30 September, 2010

तीन कक्षाको किताब र हाम्रो अपरिपक्व प्रौढता !

सात पुगेर आठ लागेकी र भर्खरै तीन कक्षामा पढ्दै गरेकी आफ्नै छोरीलाई पढाउन आजकल बडो मुस्किल पर्न थालेको छ मलाई । भित्तामा मास्टर्स डिग्रीको प्रमाणपत्र झुण्याउने तर तीन कक्षाको बच्चालाई बुझाउन नसक्ने म जस्ता अरूपनि धेरैजना बाबु-आमा होलान् सायद। यदि तपाइँका घरमा  पनि तीन कक्षामा पढ्ने केटाकेटी छन् भने सायद बुझ्नुहुनेछ । हैन, तपाई अविवाहित हुनुहुन्छ वा घरमा तीन कक्षामा पढ्ने केटाकेटी छैनन् भने प्राय: सबैको सोच त्यो भित्तामा झुन्डाइएको प्रमाणपत्र किनेर ल्याइएको त हैन भन्नेमा पनि जान सक्छ Smile। तर नआत्तिनुहोस्, प्रमाणपत्र सत प्रतिशत सक्कली नै हो र विद्यालय वा विश्व विद्यालयमा तिरिने शुल्कलाई प्रमाणपत्र किन्ने दस्तुरको रुपमा नलिने हो भने मेरो प्रमाणपत्र खरिद गरेर हैन, प्राप्त गरेरै ल्याइएको हो ।

भूमिका धेरै नलम्याएर सिधै विषयमा प्रवेश गर्दा कुरा यस्तो छ । केही हप्ता अगाडि मेरी छोरीले मलाई अचानक सोधिन “बाबा, दलित भनेको के हो ?” ।  “...तिमी आफ्नो होमवर्क गर....” मैले उसलाई हेर्दै नहेरी विषयलाई पन्छाउने उदेश्यले जबाफ दिएँ “...यो तिमीलाई चाहिने कुरा हैन”। तर मैले त्यसो भनेर विषय पन्छेन, उसले आफ्नो स्कूलको किताब मेरो अगाडि तेर्स्याई र मलाई सोध्न थाली “ हाम्रो सोसलको बुकमा एउटा लेसनमा छ ....मैले बुझिन ...” । अब भने उसलाई त्यत्तिकै पन्छाउन मिलेन र किताब उठाएर पुरै पाठ पढेँ । “Integrated Social Studies” भन्ने उसको एउटा किताबमा गज्जबले दलित- अदलित आदिका बारेमा बयान गरिएको रहेछ ।

हुन त लेखकले समाजमा कसैलाई पनि भेदभाव गर्न हुन्न भन्ने उदेश्यले लेखेका होलान.... तर सात वर्षका केटाकेटीलाई उनीहरूको सोचभन्दा माथिको विषय वारे चर्चा गर्दा के असर गर्छ भन्नेमा पटक्कै ध्यान गएको देखिएन । वाल मनोविज्ञानका ज्ञाताहरू ले पश्चिमी देशमा अठारौँ शताब्दी देखि नै एउटा सूत्रलाई विशेष ध्यान दिने गरेका छन् । त्यो हो विपरीतको आकर्षण वा Theory of reverse effect । सबैलाई थाहा भएकै कुरा हो ...केटाकेटी मात्रै हैन, ठूला मानिसलाई पनि कुनै कुरा ‘नगर’ भने पछि त्यो गर्ने चाहना झनै बढ्दै जान्छ । मैले त कतै ओशोको कुनै किताबमा यत्ति सम्म पनि पढेको छु कि: केही कुरा यदि सबैलाई देखाउनु छ भने कुनै कम्पाउण्ड भित्र सो चिज राखेर बाहिर पर्खालमा “यहाँ भित्र नहेर्नु होला !” लेखेर राख्नु रे.... आधा रातमा उठेर भए पनि मानिसहरू आउनेछन् रे हेर्न... के राखेको रहेछ त त्यो हेर्नै नहुने भनेर ।

अँ त, एकैछिन सोचेँ पछि छोरीलाई केही आल-टाले उत्तर दिने प्रयास गरेँ । मलाई लाग्छ अहिलेको समाजमा हाम्रा उमेरका अविभावकहरु कसैले आफ्ना केटाकेटीलाई फलानो दलित हो वा ढिस्कानो के हो भनेर पक्कै सिकाउँदैनन् । समाज धेरै अर्थमा बदलिरहेको छ र अहिलेको परिवेशमा हुर्केका ससाना केटाकेटीहरु २०-३० वर्ष अगाडि जन्मेका भन्दा धेरै सहज र सरल छन् । तर यो सहज वातावरण र सरलतामा आफैँ हराउँदै गइरहेको कुप्रथा फेरि झकझक्याउने काम भने मज्जाले गरेको पाएँ किताबले । माथि नै भनी सकेँ लेखकको मर्म नकारात्मक भाव जन्माउने हैन होला, तर सकारात्मक सोच वा विधायक विचार पनि निश्चित उमेर समुह वा कुनै समाज वा वर्ग विशेषलाई लक्षित गरेर उठाउँदा मात्रै सही हुन्छ । तीन कक्षामा पढने कलिलो मस्तिष्क, जसलाई समाजको जटिल संरचना र यस भित्रका प्रथा-कुप्रथाको कुनै वास्ता नै हुँदैन तीनलाई यो नैतिक शिक्षा निकै भारी भएको पाएँ मैले ।

कुरालाई प्रस्ट राख्दा, नचाहँदा-नचाहँदै पनि मैले छोरीलाई ‘फलानो दलित हो’, ‘ढिस्कानो यस्तो हो’ भनेर उदाहरण दिनु पर्‍यो । सो दिनसम्म स्वभावत “हामी सबै समान छौँ” भन्ने भावना भएकी मेरी छोरी, सो किताब पढेपछि “हामी सबै समान चाहिँ रहेनछौँ, तर समान हुनु पर्ने रहेछ” भन्ने सोचमा पुगेको प्रस्टै अनुभव भयो मलाई ।

कुरा मेरो छोरीको मात्रै हैन्, जुन-जुन केटाकेटीलाई बाबुआमाले यो कु-संस्कार सिकाएका छैनन्(माथि नै भनी सकेँ आजको समाजमा सायदै कसैले यो सिकाउलान) ति सबैलाई सो पाठ पढेपछि मनमा गहिरो असमनजस्य उत्पन्न भएको हुनुपर्छ ।

जे होस, छोरीलाई कक्षा धान्न मुस्किल नपर्ने गरी सो पाठ पढाएँ । तर केही दिन अगाडि परीक्षाको तयारी गर्ने बेलामा फेरि उसले अर्को प्रश्न गरी “अछुत भनेको के हो बाबा ?” । उसको किताबमा भएको “We Are All Equal” भन्ने एउटा पाठले उसलाई फेरि समस्या खडा गरेको थियो । “...यस्तो केही हुन्न छोरी” सुरुमा त मैले फेरि छोटो जबाफ दिएर टार्न नखोजेको हैन । तर उसले फेरी “...किन कसै-कसैले ‘सानो जात’ले छोएको खानेकुरा खाँदैनन् रे हो...?, “सानो जात भनेको के हो ..?”, आदि प्रश्नहरूको लर्कन तयार गर्न थालेपछि ‘टार्ने’ पाराले नचल्ने भो। ईमान्दारिताका साथ आफ्नो कुरा राख्ने हो भने, सात वर्षको दिमागले कति बुझ्छ- कति बुझ्दैन मलाई राम्रो ज्ञान छैन । तर अघिल्लो दिनसम्म मान्छेको थर मात्रै फरक-फरक हुन्छन् भन्ने सम्मको हल्का ज्ञान भएको छोरीलाई मैले थर पिच्छेका मानिसको जात पनि भिन्न-भिन्न हुन्छन् नभनी किताबको ‘लेसन’ उसलाई बुझाउन सकिँन । 

मैले “कोही अछुत हुँदैनन् र जसले छोएको पनि जसले पनि खान मिल्छ” भनेर उसलाई आफ्नो ‘बटम लाईन’ राखे पनि उसको दिमागमा भने “...अनि छुन हुने भए किन ‘अछूत’ भनेको त...?”, “किन फलानो-फलानो जातीलाई चाहिँ दलित भनेको त?”, “ ‘untouchable’ लाई नेपालीमा के भन्ने त ?” भन्ने झन् झन् नयाँ-नयाँ प्रश्नहरु तयार भएको पाएँ ।

समष्टिमा कुरा गर्दा, सानो जात भनेर कसैलाई हेला गर्न हुन्न भन्ने पढाउन उसलाई सानो जात भनेको के हो र अझ प्रस्ट भन्दा समाजका ‘यी’ ‘यी’ मानिसहरु सानो जातवाला हुन भन्ने बताउनै पर्‍यो भने, सबै समान छन् भन्ने बुझाउन पहिला समाजको असमानता देखाउनु पर्‍यो । मलाई लाग्छ, त्यो पाठ पढ्नु अघि नै उसमा सबै समान छन् भन्ने प्रकृति वा सहजज्ञान थियो । पाठ पढेपछि उसको बाल-सुलभ सहजतामा पक्कै जटिलता पैदा भएको हुनुपर्छ । 

ज्ञान र जिम्मेवारी योग्यता र उमेर हेरेर दिनुपर्छ भन्ने मेरो मान्यता हो । अनि नैतिक शिक्षाको कुरा गर्ने हो भने, त्यो शिक्षा पनि त्यति बेला र त्यही उमेर समूह वा परिस्थितिमा दिनुपर्छ जहाँ त्यो आवश्यक हुन्छ । आफैँ सत्य बोलेर बस्ने समुदायमा ‘असत्य नबोल्नू’ भन्ने उपदेश अर्थहिन मात्रै हैन, उल्टो असर देखाउन सक्नेसम्म हुन सक्छ । स्वविवेकले चोरी-चकारी नगर्ने समाजमा गएर ‘चोर्नु खराब कुरा हो’ भन्नु पनि त्यस्तै बेतुकको कुरा देखिन्छ । यसरी नै आफैँ नै प्रकृतिगत सुलभताले निश्छल र निष्पाप रहेका बालबालिकालाई ‘सानो जात’ र ‘ठूलो जात’ को गणित सिकाउनु अव्यवहारिक मात्रै हैन्, अनावश्यक र प्रति-असरदायी नै रहेको पाएँ मैले ।

फ्रान्सका प्रसिद्ध लेखक तथा दार्शनिक Jean-Paul Sartre  (Jean-Paul Charles Aymard Sartre) को एउटा भनाई कतै पढेको थिए। अहिले ठ्याक्कै याद आएन, तर उनको भनाई करिब करिब यस्तो थियो : “यदि तिमी आफ्नो बच्चालाई केही सिकाउन चाहन्छौ भने उसलाई केही पनि नसिकाउ” । झ्वाट्ट हेर्दा बेतुक र विपरीत लाग्ने यो  वक्यमा जीवनको गहीरो रहश्य छुपेको छ ।

बालबालिकाहरू स्वभावै ले प्रौढ व्यक्तिहरू भन्दा कोमल, सरल र निश्छल हुन्छन् जसलाई ‘near to god’ भनेर पनि परिभाषित गरिन्छ । यीनलाई समय नआउन्जेल वा आवश्यक नहुन्जेल उनीहरूका लेबलभन्दा माथिको कुरा ‘प्रौढ’ व्यक्तिले नलादेकै राम्रै हुन्छ । मेरो आफ्नै निजी विचार राख्ने हो भने त, मलाई लाग्छ प्रौढ भएर नैतिक शिक्षा दिन लालायित हामी आफैँ केटाकेटीहरू भन्दा धेरै गुना विकृत, भ्रष्ट र पक्षपाती हुन्छौं । विचार सम्प्रेषण गर्ने हाम्रो खुवि केटाकेटीको भन्दा गतिलो होला, तर नैतिकताकै कुरा गर्ने हो भने हामीले बच्चालाई हैन बरु हामीले बच्चाहरु सँग धेरै कुरा सिक्न सक्छौँ ।

11 comments:

  1. सहि कुरा गर्नुभो दिलिप दाई................

    ReplyDelete
  2. Dilip jee....
    mero mann maa dherai din dekhi dukhi rakheko kuro aaja tapaiko yo post maa padhna paayen... sarai marmik ra samaya sapekshya kuro ho yo. tapainley bhane jhai.. bastaba ma yi ra yasta bisaya harulai yati halka roop maa linu bhaneko hamro yo modernized hundai gareko samaj lai feri 100 warsha ko bhoot ma dhakelnu siwaya k hi haina.. yo bisaya ko jati jati charchaa hunchha samaj tyati tyati BACKWARD hundai jaanchha.
    ajhai pani jaat kaa naam maa, politician haru Politics gari rahechhan, yo pani tyasai ko ek MODEL ho.
    bastawab ma yi ra yasta samaj bhitra a-naiteekta jagauney bisayaharu rakhinu hunna, jasley byakti-byakti bicha jaati ra thara ko boundary korney gareko hunchha
    WE ARE ALL EQUAL bhanney sabailai chetana hunu nitanta jaruri chha.
    Vishnu, Khadi

    ReplyDelete
  3. निकै राम्रो ! राम्रो कुरो उठाउनु भएको छ ।
    दलितहरू नै पनि आफूलाई छात्रवृत्ति, आरक्षण तथा विशेष सुविधाका लागि 'दलित' भनेर चिनाउन अग्रसर भएको देखिन्छ । विभेदकारी सोचाइलाई अगाडि बढ्न नदिन जो सुकैले यस्ता शब्द तथा त्यसै शब्दलाई चिनाउने लालसा त्याग गर्नु पर्छ अनि मात्र समानताको वीजारोपण हुन्छ ।

    ReplyDelete
  4. मलाई त यो शब्दको प्रयोग नै ठीक लाग्दैन, यस्लाई चट्ट हटाउनु पर्छ भन्ने मेरो मान्यता हो । यसमा हामीले पहिले पनि विमर्श गरिसकेको हौं पनि ( http://kamaladi.com/2010/04/06/retiring-the-word-dalit/ ) ।

    उमेरले भ्याउने भन्दा बढी पस्कनु अवश्य नै ठीक होइन । आफ्ना अहिले सम्म बाला-नाला कोही नभएकाले ठ्यक्कै सात बर्षाकाले कुन level मा सोच्छन भनेर मलाई ठम्याउनु गाह्रो भए पनि :) आफ्नै बाल्यकालको अनुभव अनुसार हाम्रोमा दिगो शिक्षा भन्दा पनि धेरै अटेसमटेस शिक्षाको मान्यता रहेको आभास हुन्छ ।

    आशा गर्छु यहाँले बिस्तारै छोरीलाई किताबका ज्ञान राम्रो र ब्यवहरिक रुपम्मा बुझांउदै जान सफल हुनु हुनेछ ।

    ReplyDelete
  5. नेपालका पाठ्यपुस्तक निर्माताहरूको बिगबिगी चर्को छ। पाठ्यपुस्तक प्रकाशकहरूको होडबाजीमा केटाकेटीले के पढ्दैछन् भन्ने कुरामा ध्यान ज्यादै कम हुँदै गइरहेको जस्तो लाग्छ। एउटै स्कुलमा विभिन्न प्रकाशनका किताब पढाइन्छ । र आफ्नो विद्यालय मा कुन विषयको लागी कुन प्रकाशकको किताब छान्ने भन्ने विद्यालयले प्रकाशक र विक्रेता सँग 'डिल' गरेर प्रत्येक वर्ष भिन्न भिन्न प्रकाशकका किताब आउँछन् । जस्तो कि अहिले ७ कक्षामा social studies को 'millenium' प्रकाशकको किताब छ भने अर्को साल सोही विषयमा भिन्न भिन्न topic राखेको अर्कै प्रकाशकको पुस्तक हुन्छ। त्यसो गर्दा एउटै परिवारमा भाइले दाइको किताब प्रयोग गर्न नपाउने भो, किताब बिक्ने भो। अनि किताबमा राख्ने पाठ्य-सामग्रीको पनि दायरा फराकिलो हुने भो। र कुन तहमा के कुरा राख्ने भन्ने नै बिर्से लेखकहरुले ।
    कुरा अर्कै तिर मोडियो । लहरो तान्दा पहरो थर्कने भने जस्तो मनमा लागेको कुरा उठाइदिनु भो, कता कता लागेँ । "पाठ्यक्रम निर्क्यौल गर्ने समिति" पनि छ क्यारे हुन त ... के उनीहरूलाई नेपालमा कति वटा पाठ्यक्रम पुस्तक प्रकाशक छन् र क-कस्ले के सामग्री राखेका छन् भन्ने निर्क्यौल छ ? आशा छ तपाईँको यो लेख उनीहरू सम्म पुग्नेछ ।

    ReplyDelete
  6. हाम्रा मा निति बनाउने देखि लिएर पाठ्यपुस्तक बनाउने सम्म ले यस्ता कुराहरु मा ध्यान दिँदैदन् ।
    "हामी सबै समान चाहिँ रहेनछौँ, तर समान हुनु पर्ने रहेछ" भन्ने कुरा ले धेरै ठूलो मर्म बोकेको छ है !

    ReplyDelete
  7. सही कुरो !
    समाजका धेरै पाटोमा यसरी बिना अध्ययन, बिनासोच खाली ठाउँ भर्ने गरिएको छ । शिक्षा जस्तो संवेदनशील कुरा, त्यसमाथि बालबालिकालाई दिइने शिक्षामा त्यस्तो भारीपन पक्कै पनि नसुहाउने कुरा हो । समय आएपछि तिनले यस्ता कुरा आफैँ बुझ्दै जानेछन्, असामयिक ज्ञान प्रत्युत्पादक नै हुन्छ ।
    हामीले बच्चाहरूबाट धेरै कुरा सिक्छ सक्छौँ, पक्कै पनि ।

    ReplyDelete
  8. ज्ञान र जिम्मेवारी योग्यता र उमेर हेरेर दिनुपर्छ भन्ने कुरा ठिक लाग्यो दाइ ।

    अनि निकै राम्रो उदाहरण प्रस्तुत गरेर बालसुलभ र बाल मनोविज्ञानका कुरा गर्नु भएकोमा धन्यबाद !

    ReplyDelete
  9. दिलिप जि यो तपाईको लेख www.DalitMediaHome.com.np मा राखिएको छ है ।

    ReplyDelete
  10. @ Dalitmedia.com.np:- मूल लेखकको नाम र सोर्स दुबै खुलाएरै राख्नु भएको रहेछ । पहिला सोध्नु भएको भए पनि खुशी साथ हुन्छ नै भन्थेँ । उता टाँसेर यता बोधार्थ दिनु भएछ अब के भनौँ र खै ! :(

    ReplyDelete