(अघिल्लो पोस्टको बाँकी…)
…एक्सरसाइज गर्दा दुईसरसाइज भएर लडेको साथी एक हप्तामै तङ्ग्रियो, तर त्यसको एक महिनासम्म पनि हामीले फेरि कसरत गर्ने कुरो समेत निकालेनौं । हुन पनि करिब हप्ता- दस दिन गरेको कसरतले एक महिनासम्म पनि खुब मस्त निन्द्रा लाग्ने बनाएको थियो शरीरलाई ।
करिब डेढ महिना जत्तिपछि एकदिन फेरि कुरै कुरामा अर्को एकजना स्कुलमा पढ्दा ‘स्काउट’ मा लागेको साथीले ४-५ जना जम्मा भएर व्यवस्थित कसरत गर्ने कुरो निकाल्यो । वास्तवमा त्यो कसरतको लागि भन्दा पनि पट्यार लाग्दो लामो बिदाको ‘टाइमपास’ गर्ने मेसो थियो त्यति बेला । हामी दुई भुक्तभोगीले अघिल्लो पटकको आफ्नो कथा बताएपछि उसले यो सब अव्यवस्थित तरिका अपनाएकोले भएको बताएर सुरुमा हप्तामा ३ दिन, अनि चार दिन गर्दै बढीमा पनि हप्तामा ५ दिन भन्दा बढि शरीरलाई श्रममा लगाउन नहुने बतायो । त्यस बीचमा ‘डाइट’ ले पनि पेल्नु पर्ने र यो सबै मिलेमा मात्रै जिउ बन्ने बतायो । कुरो सुन्दा ‘स्काउट साथी’ को कुरो चित्त बुझ्ने नै लाग्यो र फेरि ४-५ जना मिलेर एकदिन बिराएर सुरुमा हप्तामा ३ फलाम उचाल्ने सहमति भयो ।
हामी दुई सुरुमै आ-आफ्नो घरमा झन्डै-झन्डै ठूलै खप्की खानबाट बचेकाले अर्कै साथीको घरमा सबैले आ-आफ्नो घरमा भएको फलाम, स्प्रिङग, बालुवा भरेको बोरा र ‘नाइनचक्कु’ समेत पुर्याएर राख्यौँ । सबै मिलेर २-४ सय पनि उठाएर डाइटको पनि व्यवस्था गरियो । अनि सुरु भयो व्यवस्थित कसरत ! । सुरूमा आइतवार, मङ्गलवार र शुक्रवार मात्रै पसिना बगाउने निर्णय पनि सर्वसम्मतिबाट पारित भयो ।
एकजना साथीको पुरानो घरको बुइँगल खाली थियो । त्यहाँ सबै समान जम्मा गरियो, एउटा थोत्रो स्टोभ र मट्टीतेल समेतको जोरजाम भयो । सुरुको दिन पाँचै जना उर्दीको समयमा हाजिर भयौं । कसैले स्प्रिङ, कसैले फलाम जे जे पाइन्छ त्यही त्यही उचाल्न र तान्न थाल्यौं । शरीरलाई साह्रो थकाउन नहुने मान्यता बोकेकोले यसपाला हरेक १० १२ मिनेटको अन्तरालमा हामी रोकिन्थौँ । अनि यसैगरी करिब आधा-एक घण्टा सक्केपछि थोत्रो स्टोभमा प्रशस्त अण्डा उमालिन्थ्यो । अण्डाका बोक्रा छोडिँदै गर्दा अर्कोले पानी उमाल्थ्यो र त्यसमा पाउडर दूध घोलेर मस्त अण्डा-दूधको डाइट दाबिन्थ्यो ।
हल्का व्यायाम, प्रशस्त आराम र यथेष्ट खानपानका बीच यसपाला राम्रैसँग चल्दै थियो कसरत ! । न कतै जिउ दुखेको आभास हुन्थ्यो, न त आलस्य वा झिजोपन । २-४ दिन बित्दै जाँदा साबिक भेटिने अड्डामा हामीहरु ४-५ जना भेटिएपछि अरू साथीहरूले पनि विस्तारै हाम्रो गाइँगुइँ सुनेछन् । अनि त के थ्यो....हाम्रो टोलीमा ह्वात्तै सहभागीहरूको वृद्धि भयो । ४-५ जनाबाट सुरु गरेको हाम्रो टोलीमा १०-१२ जना भए ।
सहभागिताको वृद्धिसँगै विस्तारै हाम्रो सर्जामको अभाव खट्किन थाल्यो । चार जनाले फलाम उचाल्ने र स्प्रिङ तन्काउने बेलामा अरू ५-७ जना त्यसै गफ्फिएर बस्नु पर्ने भयो । अनि त के थियो र? , व्यायामशाला विस्तारै गफशालामा परिणत भयो । करिब २ हप्ता जत्ति समय व्यतीत हुँदा सबैले घर-घरबाट ल्याएका पाइप, रड, फलामका डल्ला र सर्जामहरू कता कुनामा थन्की सकेका थिए र हाम्रो अड्डा ‘गफ हान्ने’ थलोको रूपमा विख्यात भइसकेको थियो । अनि हाम्रो exercise पनि egg-ercise मा परिणत भइसकेको थियो
यदा-कदा भट्किएर आउने कसैले ‘डमबेल खै?’ , भनेर सोद्धा हामी “...खै यतै होला नि ! हेर न ...” भन्थ्यौ । भूँइमा कतै धेरै दिन रहेकोले स्प्रिङमा खिया लागिसकेको थियो भने १-२ जना बाठा साथीहरूले भने ‘अब यहाँ एक्सरसाइज हुँदैन' भन्ने जानेर पहिल्यै आ-आफ्ना जिन्सी लगानी अड्डाबाट घरमा फिर्ता गरिसकेका रहेछन् । जिन्सी लगानी यता-उता परे पनि अड्डामा प्राय सबैको ‘पकेट मनि’को जोडदार लगानी भने जारी रहेकोले त्यहाँ अण्डा, बिस्कुट, पाउरोटी आदिको भने अभाव खट्किन पाएको थिएन । यता घरमा पनि ‘बडि बिल्डीङ्ग’ सुरू गरिएको निहुँमा अरू समयमा भन्दा जोड गरेर दाना-पानी दाबिन्थ्यो (फेरि थला परिएला भन्ने डर पनि त थियो नि—भलै व्यायामको नाममा आराम मात्रै बाँकी भइसकेको थियो) भने उता अड्डामा पनि आ-आफ्नो लगानीको प्रचुर प्रयोग गरिन्थ्यो ।
जाडोको बिदा, परिश्रमरहित शरीर र पहलमानको भोजन निरन्तर जारी रहँदै गर्दा यता करिब एक महिनाको अवधिमा हामी किन त्यो ‘अड्डा’मा जम्मा भएका थियौँ भन्ने पनि सबैले करिब करिब बिर्सी सकेका थिए । उता भने हप्ताको ३-४ दिन हैन, सातै दिन र त्यो पनि कहिलेकाहीँ दिनमै २-३ पटक अड्डामा जम्मा भइन्थ्यो । जम्मा भएपछि कसैले कसरतको ‘क’ उठाउँदैन ‘थे .... उठाइन्थे त चियाका कप र यता-उताबाट जम्मा भएका ‘स्न्याक्स’ का टुक्राहरू ।
एकदिन त्यत्तिकै हिँडिरहँदा घर नजिकैका एकजना छिमेकी दाइले “दिलीप ...तिमी कता हराएका थियौ.... मोट्टाएर पो फर्केछौ...” भनेपछि भने झसङग भइयो । नभन्दै घर गएर ऐना अगाडि उभ्भिदाँ गाला अलि पुक्क पुक्क परेका र भूँडीले पनि उक्सने जोडदार तयारी गरिसकेको देखियो ! हेत् , कहाँ जिउ कस्याउन हिँडेको यहाँ त झन भूडीँ पो लाग्न थालेछ त ....” मैले तुरुन्तै अड्डामा गएर आफ्नो अनुभव बताएँ । यसो हेरेको त यो करिब एक महिनाको समयमा सबैले २-३ किलो वजन बढाइ सकेका रहेछन् ।
कहाँ जिउ बनाउने र व्यवस्थित व्यायामको चक्करमा लागेको बेलामा भुँडी बढाउने उद्योग चालु भइसकको रहेछ । अब भएन भनेर सबैले फेरि एकदिन ‘बोर्ड मिटिङ्ग’ गरे । धेरै दिन हराएर फेरि झुल्केको ‘स्काउटे साथी’ ले यसपाला फेरि नयाँ प्रस्ताव अघि सार्यो । साथीहरू सबै जना एउटै कोठामा जम्मा भएमा गफ नै बढि हुने हुनाले अब भने घर बाहिर निस्केर ‘दौड’ लगाउनै पर्ने उसको प्रस्ताव, मेरो र पहिलो एक्सरसाइज ताका थला परेको साथीको ‘नोट अफ डिसेन्ट’ को बाबजूद पारित भयो ।
त्यो बोर्ड मिटिङ्ग भएको दिन शुक्रवार थियो । सबैले शनिवार एकदिन ‘रेस्ट’ गरेर आइतवार देखि विहान ठीक ६ बजे देखि दौड सुरु गर्ने पक्का गरे ( शनिवार चाहीँ किन रेस्ट गरिएको थियो मलाई पनि था’ छैन्) । ‘स्काउटे साथी’ले आईतबार विहान देखि आफ्नो पुरानो सिट्ठी बजाएर सबैको घर-घरमा गएर सहभागी जम्मा गर्दै कुद्दै गर्ने बतायो । यता म भने बाटो हिँड्दा वा कतै ट्राफिकले सिट्ठी बजाउँदा समेत आतङ्कित हुन थाली सकेको थिएँ …
(बाकीँ यता>>>)
दिलिप दाजू साँच्चै हो कि गफै मात्रै हो ? कस्तो रमाइलो गरि लेख्नु भएको !
ReplyDeletelau mazza aayo hai Brother ...
ReplyDeleteमहिनौं यता यति रमाइलो अनुभव ( भनौं या ब्यंगरचना) पढ्न पाइएको थिएन | १०० % मजा आयो | त्यो भन्दा बढ्ता हुने भए त्यो पनि भन्थें |
ReplyDeleteसाह्रै रमाईलो! मेरा पनि यस्ता अनुभवहरु धेरै छन्। दाइको स्मरण पढ्दा आफ्ना एक्सरसाइज-एगसरसाइजको याद आयो।
ReplyDeleteएक ताका आर्मीमा भर्ती हुने ठूलो रहर थियो। खुब दौडिए म पनि त्यही झोकमा...
ReplyDelete