02 August, 2010

संसारको पुरानो पेशा, रोनाल्ड रेगन र नेपाली राजनीति ।

Dilip QuotePolitics is supposed to be the second oldest profession. I have come to realize that it bears a very close resemblance to the first.”: Ronald Reagan

“राजनीति दोस्रो सबैभन्दा पुरानो पेशा मानिन्छ । मलाई अनुभव भएको छ कि यसको पहिलो पेशासँग एकदमै नजिकको समानता छ” : रोनाल्ड रेगन

नेपाल एउटा यस्तो देश हो जहाँ बितेका ५ वर्षको समयमा राजनीति परिवर्तन भयो, संविधान फेरिए अनि अन्तरिम संविधानमै समेत अनगिन्ती पटक संशोधन थप-घट र हेरफेर भए । नामैले ‘अन्तरिम’ रहेको संविधान, जुन केवल निश्चित र सीमित समयको लागि बनेका छन् त्यसलाई बारम्बार संशोधन गरियो । यतिसम्म कि जनताले दुई वर्षको लागि दिएको जनादेशलाई समेत ‘जनताद्वारा छानिएकाले’ आफ्नै बपौती भएको ठहर गरेर तीन वर्षे बनाए । तर आफैँले तोकेको दुई वर्षे समयमा के गर्नु पर्थ्यो र के के गरेर सो समय दुरुपयोग गरियो भन्ने कुराको जिम्मेवारी कसैले पनि लिएनन् ।

कुरालाई प्रस्ट राख्ने हो भने, न त तोकिएको समयमा संविधान बन्यो, र यस्तै ताल हो भने न थपिएको समयमै बन्ने छ । माधव कुमार नेपालले राजीनामा दिएर कामचलाउ सरकारको विश्व रेकर्ड पार गरी ३२ औं दिनमा ‘काम चलाई रहँदा’ पनि देशमा बलियो हैन, वैधानिक सरकार बन्ने स्थितिको झल्को समेत देखिएको छैन् ।

यो बीचमा अखवारहरु र तीनका ‘विश्वस्त सूत्रहरु’को कुरामा विश्वास गर्ने हो भने (विश्वास गर्न हच्कनु पर्ने कारण पनि छैनन्)। सत्ता समिकरणको खेलमा दलहरुको ‘अद्वितीय’ र असोचनिय रबैया र रुपहरु देखिए । माओवादीले कुर्सीको लागी कमल थापा गुहारेको केही समय नबित्दै पूर्व राजाका ज्वाईँ माओवादीको सहयोगमा उत्रिएको खवर समेतले पत्र-पत्रिका र राजनैतिक मैदान तंरगीत भए ।

राष्ट्रिय सहमतिको सरकारका हौवा दिनेहरु दलहरुलाई विश्वासमा लिन नसकेपछी सहमतीय सरकारको हैन बहुमतीय सरकारको समेत निर्माण गर्न असफल रहे ।

तर यो बीचमा केही रमाईला घटना र राजनीति गर्नेका लागि सम्झन लायक दृष्टांतहरु पनि बने।
माधव कुमार नेपाललाई ‘हरुवा’ भन्दा भन्दा नथाक्नेहरु दुई-दुई पटक आफैँ पनि हारे र आजको दिनमा कुनै चमत्कार भएन भने तेस्रो पटक पनि हार्ने निश्चित नै छ ।

माकुनेको समर्थन गर्न खेको हैन, तर उनलाई संसदमा ल्याउने बेलामा सबै दलको सहमतिमै ल्याइएको थियो। चुनावमा उनी पराजित भएकै हुन, तर लामो समयदेखि नेपालको राजनीतिमा लागेका एकजना पाको नेताको अनुभवहरु भर्खरै स्थापित भएको गणतन्त्रमा उपयोगी हुने देखेर नै उनलाई चुनावको भोट गिन्तीको गणितीय समिकरण भन्दा माथि उठेर स्थान दिईयो ।

हो, उनी आफ्नो कार्यकालमा धेरै आलोचित र असक्षम साबित भए । तर रहँदा रहँदैको सरकारबाट आफ्ना चरम महत्वाकांक्षा र दबदबाको असफल प्रयोगका कारण बाहिरिएका माओवादी र पटक पटक समय र मौका पाउँदा पनि देशलाई दिशा निर्देश दिन नसक्ने कांगेसी मात्रै कहाँका सफल वा ‘जितुवा’ छन् त ? । व्यवहारीक रूपमा नै प्रजातन्त्रको मूल्य र मान्यतालाई मान्ने हो भने ‘प्रजातन्त्रमा कसैको हार हुँदैन’ भन्ने सिद्धान्तलाई आत्मसात् गर्दै यस्तै ‘हार’ को पछाडि रहेका सामुहिक जित को खोजीको विकल्प छैन अब ।

पटक पटकको आन्दोलन, राजनैतिक हेरफेर र व्यवस्थाको समेत परिवर्तन पछि एउटा कुरा भने साबित भइसकेको छ । एउटा बगैँचामा कुनै एक प्रकारको फूल वा बिरुवा सप्रेन भने सो बँगैचाको उर्वराशक्तिमा प्रश्नचिन्ह उठ्न सक्छ । तर, एउटा जमिनमा कुनैपनि बिरुवा सप्रेनन् भने चाहिँ जमिनको हैन मालीकै योग्यतामा  शंका उठ्छ र उठाइनु पर्छ पनि।

विषयलाई कठिन बनाएर हेर्दा समस्या जत्ती जटिल देखिन्छ, नियत सफा हुने हो र सहमतिमा जाने हो भने सरलतम समाधानको पनि सधैँ सम्भाव्यता छदैँछ । यहाँ राष्ट्रको हित भन्दा पार्टीको फाईदा हावी छ, पार्टीको नीति भन्दा नेताको हैकम वजनदार छ। र यथार्थलाई अझै प्रस्ट पार्ने हो भने, देशमा प्रजातन्त्र र गणतन्त्र नै आएपनि करिब करिब हरेक दलभित्र असफल भैसकेका नेतालाई नै बोक्ने, सत्ता समिकरणलाई आफ्नो अभिष्ट सिद्द गर्ने मौकाको रूपमा लिने र राष्ट्रिय मुद्दालाई भन्दा दलको पकड वा कुर्सीलाई महत्व दिने सोच र जारी छ।   कार्यकर्ता जोश्याउन दिने भाषणमा ‘मुक्ति’ को कुरा, छापामा छाउन ‘मान्यता’ का बखान र चर्चामा रहन ‘राष्ट्रियता’को नारा जति उचाले पनि हालसम्मको यथार्थ यही नै हो ।

यसको उल्टो हेर्ने हो भने, नेता भन्दा माथि दल र दल भन्दा माथि देशलाई राख्ने बित्तिकै समाधान नहुने समस्या कुनै पनि छैनन् । सवाल समस्याको हैन सवाल समाधानको लागि देखाउन सक्ने त्याग र तदारुकताको हो ।

हैन भने समस्या झन् झन् जटिल बन्दै जाने छ र हामीले माथिको रोनाल्ड रेगनको भनाइलाई सधैँ सधैँ सम्झिरहनु पर्ने छ ।

आफ्नो जमानाका लोकप्रिय नायक र सफल राजनीतिज्ञ रहेका अमेरिकाका ४० औं राष्ट्रपति रोनाल्ड रेगनको माथिको भनाइ त्यसो त सबै देश र कालका लागि समसामयिक छ  । राजनीति सबै ठाउँमा केही न केही रूपमा फोहरी खेल नै हुन्छन् र नेताहरु अवसरवादी । तर हामीकहाँ जस्तो पथभ्रष्ट राजनीति र गतिछाडा राजनीतिज्ञ भने सायदै कहीँ भेटिएलान् ।

राजनीति संसारको पुरानो दोस्रो पेशा भएकोमा सायदै दुबिधा होला, तर नेपालमा भने पहिलो पेशाको भाग कसले खाने भन्ने मनमुटाव बाट नै यो दोस्रो पेशा जन्मेको हो भन्ने स्थिति भने नआओस् ।

8 comments:

  1. कुरो चै १०१ आना सहि हो ।

    ReplyDelete
  2. देशप्रेमको समसामयिक विवरण निकै वजनदार पारामा पस्कनुभयो दिलीप दाई ।मलाई पनि एउटा कुरा याद आयो। कुनै बेला कमरेड मदन भण्डारीले पनि खुल्ला मंचबाट भनेका थिए "आफ्नो सम्पति रित्याई पहेलो टालो बाँध्न कसैले राजनीति गर्दैन " सत्य रहेछ । राजनीति हो अलि अलि त हुन्छ तर हाम्रो देशमा त अति नै भयो । पहिराउदैछन देशलाई नाङ्गो बनाई पहेलो टालो र तानातान गरिरहेछन कुर्सी एक-अर्कामा ।

    ReplyDelete
  3. जती जोगी अाए पनि कानै चिरेका ,

    भनेझै यसको उल्टो हेर्ने हो भने, नेता भन्दा माथि दल र दल भन्दा माथि देशलाई राख्ने बित्तिकै समाधान नहुने समस्या कुनै पनि छैनन् । सवाल समस्याको हैन सवाल समाधानको लागि देखाउन सक्ने त्याग र तदारुकताको हो
    जबसम्म देश को लागी भनेर निस्वार्थ मनले काम गरदैन तबसम्म मनमुटाव र देश बिकास वा कुनै काम नै हुदैन,

    ReplyDelete
  4. यहि सरकार बनाउने खेलले भोलि फेरि समयमा संविधान बनेन भने कसलाई दोष देलान् यिनिहरूले ? संविधान सरकारले बनाउने हो कि संविधान सभाले? संविधान बनाउने प्रकृयामा कुनै पार्टी सरकारमा हुनु र नहुनुले केहि फरक पार्छ र?........दाईको कुरा पढिसक्दा यि प्रश्नहरू जन्मिए मेरो मनमा । वास्तवमा नियत सफा हुने हो र सहमतिमा जाने हो भने सरलतम समाधानको पनि सधैँ सम्भाव्यता छदैँछ । तर यसो कसले गर्ने त? राष्ट्रिय राजनितिको गफ गर्दा खालि प्रश्नै प्रश्नका ठेली मात्र उब्जिन्छन् मनमा । जे भए नि संविधान पक्कै बन्छ भन्ने आश गरिरहन्छु म । सरकार च्याङ्ग्रेको बनेनि पाङ्ग्रेको बनेनि के फरक पर्ला र??
    अनि दाजू वर्तमान काम चलाउ सरकारले विश्व रेकर्ड पार गर्न त मुश्किलै छ । सन् २००७ मा वेल्जियममा पुरा ९ महिना काम चलाउ सरकारले नै काम चलाएको रहेछ । हेरौ यस्तै स्थिति रहेने हो भने वा हाम्रै वर्तमान सरकारले त्यो रेकर्डलाई उछिनेर नयाँ विश्व किर्तिमान कायम गर्ने पो हो कि!!!

    ReplyDelete
  5. दिलिप दाइ तपाइँ ले भन्नु भएको जस्तो - "यहाँ राष्ट्रको हित भन्दा पार्टीको फाइदा हावी छ अनि पार्टीको नीति भन्दा नेताको हैकम वजनदार छ ! यसको उल्टो हेर्ने हो भने नेता भन्दा माथि दल र दल भन्दा माथि देशलाई राख्ने बित्तिकै समाधान नहुने समस्या कुनै पनि छैनन ! " कुरा त ठिकै हो तर त्यस्तो उल्टो हुन् त तिनीहरुको ब्यबहार देख्दा त्यो सब असम्भब छ जस्तो लाग्छ किन कि हामि जनताले उनीहरुलाई त्यो हैसिएत मा पुर्याएका हौ !

    ReplyDelete
  6. टिप्पणीको लागि सबैमा धन्यवाद ।

    कहिलेकहीँ मलाई लाग्छ, हामी सामान्य नागरिकले जत्ति मात्रै पनि देशको वारेमा सोच्ने नेता पनि हामीकहाँ छैनन् (कुर्सी र सुविधाको वारेमा धेरै सोच्छन त्यो भिन्दै कुरा)।

    अनि अशेष भाइ, तपाईले भन्नु भएजस्तै म पनि सधैं सोच्छु, सरकारमा को बस्ने वा कस्ले चलाउने भन्ने कुरा सँग संविधान निर्माणको के सम्बन्ध छ ? ।

    माकुने, प्रचन्ड वा रामचन्द्र जो नै प्रधानमन्त्री भए पनि यो केवल यही एक वर्षको लागि न हो । तर दलहरु यो कुर्सीको पछाडि यसरी लागेका छन् मानौं अहिले जसको सरकार हुन्छ नेपालमा सधैं एकछत्र उसै को राज हुन्छ :)

    विश्व रेकर्ड वारे जानकारी दिनु भएकोमा धन्यवाद । तर यस्तै हालत रह्यो भने बाँकी अवधि यहि सरकार रहेर बेल्जियमको रेकर्ड पनि नतोडिएला भन्ने पनि केहि छैन कसो :)

    ReplyDelete
  7. प्यासन हुनु पर्ने राजनीति पेशा भएपछि यस्तै हो दाजु हाल !!!

    ReplyDelete
  8. कुरा जति लेखे पनि थोरै नै हुन्छ यि मै हु भन्ने कम्युनिस्ट नामक नेताहरूका । लेख्न चाहि लेखौ।
    देशप्रेम देशभक्ति राष्ट्रवाद यि सब कुरा यिनका कमाइखाने कुरा भए। विस्तारवाद साम्राज्यवाद सामान्तवाद यिनीहरूले सुनाउन पनि बिर्से। सत्ता नपाउदा त खुबै सुनाउदथ्ये । कति त पत्रपत्रिका किताबहरूमा पनि लेखे।
    भारतले सिमानामा रजाइ गरिरहेकै छ। सिमाबासी नेपालीहरूले यो पिडा भोगिरहेका छन्। सुस्ता कालापानी लगायत सिमाका हरेक बिन्दुमा भारतियको जगजगी बिगबिगी आतङ्क नै छ। सरकारमाम रहेकाहरू उनीहरू कै चाकडीमा ब्यस्त छ।

    ReplyDelete