06 December, 2011

....र अनि नदौडेको कथा !

Sleeping (अघिल्लो पोस्टको बाँकी)

...भोलिपल्ट बिहान मस्त निन्द्रामा थिएँ । घर बाहिर एकोहोरो सिट्ठी बजेपछि यसो घडि हेरेको बल्ल सवा पाँच भएको थियो । ‘ह्या ! साँच्चिकै पो आए त !’ भन्ने भाव लिएर जबरजस्ती उठेँ । घरमुनि ‘नयाँ जोगीको बाक्लो खरानी’ भने जस्तै स्पोर्ट्स सुज, ट्र्याकसुट र टिसर्ट आदिमा सज्जिएका ५-७ जना जम्मा भैसकेका रहेछन् । ‘लौ ... अब दौडिनै पर्‍यो’ भनेर बाँकी २-४ जनालाई पनि बटुलेर करिब दर्जनको सङ्ख्यामा हामीहरू “हे !” “हो !” गर्दै टोलको चक्कर काट्न थाल्यौँ ।

जाडो महिना कटि सकेको हुनाले खलखली पसिना आयो । करिब ४० मिनेट जत्ति कहिले हिँड्दै, कहिले दौड्दै र कहिले रोकिदैं गरेपछि उनै ‘स्काउटे साथी’ ले ‘आज यत्ति मात्रै गरौँ’ भनेपछि सबै घर घर लाग्यौँ । घर पुग्दा जिउमा खलखली पसिना आएकोले पहिला त नुहाउने काम भयो । त्यसपछि कोठामा आएर घडी हेर्दा ६ पनि बजेको रहेनछ । अहिले जस्तो टि भी, कम्प्युटर केही थिएन अब के गरेर टाइमपास गर्ने त ? । सोच्दै गर्दा चिसो पानीले नुहाएको जिउले ‘जाडो भयो!’ भन्ने सन्देश दियो । अगाडि, बिहान हत्तार-हत्तार उठ्दाको नपट्याइएको सिरकले पनि ‘च्यालेन्ज’ नै दिइरहेको थियो । तब त के चाहिन्थ्यो । फेरि दोस्रो सीफ्ट सुत्ने बाहेर अर्को कुनै विकल्प पनि रहेन र मज्जाले सिरक ओढेर सुतियो ।

दौडेर आएर थाकेको जिउ, दोस्रो सिफ्ट सुते पछि ठ्याक्कै साढे आठतिर मात्रै बिउँझिएँ (सायद सबैले त्यसै गरे होलान) । यस पटकको कसरत पनि यस्तै रह्यो.... बिहान एक छीन दौडियो अनि दिनभर कसरतको ‘क’ पनि नगर्ने ।

भोलिपल्ट पनि यस्तै ताल भयो । बिहानै उठेर दगुर्‍यो.... अनि घर आएर मस्त सुत्यो । २-३ दिन यसै गरे पछि बानी पनि पर्‍यो । फेरि दगुरेर आएपछिको निन्द्रा पनि कम प्यारो थिएन !। करिब हप्ता दिन जत्ति चल्यो होला यस्तै तरिका ... त्यस बीचमा कहिले उपस्थिति ह्वात्तै बढथ्यो र बाटो हिँड्ने टोल-छिमेकीहरू पनि ‘केटाहरूले केही गर्लान जस्तो छ’ भन्थे भने कहिले भने बाटोमा २-३ जना मात्रै पनि हुन्थ्यौँ । म पनि हप्ता-दस दिनमा २-३ पटक गएल भएकै हो ! । समग्रमा बिहान बिहान उठ्नु पर्ने भएकोले यो दौडमा रेगुलर भने कोही थिएन र दौडने क्रम भने जारी नै थियो । (खै, म नगएको कुनै दिन कोही पनि नआएर मैदान नै खाली पनि भा’थ्यो कि Hot smile) ।

त्यसो त बीचमा १-२ पटक नियमित हुन र गराउन भेला पनि नभएको हैन् , तर न त सबैजना नियमित हुन सकेका थिए, न त सुरु गर्दाको जस्तो जाँगर सबैमा थियो । कथा र उपकथा केही भिन्न भए पनि हाम्रो ग्रुपमा सबैले १-२ पटक यस्तै जँड्याहाले जाँड र चुरोटेले चुरोट छाडे जस्तो गरी कसरतका थरी-थरीका प्रयोग गर्दै छोड्दै गरी सकेका रहेछन् । त्यसैले सबैको मनको एक कुनाले व्यायाम स्वास्थको लागि लाभदायक छ भन्ने जान्दा जान्दै पनि अर्को कुनाले भने ‘ह्या....!, जिउ लाग्ने बेलामा आफैँ लाग्छ....यस्तो उछल-कुदले केही हुनेवाला छैन भन्ने सोचले सबैमा घर गरेको थियो । त्यसैले व्यायाम रोकिएको पनि थिएन भने ‘चलेकै’ पनि थिएन । मतलब खेलाडीहरूको निरन्तर बदलावको बीच खेल जारी थियो ।

बीचमा ‘स्काउटे साथी’ आफ्नो गाउँको घरतिर लागेको थियो र उसको ग्राम गमन पश्चात् बिहान जम्मा हुने समय र ठाउँको निश्चितता पनि विस्तारै भताभुङ्ग भएको थियो । वास्तवमा १०-१५ दिनको निन्द्रा खराब गरेपछि सबैको मनमा आलस्यले जरा गाडेको थियो । सबै जना जम्मा हुँदा, एक-अर्काको अगाडि आफूमा भरपूर फुर्ती र ऊर्जा भएको देखाउन खोज्थे भने, मन मनमा भने ‘भोली बिहान मस्त सुत्न पाए पनि हुन्थ्यो’ वा ‘भोली कसैले उठाउन नआए पनि हुन्थ्यो’ भन्ने सोचमा हुन्थे सबै ।

त्यस्तैमा बिहान घर घरै सबैलाई उठाउँदै हिडने मान्छे अरूभन्दा १० मिनेट जत्ति छिटो उठ्नु पर्ने भएको र एकै जनाले सो काम गर्दा सो व्यक्ति सधैँ अरूभन्दा छिटो उठ्नु पर्ने भएकोले पाँच मिनेट वा दस मिनेट मात्रै पनि बढि सुत्न पाईने लालसामा दिनै पिच्छे कसले कसलाई उठाउन जाने भन्ने पालो समेत लागिसकेको थियो । आफ्नो उठाउने पालो भएको दिनमा भने सबैले बलजफती भएपनि उठेर आफ्नो डिउटी पुरा गर्थे भने, अर्कोले उठाउन आउने दिनमा भने बिहानै उठनु पर्ने झन्झटबाट मुक्त हुन साथीहरू अघिल्लो दिनमा नै ‘भोली मेरो बिहानै काम छ है’ वा ‘भोली बिहानै बाहिर जानु छ’ भनेर मजाले घुर्ने जोरजाम गर्थे ।

हुन त दौडिन गएको दिनमा पनि घर फर्केर सुतिन्थ्यो नै, तैपनि बिहान उठनु नपर्दाको आनन्दको कुरै अर्को हुन्थ्यो । त्यसैले दौडन सुरू गरेको १०-१५ दिन पछी नै पहिले कहिल्यै कुनै काम नपर्ने र नगर्ने लाई समेत बिहान बिहानै जरूरी जरूरी काम पर्न थालिसकेको थियो । कुनै न कुनै बहानामा साथीहरू (म पनि) बिहान दौडिन नगइ सुत्ने गर्थे ।

विस्तारै विस्तारै धावकको सङ्ख्या घट्दै गयो र कुने बेला १२-१५ जना हुने समूहमा मुस्किलले ४ जना जत्ति मात्रै दौड्ने गर्थे ।

एकदिन बिहान सात बजे मात्रै आँखा खुल्यो, धेरै दिन सम्म गोलमाल तरिकाले सुत्ने र उठ्ने गरेकोले बिहान उठ्ने बित्तिकै यो पहिलो सिफ्ट वा दोस्रो सिफ्ट थियो ठम्याउन मुस्किल भयो । एकछिन पछि मात्रै प्रस्ट भयो त्यो पहिलो लामो सिफ्ट नै रहेछ ! । वास्तवमा त्यस दिन उठाउने पालो परेको साथी आफैँ मस्त निदाएछ र हामीले पनि उसैको कृपाले सुत्न पाएका रहेछौँ । त्यसदिन दिउसो भेट्दा सबैले उसलाइ त्यस्तरी सुत्ने भनेर हप्काए, तर मनमनमा भने सबैजना दङग थिए र भोलिको पालोवाला पनि निदाए पनि हुन्थ्यो भन्नेमा थिए ! ।

त्यसको भोलिपल्ट बिहान करिब ४ बजेतिर निन्द्रा खुलेको थियो ....त्यस दिन निन्द्राबाट बिउँझँदा कम्ता खुसी लागेन। बाहिर झम् झम् पानी परिरहेको थियो । “छुट्टी !....आज त दौडनु परेन...” मनमनै दङ्ग परेर सुते म... अरु पनि सुते । दिनमा भेट हुँदा कसैले कसैलाई दौडको बारेमा कुरै उठाएनन् । लगातार दुई दिन आरामले सुत्न पाएकोमा सबैजना मनमनै दङ्ग थिए ।

त्यसको भोलिपल्ट कसैले कसैलाई बिहान उठाउन आएनन् ...सब आरामले सुते । तेस्रो दिन पनि त्यस्तै भयो... .दुई, तीन दिन क्रमभङ्ग भएकोले उठाउने पालो कसको थियो भन्ने पनि गोलमाल भयो ...तैपनि बिहान ५ बजे नै कसैले घरको झ्याल मुनि आएर सिट्ठी बजाइ हाल्छ कि भनेर त्यसको ३-४ दिन सम्म ढुकढुक गरेर सुतियो । तर त्यो दिन पछि आजसम्म पनि फेरि कसैले कसैलाई उठाउन आएको छैन् । अनि मेरो कसरत पनि बन्दै भएको हैन ...खाली रोकिएको मात्रै छ...हेरौँ कुनै साथी कुनै दिन बिहान उठाउन आइहाल्छ कि Open-mouthed smile

(समाप्त)

5 comments:

  1. राम्रो कुरा चैं कसैले उठाउन आउन छाडे पनि तपाईंको कसरत चैं खाली रोकिएको मात्र रहेछ बन्द भएको हैन रहेछ । बन्द भएको भए त फेरि सुरु गर्नु पर्थ्यो रोकिएको रहेछ त्यसलाई सुचारु राख्नु होला । स्वस्थ्य जीवनको कामना !

    ReplyDelete
  2. देशको गरिबी हटाउने कसरत र तपाईंको पेट घटाउने कसरत उस्तै उस्तै लाग्यो !

    ReplyDelete
  3. मस्त सुत्न पाए पछि के चाहियो र है। सबैको त्यही हाल रहेछ ।।

    ReplyDelete
  4. Agree with Chaitanya!!! he is right!

    ReplyDelete
  5. हा हा हा कुम्बकर्ण म मात्र भनेको त अरु पनि रैछन् . निन्द्रा सबैलाई प्यारो हुन्छ नि होइन र।

    ReplyDelete