“बाबा !, मलाई पनि ब्लग चाहियो”। “बाबा !, मेरो पनि ब्लग बनाइदिनस् न” । चार कक्षा पढ्दै गरेकी छोरीले २-४ पटक यस्तै कुरा गर्दा मैले कहिल्यै गम्भीरतापूर्वक लिइनँ । ब्लग भनेको के हो थाहा नभएर वा ब्लगलाई पनि फेसबुक जस्तै सोचेर साथीहरूसँग कुरा गर्न र फोटो हाल्ने सोचेर उसले यस्तो कुरा गरेकी भनेर मैले उसको कुरा कहिल्यै ध्यान दिएर सुनिन पनि । उसले भन्थी र म पनि मतलब नै गर्दिन थेँ । यस पाला परीक्षापछिको छुट्टीमा उसले फेरि कराउन थाली “मलाई पनि ब्लग बनाइ दिनु न !” ।
“छोरी ब्लग भनेको स्टाटस राख्ने र फोटो अपलोड गर्ने ठाउँ हैन..” यस पटक भने सम्झाउनै पर्ने भएकोले मैले उसलाई बुझाउन खोजेँ “....यसमा आफ्नो फोटो, जोक वा स्टाटस राख्ने हैन्, आफैँले केही लेख्नुपर्छ” । अरूले लेखेको कपि-पेस्ट गरेर पनि हुँदैन (हुन त नेपाली ब्लग जगतमा यस्ता ब्लगकै बिगबिगी छ ) । “... हुन्छ त... म पनि आफैँ लेख्छु !” । छोरीको यस पटकको कुरो र उसको आत्मविश्वास देखेर लाग्यो उसलाई पनि ब्लग बनाइ दिए हुन्छ ।
सुरुमा उसको पढाइ र अन्य विविध कार्यमा ब्लग एउटा ‘भार’ नबनोस् भन्ने सोच पनि थियो र पनि उसलाई यसबाट टाढा राख्न खोजेथेँ । तर भन्छन् नि तीन ओटा हठको अगाडि कसैको जोर चल्दैन रे । बाल हठ, स्त्री हठ र राज हठ । उमेर न पुगेकोले बालक हो नै, छोरी भएकोले ‘स्त्री’ नै हो र घरमा उसैको राज चल्ने भएकोले राजा पनि हो नै । अतः: सबै हठ एकठाउँमा एकत्रित र घनीभूत भएकोले उसको हठको अगाडि केही लागेन र उसको लागि ब्लगरमा एउटा ब्लग बनाइ दिएँ ।
हुनसक्छ, एउटा पोस्ट वा २-३ वटा पोस्ट लेखेपछि उसको रहर र हठ दुबै पुरा हुनेछन् । वा यो पनि हुनसक्छ कि उ आफ्नो लेखाइलाई निरन्तरता दिन सक्छे । जे होस उसको आफ्नो र आफैँले लेख्ने ब्लगको प्राविधिक काम भने सकेर ब्लग उसलाई हस्तान्तरण गरि दिएँ ।
उसको ब्लगमा छापिने सबै पोस्टहरू उसको आफ्नै मनका कुरा र आफ्नै लेखनमा हुनेछन् । प्राविधिक सहयोग बाहेक उसको लेखाइ वा लेखाइमा रहेका गल्तीहरूलाई समेत मैले सुधार गर्ने वा सच्याउने छैन । कमसेकम लेख्दै गरी भने उसकै लेखाइमा सुधार आउला र भविष्यमा आफ्नो बाल्य कालको सोचसँग साक्षात्कार गर्न उसैलाई सहज र रमाइलो होस भनेर उसले लेख्ने पोस्टहरूमा हुने वा रहने गल्तीहरूलाई जस्ताको त्यस्तै राख्ने विचार गरेको छु मैले ।
भर्खर १० वर्ष पुग्दै गरेकी र जीवनको आरोह-अवरोहको कुनै अनुभव नबटुलेकी ले उसको लेखाइ हाम्रो नजरको कसीबाट हेर्दा ‘स्तरीय’ वा ‘पठनीय’ नहोला तर मलाइ लाग्छ एकजना १० वर्षकी बच्चीले के सोच्छे, उसको विचारको गति र प्रवाह कस्तो र कतातिर हुन्छ र उनीहरूको मानस पटलमा के कस्तो तानाबाना बन्दो रहेछ भनेर हेर्न भने उसको लेखोट रमाइलो होला भन्ने आशा गरेको छु ।
माथि नै लेखिसके, उसको यो रहर वा ‘भूत’ कति दिन टिक्ने हो थाहा छैन । तर लाग्दैछ...टिकेको खण्डमा भविष्यमा यो उसैलाई पनि एउटा आफैँ र वाल-मस्तिष्कलाई बुझ्ने एउटा गतिलो उपहार सिद्ध हुनेछ ।
नेपाली भाषा कमजोर रहेकाले सुरुमा अंग्रेजीमा लेख्ने उसको इच्छा रहेकोले सुरुको पोस्ट लेखेर उसले आफ्नो ब्लग सुरु गरेकी छे । त्यसो त उसको अँग्रेजी नै पनि ‘पोस्ट’ लेख्नै मिल्ने ‘राम्रो’ छैन, तर जे छ जे लेख्छे उसकै हैसियत र उसैको मर्जी । उसले लेखेको पोस्टमा लेखाइको हिसाबले टड्कारै गल्ती देखिए पनि जस्ताको त्यस्तै पोस्ट गरी दिने कामचाँहि मेरो ।
आजैबाट सुरु गरेर पहिलो पोस्ट हालिएको उसको ब्लग यहाँ छ । १० वर्षीय मस्तिष्क र सोचको पोस्ट पढने भए उसैको ब्लगमा जानुहोला ।
बाँकी कामले चारै तर्फबाट घेरेको बेलामा ‘बाऊ’ लाइ नै निरन्तरता दिन मुस्किल पर्ने ब्लग, पढाइको चपेटले पेल्न थालेपछि कति दिन टिकाउँछे उसैले जानोस् । जे होस उसको पहिलो हिम्मतलाई क्याबात दिँदै आफ्नो पोस्ट भने यहीँ टुङ्याउँछु । उसको ब्लग र लेखाइ पढ्न भने उसैको ब्लगमा जानुहोला ।
नववर्ष २०६९ को हार्दिक मङ्गलमय शुभकामना !
छोरीको ब्लग: I Also Think.... I Also Write
छोरीलाई धेरै धेरै शुभकामना !
ReplyDeleteदिलीप दाई दिप्ता बहिनीको सुरुवातले बालबालिकाहरुमा पनि म केही गर्न सक्छु भन्ने आत्मविश्वास बढेको देखाउँछ । तपाईले भनेजस्तै यो रहर पनि हुनसक्छ तर यदि यो निरन्तरता भयो भने दक्षिण एसियामै एउटा नयाँ रेकर्ड बन्न सक्छ । मलाई लाग्दैन कि दक्षिण एसियामा १० वर्ष देखि नै ब्लगको दुनियामा छिर्ने अहिलेसम्म सायद कोही छैनन् ।
ReplyDeleteदिप्दा बहिनीले धेरै नभए पनि महिनामा एउटा ब्लगको पोस्टको लागि समय खर्चिन सफल भईन भने भविष्यमा धेरै राम्रो होला । अलिकति टि.भी हेर्न समयलाई सदुपयोग गर्ने हो भने यो सम्भव हुन सक्छ ।
यहाँलाई पनि नयाँ सालको धेरै धेरै शुभकामना !
ReplyDeleteलौ दाजु कमेण्ट पनि छोरीकै ब्लगतिर गरिया छ है !!! :-)
ReplyDeleteThis comment has been removed by the author.
ReplyDeleteछोरीको हिम्मतलाई मेरो पनि क्या बात !
ReplyDeleteछोरीको उमेर ब्लग लेख्ने सोचमा पुगिसकेछ, म भने यो उमेरमा परालको थुप्रोमा सलाइ झोस्दै 'बाउ'लाई क्रुद्ध बनाउँदै दण्डको लागि निम्तो दिन्थे । धन्य हो समय र पुस्ता !
छोरीको जाँगर, सोच र लगन कायम रहोस् ।
सपरिवारमा नयाँ वर्षको शुभकामना !!
राम्रो सुरुवात हो यो। हामी सबै उनको साथमा छौ। लेख्ने क्रम सधै रहोस। कहिले काहिँ बिर्सिन भने पनि लौ है छोरी तिम्रा पाठकले तिमीलाई बिर्सेलान् भनेर झक्झकाउनु होला। लेख्न मात्रै हैन कुनै फोटोहरु पनि राख्न र फोटोहरुको बारेमा पनि लेख्न सकिन भने पनि राम्रो। जहाँ सम्म मलाई थाह छ, हाम्रो रमा गौतम मेडमको पनि छोरीको कबिताहरुको बल्ग छ, उनको पनि साह्रै राम्रो लेख्ने गर्छिन। जे होस अहिले केटाकेटीहरु यसरी प्रबिधी सगँ जानकार रहनु भनेको साह्रै सुन्दर कुरा हो। मैले बाबुले लेखेर, बाबु आमाको सपनालाई आफ्ना छोरा छोरीको नाममा ब्लग बनाएर लेख्ने गरेको पनि देखेको छु। यो चाहिँ जबरजस्ती आफ्ना केटा केटीलाई स्मार्ट देखाउन खोज्नु मात्रै हो। मैले नाम लिन सकिन यहाँ उनिहरुको। तर हजुरले जुन ईमान्दारिता देखाउनु भा छ त्यो नै सबै भन्दा असल र राम्रो हुने छ। हजुरले भने जस्तै जे लेखुन, जसरी ले लेखुन स्वतन्त्र छाडिदिनु होला। ...
ReplyDeleteछोरीको ब्लग २/४ पोष्ट लेखेर रहर मेटिने खालको नभई यहाँको जस्तै सदाबहार होस् भन्ने कामना गर्छु म । यहाँलाई नया बर्षको हार्दिक मंगलमय शुभकामना ..।
ReplyDeleteखुसीको कुरा ।
ReplyDeleteछोरीको ब्लग यात्राको सफलताको शुभकामना!
साथै नयाँ वर्षको पनि यहाँलाई शुभकामना!