(यस पोस्टमा लेखिएका सबै घटना र पात्रहरू वास्तविक हुन्। यी घटनाहरू अरू कसैको जिन्दगीसँग मिल्न गएमा सामान्य कुरा र न मिलेमा भने संयोग हुने छ ! )
कुरो आजभन्दा धेरै वर्ष अगाडिको हो । एस.एल.सि. सकेर रिजल्ट पर्खने बेलामा समय कटाउन दिनभरि गफ चुटेर बसिन्थ्यो । आजकल जस्तो फलानो, ढिस्कानो कोर्सको बाढी नआइ सकेको हुनाले त्यो समय कसै-कसैले कुनै “भाषा प्रशिक्षण” मा बिताउथे भने अरूहरूको भने अधिकांश समय गफ्फिन मै व्यतीत हुन्थ्यो तिन ताका । एकदिन कुरै करामा घर सँगैको एउटा साथीले यो बीचमा 'जिउ बनाउने' कुरो निकाल्यो । हुन त मन मनमा मलाई आफ्नो दुब्लो पातलो ज्यान केही गरे पनि बन्दैन जस्तो लाग्थ्यो, तर साथीले ‘केही गरे पो बन्छ, गर्दै नगरे के बन्छ र?’ भने पछि लौ त नि, के गर्ने भनेर कुरो बढाइयो । उसले भोलिपल्ट देखि बिहान बिहान ‘एक्सरसाइज’ गर्ने र जिउ बनाउने आइडिया निकाल्यो ।
मेरो घरको पुरानो भँडारमा खानतलासी गर्दा कतै पुरानो एक जोडि डमबेल (Dumbbell) फेला परे भने साथीले एउटा छाती चौडा पार्ने स्प्रिङको बन्दोबस्त गर्यो । अनि सबेरै उठेर ताजा अक्सिजन लीन दौडने र साँझमा घरैमा बसेर फलाम उचालेर मसल बनाउने निर्णय भयो । एक मनले त बल्ल बल्ल जाँच सक्केर केही आरामले सुत्न पाइएको छ, कहाँ फेरि बिहान बिहानै उठ्ने जस्तो लागेको थियो । तर फेरि उसको ‘४-५ महिना अलिकता समय बिताए कलेज जाने बेलामा हिरो जस्तो जीउडाल बन्ने’ भन्ने आकर्षक प्रलोभनले पनि उक्साइ रहेको थियो ।
त्यसैले ल जा त!, जे सुकै होस, ‘भोलि देखि नै सुरु गरौं जिउ बनाउने काम’ भनेर बिहान ५ बजे उठेर स्वच्छ हावामा दगुर्ने र कसरत सुरु गर्ने निर्णय गरियो ।
यसै पनि जाडो महिना थियो। त्यसमा पनि भर्खर जाँच सक्केर ५-७ दिन मात्रै ७-८ बजे सम्म सिरक भित्रै बसेर एस.एल.सि. सक्केको हाइसन्चो मनाइरहेको बेलामा बिहान ५ बजे नै उठ्नु भनेको पहाड नै जस्तो लागेको थियो । झन् छिटै उठ्नुपर्छ भन्ने मनमा भएर भोलिपल्ट बिहान ४ बजेतिर नै निन्द्रा खुल्यो ।
बाहिर चिसो थियो र उठेर चिसो पानीले मुख धुन पनि सोच्नै पर्ने जस्तो स्थिति थियो । अघिल्लो दिन, बिहान जो पहिला उठ्छ उसले अर्कोको ‘मा पुग्ने निधो भए पनि “आ! यस्तो जाडोमा कहाँ निस्कने !” भन्ने सोचेर म फेरि सिरक भित्र घुस्रेँ । ‘बरु साथी पनि मस्त निदाए हुन्थ्यो !’ भन्दै कामना गरेर यसो झकाएको मात्रै थिएँ, एलार्म राखेर सुतेको साथीले ढोका ढकढकाउन थालि हाल्यो (कस्तो बेइमान साथी !)। अब त इज्जत जोगाउनै पनि उठ्नु पर्यो । त्यसपछि जसोतसो हात मुख धोएर दुबैजना निस्कियौं ।
दुबैजाना अनाडी, कति दौडने, कुन गतिमा दौडिने, कसरी दौडने कुनै हिसाब थिएन। बस्, अब ‘जिउ बनाउने हो’ भन्दै न्वारन देखीको बल निकालेर जोर लागेसम्म आफ्नो पछाडि कोही बन्दुक लिएरै लखेटी रहेकै छ कि भन्ने जस्तो गरेर कुद्यौं । बिहानको दौड सकेर घर पुग्दा जाडो महिनामै पनि दुबै जनाको पसिना बगिरहेको थियो ।
दोस्रो दिन फेरि इज्जत जोगाउने हिसाबले म नै साथी भन्दा पाँच मिनेट अगाडि उठेर उसको घरमा पुगेँ । अनि फेरि चल्यो बेहिसाब, बल निकालेर दौडने उपक्रम । त्यसो त बाटोमा केही ‘पुराना खेलाडीहरू’ सुस्त रफ्तारमा, तर हिँडेको जस्तो देखिने गरी छिटो-छिटो पाइलामा ‘मर्निङ वाक’ गर्दै गरेको देखिन्थ्यो । तर साथीले यसरी बिस्तारै हिँडेर “मेन्टेन मात्रै हुन्छ...जिउ नै बनाउने हो भने कुद्नै पर्छ” भनेपछि हाम्रो रफ्तार ‘गोल्ड मेडल’ पाउन ज्यान फालेर दौडिएको धावकको भन्दा कम हुँदैनथ्यो । घर नजिकै सानो गौचरनको चउर थियो (अहिले पनि छ है :), हामी घरबाट सिधैँ त्यही हानिन्थ्यौं । अरू पुराना कसरतकर्ताले चउरको २ चक्कर सक्दा नसक्दै हामीले भने ३ चक्कर पुर्याइ सकेका हुन्थ्यौं ।
साँझमा घरको छिँडीमा बसेर जोर चलेसम्म स्प्रिङ तान्ने र फलाम उचाल्ने काम पनि जारी नै थियो । सायद अरूले सुरुमा दुईटा, तिन’टा गर्दै स्प्रिङ थप्दै लग्थे क्यार। हामीलाई भने छिटै ज्यानदार बन्नु परेकोले चार वटै स्प्रिङ राखेर दुई हातलाई सकेसम्म फैलाएर पाखुरा फुलाउने काममा लाग्यौ। चारवटा स्प्रिङलाई एकै चोटि जबरजस्ती तान्न खोज्दा कति पटक स्प्रिङले नै आफूलाई तानेको कुरा पनि अब भने सार्वजनिक गर्दा रमाइलै लागेको छ ।
डमबेल पनि सायद सुरुमा हल्का उठाएर पछि मात्रै अलिक भारी वजनको उठाउनु पर्ने हो, तर आफूसँग जे थ्यो, त्यही एउटै थियो । त्यसैले जत्ति बढि उचालिन्छ, त्यत्ति नै छिटो पाखुराको मसल पनि उठ्छ भनेर त्यही फलामको डल्लो बलजफत उठाउन थाल्यौं ।
२-४ दिन फलाम उचालेपछि पाखुराको मसल बढ्नु भन्दा पनि अलिकता भएको मासु पनि तन्किएर कता हरायो कता ! । छाती चौँडा होला भनेर तानेको स्प्रिङले ‘आर्म्स’ र ‘विङ्स’ बढाउनुको सट्टा भुँडीतिरको बचेखुचेको छाला पनि मादलको दुईछेउको तने जस्तो गरि तनक्क तन्केको थियो ।
वास्तवमा ५-७ दिनमा चमत्कार हुने कुरो केही थिएन र हामीले गरेको कसरत पनि एकदमै अनियमित र अव्यवस्थित थियो । त्यसैले केही दिनको तथाकथित कसरत पछि पेटको छाला तन्केर हलचल गर्दा र खोक्दा समेत पुरै जिउ नै तरङ्गित हुन थालिसकेको थियो भने, आफ्नै घरमा तल-माथि गर्दा पनि भरेङको हरेक खुड्किलो पार गर्दा पहाडै काट्नु परेको अनुभूति हुन थालेको थियो । तैपनि हिम्मत कायम राख्न कहिले उ मलाई ‘तिम्रो विङ्स निक्लँदै छ!’ भनेर हौस्याउथ्यो त कहिले म उसलाई ‘तिम्रो पाखुराको मसल अलि बडैकै हो है ! “ भनेर जोस्याउथेँ । घरमा एक्लै हुँदा सर्ट फुकालेर ऐना अगाडि उभ्भिएर हेरिन्थ्यो ... कता कता छातीको चौडाई २-४ एम.एम. बडैकै हो कि जस्तो पनि लाग्थ्यो। तर चियाको गिलास टेबुल देखि मुखसम्म पुर्याउने उपक्रम गर्दा र थालको भात मुख भित्र हुल्ने जोरजाम गर्दा समेत अङ्ग-अङ्गमा दबाब महसुस हुन थालिसकेको पनि थियो । केही दिनको निरन्तरता पछि कहिलेकाहीँ मनमा “आ! व्यर्थमा के नचाहिँदो काममा लागिएछ!” जस्तो पनि लाग्थ्यो भने । सुगठीथ शरीर लिएर नयाँ नयाँ कलेजमा छिर्दा हुने अनुभूतिको पूर्वाभासले अझै हौसला दिइरहेको थियो ।
हप्ता दिन जत्ति यसरी नै चलिरह्यो । कहिल्यै कसरत र शारीरिक श्रम नगरेको जीउको २०५ वटै जोर्नीहरू हावा लाग्दा पनि दुख्ला जस्तो भइसकेको थियो । आलो-पालो गरे बिहान कहिले म कहिले उ पहिला उठेर एक-अर्काको घरमा जाने क्रम चलिरहेको थियो । अचानक एक दिन उसको पालोमा उ मेरो’मा आएन । आज साथी निदाए छ कि क्या हो भनेर म नै उसैकोमा पुगेँ ।
उसको कोठामा पुग्दा, सोचे भन्दा विपरीत दृश्य देखियो । जाडो महिनामा पनि चिट-चिट पसिना काटेर हनहनी ज्वरो आएको साथी खाटमा लखतरान सुतिरहेको थियो । उमेर पाको नभइ सकेको भए पनि, साथीको हालत देखेपछि यो ‘एकसरसाइज गर्दा दुईसरसाइज’ भएकोले निम्तेको परिणाम हो भन्ने बुझ्न बेर लागेन ।
विस्तारै विस्तारै सुरु गरेर अलि अलि बढाउँदै लैजानु पर्ने शारीरिक कसरतको नियमलाई हामीले छिट्टै ‘हिरो बडी’ बनाउने सोचमा त्वरित् विधिमा लान खोजेका थियौँ । अन्न पानीको शरीर न हो, यस्तो अव्यवस्थित भार कति दिन थेग्थ्यो । साथी ५-७ दिन राम्रै ओछ्यान पर्यो । आफ्नो घर-छिमेककै पुरानो साथी बिरामी परेकोमा मन खिन्न त थियो नै, तर भोलिपल्ट देखि बिहान बिहानै उठेर एक्सरसाइज गर्न जानु नपर्ने खुसीले भित्र भित्र मन कम्ता हर्षित भएन ... (क्रमशः...)
हाहाहा मेरो नि तेस्तै हालत थीयो दिलीप दाजू कुनै जमाना मा
ReplyDeleteक्रमश पो भयो त अन्तिममा...हा हा हा....अझै केहि हुनै बाँकि रहेछ त्यसोभए त...कुरौँ कुरौँ!!!
ReplyDeleteहाँस्नैपर्ने अवस्था आइलाग्यो ! :)
ReplyDeleteपढी सकेपछि फर्केर माथि पुग्दा चित्र हेरेर मरि-मरि हाँसो उठ्यो :)
ReplyDeleteलेखन ले निकै कुतकुतायो ! ... लास्टमा त क्रमश: भए पछी पक्कै पनि अरु हाँगाहरु पलाउछन नै होला ... टाइटल पनि निकै राम्रो --बुकको स्वरुप नै दिनु पर्छ जस्तो छ !
ReplyDeleteहा हा हा हाँसो उठ्दो संस्मरण !! यो उपद्रो एक चोटि सबैलाई आउने र'छ क्यारे !!!
ReplyDeleteवास्तवमै हाँस उठ्दो । प्रकाश समीरजी सँग सहमत यो उपध्रो सबैलाई आउँदोरहेछ ।
ReplyDeleteहा हा हा!
ReplyDeleteInteresting !
ReplyDeleteप्रचुर रमाइलो लाग्यो ! अर्को अंकको प्रतिक्षामा छु |
ReplyDeleteohoooooooooooo sir malai jasthai vaya6 ni hahahahahahahahahaha
ReplyDelete