी खोजी पढ्ने हाम्रो समाजमा पाठकको कुनै अभाव छ ।

आफ्नै मुलुकको कुरा गर्ने हो भने पनि उत्कृष्टताले बजार कहिले गुमाएको छ र?। केही समय अगाडि छापामा पढेको थिएँ, देवकोटाको मुनामदन हामीकहाँ अहिले पनि ‘बेस्ट सेलर’ मा पर्छ। भानुभक्तको रामायण सबैको घरमा नछुटने धार्मिक पुस्तकमा गनिन्छ भने भैरब अर्याल, शंकर लामिछाने, पारिजात (यहाँनेर मलाई मनपर्ने लेखकको नाम मात्रै लेख्दा पनि यो टाँसोको आकार बढ्ने भएकोले सबैको नाम राखेको छैन) आदिका किताबहरु खोजीन्छन, पढीन्छन । हो, माथि भनेजस्तै कतिपय अबस्थामा हाम्रो घरको ‘हीरा’ ले उचित प्रचार प्रसार नपाएका कारण हामीले बाहिरको ‘काँचका टुक्रा’ खेलाएर पनि बसेका छौं – --तर यसको दोष प्रकाशक वा सोको उचित वजार व्यबस्थापन र प्रचार- प्रसार नगर्नेलाई दिने कि ‘नेपालमा किताब किनेर पढ्ने मान्छे छैनन्’ भनेर बस्ने? मलाई यो प्रश्‍न जटिल र गहन लाग्छ ।

यहाँनेर, कला-साहित्यसंगै सम्बन्धित अर्को प्रसंग जोडदै छु । अघिल्लो साल यस्तै कुनै एउटा जमघटमा एकजना नेपाली सिने जगतका नायकसंग भेट भएको थियो। उनी पनि दर्शकले हिन्दी चलचित्र हेर्ने तर नेपाली नहेर्ने गरेको गुनासो गर्थै । मैले सामान्य उपभोक्ताको हिसाबमा उनलाई भेटेसम्म उपभोक्ताले आफ्नो खर्चेको धनको सट्टामा केही गुणस्तर खोज्ने भएकोले ‘तपाईहरु पनि गुणस्तर बढाउनुस, दर्शक पक्कै बढछन’ भनें । उनले करोडौंको लागतमा बन्ने हिन्दी चलचित्र र लाखौंमा निर्माण हुने नेपाली सिनेमामा समान गुणस्तर हुन नसक्ने बताए ।

मैले उनलाई त्यसो भए ‘कम लागतमा बन्ने चलचित्रको शुल्क हिन्दीको तुलनामा आधा वा सकेसम्म कम गरेर दर्शक जुटाउन र ‘मास मार्केट’ गर्न’ सल्लाह दिएँ, तर उनी त्यसमा पनि राजी थिएनन् ।

मैले उनलाई सुरुमा मास मार्केट गरेर बिस्तारै दर्शकको झुकाव परिवर्तन गर्न शुल्क घटाउने वा साबिक शुल्कमा चलाउन गुणस्तर बढाउनु पर्ने बाहेक अर्को विकल्प नभएको कुरा गर्दा उनी अलिक खुशी देखीएनन् ।

तर वास्तविकता यही हो, एउटै छानामुनि एउटै हिन्दी सिनेमा ३ महिना भन्दा बढी चल्ने हाम्रो ठाउँलाई कसरी चलचित्रको बजार नभएको भन्ने ?, हेरी सकेको एउटै फ्लिम ५-७ पटक दोहर्‍याउने उपभोक्ता भएको बजारलाई कसरी ‘खराव बजार’मा गन्ने ? ।

साहित्यमा पनि यही नियम लागुहुन्छ । माथि नै भनिसकें, नेपाली साहित्यले मजबूरीमै भएपनि विदेशि साहित्यसंग प्रतिस्पर्धा गर्नु परेको र यो आउने दिनमा झनै बढ्ने छ ।

अन्तमा, मलाई नेपालमा कला र साहित्य दुबैको राम्रो बजार रहेको जस्तो लाग्छ । एउटै वाक्यमा कुरा सक्ने हो भने बजार तयार भएपछि सृजना गर्ने हैन बजार बनाउन सक्ने सृजना तैयार गर्नु भने सक्नुपर्छ । अनि माथिकै वाक्य पनि पून एक पटक: छिमेकीले बनाएका काँचका टुक्रा बिक्रि हुने ठाउँमा, हाम्रा हीराहरुको पनि उचित र व्यवसायीक प्रचार प्रसार गर्नै पर्छ ।

त्यसैले यहाँ साहित्य-कलाको बजार छैन भन्नु अरण्य रोदन मात्रै हुनेछ। जहाँ हामी बजार छैन भनेर रुँदै गर्दा छिमेकीले आफ्ना ३ डोको माल बेचेर पनि फर्की सकेको हुनेछ ।

15 comments:

  1. राम्रो लेख दिलिप जी , हामिकहां जति उपभोक्ता छन् त्यो बिश्व बजार सँग तुलना गर्ने हो भने एकदम सानो छ तर नेपाली लेखक कलाकार ले जहिले पनि ठूला बजार सँग आम्दानी तुलना गर्ने भएकोले त्यस्तो देखिएको हो । नेपालमै अन्य काम गर्ने हरुको तुलनामा राम्रा लेखकले राम्रै कमाइ गरेका छन् जस्तो लाग्छ ।

    ReplyDelete
  2. १.
    अल्लारे उमेर थियो, सौराहमा जांड खांदै मोज गरिंदै थियो । एक जोडी बिदेशी हनिमुनका लागि आएका रहेछन त्यता, संगै बारमा रक्सी पनि खाईयो । तर दिउसो एक्दिन बुढो एकतिर र बुढी अर्को तिर फर्केर किताब पढि रहेको पो देखें । ए बाबा, एक त सौराहमा छन, दोस्रो हनिमुनमा आएका, कंहा बाट किताब पढ्ने फुर्सद पाएका हुन झैं लाग्यो ।

    २.

    काम मा एउटी (अमेरिकन) ले weekend मा family picnic गएको कुरो सुनाउंदै थि । अनी मैले के गरिस त picnic मा भनेर सोध्दा: Barbecue गर्यौं, तास खेल्याउं, फोटो खिच्यौं, "picnic" games हरु खेल्याउं, अनि किताब पढ्यौं भनी । रमाइलो गर्न गएको ठांउमा पनि के किताब पढ्नु परेको जस्तो लाग्यो फेरी ।

    यो कुरो बुझ्न यता अमेरिकामा बस्ने स्कुल जाने बच्चा भएका नेपालीहरु संग संगत हुन थाले पछी बल्ल छर्लङ भयो । हाम्रो मा किताब पढ्नु भनेको सोच्दा दिमागमा जांचमा राम्रो नम्बर नल्यएको हुनाले बा ले गाली गरेर "पढ्" भनेको मात्र संम्झना आउंछ । तर यता book is fun भन्ने हिसाबले हुर्कन्छन मनिसहरु । यो एउटा बानी हो, सबैको नै छ भन्न खोजेको हैन, तर अधिकांस साक्षर अमेरिकिहरुको त्यस्तो देखें मैले ।

    यो टांसो को कुरो संग मेरो सहमति छ, तर म आफैंलाई हेरेर पनि भन्न सक्छु हामी नेपाली मा पढ्ने culture त्यति छैन । मलाई त झन अझ केही पढ्नै परे पनि सके सम्म AudioBook पाए नि हुन्थ्यो जस्तो लाग्छ ;) यहाँले भन्नु भएको जस्तै गुणस्तर त हुनै पर्‍यो, त्यही अनुरुपको मार्केट अवश्य पनि छ (भले त्यो सानै होला), तर पढ्नु भनेको अरु मनोरन्जन जस्तै हो भन्ने culture नभए सम्म अलि गार्है होला ।

    ReplyDelete
  3. राम्रो प्रसंग उठाउनु भएको रहेछ - नेपालमा साहित्यको बजार नभएको जस्तो त लाग्दैन .. पहिलाको भन्दा त अझ निकै बढ्दो छ | बरु तपाइले भन्नु भए जस्तो स्तरीयता र गुणस्तरको तथा पाठकसम्म पुग्ने सबल रणनितीको र समुचित प्रचार प्रसारको कमिले गर्दा त्यस्तो हुन् गएको भने हो |

    "हामी बजार छैन भनेर रुँदै गर्दा छिमेकीले आफ्ना ३ डोको माल बेचेर पनि फर्की सकेको हुनेछ |" यहि कुरा कामका लागि विदेश जान line मा बस्नेहरुमा पनि लागु हुन्छ - देशमा के नै गर्न सकिन्छ र ? केहि छैन भन्छन तर त्यहि देशमा मिहनेत गर्ने हरुले पुरा जिविका चलाएर व्यालेन्स थुपार्न सक्षम भएका छन् |

    ReplyDelete
  4. सही कुरा हो है यो। बजारको समस्या भन्दा पनि तपाईले भनेजस्तै सोच, गुणस्तर प्रचार प्रसारको कमी हो। सानो बजार भए पनि हाम्रो कला साहित्यले यही सनो बजारलाई कति समेटेर लान सकेको छ भन्ने कुरा महत्वपुर्ण हुन्छ।

    ReplyDelete
  5. '..हामीकहाँ साहित्यको बजार वा पाठकको अभाव पक्कै छैन । छ त केवल उत्कृष्ट उत्पादन र प्रकाशन संस्था वा प्रकाशकका पाठकसम्म पुग्ने सबल रणनितीको र समुचित प्रचार प्रसारको । ' -- सहमत ।

    ReplyDelete
  6. ho daju ma yekdam samarthan garchhu tapaiko vanaimaa.......yeha bolne ko pitho bikchha tara nabolne ko chamal pani bikdaina vanne vanai lagu hunchha.........uni haruko bigyapan garne tarika ra hamro bigyapan garne tarika ma yekdam aakash pataal ko farak chha yehi kurama pani kehi sudhar lyauna sakiyo vane pani hamra sahityakar le lekhera khane din khasai tadha chha jasto lagdaina......ta rachanama utkristata vane hunai parchha hai.........

    ReplyDelete
  7. दिनेशजी,
    सहि कुरा ! बजार जत्रो छ त्यही अनुपातको प्रतिफलको सोच राख्‍नु जरुरी छ ।

    प्रज्वलजी,
    हामीकहाँ किताब पढ्ने संस्कारमा एकदमै कमी भएको पक्कै हो। मेरो टाँसोमा छुटेको यो व्यबहारीक पक्षलाई दृष्टान्त सहित रचनात्मक कमेण्टको माध्यममा यहाँ राखिदिनु भएकोमा धेरै धेरै धन्यवाद ।

    बेदनाथजी, दूर्जेयजी, दीपकजी

    जे भएको सानो बजारमा पनि हाम्रा आफ्ना उत्पादलाई आयातित ले छायाँमा पारेका हुन, बजारै नभएको त होईन । नाशपाती बिक्ने ठाँउमा स्याउ बिक्दैन भनेर कसरि पत्याउने ?

    भाई,

    अहिले पब्लिसीटीको जमाना छ। सामान राम्रो भएर मात्रै हुँदैन राम्रो भएको जानकारी पनि उपभोक्ता सम्म पुग्नु पर्छ । नत्र त बोल्नेको के पनि बिक्ने र नबोल्नेको नबिक्ने भन्ने नेपाली उखान त छँदैछ ।

    सबैमा पून धन्यबाद

    ReplyDelete
  8. हामीकहाँ पढने बानी त पक्कै कम छ तर गुणस्तर भएको खण्डमा स्वाद लिन पछि पर्दैनौ । यसै कुरामा जोड्न पुगे । बिदेशमा बसे पनि मलाई नारायण वाग्लेको "पल्पसा क्याफे" पढन अति नै ईच्छा जागेको कारण नेपालबाटै मगाएर पढेको छु ।

    पक्कै हो साथीहरुले भने झै हामीकहाँ साहित्यमा बजार छैन भन्नु हाँस्यासपद कुरा नै हो । एकातिर गुणस्तरको कमी छ भने अर्कोतिर उचित बजार ब्यबस्थापनमा तालमेल नहुदा चाहेको ब्यक्तिले पनि समयमै पढन पाउदैन । सर्जक र रचनाका लागि संचार नै प्रमुख कुरा भएको हुनाले बिज्ञापनको पनि उत्तिकै आवस्यक छ आजको समयमा ।

    गहन बिषयमा कुरा उठाउनु भएकोमा दिलीप दाईलाई धन्यबाद ।

    ReplyDelete
  9. दिलिप जी को लेखाई क्या वजनदार छ, सही कुरो कोट्याउनु भयो, हामी आफ्नो छाप्रोलाई छाउन अल्छि मान्ने, अरुको महल ओत लाग्न मन पराउने हाम्रो बानीले गर्दा अहिले हाम्रा आफ्नै सम्पुर्ण कुराहरु बिरानो भएर अरुकै वाहवाही मा छौ नगरौ पनि के गर्ने सबै उस्तै भए पछि एउटा हुट्टिट्याऊले कहिले पनि सबै थाम्न सक्दैन भन्ने उखानै छ नि। अब त्यो हुट्टिट्याऊ पनि कहाँ पो छ अहिले सम्म ब्रम्हाजीको संरचनामा नै पो परेको छैन होला। अब भन्नै पर्दा नेपाली हामी बिभिन्न बिदेशी पुस्तकको बयानहरु मैले पनि थुप्रै पढेको छु ब्याख्यान सहित तर ति ब्याख्यानमा हाम्रा साहित्यकारहरु किन पर्दैनन? जो नेपालमा जन्मेर नेपालको लागि जिबन्त साहित्य लेखेका छन।

    धन्यबाद दिलिप जी तपाईंको पोष्टको लागी।

    ReplyDelete
  10. मैले त देश र समाज अनुसार सबैले स्थान पाएको भन्छु... अब साहित्य नै लेखेर मात्र कमाउन वा धनी मान्छे हुन त धेरै पढने भनिने पश्चिमी विश्वमा पनि गारै छ क्यारे... केही बेस्ट सेलरहरुलाई बाहेक

    ReplyDelete
  11. नयाँ र गुणस्तरीय चिजको मूल्य कम राखे पनि आफै बढी भएर जान्छ | पैसा कमाउने उदेश्यले लेखिएका कृतिहरूले गुणस्तरको अभावमा सोचे अनुसार मूल्य नपाउन सक्छन | तर सबै पैसा नकमाउने कृतिहरू निकम्मा हुन् भन्ने चाहिं मेरो धारणा होइन |
    दिलिपजीको कुराले संधै जस्तो बजारमा सुनिने रोदनको राम्रो प्रस्तुति गरेको छ र यसका समाधानका उपायहरू पनि सही लागे मालाईत | मान्छेहरू अरूलाई मात्र दोष दिन्छन किन ?

    ReplyDelete
  12. म सबैलाई समर्थन गर्छु नेपाली साहित्य विश्व साहित्य जस्तो प्रतिस्पर्धी छैन् । विदेशका राम्रा पुस्तकहरु बिभिन्न भाषाहरुमा रुपान्तरण गरिन्छन् तर नेपालका उत्कृष्ट पुस्तकहरु औलामा गन्ने सकिने अवस्थामा रुपान्तरित भएका छन् । फेरी थप्छु, पुस्तक राम्रो हुनुपर्‍यो, सबैले पढ्न सक्ने पहुँच हुनुपर्‍यो । बजार छैन भन्न मिल्दैन ।

    टाँसोका लागि धन्यवाद ।

    ReplyDelete
  13. Hello,

    I am Shirish, a reporter at the Kathmandu Post, and am doing a feature for the Saturday special on Blogging. The piece will come on 29th August, 09. I read your blog at, and was wondering if you could be so kind as to answer some of my queries. I cannot guarantee that you will be quoted, but your help will definitely let the readers know more of blogging in Nepal.

    You may answer all, or any question you feel like answering. You may provide any extra information, and your name, real or an ID, but must understand that you may be quoted by the Post. Please mail your answers to shirishp@wlink.com.np

    What is your occupation?

    What age group do you think you fall in: <16, 16-31, 31-49, 49-65, above 65?

    Why do you blog?

    When did you start blogging from? Why?

    What makes you keep blogging, without any strong incentive?

    How many bloggers do you think are there in Nepal?

    Do you regularly read other bloggers? How many, and how many are Nepali?

    Do you believe that a blog can really make a difference? If yes, How?

    I hope the questions are not too bothersome.

    Happy Writing!

    -Shirish

    ReplyDelete
  14. मलाई पनि नेपाली साहित्यको बजार छैन जस्तो लाग्दैन । पछिल्लो समयमा हेर्दा पनि नारायण वाग्लेको पल्पसा क्याफे, कर्ण शाक्यको सोच,खोजलगायत राम्रो पुस्तकहरू प्रशस्त विक्री भएका छन् । गुणस्तरको अभाव मात्रै हो । नेपाली साहित्यको बजार एकदमै राम्रो छ असल लेखकका लागि ।

    ReplyDelete
  15. कुरा सही हो दीलिपजी। अस्ती भर्खरै मात्रै युवा पुस्तामा पठन संस्कृतिबारेमा छलफल भएको थियो। त्यहाँ पनि उत्कृष्ट पठन सामाग्री र उत्कृष्ट लेखक धेरै नभएको कुरामा अधिकांशको ठम्याइ थियो। तर बजारकै कुरा गर्दाखेरी चाहि उत्कृष्ट कसलाई भन्ने या मान्ने भन्ने कुरामा पनि स्वच्छ मूल्याङ्कन भइराछ कि छैन भन्ने बारेमा पनि मनन गर्न पनि जरुरी छ जस्तो लाग्छ मलाई। किनकी यहाँ 'साहित्य दादागिरी' गर्ने अदृश्य गुटहरु पनि नभएका हैनन्।

    ReplyDelete