29 December, 2011

मैले नलेखेको निबन्ध - -शहीद - - !

“बाबा !... खै आज पनि सिकाइ दिनु भएन ...” चार कक्षामा पढ्दै गरेकी छोरीले भन्दै थीई “के सिकाउने....र “ मैले उसको कुरामा ध्यानै नदिई सोधेँ । “स्कूलमा शहीदको बारेमा एउटा निबन्ध लेखेर लानु छ ... पर्सी लास्ट दिन हो...” । अलिकता फुर्सद मिल्यो मलाई “...पर्सी हो?,... उसो भए भोलि सिकाइ दिउँला है !” मैले झारा टार्ने विचार निकालेँ ।

छोरीले नभनेकी हैन्, सायद २-३ दिन देखि यही कुरा सोद्धै थिइ ऊ, ... तर न समय मिलेको थियो न त ठ्याक्कै ‘यस्तै लेख’ भनेर सिकाइ हाल्ने ‘प्लट’ बनेको थियो मेरो दिमागमा । त्यसैले हरेक दिन टार्दै गएको थिएँ मैले । “भोलि त पक्का है त !” उसलाई पनि कक्षामा आफ्नो टाउको जोगाउनु होला सायद । “ल , ल पक्का ..” मैले जबाफ दिएँ । बिजुली नभएको चिसो रातमा दिमागमा कुनै कुराको ‘प्लट’ पनि त्यत्तिकै बनि रहेको थिएन “... आज रातभरि सोचौंला र भोलि अफिसबाट आएर छोरीलाई सिकाउँला .....” म मनमनै सोच्न थालेँ । आखिर यो विषय आफैँले पनि स्कूल जीवन देखि लेख्दै बोल्दै आएको विषय न हो ... तर किन किन २-४ दिन देखि यस विषयमा केही सोच्नै सकिरहेको छैन...यहाँ सम्म कि चार कक्षाको लागि निबन्ध लेख्न समेत बढो मुस्किल भइरहेको छ । कसरी सिकाउने...? के लेख्न लगाउने??...कसरी चिनाउने ??? ओछ्यानमा पल्टेर सोच्दा सोच्दै मन बोझिलो भयो ‘....जे सुकै होस, भोलि अफिसबाट फर्के पछि १ पेजको निबन्ध लेखाउँला नै ...’ मनमा अन्तिम विचार यही नै रह्यो ।

छोरीको निबन्धको बारेमा सोच्दै म घर फर्कने बाटोमा थीएँ । अचानक बाटोको अगाडि केही पर कुनै समारोह भइरहेको आभास भयो । त्यहाँको वातावरण उल्लासमय थियो वरिपरि हरियाली थियो र फूलहरू ढकमक्क थिए । लाग्थ्यो शहरको बीचमा अवस्थित एउटा सुन्दर उद्यान लाई कुनै कार्यक्रमको लागी भव्य रूपमा सिँगारिएको थियो । उद्यानको बीचको भागलाई अलिकता माथि उठाएर मञ्चको स्वरूप दिइएको थियो र ध्वजा, पताका, तुल र तस्विरहरूले अनौठो आकर्षण बनाएको थियो ।

अगाडि मञ्चमा देशका विद्वान नेताहरू लहरमा मिलेर बसेका थिए र आ-आफ्नो पालो आए पछि लाउडस्पिकर र माइकको व्यवस्था भएको समेत भुलेर घोक्रो सुक्ने गरी आ-आफ्नै आलाप छाँट्दै थिए । अचानक त्यो ठाउँमा पुगेकोले त्यहाँ के हुँदै थियो र के बारेमा बोलिँदै थियो भन्ने बारेमा ठ्याककै लख काट्न मुस्किल भइ रहेको थियो । आफू बोलिने स्थानबाट अलिक परै भएकोले हावाको झोक्काले विस्तारै आवाज ल्याउँदाका बाहेक कसले के बोल्दै थिए भन्ने पनि प्रस्ट भएको थिएन । आफ्नो गन्तव्यकै बाटोमा परेकोले म विस्तारै अगाडि बढ्दैँ गएँ । अनि जति जति अगाडि गयो त्यहाँको चहल-पहलको बारेमा पनि उत्तिनै भेउ मिल्न थाल्यो मलाई ।

हो त!... त्यहाँ देशको लागि बलिदान भएका शहीदहरूको सम्मानमा एउटा कार्यक्रम गरिएको रहेछ । अनि सबै दलका नेताहरू शहीदहरूको देन र तिनका अतुलनीय बलिदानका बारेमा सारगर्भित भाषण छाँट्दै रहेछन् । सार्वजनिक समारोह भएको र शहीदहरू प्रति अगाध आस्था भएकोले म पनि सो कार्यक्रम स्थलमा प्रवेश गरेँ । बरु यहीँबाट छोरीको निबन्धको लागि केही विचार पनि मिल्छ कि... म यता उता हेर्न लागेँ ।

मञ्चमा सबै चिरपरिचित नेताहरू थिए भने शहीद भनि माल्यार्पण गरिएका अपरिचित र अनेकौँ अनुहारका तस्विरहरू थिए। बोल्ने वक्ताहरू पनि गज्जब अचम्मले बोल्दै थिए... मानौ त्यहाँ कुनै देशको शहीदको हैन दलको शहीदको सम्मान हुँदै थियो । हरेक वक्ता आ-आफ्नै दल प्रति आबद्ध शहीदको मात्रै गुणगान गाउथेँ र तिनैका बुताले गर्दा आज देश यहाँसम्म पुगेकोमा गर्व गर्थे । हरेक वक्ताले बोली सक्दा यस्तो लाग्थ्यो कि ती शहीद विशेष नभएका भए देश आज कालरात्रिमा हुन्थ्यो । तर, के हो के हो यत्रा-यत्रा योगदान गरि सकेका ती शहीदहरू मध्य धेरैको त मैले नाम समेत सुनेको रहेनछु । मलाई आफैलाई लज्जा र ग्लानिको बोध भयो ...”छी: मैले के पढेछु त देशको इतिहास.... के नियाले छु त देशको वर्तमान ... यस्ता यस्ता हस्तिहरूको नाम समेत मलाई याद छैन “ त्यसैले पो चार कक्षाको निबन्ध लेख्न पनि मलाइ मुस्किल भा रे’छ ।

आफ्नो विद्वता र अध्ययन प्रति आफैँलाई सङ्कोचको महसुस भए पनि अबचेतन मनको एउटा कुना कता कता खाली पनले पनि भरेको थियो । लाग्थ्यो म त्यो तस्विर र नामहरूको भीडमा कुनै परिचित नाम र परिचित अनुहार खोजी रहेको छु । म मञ्चमा नै भौँतारिन लागेँ, ...चारैतिर आँखा दौडाए...सायद त्यहाँ उपलब्ध चीज भन्दा अन्तर्मनले कतै केही खोज्दै थियो। विहे गर्न लाग्दा दुलही नै नभएको जस्तो एउटा निस्पट्ट खालिपन थियो मनमा । म यताउति नजर दौडाउन थालेँ..., त्यो माहौलमा हुनै पर्ने केही कुरा अन्तर्मनले खोज्दै थियो । अचानक झिलिमिली भन्दा अलिक पर, उज्यालो छेकिएको कुनामा पूर्व परिचित जस्ता देखिने चारजना टक्राक-टुक्रुक बसेको देखियो । सभामा उपस्थित कसैको नजर उनीहरूमाथी परेको थिएन र उनीहरू करिब करिब समारोह स्थलको ओझेल परेको सुदूर कुनामा अँध्यारोमा सबैको नजरबाट बचेर बसेका जस्ता देखिन्थे ।

म कौतूहल बस विस्तारै त्यता लम्केँ । ती अनुहारहरू झनै परिचित र पारिवारिक जस्तो लाग्न थाल्यो । एकजना बलिष्ठ बाहुबल वाला, अर्का चौडा निधार भएका र बाँकी दुईजना पनि कान्तिमय र ओजपूर्ण आभामण्डल सहितका पौरुषले लबालब थिए उनीहरू । चरम विस्मय र अत्याधिक आश्चर्यको बीचमा अचानक मेरो पुरै शरीरमा बिद्युत् तरङ्ग दौडेको जस्तो महसुस भयो मलाई । चेतन र अवचेतन मनको अत्यन्त त्वरित् संयोगको बीचमा अचानक एउटा चेतनाको विस्फोटको झलक सँगै मेरो मनस शरिर सायद चौथो आयाममा प्रवेश गरेको थियो । अब त्यहाँका कुनै पनि घटना र स्थिति मेरो लागि अभेद्य रहेन । मैले देखेँ, मेरो अन्तर्मनको अतृप्त खोज सार्थक भएर मेरो आँखा अगाडि उभिएका थिए ।

हो त, म शनैः शनैः बेहोसीको अवस्थामा पुगेँ । मेरो अगाडि मैले बाल्यकाल देखि पाठ्यक्रम र पुस्तकहरूमा पढ्दै, हेर्दै आएका र मैले पूजाको हदसम्म आदर गर्ने चार शहीद थिए । धर्मभक्त, गंगालाल, शुक्रराज र दशरथ चन्द, तर यी सबै किन यो अँध्यारो कुनामा त ...? । मैले प्रश्न वाचक दृष्टिले चारै जना तर्फ हेरेँ, चारै जनाको अनुहार अलिक सङ्कोच पूर्ण देखियो । मेरो देशका वीर सपूत र मैले आजसम्म सबैभन्दा आदर गर्ने यी शहीदको अनुहारमा सङ्कोचको लक्षणमात्रै देखिनु पनि मेरा लागि सोचभन्दा बाहिरको विषय थियो । उनैको सम्मानमा आयोजित कार्यक्रममा किन उनीहरूनै यसरी लज्जा महसुस गर्ने हालतमा छन् त ? । मनमनै सोचे पनि मैले यो प्रश्न सिधै गर्ने हिम्मत गर्न सकिनँ । अचानक मेरो आँखा मञ्चतर्फ गयो।

मञ्चमा देशका जल्दाबल्दा नेताहरू धमाधम शहीदहरूका फोटोमा माल्यार्पण गर्दै थिए । मैले ध्यान दिएर हेरे, मनस शरिर चौथो आयाममा प्रवेश गरेकोले अहिले भने मलाई मञ्चमा टाँगिएका कुनै पनि तस्विर चिन्न गाह्रो परेन । त्यहाँ छिमेकीको खेतमा गोरु प्रवेश गरेको विषयमा हाताहात हुँदा मारिएका शहीद थिए, तिन दिने चक्काजाम सफल बनाउन दङगामा उत्रिँदा झडपमा परि बितेका शहीद थिए । अर्का एकजना क्याम्पस हातामा छुरा र खुँडा प्रहार गरी दुइ गुट बीच घमासानमा पर्दा बितेका शहीद र फेरि अर्को दलको निर्देशमा बैंक डकैती गर्न हिँड्दा सुरक्षाकर्मी द्वारा मारिएका शहीद पनि थिए ।

मैले विस्तारै चारैतर्फ नजर दौडाएँ । त्यहाँ ३ दिन नेपाल बन्द गरेर बनाइएका शहीद, २ दिन चक्काजाम गरेर घोषणा गरिएका शहीद, आफ्नो कोटामा चाही शहीद कम परेकोले राजनैतिक दबाबद्वारा कोटा मिलाउन ‘नियुक्त’ गरिएका शहीद र आन्दोलनको बेलामा मदिरा सेवन गरेर हिँड्दा चिप्लिएर लड्दा मृत्यु भएको तर दलको शक्ति द्वारा बनाइएका शहीद पनि थिए ।

मेरो आँङ जिरिङ्ग गर्‍यो र म हेर्दै गएँ । त्यहाँ बन्दै गरेको पुल पड्काउन हिँड्दा, बोकेको बम शरीरमै पड्केर मरेका शहीद, राजमार्गमा दुर्घटना हुँदा बसले किचिएर ज्यान गुमाएका शहीद, देशका प्रसिद्ध साहित्यकारको सालिक ढलाउन जाँदा खसेर मरेका शहीद अनि आन्दोलनकै ताका घरमै मरेका, तर बलियो दलका शक्तिशाली कार्यकर्ता भएकोले ‘सोर्सफोर्स’ले बनेका शहीदसम्म रहेछन् । अब मलाइ यी वीर सपूतहरू किन यता अँध्यारोमा ओझेल पर्ने गरी कसैले नदेखिने गरी बसेका रहेछन् भनेर सोध्नु जरुरी रहेन । उल्टो तीनलाई सिधा दृष्टिले हेर्न र तिनका अगाडि उभ्भिन समेत साहस भएन । ममा, मेरो मानस पटलमा शिखर पुरुष बनेका ती दिव्यात्मासँग अभिवादन नगरी हिँड्ने आँट पनि थिएन भने, उनीहरूसँग आँखा जुधाएर दुई शब्द बोल्ने साहस पनि बाँकी रहेन् । म अब कसरी यहाँबाट उम्कने होला भनेर सोच्न लागेँ र मन बोझिलो भइ उकुसमुकुसको वातावरण बन्न लाग्यो .....।

‘...बत्ति आयो !” छिमेकका केटाकेटीहरूले एकै स्वरमा कराउँदा म झसँङ्ग भएर ब्युँझीएँ ।... ओहो ... कस्तो सपना देखेछु... म वास्तविकतासँग तालमेल मिलाउन थालेँ । “खै, बाबा त निदाएको हो कि क्या हो?....बत्ति पनि आयो ...बरू अहिले नै सिकाइ दिनु न ... म अहिले नै लेख्छु” छोरीले मलाई वास्तविकताको धरातल सम्मै तानी। “खै छोरी, ....शहीद र ‘शहीद’ बीच पनि ठूलो भिन्नता छ... कुन चाहिँ शहीदको बारेमा लेख्ने?” मैले उल्टै छोरीलाई प्रतिप्रश्न गरेँ । चार कक्षामा पढ्दै गरेकी मेरी छोरी मेरो कुरा नबुझेर ट्वाल्ल परेर मेरो मुख हेर्न थाली ।

5 comments:

  1. आजकल त शहिद हुनलाइ देशको लागि केहि गर्न पर्दैन रहेछ, अचम्म !
    प्रशंगहरु गासिएर लेखिएको रमाइलो निबन्ध !

    ReplyDelete
  2. शहीद खेती..हजुरको सपनानै रहे हुन्थ्यो। तर के गर्नु शहिदको खेती नै भएको छ यहाँ। बलिया र माथि सम्म पहुचँ पुगेकाहरु मरे भने पनि शहीद हुन्छन् है भनेर भन्न बिर्सनु भएन शहीदको परिभाषा दिदा।
    एउटा गतिलो झटारो। के गर्नु यस्तै छ हाम्रो हाल...

    ReplyDelete
  3. हो दिलीप सर अब हाम्रा छोरा छोरीहरुले शहीदको त्यो देवता तुल्य दर्जामा चोर, डाँका, हत्यारा जस्ता अपराधीहरुको पनि निबन्ध लेख्नै पर्ने भो र चाहे पनि नचाहे पनि हामीले त्यो निबन्ध लेख्न सिकाउनै पर्ने भो ।
    ........... बिचरा ती सच्चा शहीदहरु जसले देशको लागि आफ्नो प्राणाहुती दिए।

    ReplyDelete
  4. कसिलो निबन्ध ।

    निबन्धको कथामा अगाडी मलाई यो डर भयो दिलीपजी, मञ्चका कुनामा ओझेल परेका शहीदहरुको बारेमा छोरीलाई निबन्ध लेखिंदिँदा त्यो निबन्धको मार्क्स नआउला किनभने शिक्षकहरु पनि यहाँ दलिय छन् तिन्लाई दलिय शहीद बाहेक अरु सहीदको बारे लेखेको चित्त नबुझ्ला ।

    अझ मुश्किल - छोरीको शिक्षक कुन दलका छन् सो बुझेर मात्र यो विषयमा सिकाउन उत्तम होला ।

    खुब मनपराएँ निबन्ध ।

    ReplyDelete
  5. very nice and love reading your site :)

    ReplyDelete