01 September, 2012

एकाकार !

हर मार्ग, हर मात्रा, हर विधि स्विकार भो ।
न अभेद्य भेद्य भो, हरेक खोज बेकार भो ।

पढे पनि, सुने पनि, बुझे पनि, गुने पनि,
’जे थ्यो’ त्यो थियो तर अप्राप्य- निराकार भो ।

खोज्दा खोज्दा नभेटेर खोजीको खोज रोकिँदा,
न-खोजी नै, न-सोधि नै, त्यो अदृश्य साकार भो ।

छोडियो जब अहंपना, जोडियो बिन्दु सिन्धुमा,
कहाँ म, कहाँ तिमी, एकात्मको झङ्कार भो ।

न जड, जड मात्रै रह्यो अब, न चेतन मात्र चेतन,
हट्यो सबै भ्रान्ति- भरम निःशब्द नै ॐकार भो ।

आश्चर्य भो, अचम्म भो, दिलीप ‘दिलीप’ रहेन लौ,
सृष्टि समाहित भो ममा, जे छ त्यो एकाकार भो।

3 comments:

  1. सुन्दर! सबै अवयव मिलेको सुन्दर आध्यात्मिक-दार्शनिक रचना!

    ReplyDelete