ढोंगी समाजमा गजब गजबका ढोंगहरू विद्यमान छन् राजनैतिक ढोंग, सामाजिक ढोंग, पेशागत ढोंग आदि आदि। आज भने म ती सब ढोंग भन्दा पृथक धार्मिक ढोंगको कुरा गर्दैछु । त्यसो त आफूले प्रतक्ष भेट्नु अगाडि पनि यस्ता ढोंगीहरूको बारेमा नसुनेको वा नपढेको भने होइन। तर आफैले प्रतक्ष्य भेटेपछि भने ती ढोंग र धार्मिक ढोंगीका बारेमा नलेखि नहुने भएको छ । त्यसो त धार्मिक ढोंग भित्रै पनि अनगिन्ती ‘ढोंग-कर्महरू’ हुन्छन् तर आज भने त्यसमा पनि धनको लालसा त्यागेका केही महान ढोंगीहरूको चर्चा गर्दैछु:
ढोंगी नम्बर एक: पैसा नछुने-नभइ पनि नहुने: करिब ५-७ वर्ष अगाडिको कुरा हो । तिन ताका एउटा प्राइवेट कम्पनीमा जागिरे थिएँ । कम्पनीका ‘साहू’हरू आफूलाई धार्मिक देखाउन रुचाउथें । एकदिन तिनका गुरुले व्यापार फलाउन-फुलाउन अर्को एकजना घागडान महागुरुलाई ल्याएर पूजा गराउनु पर्ने बताएछन् । नभन्दै एकदिन कार्यालयको ठूलो हलमै रातोवस्त्रधारी महागुरु र तीनका ‘भन्तेहरू’ को लाम लाग्यो ।
ती ‘उपलब्ध’ गुरू सांसारिक विषयबाट माथि उठी सकेका र तीनलाई धनको कुनै मोह नभएको भन्ने कुरा पनि कम्पनीकै साहूको मुखबाट सुनियो । ‘तीनले पैसा नै छुँदैनन्’ भन्ने सुनेपछि भने सुरुमा त मलाई पनि निकै आस्था जाग्यो। तर तिनको क्रियाकलाप सुरु भएपछि भने मनमा चिसो पस्न थाल्यो । दिनभर अनुष्ठान, सङ्ख फुकाइ र घर वरिपरि सवैतिर ‘ध्वजा-पताका’ लगाउने कार्य सुरु भयो । महागुरु कोठै रङ्गभङ्याएर कसैले नबुझ्ने पाठ पढ्थे भने तिनका भन्तेहरू चामल छर्न, घण्ट बजाउन र रङ्गीचङ्गी झन्डाले घर घेर्न व्यस्त देखिन्थे ।
आफूले कहिल्यै नदेखेको महा अनुष्ठान दिनभर चल्ने स्थिति देखेपछि म सोच्न थालेँ “यी महान आत्माले सधैं यस्तै काम गरे भने यीनको र यीनका ‘असिस्टेन्ट’का दिनचर्या कसरी चल्लान र ! ।”, पैसा नै नछुने भनेपछि यीनले आफ्नो सेवा शुल्क र आफ्ना भन्तेहरूका ‘लेवरचार्च’ कसरी जुटाउँदा हुन ? । किनकी पेट त तीनका पनि थिए र खानु लाउनु तीनलाई पनि पर्थ्यो (भलै रातै बख्खु किन नलगाउन) ।
अन्ततः अनुष्ठान सक्कीयो र देखियो ढोंग नम्बर एकको अन्तर-रहश्य । महागुरुलाई बिदा गर्ने बेलामा अनुष्ठान लगाउनेहरू लाम लागेर उनलाई दर्शन गर्दै ‘खाता’ चढाउँदै गर्दै थिए । गुरूले पैसा नछुने भएकोले दर्शन गर्ने सबैले पैसालाई जतनसाथ खाताभित्र पट्याएर राख्ने आदेश सुरुमै भन्तेहरूले दिने रहेछन् अनि दर्शन गर्नेहरू सबै पैसाका बिटालाई खाताभित्र राखेर उनलाई ‘नछुने गरी’ पैसा चढाउने रहेछन् ।
मलाई भने ती ढोगी गुरु भन्दा पनि त्यस्ता गुरुलाई ‘पैसा नछुने’ महान आत्मा मान्ने भक्त देखेर टीठ लाग्यो । ती भक्तहरू आफ्ना गुरुलाई अझै पनि ‘धनमा मोह नभएको’ भन्दै थिए । सायद ‘अन्धभक्त’ भनेको यस्तै होला । उता एउटा विश्वासको व्यापारमा विश्वासघात गरेर ‘कम्पनी चलाउने’ चतुर व्यापारी पनि विना लज्जा र संकोच गुरुको पदवी, त्यागी दुबैको दर्जा कायम गर्दै मज्जाले पैसा बटुल्दै थिए । यो व्यापारमा ती धार्मिक दलालका असिस्टेन्टहरूको रोल पनि निकै महत्वपूर्ण भने थियो नै ।
ढोंगी नम्बर दुई: निःशुल्क ज्योतिषको चर्को रेट : यो दोस्रो ढोंग र ढोगीसँग साक्षात्कार भएको भने धेरै भएको छैन् । करिब १ डेढ महिना अगाडि नेपालका एकजना खुँखार ज्योतिषसँग देशकै एउटा प्रतिष्ठित ‘बिजनेस हाउस’मा भेट भएको थियो । नेपालको राजनैतिक वृत्त र ठूला व्यापारीहरू कहाँ मात्रै विशेष समय दिने ती ‘त्रिकालदर्शी’ लाई साधारण ठाउँमा र म जस्तो साधारण मानिसले भेट्नु पनि दुर्लभ रहेछ । जे होस ठूला-बडाको सङ्गतमा एकदिन तीनको दर्शनको अहोभाग्य प्राप्त भयो ।
ती ज्योतिष पनि कुनै ठाउँमा जानु अघि नै उनको ‘धन त्याग’ को बारेमा हल्ला पुर्याइँदो रहेछ । मतलब यी ज्योतिष पनि ‘पैसा नछुने’ ज्योतिष रहेछन् । अघिल्लो अनुभव नसँगालेको भए सायद मलाई केहि आश्चर्य लाग्थ्यो होला तर यो भन्दा पहिला नै पैसा नछुनेले नोटको बिटा कुम्ल्याएको देखि सकेकोले यीनले पैसा नछुने भन्दा पनि कसरी ‘लिने’ रै’छन् भन्ने मात्रै हेर्न बाँकी थियो । अँ त, एउटा सानदार वोर्ड मिटिङ गर्न बनाइएको हलमा ती महान् ज्योतिषको प्रवेश भयो । उमेरको हिसाबले ६०-६५ पुगेका यी ज्योतिष उग्र गर्मीमा पनि बाक्लो कोट लगाएर आएका थिए ।
कोठामा केही शहरका प्रतिष्ठित व्यापारी र उद्योगपतिहरू बसेका थिए । हरेकले तीनका अगाडि आ-आफ्नो भाग्यको बारेमा प्रश्नहरू राखे र ज्योतिषले पनि ‘यस्तो नहोला भन्न सकिने ठाउँ छैन’, ‘यस्तो भएमा यस्तो हुन्छ नै भन्न नमिले पनि नहुने कारण पनि देखिँदैन्’ र ‘यो त पक्कै यस्तै हुने जस्तो गोचर रहेको जस्तो देखिन नआए पनि नहोला भन्न नमिल्ने’ भन्ने जस्तो शब्दजालका दोहोरो अर्थलाग्ने र जे भएपनि उनले भनेको कुरा मिल्ने गरि गज्जबको शब्द संयोजन गरेर तीनका भविष्य बताए ।
भविष्य सुन्नेहरू कृत कृत भए र उनको ‘अचूक भविष्यवाणी’ को प्रशंसा गर्न थाले । यता समयका व्यस्त निःशुल्क सेवा दिने ज्योतिष भने बिदा हुने तर्खरमा लागे । मलाई भविष्य जान्ने भन्दा पनि उनले कसरी पैसा ‘नछुदाँ रहेछन्’ हेर्न उत्सुकता थियो ।
‘...हस् त अब लागौँ...’ उनले करिब ३-४ पटक यस्तो भने तर हिँडेनन् । हिँडुन् पनि कसरी ४-५ जनाको भविष्य हेरेको ज्याला लिएकै थिएनन् । मलाई पनि उनले आफ्नो ज्याला कसरी लिन्छन् भन्ने झनै उत्सुकता बढ्दै थियो । अचानक उनि “ल ..त...” भन्दै उठे । सायद अन्त कतै पनि परामर्श दिन जानु थियो उनलाई । त्यत्तिकैमा भविष्य देखाउने मध्येका एकजनाले उनको कोटको माथिल्लो खल्तिमा नोट र खाम घुसारि दिए । उनि अब सबैको अगाडि कोटको खल्ती बाहिर सम्म तेर्स्याउँदै घुमे ...वाह ! पैसा नछुने क्या कला रहेछ !!!। सबैले उनका खल्तीमा आकर्षक अङ्कका नोटहरू हालि दिए । एउटा कुरा चाहीँ मान्नै पर्थ्यो भलै उनले कोटको खल्तीको मुख उघारेर सबैलाई नोट भित्र हालिँदिन निकै सहयोग गरे, तर कसैले दिएको नोट पटक्कै छोएनन् ।
ढोंगी नम्बर तीन: विदेशीको कर्पोरेट ढोंग: यस्तो पैसा नछुने ढोंग गर्नेमा नेपाली मात्रै छन भन्ने ठान्नु भएको छ भने त्यो गलत रहेछ ।...यस्तो ढोंगमा नेपाली मात्रै हैनन्, विदेशीहरू पनि र त्यसमा पनि संस्थागत रूपमै पनि लागेका रहेछन् । हो ! संस्थागत रूपमा !! ।
कुरो पोहर सालको हो। पोहर, एक पटक लुम्बिनी पुगेको थिएँ । खास त बिहानै पुगेर दर्शन सकी दिउसो फर्कने योजना थियो । तर कारणवश पुग्दा नै ढिला भयो र एकरात त्यही बस्नु पर्ने भयो ।
एकजना पहिला पहिला जाने साथीले बस्नको लागि त्यहाँ रहेको एउटा विदेशी मन्दिर उपयुक्त रहेको बताए पछी हामी सिधै त्यही विदेशी मन्दिरमा पुग्यौँ । मन्दिर परिसरको ढोकामै एकजना भन्तेले स्वागत गरे र हामीलाई आफू बस्ने कोठा देखाईयो । मन्दिर भएपनि धार्मिक पर्यटनमा आउनेको लागि भनेर त्यहाँ बस्ने व्यवस्था पनि गरिएको रहेछ ।
आफ्नो यस्तो मन्दिरमा पहिलो बसाइ भएकोले मलाई भने त्यहाँको नियम र त्यहाँको व्यवस्थापन बारे ज्ञान थिएन । जे भएपनि कोठामा बसेपछि ‘पैसा’ तिर्नु पर्छ भन्ने ज्ञान चाहिँ भएकोले मैले कोठा देखाउने भन्तेलाई सो कोठाको कति तिर्नु पर्छ भनेर सोधेँ र आफ्नो खल्तीतर्फ हात बढाएँ । तर अचानक ती भन्तेले मलाई उनिहरूले पैसा नलिने सङ्केत गरे । म छक्क परेँ । सोचेँ सायद भक्त जनहरूको लागि मन्दिरमा निःशुल्क रहने व्यवस्था मिलाइएको रहेछ कि ! ।
तर एकैछिनको अलमल पछि ती विदेशी ‘भन्ते’ ले मलाई उनको पछि पछि आउने इशारा गरे। म उनको पछिपछि गएँ । अलिकता अगाडि गएपछि उनी एउटा शीसाको ठूलो बाकस अगाडि गएर टक्क अडिए । मैले ध्यानसँग हेरेँ त्यो ठूलो शिसाको बाकस माथि एउटा मसिनो प्वाल थियो – मतलब त्यो चन्दा बाकस थियो । त्यो चन्दा बाकसनेर पुगेर ती विदेशी भन्तेले मलाई चन्दा बाकसमा पैसा हाल्न इशारा गरेँ । म कति पैसा हाल्ने होला भन्नेमा अलमल परेँ । एकैछिनको अलमल पछि मलाई प्रत्येक कोठाको रु हजार हाल्न पर्ने बताइयो । विगतका अनुभवहरूले अभ्यस्त मलाई अब मन्दिरको निःशुल्क कोठाको बारेमा बुझ्न पनि मुस्किल भएन र मैले उनले भने जस्तै गरी चन्दा बाकसमा दुईटा कोठाको लागि दुईटा हात्ती हाले ।
यसरी विदेशी कर्पोरेट होटेलमा एकरात फेरि ‘निःशुल्क’ बसियो ।... चन्दाको लागि २ हजार बाकसमा हालेको भीन्दै कुरा, विहान कोठा छाड्दा कोठाको भाडा भने कसैले मागेनन् ।
बास्तबिकता को यथार्थ धरातल। गज़ब मन पर्यो
ReplyDeleteलेख मन पर्यो...यहाँ अझै महान ढोगिहरुको बारेमा पनि लेखिदिए हुन्थ्यो जसले नेता नामको खोल ओढेर खुलेयाम जनताको पसिना चुसी राछन
ReplyDeleteबाटो जतिनै घुमाए पनि पुग्नुपर्ने ठाउँ / पुर्याउने ठाउँ त्यहि हो । दाइले चन्दा पनि गजबै दिनु भएछ नि ?? हाहा ......
ReplyDeleteचन्दा र पारिश्रमिकमा शाब्दिक रुपमा र अन्य के -के फरक हुँदोरहेछ भनेर बुझ्न मन लाग्यो । यस्ता ढोंगीहरु मैले पनि बेलाबेलामा भेट्ने गरेको छु ।
ReplyDeleteGreat information. Lucky me I ran across
ReplyDeleteyour site by accident (stumbleupon). I have saved it for later!
Also visit my site : my blog log