17 August, 2012

व्यस्त डाक्टर र फुर्सदिला बिरामी ?

SONY DSCस्थान: काठमाण्डौको कुनै एक गैह्र सरकारी अस्पताल
समय: साँझको ४ बजे
पात्रहरू: १०-१२ जना रोगी र करिब करिब त्यत्ति नै रोगीका सहयोगीहरू

यो एकाङ्की हैन्, तर करिब करिब स्थिति त्यस्तै थियो त्यहाँ । पर्दा, स्टेज र दर्शक नभएको जिन्दगीको असली नाटक । जहाँ पात्रहरू स्वयं दर्शक वा अझ् ‘मूकदर्शक’ भएर बसेका थिए। म एकजना बिरामी आफन्तको सहयोगीको रूपमा त्यस मूकदर्शकको भिडमा समावेश थिए ।

हुन त यस्तो र यस्तै खाले स्थिति-परिस्थितिमा यो भन्दा पहिला पनि १-२ पटक परेको थिए । जहाँ विवश बिरामीहरू कुनै चिकित्सकको पर्खाइमा अनन्त समय कुर्न बाध्य भएका हुन्छन र डाक्टर साहेबको भने कति बेला सवारी हुने हो पत्तो हुदैँन्, तर आज भने अझै एक कदम अगाडिको स्थिति थियो ।

  • मैले लिएर गएको बिरामीलाई सवा चार- साढे चार बजे आउन भनिएको थियो र म उनलाई लिएर ठीक साढे चार बजे तिनको क्याबिन अगाडि पुगेको थिएँ । म त्यहाँ पुग्दा ती डक्टरको ढोका अगाडि भिड जम्मा भइसकेको थियो ।
  • एकजना बुढी आमालाई के-के हो जाँच्नु पर्ने भनेर दिउसो देखि खाना नखाई ४ बजे आउनु भनिएको रहेछ।
  • अर्को एकजना झापाका दाइ, साँझको गाडीमा झापा फर्कनु पर्ने भएकोले सवा चारको समय लिएर पर्खि रहेका रहेछन् ।
  • अर्को एकजना बुढा बा, दुई जनाले समातेर बल्ल बल्ल ल्याई पुर्‍याएका थिए, उनलाई पनि साढे चार कै समय दिइएको रहेछ ।
  • आखिर अस्पताल नै त हो । अर्को एकजना दिउसो देखि उल्टी गर्दै कमजोर भएको महिला पनि तीनै डाक्टरको प्रतिक्षामा थिइन् ।
  • मैले लगेको बिरामी अरू बिरामी जस्ता ‘सिरीयस’ केशका नभए पनि आखिर ती पनि त बिरामी त बिरामी नै थिए । उनलाई पनि वास्तवमा ती डाक्टरले अघील्लो दिनकै समय दिएका रहेछन् । तर हिँजोको दिनमा तीनले बोलाएकै समयमा पुग्दा ती डाक्टर भने अन्त कतै निस्की सकेका कारण आज फेरि ‘रिपोर्ट देखाउन’ जानु परेको रहेछ ।
  • बिरामीकै लहरमा एकजना लाई चार बजे देखि पाँच बजेभित्र बोलाइएको रहेछ । समयमा नपुगिएला र डक्टर भेट नहोला भनेर तीनले अडाई सयको ट्याक्सी खर्चेर तोकिएको समयमा त्यहाँ उपस्थिति जनाएका रहेछन् ।

मैले सरसर्ती हेर्दा त्यहाँ समयमा पुग्नु पर्ने डक्टर बाहेक सबैजना तोकीएको समयमै पुगेका रहेछन् । बिरामी बस्न राखिएको सानो बेञ्चले एकै समयमा प्रतिक्षा रत सबैलाई धान्न न सकेपछि बिरामीका सहयोगी मात्रै हैन, केही बिरामी समेत भर्‍याङका खुडकिला र पेटीमा बस्न बाध्य देखिएका थिए ।

त्यो कुनै नि:शुल्क चिकित्सालय थिएन र सीधा कुरा गर्ने हो भने त्यहाँ सबैजना आम नेपालीको हैसियत भन्दा बढि रकम खर्चेर स्वास्थ परिक्षणका लागि पुगेका थिए । तर ती चिकित्सक भने बढो लापरवाह देखिए । प्रतिक्षा गर्दा गर्दै अर्को एक घण्टा पनि बित्यो । बिरामी र तीनका सहयोगीहरूमा केही असन्तुष्टी र आक्रोश पनि देखियो, जुन अत्यन्त स्वाभाविक थियो । म र अन्य केहीले अस्पतालको काउन्टर र क्याबीनमा भएका ‘सिस्टर’ हरूसँग आफ्नो असन्तुष्टि पौख्यौं ।

केहीबेर हल्लाखल्ला नै भयो र अनि भयो ती डक्टरको खोजी । सायद अस्पतालका स्टाफहरू पनि निरीह थिए र उनिहरूले ‘एकैछीनमा आउनुहुन्छ’ बाहेक केही भन्न सकेनन् । डक्टरलाई नै अन्तिम आशा ठानेर पुगेका बिरामी र अनेक जरूरी काम छाडेर आ-आफ्ना बिरामी लिएर पुगेका बिरामीका सहयोगीहरू सँग पनि चुपचाप कुर्नुको विकल्प थिएन । त्यसैले केही असन्तुष्टि, केही आक्रोश र केही सहनशीलताका साथ सबैजना तीनको प्रतिक्षामा बसीरहे ।

अर्को करिब एक घण्टा बितेपछि मात्रै तोकिएको समयभन्दा २ घण्टा ढीला हुने गरी ती डक्टर त्यहाँ पुगे । अघील्लो दिन नै बोलाइएको कारणले हो वा त्यहाँ बसेर धेरै बोलेकोले हो सबैभन्दा पहिला मैले लगेको बिरामीलाई जाँच्ने व्यवस्था भयो । सामान्य रिपोर्ट देखाउने काम भएको र कुनै खराबी न देखिएकोले मेरो काम तुरुन्तै सकियो र हामी निस्कियौ । तर ४ बजे बोलाएर आफू ६ बजे पुगेका डक्टरको क्याबीन अगाडि त्यति बेला सम्म निकै भिड थियो ।

त्यसो त यो भन्दा अगाडि पनि केही धनी बन्ने होडमा वैचारिक दरिद्रताको हद पार गरेका केही डक्टरहरूसँग साक्षातकार नभएको हैन् । तर यस्तो जिम्मेवारी र संवेदनशील पेशा अँगालेर बसेका यो भन्दा लापरवाह डक्टर कहिल्यै देखेको थिइन ।

मलाई थाहा छ, डक्टरको पेशामा आफ्नै जटिलता र समयको अनिश्चितता होलान। कतै कुनै ठाउँमा कुनै आकस्मिक केश आउँदा वा अन्य विवीध पेशागत जटिलताका कारण तोकिएको समयमा निश्चित स्थानमा पुग्न असम्भव पनि होला । तर त्यस्तै कुरा हो भने पनि सञ्चारको अत्यन्त सहजता त उपलब्धता भएको अहिलेको समयमा आफ्ना ‘अन्नदाता’ रोगीहरूसम्म त्यस बारेको सूचना न पठाउनु भनेको पेशा प्रतिकै घोर अपमान हो ।

जहाँसम्म मलाई लाग्छ चिकित्सा पेशा मात्रै यस्तो एउटा वृत्ति हो जहाँ अहिलेसम्म पनि अध्ययन र प्र्याक्टिस पूर्व सबैलाई एउटा सपथ लिन लगाइन्छ । वाक्य वा शब्दमा केही हेरफेर भएपनि सामान्यतया त्यो सपथमा एउटा यस्तो हरफ पनि हुने गर्छ:

I will respect all faculty members, students, and patients as individuals, without regard to gender, race, national origin, religion, or sexual orientation.

तर यी डक्टरको चरित्र र क्रियाकलापमा त्यस्तो कुनै पनि लक्षण देखिएन जहाँबाट उनको लापरवाही माथिको शङ्का हटोस ।

माथि नै लेखिसकेको छु बिरामीले डक्टरलाई घन्टौ कुर्नु हाम्रोमा कुनै नौलो कुरा होइन । मैले आफैं बिरामी हुँदा र बिरामी लिएर जाँदापनि धेरै पटक यस्तो अनुभव बटुलेको छु । तर यस्तो लापरवाह भने पहिलो पटक नै थियो । मलाई लाग्छ डक्टरको समय महत्वपूर्ण होला, तर बिरामीको समय झन त्यो भन्दा पनि बढी संवेदनशील हुन्छ । हेर्दा खेरि बिरामीले डाक्टरको भर पर्नु पर्ने जस्तो देखिए पनि अर्को कोणबाट केलाउँदा डक्टरको पेशा पुरै बिरामी मै निर्भर रहन्छ । त्यसैले आफ्ना ‘ग्राहक’ वा ‘अन्नदाता’ प्रति यस्तो उदासीनता पक्कै पनि सहि होइन् ।

यो एउटा घटना मात्रै हैन् । एउटा प्रतिनिधि घटना हो । देशको राजधानिमा रहेको चर्को शुल्क असुलिने अस्पतालको यो हाल छ भने यीनै जस्ता डक्टरले अन्त के गर्लान, सहज अनुमान गर्न सकिन्छ ।

डक्टरी पेशा हालसम्म मर्यादित र सम्मानित मानिन्छ तर यो पेशा अपनाउनेले यसको मर्यादाको रक्षा र सम्मान कायम गर्नै पर्छ । चिकित्सकले बिरामीको स्वास्थलाभ गराउने कुरा मात्रै सहि होइन, बिरामीले गर्दा नै चिकित्सकले काम, दाम र नाम कमाउने कुरा पनि त्यत्ति नै सत्य हो । त्यसैले यो पेशालाई मर्यादित बनाउन चिकित्सक आफैं संवेदनशील हुनु पर्छ ।

अन्तमा म निस्कने बेलामा मैले तीनलाई ‘यसरी बिरामीलाई धेरै बेर कुराउनु अगाडि तपाईले खबर गर्नु पर्थ्यो, यो गलत भयो’ भनेँ । ती अनौठो सँग खिस्स हाँसे मात्र “ (सायद मनमनै मुरमुरिए पनि होलान्) । मेरो ती चिकित्सक सँग कुनै व्यक्तिगत दुस्मनी वा झगडा नरहेकोले तीनको नाम र अस्पतालको नाम यहाँ खुलाएको छैन् । तर यस्ता कुराको विरोध पनि गर्नै पर्छ भन्ने मलाई लाग्छ । किनकी बिरामीको स्वास्थ्य मात्रै डक्टरमा निर्भर छैन्, डक्टरको पुरै पेशा र मर्यादा पनि बिरामीको हातमा छ । डक्टर व्यस्त हुन्छन भने बिरामी पनि कहिल्यै फुर्सदिला हुँदैनन्। अनि जसले समयको ख्याल गर्दैन उसलाई समयले धेरै पछाडि मिल्काइ दिन्छ ।

6 comments:

  1. दिलिप दाजु यो पोस्ट पढीरहँदा मैले कृष्ण धराबासीको पाण्डुलिपीको केही अंश सम्झिरहेको छु । कृष्ण धराबासीकी पत्नी जीवन या मृत्यूको दोसाँधमा परिरहेको बखत अस्पतालकी एक नर्सलाइ आफ्नै छोरी सम्झी सानी केटी सम्बोधन गर्दा उनलाइ त्यहाँको डाक्टरले गरेको व्यवहारले , बिरामीको आफन्तलाइ ढाडस दिनु त कता हो कता उ त डाक्टर हुनुको अभिमान पो झल्कीरहेको थियो ।

    ReplyDelete
  2. नेपालमा डा.हरुको संख्या कम भएर हो कि , यस्तो दुख पाउनु परेको हामीले ?तपाईंले जस्तै १ दिन मैले मेरो भाइको खुट्टाको सानो अपरेशनको लागि बिहान ११ बजे बाट बेलुका ६ बजेसम्म कुरेको छु । बिरामीहरुको समय समयनै हैन जस्तो गर्छन डा. साहेबहरुले । डा.हरुलाई पढाइमा केही पिरियडहरु नैतिक शिक्षाको पढाउनु पर्ने आबश्यकता छ ।

    ReplyDelete
  3. उच्च अध्यान कचा ब्यव्हर
    सोच्छ बोली निच विचार
    ब्यस्त जीवन सुस्त कार्य
    एस्तो नहोस मेरो आग्रहा

    ReplyDelete
  4. त्यति भनिसक्दा पनि खिस्स हाँसिमात्र रहने डाक्टर जो भए पनि उपेन्द्र देवकोटा चैँ पक्कै होईनन्!!!

    ReplyDelete
  5. every sector is going on just like this , we must think in time , I salute your writings . You are making the young generation aware through blog . thank you dilip daju

    ReplyDelete
  6. उल्लेखित घटना नेपाली जनजीवनमा घटी रहने सामान्य घटना हो |मेरो बिचारमा हाम्रो शिक्षानीति मै केहि तर महत्वपूर्ण परिवर्तन गर्नु पर्ला कि? जस्तै सेवाग्राही संग कसरि ब्यबहार गर्ने भन्ने पनि सिकाउनु पर्ने हो कि ?यात सेवाग्राहीले नै त्यस्ता चिकित्शक्लाई सामान्य शिक्षा दिनु पो पर्छ कि ? समयमा नाउने अनि उचित ब्यबहार नगर्ने लाइ तुरुन्तै पाठ सिकाउने धेयले कालो मोशो वा जुत्ताको माला आदिको एक दुई खुराक दिन कन्जुस्याई गर्नु हुदैन क्यार |अर्को पाटो चै के भने हामि पनि जे भएनी चुपचाप सहेर वा हेरेर बस्न नहुने हो कि ,जस्तो लेखक स्वयम्ले नै गर्नु भो ,मेरो बिचारमा त यो घटनाको विवरण दिनु को साथसाथै त्यहि पनि बिरोधको ज्वारभाटा सिर्जना गरेको भए अझ प्रभाबकारी हुने थियो कि?कसै न कसैले त सुरुवात गर्नु पर्यो नि |उपदेश दिन त सजिलो हुन्छ तर .............

    ReplyDelete