कथा, कविता, व्यङ्ग्य आदि ब्लगमा चली नै रहन्छन् । आज केही फरक कुरा लेख्ने जमर्को गर्देछु । ‘लेख्ने’ भन्दा पनि यो वास्तवमा ‘लिपिबद्ध’ गर्ने काम मात्रै हो । किनकि यी सबै सत्य घटना नै हुन । जीवनमा कहिलेकाहीँ केही यस्ता घटनाहरू घट्छन् जुन अनौठा र रमाइला हुन्छन् । आजको पोस्टमा मेरा यस्तै केही रमाइला संस्मरणहरु:
कथा हेलमेटको:
कुरा करिब ५ वर्ष जत्ति अगाडिको हो । तीनताका मेरो अफिस सातदोबाटो नजिकै थियो । एकदिन अफिसबाट फर्कने क्रममा कुपण्डोल स्थित एकजना साथीको अफिसमा गएको थिएँ ।
म सातदोबाटोबाट कुपण्डोल पुग्दा करिब साढे चार बजेको थियो। म आफ्नो मोटरसाईकल साथीको अफिस मुनि रोकेर, हेल्मेट बोकेरै साथीको अफिसमा उक्लेँ । करिब आधा घण्टा पछि हामी दुवै उसको अफिसबाट निस्क्यौँ र आ-आफ्नो घरतर्फ लाग्यौँ ।
मेरो घर गहना पोखरीमा भएकोले म कुपण्डोलबाट बाग्मती पुल, थापाथली हुँदैँ पुतली सडकको बाटोबाट घरतर्फ लाग्दै थिएँ । बागबजारको बाटो काटेर कमल पोखरी तिर अलिकता अगि बढ्ने बेलामा मलाई बाटो छेउमा रहेका एकजना ट्राफीक प्रहरीले बाईक रोक्न इसारा गरे। त्यो कुनै नियमित चेक जाँच थिएन र मलाई मात्रै रोक्न भनिएको थियो ।
मेरो मनमा चिसो पस्यो । किन मलाई मात्रै रोक्न भनियो त... । बाईकलाई बिस्तारै सडक छेउतर्फ लैँजादै गर्दा मेरो टाउकोमा पनि चिसो पस्यो...मलाई अचानक याद आयो, मैले त हेलमेट लगाउनै भुलेको रहेछु। ...लौ अब जरिवाना वा ‘नजराना’ मा परिने भयो भनेर बाईक रोक्दै गर्दा ती ट्राफिक जवानले मलाई सोधे : “तपाईँ कहाँसम्म जान लाग्नु भएको ?” ।“टंगाल” मैले जवाफ दिएँ । “... ल, त, मलाई पनि पुलिस हेडक्वाटर सम्म छाडिदिनुस न !” । पहिला त हेल्मेट नलगाएको यादै थिएन । बाईक पछाडि ट्राफीक प्रहरी राखेपछि भने झनै ढुक्क भएँ । त्यहाँ देखि मेरो घरसम्म पुग्दा बाटोमा अरू ३-४ ठाउँमा ट्राफीक पुलिस थिए, तर कहीँ-कतै मेरो चेक जाँच भएन र म आरामसँग घरसम्म पुगेँ ।
मलाई आजसम्म पनि सोच्दा अचम्म लाग्छ ती ट्राफिकले मैले हेलमेट नलगाएको कसरी देखेनन् वा देखेर पनि मतलब गरेनन् ।
मोटर साईकल, एयरपोर्ट र दिल्लीको यात्रा:
यो भने ज्ञानेद्रराजको ‘पिक आवर’ को समयको कथा हो । त्यतिबेला नेपालमा मोबाईल फोनको ‘मेनस्विच’ नै अफ गरिएको थियो र बाहिर निस्केको बेलामा एक-अर्कासँग सम्पर्क गर्न असम्भव नै हुन्थ्यो ( थाहा छैन, मोबाइल नै नभएको बेलामा कसरी मानिसहरुको वन्द-व्यापार चलिरहेको थियो )।
अँ त, त्यही मोबाइल नचल्ने समयमा एउटा सानो कामको सिलसिलामा म र एकजना अर्को साथीलाई दिल्ली जानु थियो । दिल्लीको टिकट कन्फर्म भएपछि मैले मेरो साथीलाई खवर गरें। साथी नेपालगञ्जमा थिए र नेपालगञ्जबाट सिधै हवाईजाहाजमा आएर एयरपोर्टमै भेट्ने निधो भयो ।
साथी नेपालगञ्जबाट निस्केको केही समयपछि मेरो ट्राभल एजेन्सीले हाम्रो टिकट त्यसदिनको लागि कन्फर्म हुन नसकेको जानकारी दिए । अब समस्या भयो। टिकट कन्फर्म भएको मात्रै थाहा भएका साथी त्यहाँ मलाई नदेख्दा र फ्लाईट छुट्ने डरले आत्तीने भएकाले साथीसँग सम्पर्क गर्ने अरू कुनै माध्यम नबचेपछि मैले पहिला तोकीएकै समयमा एयरपोर्ट नै गएर उसलाई भेट्ने विचार गरेँ।
तीनताका उसैपनि एयरपोर्ट छिर्ने बेलामा चाहिने भन्दा बढी ‘सुरक्षा जाँच’ हुने गर्थे र प्राय: यात्रु टिकट नहुने मानिसलाई एयरपोर्ट प्रवेश गर्नु असम्भव नै थियो। यो सबै कुराको ‘पूर्वज्ञान’ भएकोले म साँझ ५ बजेतिर आफ्नो त्यसदिनको दिल्ली उड्ने यात्रु टिकट साथ लिएर एयरपोर्ट तर्फ लागेँ ।
एयरपोर्ट तलकै मूलद्वार देखिनै गाडीका लाम लागेका थिए र २-३ ठाउँमा जाँच गरिन्थ्यो। अगाडिका १-२ ठाउँमा खासै ‘कडा’ चेक नभएकोले म करिब करिब भित्रै पुग्ने बेलाको अन्तिम जाँच गरिने ठाउँमा पुगेँ । एकजना सैनिक प्रहरीले मलाई “छोडन र रिसीव गर्न आउनेलाई भित्र जान दिइएको छैन.....टिकटवाला मात्रै आउनु...” भन्ने आदेश दिए। म भन्दा अगाडिका गाडीका मानिसहरु सबैजना गाडीको झ्यालबाटै टिकट देखाउँदै अगाडि बढ्दै थिए ।
मेरो पालो आयो । “कहाँ जान लाग्नु भएको...?” एकजना सुरक्षाकर्मीले मलाई सोधे । “दिल्ली !” अचानक मेरो मुखबाट निस्कियो । “... टिकट देखाउनुस त !” । मैले उनलाई आफ्नो टिकट देखाएँ। त्यति बेलासम्म ‘ई-टिकट’ नआइ सकेको हुनाले ‘ज्याकेट वाला’ टिकट त्यसै बनाउन सम्भव थिएन र मेरो टिकट सक्कली भएकोमा कुनै शंका उठेन । ती सुरक्षाकर्मी बढो अनौठो ढङ्गले छिनमा मलाई छिनमा मेरो मोटर साईकल हेर्न थाले । त्यस बीचमा उनले मेरो नागरिकता मागेँ । मैले नागरिकता र पासपोर्ट दुवै थमाई दिएँ उसलाई ।
ती सैनिक अलमल्ल परिरहेकै बेलामा अर्का एकजना ती भन्दा उपल्लो दर्जाक सुरक्षाकर्मी पनि मेरोमा आए । “...हैन...तपाईँ दिल्ली जाने भन्नुहुन्छ, अनि यो बाईक के गर्नुहुन्छ ?” । अचानक मेरो मनमा के सुझ्यो मैले तुरुन्तै “मेरो एकजना साथी यहाँ काम गर्छन्, म बाईक उनलाई दिन्छु, साँझमा बाईक तीनैले घर लान्छन्” भनेँ । एकैछिनको अलमल पछि मलाई रोक्ने कुनै जायज कारण नभएकाले मलाई एयरपोर्ट प्रवेश गर्न दिईयो ।
म भित्र छिरेर एकैछिनमा आफ्नो साथीलाई बाईक पछाडि राखेर बाहिर निस्कदैँ गर्दा ती सुरक्षा जवानहरु मलाई नै हेर्दै थिए । त्यतिबेला धन्न तीनले मलाई ‘एयरपोर्टमा काम गर्ने साथी को हो?’ भनेर अरू सवाल-जबाफ गरेनन्। नत्र बेक्कारको झमेलामा परिन्थ्यो ।
फेरि मोटर साइकल र ट्राफिककै कुरा:
यो झन् ७-८ वर्ष अगाडिको कुरा हो। मोटर साइकल किनेको २-३ वर्ष भैसक्दा पनि कहीले नेपालको झमेलायुक्त व्यवस्था र कहीले भने समयको तादात्म्य मिलाउन नसकेकाले म बिना लाइसेन्स ‘जे पर्ला-देखा जाएगा’ भन्ने मन्त्र जपेर सहर-बजार मोटर साइकल कुदाउँथे ।
आफू मात्रै चलाउने भए त ठिकै थियो, म त्यतिबेला नै आफ्नो लाईसेन्स नभए पनि अरूलाई समेत बाटोमा लगेर मोटर साईकल चलाउन सिकाउँथे पनि ।
एकदिन यसैगरी आफ्नै श्रीमती लाई बाइक सिकाउने क्रममा रिङरोडमा पुगेको थिएँ । शनिवारको दिन बाटो अलि खाली हुने र सडकमै नचलाएसम्म हात नबस्ने आफ्नो धारणाका कारण मैले उनलाई रिङरोडमा लगेको थिएँ ।
बाईकको अगाडि बसेर बुढी सिकारु हातले ढलमल गर्दै बाईक चलाउँदै थिईँन भने, म भने पछाडि बसेर उनलाई ‘अब ..ब्रेक, ...ल साइड लाईट बाल, ... अब गेयर बढाउ...” आदि भन्नमै व्यस्त थिएँ ।
दुबैजना सिक्ने र सिकाउने धुनमा व्यस्त रहँदा अचानक बुढीले झ्वाट्ट ब्रेक लगाएर बाईक रोकीन । ‘के भयो?” मेले सोधें । अगाडि लाइसेन्स चेक हुँदै रहेछ। उनले बताउनु पूर्व नै बाटो छेउमा बिना लाईसेन्स समातिएका बाईकका लाइन, एक हुल ट्राफिक र बाइक चालकहरु देखिए पछि मैले कुरा बुझेँ ।
यु टर्न लिएर ‘भाग्न’ पनि नमिल्ने गरी हामी ट्राफिकहरुको एकदमै नजिकै पुगी सकेका रहेछौँ र २-३ जना ट्राफिकहरु हामीलाई नै हेर्दै थिए। ‘लौ आज भने झमेलामा परियो’ भन्ने सोच्दै मैले बुढीलाई बाईकबाट ओरालेर पछाडि राखेँ । आफू अगाडि बसेँ र ‘जे होला…’ होला भनेर बाईक अगाडि बढाएँ।
ट्राफीकको नजिकै पुगेपछि एकजना ट्राफिकले ‘बाईक सिकाउन लाग्नु भा’ ?” भने । मैले “हो !” भनेँ । त्यसपछि तीनले “ल तपाईँ जानुस...” भने । आहा ! क्या रिलीफ भयो । सायद उनीहरुले म बाईक सिकाउन लागेको मान्छेको त पक्कै लाईसेन्स होला भन्ने अनुमान गरेको हुनुपर्छ । तर त्यतीबेला मेरो लाइसेन्स मागेको भए ? !
बडा रमाइला अनुभव रहेछन् । धन्यवाद बाँड्नु भएकोमा ! फ्रेश भइयो काठमाँडौ सम्झेर !
ReplyDeleteट्राफीक प्रहरी डरायकोपो होकी तपाई संग हे हे हे हे हे
ReplyDeleteहा हा हा .....
ReplyDeleteयी त संस्मरण मात्र नभई हाँसोकै खानी रहेछन् । क्या गजब भएछ । पहिलो र तेस्रो चाहिँ खुब रमाइलो लागे । दाइले उतिबेला भुक्तमान खेप्दा कति गाह्रो पर्याथ्यो होला, यतिखेर हामीलाई भने मसाला भयो । ती हेडक्वाटर जाने ट्राफिक प्रहरीले बुझपचाएरै आफ्नो दुनो सोझ्याउन हेलमेट नलगाएकोमा आँखा चिम्लिएका थिए कि, के पत्तो !? त्यहाँ कसैलाई भेट्नुपर्ने भएकाले रनाहामा पनि हुन सक्छन् उनी । उनलाई चढाएपछि दाइलाई पनि टन्टैसाफ भइगो । :))
बाइक सिकाउँदा भने भाग्यले साथ दिएछ धन्न । नत्र कुना कानी लाइसेन्स ढुकेर बस्ने ट्राफिक प्रहरीले चक्रपथमै खुलमखुला बाइक सिकाउँदा त च्याप्प समाउनुपर्ने हो । प्रशासनको दुरावस्था पनि मान्दा हुन्छ यसलाई । जे होस्, निकै फ्रेस भइयो पढेर ।
सर त सार्है लक्की हुनुहुदो रहीछ । हजुरको अनुभब हरू रमाइला रहेछन ।
ReplyDeleteनिकै रमाइलो लाग्यो फेरी पनि दाईको रिफ्रेस्मेंट पढेर । धेरै अप्ठेरोहरुमा सजिलै फुत्कनु भनेको भाग्यले साथ दिएको नै मान्नुपर्छ । त्यो एयरपोर्टको वास्तविकता ले त झन् हँसायो।
ReplyDeletevery interesting moments!
ReplyDeleteहा हा हा !
ReplyDeleteलाइसन नै नलिएपनि, बाइक चलाउने, हेल्मेट नलागाइ बाइक चलाउने, एयपोर्ट जस्तो संवेदनशिल ठाउँमा पनि सुरक्षाकर्मीलाई झूक्याउने, तपाईलाई त कारवाही गर्नैपर्ने पो भएछ है ! :P
तर जेहोस्, अति नै मज्जा आयो !!!
दाजु तपाइ कता हुनुहुन्छ भन्नुस् त म अल्लि कडा ट्राफिकको स्वाद चखाउछु तपाइलाइ रे के ... निकै हसाये तपाइका केही रमाइला संस्मरणहरुले ...
ReplyDeleteपुलिसको कथा पो भएछ त दाइ.....
ReplyDeleteहिरोको कथाजस्तै..जहिलै आफैँ जित्ने..हा हा
भाग्य बलियो भएपछि के लाग्छ! हुनत भाग्य बलियो नभएको बेला परेको भए यी घटना यसरी 'रमाइला संस्मरणहरु' मा पनि कहाँ पर्थे होला र!
ReplyDeleteLast one was the best of all, enjoyed all though :D
ReplyDeleteध्यान दिएर पढियो, घटना त रोचक छ नै प्रस्तुतिकरणलाई मेरो सलाम |
ReplyDeleteहा हा।। निकै रमाईलो लाग्यो पढेर। बास्तबमै निकै रमाईलो क्षणहरु बाड्नु भो। जे होस बाल बाल बच्दै हिड्नु भएछ। मलाई चाहीँ त्यो हेलमेटको कथा चाहीँ निकै अचम्म लाग्यो, साच्चै त्यी पुलीस पनि निकै हतारमा रहेछन् क्यारे।
ReplyDeletedada, sarai ramailo aanubhav haru.
ReplyDeleteThanks for writing...
दिलिप दाइले के कस्तो रमाइला संस्मरणहरु राख्नु भएको रहेछ भनेर हेर्दा , तिन तिन ओटा कथा पो देखे ... ! हैन , दिलिप दाइलाइ'नि के झ्वाक चलेछ एकै पटकमा यत्रो पोस्ट गर्नु परेको भन्ठान्दै पढेको त ....ए गाठे ! कति मिठा र रमाइला कुराहरु पो रहेछन ! पढ्दै मनमनै हास्दै पनि गरे !
ReplyDeleteकथा हेलमेटको,मोटर साईकल, एयरपोर्ट र दिल्लीको यात्रा & फेरि मोटर साइकल र ट्राफिककै कुरा सबै रमाइला लागे ! त्यस मध्ये नि - भाउजु लाइ बाइक सिकाउनु भएको पढेर चाही निकै हास उठ्यो !
हैन जुक्ति चाही आउने हो गाठे !
हा हा हा हा क्या रमाइला पलहरु । भाग्य बलियो नै रहेछ दिलीप दाईको । यसपाला नयाँ स्वाद चाखियो दाईको ब्लगबाट धन्यवाद ।
ReplyDelete(हाहा सारै रमाईलो घटान पो रहेछ ।) (लक्कि हुनुहुदो रैछ ।)
ReplyDeleteहा हा हा .....
ReplyDeleteसाह्रै रमाइला अनुभव हरु बाढ्नु भएकोमा खुशी लाग्यो भने अर्को तिर हाम्रो नेपालको सुरक्षा प्रकृया देख्दा भने क्या ब्यङ्ग गरे जस्तो पनि । साच्चै भन्ने हो भने हाम्रो राजधानी जस्तो प्रमुख स्थानमा त सुरक्षा गतिबिधी अनि यसको प्रभावकारीता को यस्तो नमुना हेर्न पाईन्छ भने झन हाम्रो अलि दुर्गम गाउँ बस्ती तिर त झन अकल्पनिय नै होला ।
यसलाई के भन्ने नेपाल अनि नेपाली हुनुको नियती र बिडम्बना कि के ?