07 October, 2010

परम्परा, धर्म र विज्ञान !

केही समय अगाडि मैले यही ब्लगमा एउटा शास्त्रभित्रका विज्ञान र शास्त्रको वैज्ञानिक अध्ययन ! भन्ने पोस्ट लेखेको थिएँ । वस्तुतः हाम्रा प्राचीन र परम्परामा रहेका केही धारणा र मान्यताहरूलाई अन्ध- अनुसरण वा अध्ययन बिना विरोध गर्नु दुवै गलत भएकोले त्यसको सम्यक् अध्ययन र आधुनिक वैज्ञानिक व्याख्या गरीनु पर्ने बारेमा सो टाँसो केन्द्रित थियो । अत: आजको पोस्टमा हामीले दैनादिन जीवनमा अनुसरण गर्दै आएका केही जीवन पद्धति वा हाम्रा शास्त्र वा पुराणमा रहेका केही कथा, रुपक वा मान्यतालाई भौतिक विज्ञानको कसीमा जोड्ने सानो प्रयास गर्दै छु:

वर्जित उत्तर शिरान र पृथ्वीको चुम्बकीय शक्ति: हामीले प्राय: सुन्दै आएको र सकेसम्म हामीले मान्दै आएको एउटा मान्यता के हो भने उत्तरतर्फ शिरानी गरेर सुत्नु हुँदैन । हाम्रो शास्त्रहरुले उत्तर शिरानी गरेर सुत्न वर्जित गरेको छ र लामो समयसम्म उत्तरतर्फ टाउको गरेर सुतेमा स्वास्थमा प्रतिकूल असर पर्ने मात्रै नभई मानसिक सन्तुलनमा समेत प्रभाव पार्ने बताएको छ । यस कुरालाई कत्तिले मान्छन् त कत्तिले ‘अन्धविश्वास’ भनेर मतलब गर्दैनन् पनि ।

httpearthsci.org

यस कुरालाई वैज्ञानिक आधारमा हेर्दा, हामी सबैलाई थाहा भएको कुरा हो हाम्रो पृथ्वी पनि एउटा विशाल र शक्तिशाली चुम्बक हो अनि जसरी पृथ्वीको दुई ध्रुवमा चुम्बकीय नेगेटिभ र पोजेटीभ शक्ति रहेका हुन्छन् त्यसैगरी मानव शरीरमा पनि एक प्रकारको चुम्बकीय तंरग रहेको हुन्छ भन्ने कुरा धेरै अघि नै प्रमाणित भैसकेको छ ।

चुम्बकको बारेमा हामी सबैलाई थाहा भएकोwww.lightandcolour.net मुख्य नियम के हो भने: विपरीत ध्रुव एक-आपसमा देखिने गरी चुम्बक राखेमा यसमा आकर्षण र समान ध्रुवमा विकर्षण पैदा हुन्छ । मानव शरीरको चुम्बकीय तंरगको कुरा गर्ने हो भने मानव मस्तिष्क वा शिरपट्टी उत्तरी ध्रुव र पैताला तर्फ दक्षिणी ध्रुव रहेको हुन्छ । यस अवस्थामा मानिस यदि उत्तरतर्फ सिरानी गरी सुतेमा दुवै समान ध्रुवमा विकर्षण पैदा हुन्छ । पृथ्वीको विशाल शक्तिशाली चुम्बकीय शक्तिको अगाडि मानव शरीरको चुम्बकीय तरङ्ग अत्यन्तै कमजोर वा शक्तिहीन हुन्छ । त्यसै कारण यी दुई समान ध्रुवलाई एक-अर्काको आमने-सामने हुने गरी धेरै समय राखेमा स्मरण शक्ति कमजोर हुने देखि लिएर मानव शरीरको आन्तरिक संरचनामै प्रतिकूल प्रभाव परेर बिस्तारै शरीर कमजोर र क्षीण हुँदै जान्छ ।

सापेक्षवादको सिद्धान्त र शास्त्र वर्णित ‘माया’: अल्वर्ट अनस्टाइनले जतिबेला पश्चिममा सापेक्षवादको सिद्धान्तको प्रतिपादन गरे, सुनिन्छ धेरैलाई उनको कुरा बुझ्न गाह्रो भयो । आफनो जीवनकलमा उनको सिद्धान्तलाई व्यवहारीक रूपमा बुझ्ने मान्छे औँलामा गन्न सकिने जत्ति मात्रै होलान भन्ने समेतको आँकलन गरेको कुरा कतै पढेको थिएँ । तर वास्तवमा Time velocity वा समय-गतिको कुरा पश्चिमी भौतिक विज्ञानको लागि नयाँ वा जटिल लागेपनि हाम्रो शास्त्र र पुराणमा भने सरलतम भाषामा धेरै ठाउँमा यसको बयान आएको छ ।

अस्तित्वमा भएका सम्पूर्ण पदार्थ वा चीजको गति समयको आधारमा नापिन्छन् । तर समयको आफ्नै गति हुन्छ र भिन्न मनस्थिति, वा चौ-आयामको अवस्थामा रहेका मानिस वा चेतनाका लागि समय पनि चाँडो वा ढिला गरी चल्छ भन्ने कुरा सनातन धर्मी वा शास्त्र-पुराणका पाठकलाई भने बुझ्न गाह्रो पर्दैन । अल्बर्ट अनस्टाइन आजसम्मका वैज्ञानिकका तुलनामा मलाई सबैभन्दा मनपर्ने र महान वैज्ञानिक हुन र यहाँ उनको सिद्धान्तको अवमूल्यन गर्न खोजिएको हैन तर जब समयको गति वा सापेक्षताको कुरा आउँछ मलाई भने महाभारत र अन्य केही वाङ्मयमा भएका केही रुपक वा कथाहरुको याद आउँछ । अल्बर्ट अनस्टाइनले आफ्नो जटिलतम सूत्रलाई सजिलो गरी बुझाउन प्रयोग गरेका एउटा प्रसिद्ध प्रसङ्ग छ: “एउटी सुन्दर स्त्रीसँग बस्दाको एक घण्टाको समय आगोको रापको अगाडि बसेको एक घण्टाभन्दा सापेक्षिक रूपमा एकदमै छोटो हुन्छ” । अन्स्टाइनले महाभारत पढे कि पढेनन् मलाई थाहा छैन, तर यदि पढेका भए त्यसमा भएको एउटा अत्यन्त रोचक प्रसङ्ग छ:

Narad-Vishnu and theory of relativityएक दिन कुनै वनमा विचरण गरिरहेको बेलामा आफूलाई परमज्ञानी र भगावान विष्णुको परमभक्त भएको अभिमान गर्ने नारदमुनिको अभिमान भंग गर्ने हेतुले विष्णु भगवानले आफूलाई प्यास लागेको बताउँदै नारदलाई पानी लिएर आउन अह्राउँछन । नारद विष्णुको लागि पानी लिन सँगैको गाउँतर्फ लाग्छन् तर नजिकै रहेको कुवामा पानी भर्दै रहेकी एकजना कन्यालाई देखेर उनी मोहित हुन्छन् र सिधै सो कन्याको घरमा पुगी उनीसँग विवाहको प्रस्ताब राख्छन् ।

स्त्री मोहमा परेका नारदले विष्णुको लागी पानी लिन आएको समेत बिर्सन्छन र सो कन्या सँग विवाह गरेर त्यही गाउँमा घरजम गरेर बस्छन् । उनको ३-४ जना केटाकेटी पनि हुन्छन् र नारद पक्का गृहस्थी भएर उनीहरूको पालन पोषणमा लाग्छन् । त्यत्तिकैमा एक साल गाउँमा भयंकर बाढी आउँछ। नारद आफ्नो सकेसम्मको बहुमुल्य बस्तु र छोराछोरी लिएर पानीबाट बचेर सुरक्षित ठाउँमा पुग्ने प्रयासमा पानीमा हेलिन्छन्। भयानक बाढी र वर्षाका कारण पत्नी र बच्चाबच्ची बोकेका नारद गहिरो पानीमा पुग्छन् र उनको हातबाट जो बचेको सामान पनि छुट्छ । केही समय पछि त्यसै गरी उनका छोरा-छोरी र पत्नी पनि बाढीमा बग्छन् र बडो मुस्किलले बचेर उनी किनारमा पुग्छन् ।

पुत्र-पुत्री र पत्नी वियोगको अत्यधिक पिडा र सन्तापका कारण उनी भगवान सम्झन्छन् । उनले भगवानको याद गर्ने बित्तिकै अचानक गाउँ, पानी, बाढी सबै लुप्त हुन्छन् । “नारद पानी ल्यायौ ?”, भगवान विष्णुको आवाजले नारद झस्कन्छन् । नारद मुनि अगाडि हेर्छन् । अगाडि भगवान विष्णु त्यही रूखको मुनि बसिरहेका छन् जहाँ उनलाई छाडेर तीनि पानी लिन गएका थिए । विष्णुको एक निमेष नारदका लागि वर्षौको लामो समय हुन्छ ।

समय सबैका लागि एकैसमान चल्दैन भन्ने कुरा वा Time velocity को यो भन्दा सरल र एक अर्थमा यो भन्दा गहिरो बोध सायदै कतै होला ।

भूगोल, खगोल र ज्योतिष विज्ञान: पृथ्वी गोलो छ भन्ने कसले पत्ता लगाए भनेर अहिलेको पुस्तकालय वा इन्टरनेटमा खोजे पाइथागोरस देखि एरिस्टोटल सम्मको नाम आउँछ । तर एउटा रोचक र अच्चमको कुरामा प्राय: मानिसहरुको ध्यान गएको देखिँदैन । हाम्रो बोलीचालीको भाषामा समेत पृथ्वी र यसको संरचना आदिको अध्ययन गर्ने पुरै विषय-विज्ञानलाई समेत ‘भूगोल’ भनिन्छ । ‘भू’ अर्थात् पृथ्वी र ‘गोल’ अर्थात् गोलो । पृथ्वी गोलो छ भन्ने कुराले पश्चिममा धर्मको विरोध गरेको भन्ने सम्मका कुरा उठेको र मानिसको ज्यान लिने दिने सम्मका विवाद पैदा हुनु धेरै अगाडि देखि नै हामीकहाँ पृथ्वी गोलो छ भन्ने मान्यता जनमानसको स्तरसम्मै स्थापित भैसकेको थियो ।

Solar Systemजुन समयमा पश्चिममा सौर्य-चान्द्र आदि ग्रहण लाग्दा मानिसहरू यसलाई कुनै उत्पात वा प्रकोपको सूचक ठान्थे, त्यो भन्दा धेरै समय अगाडि नै महाभारत कालमा नै सूर्यादि ग्रहणको गणना सम्बन्धि रोचक तथ्य रहेको छ । प्रत्येक १८ वर्ष र १८ दिनको समयवधिमा ४१ सूर्य ग्रहण र २९ चन्द्र ग्रहण हुने र एक वर्षमा बढीमा ७ वटा सम्म ग्रहण हुनसक्ने मात्रै हैन कुन दिन कति बेला कहाँबाट कुन कोणबाट सुरु भएर कहाँ अन्त हुने ग्रहण लाग्छ भन्ने अत्यन्त सूक्ष्म गतिको हिसाब समेत हजारौँ वर्ष देखि हामी कहाँ अत्यन्तै अचूक तवरबाट गरिदैं आएको छ। त्यो हिसाब किताब यत्ति वैज्ञानिक र सही हुन्छ कि हामीले त्यसलाई अत्यन्तै सामान्य ढंगमा लिन्छौँ ।

हामी कहाँ काल गणना देखि लिएर नव-ग्रह र तीनका उपग्रह आदिका कक्ष र अक्षका गतिहरुको अचूक गणितिय पद्धति ६ हजार वर्ष पहिलै देखि सुरु भैसकेको थियो । हामीले आज प्रयोग गर्ने पञ्चाङ्ग वा पात्रोको इतिहास खोज्ने हो भने करिब ६ हजार वर्ष पछाडिसम्म पुग्नु पर्ने हुन्छ । आजपनि हामीकहाँ संसारमै सबैभन्दा पुरानो काल गणना भएको पञ्चाङ्ग प्रयोगमा रहेको छ । हामीले याद नगरेको हुनसक्छ तर हामीले दिनहुँ प्रयोग गर्ने पात्रोमा चलिरहेको सालको मात्रै हैन, हालसम्मका चारै युगका भोग्य काल समेत गणना र सूचकाङ्क हुने गरेका छन् । उदाहरणको लागि यो साल अर्थात् २०६७ साललाई आधार वर्ष मानेर हेर्दा कलि युग बितेको ५,१११ वर्ष र सृष्टी सुरु भएको १९,५५,८८,५११ वर्ष भएको छ । पञ्चाङ्ग र काल गणनाको हाम्रो हिसाब यत्ति सुक्ष्म र यत्ति गहन छ कि माइक्रो सेकेण्ड भन्दा पनि सानो एकाइ देखि चार युग र कल्प- कल्पको सूचकांङ्हरु हामीसँग उपलब्ध छन । हाम्रो वैदिक काल गणनाको विवेचना मात्रै पनि अत्यन्त बृहत हुने भएकोले यो पोस्टमा सो बारेमा अरु लेख्दिन र कुनै दिन समय मिलेमा त्यस बारेमा छुट्टै पोस्ट लेख्नेछु ।

हामी सँग कथा मात्रै हैन सोच पनि छन्, परम्परा मात्रै हैन विज्ञान पनि छ, धर्म मात्रै हैन अद्वितिय जीवन दर्शन र भौतिक विज्ञानको सोचभन्दा धेरै परका परा-भौतिक ज्ञान पनि छन् । त्यसलाई आधुनिकता र वैज्ञानिक कसीमा उतार्ने काम भने गर्नै पर्छ ।

8 comments:

  1. दीलिप सर तपाईंको पोष्ट निकै जानकारीमूलक लाग्यो । परा–भौतिक ज्ञानको बारेमा पनि चाँडै तपाईंबाटै जान्न पाइयोस् ।

    ReplyDelete
  2. दिलिप जि,

    एकदमै रोचक लेख । मलाई पनि हाम्रो धर्म/परम्परा को पछाडि बिज्ञान पनि छ जस्तो लाग्छ । तपाईंको उदाहरणहरु सटिक छन । केही अरु मलाई लागेको ठप्न मन लाग्यो : गोबरले लिप्ने - Disinfectant को काम गर्छ । आत्मा कहिले मर्दैन, केवल रुप बदल्छ - Energy can neither be created nor destroyed, आदी ।

    हाम्रो सभ्यतामा आधुनिक documentation को पद्दिती लागु हुन धेरै समय लाग्यो, जति primitive रुपमा documented छन त्यो पनि सिमित भए, किन भने त्यो सिप सायद Bramhin मा मात्र exclusively निहित थियो होला । Logic बुझ्ने भन्दा नि बिरालो बांधेर श्रद्ध गर्ने धेरै भयो ।

    तर तपाइंको उदाहरण र मेरा लाई coincidence मात्र हो भनेर कसैले भने, होइन भनेर ठोकुवा गर्ने प्रमाण अझै जुटी सकेको पनि छैन । बैज्ञानीक नजरियाले अझ थुप्रो अध्यान गर्न जरुरी छ जस्तो लाग्छ । धर्म पुरानो हो, सभ्याता पुरानो हो, होचुवामा त समाज चली आएको त पक्कै पनि होइन । Yoga बैज्ञानीक नजरियाले आजकाल जसरी promote भै रहेको छ, त्यसरी नै हाम्रा संस्कारका अरु पद्दतिका पछाडि पनि पक्कै बिज्ञान हुनुपर्छ भन्ने मलाई विश्वाश छ ।

    ReplyDelete
  3. यो बर्षको चिकित्सा बिज्ञानमा नोबेल पुरस्कार (सन् २०१०) पाउने Dr. Robert G. Edwards को कित्रिम गर्भधानको व्याख्या र आजकाल बैज्ञानीक जमातमा बहस हुने, एउटा कोशबाट सयौं पूर्ण बिकसित शरीर बनाउने cloning पद्धती (महाभारतमा धिर्तराष्ट्रको सय भाई छोरा) साथै अनुबशिंक तवरबाट नयाँँ नस्ल (जस्तो कि नीर्शिह अवतार) बनाउने (यो अनुसन्धानमा पर्तिबन्ध नलागेको भए शायद आजसम्म सफल भैसक्थ्यो होला ???) तरिका हाम्रो शास्त्रमा (काल्पनिक नै भए पनि) पहिल्यै बर्णन गरिएका कुरा हरु हुन । बैदिक कालमा भारतखण्डमा (जुन भु-मध्य रेखा देखी उत्तर खण्डमा पर्ने भएकोले) लेखिएको शास्त्रमा उत्तरी चुम्बकिय क्षेत्र नजिक पर्ने भएकोले उत्तर सिरान गर्न नहुने व्याख्या भएको होला । दक्षिण तिर पर्ने क्षेत्र जस्तै Australia, NewZealand ई मा दक्षिण तिर सिरान गर्न नहुने होला ।

    cloning: (यस्तै खालको मेरो टाँसो http://bismar.blogspot.com/2009/01/figure-2.html)

    ReplyDelete
  4. परेश जी, पोस्ट मन पराइदिनु भएकोमा धन्यवाद ।

    प्रज्वल जी, विष्णु जी, थप विचार योग्य तथ्य सहितको कमेन्टको लागि धन्यवाद । पक्कै पनि खोज्दै गएमा आधुनिक विज्ञानले पहिल्याएका वा अझै भेट्न वा प्रमाणित गर्न बाँकी रहेका धेरै यस्ता कुराहरु भेटिने छन् ।

    केही वर्ष पहिला बासमती चामलको पेटेन्ट अमेरिकाले दर्ता गर्दा निकै 'हंगामा' भएको थियो । Documentation र पेटेन्टको अभावमा यस्ता धेरै कुरा अरुकै हातमा गएका छन् र यस्तै अवस्था रहेमा जाँदै गर्ने पनि छन् ।

    ReplyDelete
  5. "हामी सँग कथा मात्रै हैन सोच पनि छन्, परम्परा मात्रै हैन विज्ञान पनि छ, धर्म मात्रै हैन अद्वितिय जीवन दर्शन र भौतिक विज्ञानको सोचभन्दा धेरै परका परा-भौतिक ज्ञान पनि छन् । त्यसलाई आधुनिकता र वैज्ञानिक कसीमा उतार्ने काम भने गर्नै पर्छ ।" सारै राम्रो लेख लेख्नु भयो यस्ता तर्कपूर्ण-अर्थपूर्ण वैचारीक भाव यहाँ जोडदार छ । अनि टुङ्ग्याउनीमा लेखकको तर्कना छ । खुशी लाग्यो विचार र विश्लेषणलाई राम्ररी प्रस्तुत गर्नु भएको छ ।

    ReplyDelete
  6. एक दम रोचक र जानकारीमुलक पोस्ट राख्नु भएको रहेछ दिलिप दाइ !
    भूगोल, खगोल र ज्योतिष विज्ञान:चाही अलिक चाख लाग्यो ! हो नी हामीले कति नी ख्याल नगरेको , अनि ति कुरालाई निकै सामान्य लिएका छौ !
    धन्यबाद !

    ReplyDelete
  7. हो, पूर्वीय दर्शन समृध्द छ, विज्ञापनमा पश्चिम अगाडि छ । पूर्वीय दर्शन तथा साहित्य अघि परे पश्चिमको महत्त्व घट्छ । त्यसैले सबै कुरो आफैँले गरेको भन्न पश्चिम अगाडि सर्छ । पुष्पक विमान तथा सञ्जयको महाभारतको भ्रमण यस्तै केही उदाहरण हुन् ।
    पुर्वीय दर्शनका राम्रा पक्षहरूलाई प्रकाश पार्दै लानु पर्छ । तपाईँको सोचाइ राम्रो हो ।

    ReplyDelete
  8. माथिको प्रतिक्रियामा 'वर्णन' हुनुपर्ने ठाउँमा 'भ्रमण' शब्द पर्न गएको हुनाले सच्याई पढ्नु हुन अनुरोध छ ।

    ReplyDelete