17 October, 2011

के सामाजिक सञ्जालले हाम्रो दूरी झनै बढाउँदै छ ?

“Congratulations!”, “विजया दशमीको शुभकामना!”, “Happy Birthday !!!” वा यस्तै-यस्तै धेरै शुभकामना र सुवेक्षाले तपाईँ हाम्रो सामाजिक सञ्जालको पेजहरू बराबर भरिने गर्छन् । मौसमी वा बेमौसमी यस्ता शुभकामना र सन्देशहरूको बर्षातको बीचमा कहिलेकाहीँ लाग्नसक्छ फेसबुक, ट्वीटर, गुगलप्लस वा यस्तै अन्य केही सामाजिक सञ्जालले हामीहरुलाई एक-अर्कासँग नजिकिन कत्ति सहज बनाएको छ । हाम्रो हरेक सानो ठूलो समाचार, सन्देश र सुख-दु:ख बाँडने एउटा मजबुत माध्यम बनेको छ यो सामाजिक सञ्जाल । तर सामाजिक सञ्जालले हामीलाई के साँच्चै नजिक्याएका हो त ? ।

पश्चिममा धेरै अध्ययन र अभिमतको सूचकाङ्कको माध्यमबाट माथिको प्रश्नको जवाफ खोज्ने वा सामाजिक सञ्जालको सार्थकता सिद्ध गर्ने प्रयास गरिएको छ । तर यसको नतिजा भने बढो अचम्म लाग्दो देखिएको छ । वास्तवमा सामाजिक सञ्जालले हामीलाई नजिक्याउने भन्दा पनि टाडा बनाउने काम गरिरहेको छ । हो तपाईँले ठीकै पढनु भएको छ सामजिक सञ्जालले हामीलाई एक आपसमा नजिक्याउने हैन् हामी-हामी बीचको भौतिक दूरी लाई झनै बढाइदिएको छ । झ्वाट्ट सुन्दा अलिक बेमेल लाग्छ यो कुरा तर वास्तविकता यही नै हो ।

कतिपय अवस्थामा पुराना, छुटेका वा विछडिएका साथी सँगातीसँग पुनर्मिलन गराउने काम सामाजिक सञ्जालले नगरेको हैन्, तर सामजिक सञ्जालको सम्बन्ध धेरै अवस्थामा केवल इन्टरनेटको संसार वा अवास्तविक दुनियाँमा मात्रै रहने गरेको छ । केही समय अगाडि मैले पढेको एउटा अनलाइन रिपोर्टमा त यत्ति सम्म पनि लेखिएको थियो कि मानिसहरू एक-आपसमा हेलमेल हुन हैन, बरू एक-अर्कासँग लुकेर बस्नको लागि सामाजिक सञ्जालको बढी प्रयोग गर्छन् । कुरो एकदम सहि हो, एकजना साथीको जन्मदिन छ, तपाईँ समयले भ्याए पनि वा हिँडने बाटोमै परे पनि उसको घरमा गएर जन्मदिनको शुभकामना दिन जानुहुन्न । तपाइँ केही लज्जा, केहि असहजपन र केही सामाजिक परिवेशको तानाबानाले सिधैँ साथीको घरमा गएर ‘बर्थडे विस’ गर्न, चाडबाडको शुभकामना दिन वा परीक्षामा सफल भएकोमा लड्डु लैजान सक्नुहुन्न । तर फेसबुकको वालमा गएर ‘जन्मदिनको शुभकामना’ लेख्न वा ट्विटरबाट ‘Congratulations!’ लेख्न तपाईँलाई सहज लाग्छ । तपाई ब्राउजर खोलेर उसको पेजमा जानुहुन्छ र वास्तवमा भेट हुँदा औपचारिकता कामय गर्न भन्न अलिक सरम लाग्ने शुभकामना र प्रगतिको सुवेक्षा निर्धक्क दिनुहुन्छ ।

एउटा अवास्तविक दुनियाँमा तपाईँ र तपाईको मित्रको सम्बन्ध प्रगाढ बन्दै जान्छ... तर यही बीचमा तपाइँले आफ्नो साथीलाई नदेखेको वर्षौँ भइसकेको पनि हुनसक्छ ।

सामाजिक सञ्जालको प्रयोग बढ्दै जाँदा, हामी भौतिक शरीरधारी प्राणी विस्तारै आफ्नो अस्तित्व अवास्तविक दुनियाँमा सबल बनाउन थाल्छौँ । अनि फेसबुकमा नै जन्मदिन मनाउँछौ., ट्वीटरबाट परीक्षामा पास भएको खुसी बाँड्छौं, गुगलप्लसमा बिहेको तस्विर अपलोड गरेर रमाउँछौ। दसैँका शुभकामनाहरू मात्रै हैन् अवास्तविक खसी देखि लिएर तिहारका मिठाई अनि जन्मदिनका उपहार समेत आभासी वा अन्तर सञ्जालको लोककै मिल्न थालेको छ हामीलाई । झ्वाट्ट हेर्दा भावनात्मक रूपमा हाम्रो सबन्ध प्रगाढ बन्दै गएको जस्तो लागे पनि वास्तवमा भौतिक रूपमा हामी एक-अर्काबाट झनै टाडा-टाडा हुँदै गएका छौँ ।

भलाकुसारीको सजिलो माध्यम सामाजिक सञ्जाल बनेकोले घरायसी भेटघाट गर्ने कुरा त धेरै टाढाको भयो, टेलिफोनको कुराकानी समेत गर्ने हाम्रो बानी विस्तारै घट्दै गएको छ । कम्प्युटरका कीबोर्ड र माउसमा क्लिक गरेर मात्रै हैन्, वास्तविक धरातलमा सोचेर हेर्दा सामाजिक सञ्जालले साँच्चै अचम्मको स्थिति सृजना गर्दै छ। सामाजिक सञ्जालले नजिक बनाउन नखोजेको हैन्, तर त्यही नजिक हुने क्रममा धेरै जना वास्तविक जीवनमा भने टाढा भएका छन् ।

हाम्रो अस्तित्व विस्तारै दुई भागमा विभक्त हुँदैछ। ‘भौतिक म’ र ‘अवास्तविक म’ । भौतिक ‘म’ का भौतिक रूपमा परिचय र पहुँच भएका धेरै साथीसँगाती छन् र त्यो ‘म’ ले भौतिक जगतमा आफ्नो भूमिका निभाएर बस्छ भने अवास्तविक मका पनि धेरै आभासी बन्धु-बान्धवहरू छन् आभासी संसारमा । यति मात्रै हैन्, ईन्टरनेटको दुनियामा कसैको अस्तित्वको प्रत्याभूति नहुने र दोहोरो तेहरो उपस्थिति पनि सहज हुने हुनाले कति भौतिक प्राणीका पनि अनगिन्ती अभौतिक साथीहरू होलान यो आभासी दुनियाँमा ।

जे होस, आभासी संसार रोमाञ्चक मात्रै हैन्, खोक्रो पनि छ। यसो भन्दैमा कुनैपनि सामाजिक सञ्जालको उपयोग सही नभएको भन्ने पनि हैन् । म आफैँ सामाजिक सञ्जालको एउटा सक्रिय प्रयोगकर्ता भएकोले सामाजिक सञ्जालको सहि उपयोगको म सधैं हिमायती छु ।

गज्जबको छ सामाजिक सञ्जालको जादु । अरूको कुरा नगरी फेरि पनि आफ्नै नितान्त वैयक्तिक प्रसङ्ग उठाउने हो भने पनि, एकातिर विगतमा अत्यन्त नजिक रहेका मेरा धेरै साथीहरू अहिले फेसबुकमा मात्रै सीमित भकाएछन् भने उता फेसबुककै माध्यमबाट परिचित केही नयाँ साथीहरू विगतका अनन्य मित्रहरू भन्दा पनि अझ आत्मीय भएका छन् । त्यसैले सामाजिक सञ्जालले हामीलाई नजिक्याई रहेको छ कि झन् टाढा गराइरहेको छ भनेर ठ्याक्कै भन्न भने गाह्रै छ । तर मित्रताको नाता जति नै फैलिए पनि यो आभासी संसारको अत्याधिक नाता अवास्तविक दुनियाँमा मात्रै सिमित भएको भने पक्कै हो ।

सामाजिक सञ्जालले हामीलाई ननजिक्याएको हैन् तर त्यो समीपता प्राय: ‘लाइक’, ‘+1’, ‘retweet’ मा मात्रै सिमित हुन्छन् । त्यसमाथी पनि छद्मनाम, अवास्तविक समूह आदिले सामाजिक सञ्जाललाई झनै अविश्वसनीय बनाउँदैछ । बाँकी तपाईँहरूको विचार :), के सामाजिक सञ्जालले हाम्रो दूरी झनै बढाउँदै छ त ?

9 comments:

  1. कुरो भने शतप्रतिशत सही हो है । मैले पनि कहिलेकाही फोन गर्नुभन्दा किबोर्ड चलाएर wish गरेको छु ।

    ReplyDelete
  2. दिलीप दाई सही कुरा उठाउनुभयो गाउँघरमा रहेका साथिभाईहरुसँग भेट्ने समय र फुर्सद हुँदैन गाउँमा के भैरहेको त्यो पनि थाहा हुँदैन यी सामाजीक सञ्जालमा यति बढी व्यस्त भैईयो । खै कुरा नगरम । :(

    ReplyDelete
  3. मैले पनि अनुभव गरेको कुरा हो यो दाजु । दुरी वास्तबमै बढ्दै छ..

    ReplyDelete
  4. कुरो सोचनीय छ । फेसबुकले आत्मीयता नघटाओस् । दूरी नबढाओस् । फेसबुक चलाउनेले सोच्नैपर्छ ।

    ReplyDelete
  5. बिचारणीय प्रसंग ! संजालको त भरपुर उपयोग भएकै छन् ,कदम कदममा आफ्नो बिबेक प्रयोग पनि गर्न सके राम्रो होला, हैन र ? म त यहाँलाई राजधानीमै आएर भेट्न उत्सुक छु है !

    ReplyDelete
  6. ओहो !! हामीहरु त अमृत ठानी बिष पान पो गर्दै रहेछौँ कि क्या हो ???

    ReplyDelete
  7. कमेन्टको लागि सबैमा धन्यवाद् ।
    परेश जी, भावनात्मक रूपमा जत्ति नै नजिक रहे पनि सजिलोको कारण पनि भौतिक रूपमा भन्दा किबोर्ड बाटै "wishहरू" भढि गरिन्छन् आजकल :)

    पवन जी, सहि कुरा गर्नु भयो घरसँगै रहेको पुरानो साथीको बारेमा भन्दा आजकल हामी नेटका परिचित-अपरिचित र 'अवास्तविक' अस्तित्वसँग हामी बढि व्यस्त छौं आजकल :)

    सुमन जी, भौतिक दुरी बढेकै हो है ! :)

    एकल यात्री जी, हो! फेसबुक वा यस्तै सामाजिक सञ्जालले आत्मीयता भने बढाएकै मान्नुपर्छ ।

    चैतन्य जी, हामी भौतिक बाट आभासी दुनिया हैन् अवास्तविक दुनियाँबाट वास्तविक दुनियाँमा पक्कै भेटने छौँ । "अफलानइ" भे्टनुको मजा नै अर्कै हुन्छ, स्वागत छ ....।

    समिर भाइ, त्यत्ति पनि हैन होला :) ... नेगेटिभ-पोजेटिभ दुबै असर छ यसको ...आखिर तपाईँ रमेरो परिचय पनि 'यतैबाट' भएको त हो नि कसो ?

    ReplyDelete
  8. हो त साच्चै अफलाईन भेट्नुको मज्जै अर्कै। तर कहिले काही सानो गल्ती ले अफलाई भेटाई नरमाईलो पनि हुन्छ। त्यस्तै भा छ मलाई पनि कुनै दिन अफलाईन भेटेर भन्छु है। हाहाहाह। गजबको छ यो तर्क हजुरको।

    ReplyDelete
  9. दूर्जेय जी, तपाईँसँगको अघिल्लो "अफलाईन" भेट साह्रै छोटो र हत्तार-हत्तार बीच भा'थ्यो ... मलाई अर्को अलि लामो र फुर्सदिलो "अफलाइन" भेटको प्रतिक्षा रहने छ :)

    ReplyDelete