चिनमा अध्ययनरत रहँदा, चिनीयाँ दर्शनका एकजना प्राध्यापकले भन्नुभएको एउटा कुरा मलाई बराबर याद आउँछ । दर्शन र साहित्यमा बिम्ब र प्रतिकका कुरा चल्दा उहाँले भन्नु हुन्थ्यो “जुन मानिसले पहिलो पटक कुनै सुन्दर स्त्री लाई फूलसंग तुलना गर्यो उ देवदूत हो, जसले दोस्रो पटक आफ्नो रचना वा काव्यमा स्त्री लाइ फेरि फूलसंगै दाँज्छ, उ सामान्य मानिस हो। अनि जसले तेस्रो पटक पनि कुनै नव यौवनलाई गुलाव वा अन्य कुनै फूलजस्तो भएको परिभाषीत गर्छ उ दास हो” ।
कुरा सिधा छ, सुन्दर स्त्री ‘सुन्दर स्त्री’ मात्रै हुन र फूल पनि केवल ‘फूल’ नै हो। प्रतिक, तुलना वा भावमय बिम्बमा जेसुकै भनिएपनि यि दुई बिच हजार भिन्नता छन र आकार, स्वभाव र प्रकृतिका असंख्य भिन्नताका कारण भौतिकलतमा सोच्दा स्त्री र फूलमा कुनै पनि समानता पाईन्न । तर भावप्रधान कुनै कविले स्त्रीको सुन्दरताको वयान गर्न आफूलाई असमर्थ पाएपछि फूलसंग तुलना गर्छ । पहिलो चोटी यो तुलनासंगै उसका सौन्दर्यचेत र सौन्दर्यवोध चुलिन्छन । पाठक पनि काव्यात्मक उत्कर्षमा पुग्दा यो भौतिकतलमा हुनैनसक्ने बेमेल तुलना उलसाइ सजीव लाग्छ, उ यो कल्पनातित परिभाषाबाट रोमाञ्चित र मुग्ध हुन्छ ।
दोस्रो पटक त्यही पाठकले पनि अन्त कतै यस्तै परिभाषा भेटेमा उ रोमाञ्चित हुँदैन, उसका भावनात्मक गहिराईसम्म पुग्नै सक्दैन त्यो बिम्ब, अनि उसको सौन्दर्यचेतलाइ पनि झकझक्याउन असमर्थ हुन्छन त्यही शब्द ।
तेस्रो पटक फेरि यस्तै कल्पना वा वर्णन कतै देख्दा पाठक थाक्छ। न उसले त्यो तुलनामा नविनता भेट्छ,न त त्यो भावसंगै सोन्दर्यबोधका कुनै तार झंक्रित नै हुन्छन् । किनकी बारम्बारको पूनर्युक्ती पछि त्यो शब्द सस्तो हुँदा कल्पनातीत संसारबाट पाठक भौतिकलतमा उत्रीसकेको हुन्छ । उसलाई अब यो प्रतिक बेमेल लाग्न थाल्छ । भावनामा बहेर कविले भन्दैमा कुनैपनि स्त्री फूल हुनै सक्दीनन् र मुश्किलले १००-२०० ग्रामको हुने कुनै गुलाफको फूल र ४५-५० केजीको भिमकाय शरिरमा पाठकले कुनै समान तारतम्य भेटदैन्। मानिस कल्पनाशील प्राणी भएपनि भौतिकतलमै उसको अधिकांश समय व्यतित हुने हुनाले उ २४ घण्टै कल्पनालोकमा विचरण गरिरहन सक्दैन र बारम्बारको पूनर्युक्तीसंगै सस्तिएका यस्ता प्रतिकप्रति पाठकमा कुनै आकर्षण बाँकी रहँदैन ।
साहित्य र दर्शनमा मात्रै हैन राजनीतिमा यही नीयम लागुहुन्छ । यथार्थको धरातलमा व्यबहारीक रुमपा लागु नगरी केवल शब्दमै मात्रै उतारीने राजनैतीक नारा र युक्तिहरु ढिलो चाँडो सबै विकृत हुन्छन् । अझ खुलस्त हुने हो भने राजनैतिक नारा, साहित्यीक बिम्बभन्दा पनि छीट्टै बासी हुन्छन् । राजनीतिमा यस्ता नारा र शाव्दीक अंलकारको आयु झनै छोटो भएकाले प्रयोगात्मक रुपमा भौतिकलतमा नआएका शब्दालंकार दूषीत हुन समय लाग्दैन र यसै राजनितीका खेलाडीहरुनै यस्ता शब्द वा वाक्यांशका बेहिसाब प्रयोग गरेर यसलाई विकृत, दूषीत र कर्ण कण्टक बनाउँछन ।
केही बर्ष अघि र खास रुपमा दोस्रो जन-अन्दोलनको अघिपछि गरेर यस्तै एउटा वाक्यांशले नेपाली जनताहरुलाई तरंगीत गरेको थियो-“नयाँ नेपाल” । साँच्चै नयाँ नेपाल बन्ने आश र कल्पनामा नेपाली जनताहरु झंक्रीत भए, रोमाञ्चीत भए, विभिन्न दल वा गुटको बन्धनबाट समेत उठेर एउटै अभिप्राय र प्रयोजनका लागि आ-आफ्नो स्थान र योग्यताको आधारमा मूल प्रवाहमा समाहित भए ।
समय बित्दै गयो, साहित्यमा दोस्रो पटक स्त्री र फूलको तुलना भेटेजस्तै केवल शब्दमा मात्रै यही वाक्याशंको बेअर्थी पूनर्युक्ति भेटन थाले पछि जनताको जोश जाँगर मन्द भए। शब्द दोहरिदैँ जाँदा जनतामा पहिलाको जस्तो तरंग नबचेपनि ‘केही त होलानी’ भन्ने भाव मात्रै रह्यो । अझ केही समय बित्दा यी शब्दहरु वेजान भए। न यसमा जनतालाई तरंगीत गर्न सक्ने क्षमता बाँकी भए, न त यथार्थीय धरातलमा प्रयोगात्मक रुपमा लागुहुन सक्ने सम्भावना नै देखिए ।
अब यि कोरा वाक्याशं स्त्री लाई फूलसंग दाँज्ने तेस्रो, चौथौं मात्रै हैन चुत्थो प्रतिक मात्रै रहे । न त नयाँ नेपाल निर्माणका कुनै पूर्वाधार, खाका वा योजना नै बनेका छन न त ‘नयाँ नेपाल’ भनेको नेपालको विकास निर्माणको के कस्तो अबस्था वा स्थितिको चित्र हो भन्ने बताउननै कोही समर्थ छन ।
स्थिति यत्तिसम्म गिर्दो छ कि नयाँ नेपालको त कुरै छाँडौं, त्यही ‘नयाँ नेपाल’को नयाँ संविधान पनि तोकिएको समयमा नबन्ने पक्का भैसकेको छ । त्यसैपनि आफैंले तोकेको दुइ बर्षे समयमा देशको संविधान बनाउन नसक्नेबाट दस बर्षम १० हजार किलोवाट विद्युत उत्पादन र नयाँ नेपालको निर्माण के कसरी सम्भव होला भन्ने कुरा लोडसेडिङको रातमा नेपालका विद्वतवर्गको ‘टाइमापास गफ’ मा मात्रै सिमीत भएको छ ।
“नयाँ नेपाल” हैन नेपाललाई नयाँ बनाउनै पर्छ तर त्यो निर्माण कोरा शब्द र नारामा मात्रै सिमीत रहनुहुन्न, जहाँ शब्दनै विकृत बन्न पुगोस । हुन त, काम भन्दा कुरा बढी गर्ने हाम्रो नैसर्गीक गुण र पहिचान नै हो, तैपनि शब्दै विकृत हुने गरी कुनै पनि नारा दिँदा शब्दसंगै नारादिनेको पनि साख गिर्दै जान्छ ।
त्यसैले काम गरीसकेपछि कुरा गर्ने थालनी गरौं । नयाँ नेपालको नारा हैन नेपाल लाई नयाँ बनाउन श्रम गरौं । हैन भने अझै कुनै नवकविले जसरी आफ्नो काव्यमा स्त्रीलाई पून गुलावसंग दाँज्दा त्यसमा कुनै आकर्षण, सुन्दरता र महक रहँदैन र त्यो कवि पनि उच्चकोटीको कवि बन्न सक्दैन, त्यसरी नै नयाँ संविधान समेत बनाउन हुत्ती नहुँदासम्म ‘नयाँ नेपाल’ नारा पनि बेतुक हुने मात्रै हैन यस्तो नारा दिँदा नारा दिने समेत जोकर देखिने छन् ।
आहा कति राम्रो लेख्नु भएको । यस्तै यस्तै कारणले तपाँईको ब्लग नआएको हप्ता कस्तो कस्तो लाग्छ । धन्यवाद छ तपाँईलाई।
ReplyDeleteनवराज पाण्डे
अत्यन्तै सान्दर्भिक र गहन कुरा उठाउनुभएको छ यहाँले | नयां नयां नारा निकाल्ने र त्यसैलाई गिथोलेर त्यसको सारतत्व नै गुम हुने गरी झुत्रो बनाउने र उस्तै परे सुटुक्क त्यसलाई बाग्मतीमा बगाएर भोलिपल्ट केहि भएकै थिएन जस्तो गरी अरु गफ निकाल्ने बेशरमहरुको जगजगी निकै बढेको छ देशमा|दर्शन र साहित्यका गहिरा कुरासंग जोडेर लेखकले त्यो प्रबृत्तिप्रति तिखो प्रहार गर्नुभएको छ|
ReplyDeleteएकदमै सटिक सँग, सुन्दर स्त्री, फूल र नयाँ नेपालका जोकरहरु लाई एकै ठाउँ मा उन्नुभएछ । साँच्चै हो, एउटै कुरा दोहोर्याएको दोहोर्याएरै गर्यो भने सारा अर्थ र त्यस शब्द को तौल नै बेकार को भएर जान्छ । अनि अहिले आफ्नै आँखा अघि 'नयाँ नेपाल' शब्द पत्रु भएर गइरहेको निरिह भएर हेरिरहनु परेको छ ।
ReplyDeleteकुरा चैँ नयाँ नेपालको गर्ने काम त्यही पुरानो नेपालको गर्ने अर्थात् बेसुरमा हो कि निन्द्रामा भकभकाए जसरी जे मन लाग्यो त्यही फलाक्दै हिड्ने गर्छन् हाम्रा नेता भनाउँदाहरु । तिनर्का कुरामा लाग्ने हो भने नयाँ नेपाल त होइन भएकै नेपाललाई पनि सिध्याउन बेर लाउँदैनन् ।
ReplyDeleteधन्यवाद दिलीपजी गहन विषय उठान गर्नुभएकोमा ।।
'नयाँ नेपाल' को 'जोक' लाई निकै गहिरोसँग चिरफार गर्नुभयो। बुझ्नेलाई इशारा काफी छ भन्छन्, तर हाम्रा बडेबडेदेखि भुरेटाकुरेसम्मका नेताहरुलाई इशारा त के चिमोट्नै गए पनि केही हुने देखिँदैन र पो मार्यो। फेरि हामी जनता पनि प्रेमिकालाई फूल र जूनसँग तुलना गरिएको कुनै दुई कौडीको कविता पढ्दा समेत दंग पर्ने अन्धो प्रेमी पाठकभन्दा खासै फरक छैनौँ क्यारे!
ReplyDelete"नेपाल" बाट "नयाँ नेपाल" रे, त्यस पछी "झन नयाँ नेपाल" हुंदै "अब त पक्का नयाँ नेपाल" होला भन्ने पो डर भयो त अब :(
ReplyDelete-Prajwol-
यो लेख को गांठी कुरो यस्तो बुझे: घरी घरी उहि कुरा दोहोरायो भने त्यसको महत्व घट्छ। नयां नेपालको उदाहरण यस्तै होला। केहि काम गरेको भए यो शब्दको महत्व पक्कै पनि घट्दैन थियो होला। तर सबै कुरामा यो लागु हुदैन होला। कतिपय कुरा हरु यस्ता हुन्छन् कि जति सुने पनि, जति दोहोराए पनि मजै लाग्छन।
ReplyDelete"नयाँ नेपाल" शब्दको सस्तो र अत्याधिक प्रयोगले टाउकै रन्किएको बेलामा दिलिपजीले सहि ढंगमा सटिक रुपमा टाँसो ठेल्नुभएछ। यसको शिर्षक मात्रै हेर्दा के रहेछ भन्ने लागेथ्यो। भित्र छिर्दैजाँदा त कुनै वैशालु स्त्रीको शारीरिक बनोट र बाह्य सुन्दरताकै मात्र महिमागान गाएर नथाकेका अन्धो प्रेमीहरुको झैँ नयाँ नेपालको नारा लाउन नथाक्नेहरुको मनोगत अवसथा भेटियो। गज्जब छ दिलिपजी हामीकहाँ।
ReplyDeleteवाह ! बिछ्ट्टै गहकिलो उदाहरण दिनुभएछ चिनियाँ प्राध्यापकले ।
ReplyDelete"Repeatation on the same way has no meaning" सायद यसैले भनिएको होला । यो कुरा हाम्रो सामाजिक पाटो र दिनचर्या धेरैमा लागू हुन्छ । पुनरुक्ति र 'घिसार्ने' प्रथाको फलस्वरूप सस्तिँदै जाने र अन्तत: मूल्यहीनताको स्थितिमा वस्तु, व्यक्ति र शब्द पुग्नुमा माहुरी बन्न नसक्ने/नचाहने हुती र स्वादे मुख बनिरहने ढिट व्यवहार जिम्मेवार छ ।
अत्यन्तै सुन्दर ढंगमा नेपाली नेताको चरित्र चित्रण
ReplyDelete