मेरो विद्यार्थी कन्सेसन
कुरो करिब २ वर्ष अगाडिको हो । त्यति बेला म पब्लिक युथ क्याम्पसमा पढाउथें । प्राय: मोटरसाइकलमा जान्थे । तर एक दिन मोटरसाइकल बिग्रिएको ले बसमा फर्कदेँ थिएँ । बसको कण्डक्टरले पैसा उठाउँदै मेरो सिट सम्म आयो। मेरो सिटको साइडमा एकजना २४-२५ वर्षकी युवती बसेकी थिइन । तिनले आफ्नो विद्यार्थी परिचय पत्र र कन्सेसन काट्दा तिर्नुपर्ने न्यूनतम भाडा कण्डक्टरको हातमा थमाइन् । करिब २५-२६ कै केही शिक्षित जस्तो पनि देखिने कण्डक्टरले उनको त्यो परिचय पत्र हातमा लिएर निक्कै बेर त्यसमा दृष्टि गोचर गर्यो र तीनी सँग पुरै पैसा माग्यो । सायद त्यति बेला कन्सेसनमा जम्मा रू. १० मात्रै तिर्नु पर्थ्यो र तीनले त्यत्ति मात्रै दिएकी थिइन ।
उनीहरूको बीच निकै बेर विवाद भयो । ती युवती रू. १० भन्दा बढी तिर्न राजी थिइनन् भने कण्डक्टर पनि पुरै पैसा नलिई नछाड्ने सुरमा थियो । यता कण्डक्टर,“तपाईको यो कार्ड ठीक छैन पुरै पैसा दिनुस !...” कण्डक्टर भने जोड जोडले कराउँदै थियो । ती युवती पनि आफू विद्यार्थी नै भएको दलिल दिँदै थीइन् । सँगैको सिटमा बसेको भए पनि कुरो के थियो मैले चासो लिएको थिइँन। अन्तमा आफ्नो दलिल बलियो गर्न कण्डक्टरले ती युवतिको परिचयपत्र मेरो हातमा थमाउँदै भन्यो “ ल हेर्नुस त तपाईँ पनि ... यो डेट सबै केरमेट गरेको छ...” मैले झ्वाट्ट हेरेँ साँच्चै कार्डमा बहाल रहने मितिमा थाहा हुने गरी नै केरेमेट भएको थियो । “...यो आफैले सच्याएको हैन त ? ...” उसले मेरो समर्थन जुटाउन खोज्यो “अँ ...के हो..?...” फोक्कडको विवादमा किन अलमलिनु भनेर मैले समर्थन न विरोधको बीचको झारा टार्ने प्रतिक्रिया दिएँ ।
जमलबाट लैनचौर सम्म पुग्दा समेत तिनका चर्काचर्की र बा-विवाद चल्यो...आखिर ति विद्यार्थीको केही लागेन र तिनले थप भाडा रकम पनि तिरिन । तिनले पैसा तिर्ने बित्तिकै कण्डक्टरले मतिर हात बढायो । मैले एउटा बीस रुपैयाँको नोट उसलाई थमाएँ । उसको दिमागमा के आयो कुनि, उसले मलाई विना कार्ड विना परिचय पत्र विद्यार्थी सहुलियतले हुने भाडा मात्रै लियो र बाँकी १० रुपैयाँ फिर्ता गर्यो । के हिसावले उसले मलाई विद्यार्थी सम्झ्यो मैले अझसम्म पनि बुझ्न सकेको छैन् । मैले शर्टको खल्तिमा एउटा पेन र जिउमा छड्के झोला भिरेको थिएँ ...सायद त्यसैले पो मलाई सर्वमान्य विद्यार्थी बनायो कि ?
नभएको लाइसेन्सको नम्बर
यो कथा अझै पुरानो हो । करिब १२ वर्ष अगाडि एकदिन बुढीलाइ मोटरसाइकल चलाउन सिकाउँदै हिँडेको थिएँ। अलि चेकजाँच कम हुने ठाउँ काठमाण्डौमा कता होला भनेर सोध खोज गर्दा बुढानिलकण्ठ तिर हिँडे ट्राफिक-पुलिस कोही नहुने भन्ने खबर पाईयो । चेक जाँच नहुने इलाका खोज्नुको पनि कारण थियो । बाईक सिक्ने मात्रै हैन सिकाउने पनि चेक-जाँचमा पर्न नहुने स्थिति थियो । बाईक पनि आफ्नै थीयो र चलाउन पनि राम्ररी आउँथ्यो तर मेरो आफ्नै पनि लाइसेन्स भने थिएन । पहिला पनि एकचोटि त्यस्तै विना लाइसेन्स बाइक सिकाउँदै हिँड्दा झन्डै फसिएको थियो त्यसैले अलिक चनाखो हुन थालेको थिएँ ।
अँ त, विना लाइसेन्स बाइक लिएर नारायण गोपाल चोक देखि बुढानिलकण्ठ सम्म कतै केही चेक-जाँचमा परिएन र बुढानिलकण्ठ पुगेपछि भने अलिकता उकालो ओरालोमा पनि चलाउन सिकाउनु पर्यो भनेर ठाडो उकालो लागियो । डाडाको टुप्पोतिर एउटा विपश्यना ध्यान सिकाउने ठाउँमा पुगेपछि अरू २-४ जोडि पनि त्यहाँभन्दा अगाडि बाइकमा लागेको देखियो । कुरो बुझ्दा त्यहाभन्दा माथी संरक्षीत वन रहेछ र त्यो शैनिक सुरक्षामा रहेछ । भीत्र रमणीय भएकोले मानिसहरू आक्कल-झुक्कल घुम्न पनि पुग्दा रहेछन् ।
“ल हिन बुढी ...अब डाँडा र जङ्गलमा पनि बाइक चलाउन सिकाउँछु” भनेर म पनि लागे त्यसैतर्फ । अलिक अगाडि बढेपछि प्रवेशद्वार जस्तो ठाउँमा पुगियो । त्यहाँ शैनिक तैनाथ थिए । २-४ जोडि भित्र प्रवेश गरेको देखिसकेकोले भीत्र जान पाइन्छ भन्नेमा भने कुनै शङ्का थिएन । म पनि पुरा विश्वासका साथ अगाडि बढेँ। अगाडि सुरक्षामा बसेका सैनिक सँग मैले “टिकट किन्नु पर्ने हो ...?” भनेर सोधेँ । उनले ”टिकट त लाग्दैन तर भित्र रजिस्टरमा नाम-थर लेखेर मात्रै जानु” भने ।
म सुरुसुरु भित्र गएँ र रजिस्टरी पल्टाएँ । नाम थर सबै लेखेपछि एउटा महलमा गएर मेरो हात रोकियो ...। के लेख्नु...आफ्नो भएपो लेख्नु त ...। त्यहाँ प्रवेश गर् व्यक्तिको लाइसेन्स नम्बर लेख्नु पर्ने थियो । आफ्नो लाइसेन्स भएको भए पो लख्न आउँथ्यो ...हुँदै नभए पछि के लेख्ने ? एकछिन अलमल परेँ । रजिस्टर राखेको कोठामा धन्न कोही थिएनन् !। नत्र एउटा नाम ठेगाना भर्न धेरै बेर लगाउँदा अरुनै शङ्कामा फसिन्थ्यो होला ।
एकैछिन बिचार गरेर जे पायो त्यही नम्बर हाल्ने सोच आयो ....तर फेरि कसैले यसो हेर्दा ठाडै ‘किर्ते’ गरेको था’होला भनेर डर पनि लाग्यो । कारण आफ्नो नभएको र अर्काको नहेरेकोले लाइसेन्स नम्बर कति डिजिटको हुन्छ र अक्षर र अङ्कको मिश्रित रूपमा वा कति कति अङ्क वा अक्षर समूहमा हुन्छ भन्ने पनि थाहा थिएन । एकैछिन घोरिए पछि अगाडिका केही पन्ना पल्टाएँ । नाम र ठेगाना आफ्नै लेखि सकेको थिएँ त्यसैले लाइसेन्स नम्बर चाहिँ अगाडिका आगन्तुकको नम्बरमा २-३ अक्षर तल-माथि गरेर उत्तिकै डिजिटको बनाएर निस्केँ । बाहिर निसक्दा बुढीले ‘किन नाम ठेगाना भर्न नि यत्तिका बेर लगाको ..” भन्दै थिइ.... “..केही हैन् ..गर गएर कुरा गरौँला ...” भनेर अगाडि बढेँ । त्यसो त लाइसेन्स नम्बर कस्तो हुन्छ र कति डिजिटको हुन्छ भन्ने अहिले पनि याद छैन् (आफ्नै लाइसेन्स पनि कहिल्यै घोरिएर हेरेको छैन् ) तर त्यतिबेला भने नक्कली नम्बर लेख्दा भने बढो विचार पुर्याएर लेखेको थिएँ ।
....र यो पनि ...
५-७ वर्ष अगाडिको कुरा हो। घरसँगैको एउटा पुरानो साथीसँग बाटोमा हिँड्दै गर्दा एकदिन अचानक एकजना अपरिचित मानिससँग जम्काभेट भयो । मेरो साथीको अनुहारमा केही विचित्र भाव देखियो र उसले त्यो अधबैँसे उमेरको व्यक्तिलाई ‘नमस्कार’ गर्यो । मेरो पुरानो साथी भएकोले उसले चिन्ने धेरैलाई मैले पनि चिन्थेँ ...यहाँसम्म कि उसका नाता-गोता र इष्टमित्र समेत प्राय: सबैसँग मेरो परिचय थियो । तर यी नयाँ सज्जन भने बिलकुल अपरिचित थिए मेरा लागि ।
त्यस दिन बाटोमा भेटियो ...।नमस्कारको आदान प्रदान भयो र विना कुराकानी छुट्टीयौँ पनि । त्यसको केही समय पछि फेरि एकदिन कुनै पसलमा फेरि तीनै साथिसँग हिँड्दा ती सज्जनसँग आमना-सामना भयो । साथीको हालत फेरि अलिकता असहज भयो र फेरि पनि उसले करिब करिब यन्त्रबत् तरिकाले नमस्कार गर्यो । यस पटक मेरो मनमा पनि खुल्दुली लाग्यो र साथीलाई सोधेँ । ती सज्जन को हुन भनेर । साथीको जवाफ र त्यो घटना पुरै रमाइलो लागेकोले यो कुरा पनि आजको पोस्टमा राख्दैछु:
झन्डैको ससुराको कथा
तिनताका मेरो साथीको बिहेको कुरा चली रहेको थियो । एकजना छिमेकका लमीले एउटी केटीको कुरो पनि ल्याएछन् । सामान्य घरायसी बुझ-बुझारथ पछि लमीले एकदिन ‘बाबु तपाईलाई इनडाइरेक्टली केटी देखाइदिन्छु..” भनेछन् । मेरो साथी पनि इनडाइरेक्ट हेर्न पाए झनै सजिलो, पहिला हेरी हालौँ न त भनेर लमीसँगै गएछ ।
खासमा लमीले केटीको घरमा थाहा नदिई टाडै बाट देखाइ दिन्छु भनेकोले मेरो साथी पनि राजी भएको रहेछ । तर लमीले अचानक केटीको घरैमा पर्याई दिएछन् । केटीको घरमा पुगेपछि “...लौ ...मोही माग्ने ढुङ्ग्रो लुकाउने...केटा यीनै हुन...केटी यीनै हुन ल कुराकानी गरौँ ...” भनेर केटीको बाबु समेत भेटाइ दिएछन् ।
कुरो मिल्नेमै गएको रहेछ तर केटी पक्षले चिना हेरेपछि ‘अलि मिलेन’ भनेर बिहे हुन पाएनछ । त्यस बीच दुबै पक्षको घरको बीचमा खासै धेरै लामो दूरी नभएकोले मेरो साथीको ती केटीका बाबुसँग २-३ पटक जम्काभेट भएछ ....। केही लज्जा, शङ्कोच र हडबडीका बीच यस्तो भेटमा असजिलो भएकोले मेरो साथी र उसका ती झन्डैका ससुराका बीच नमस्कारको आदान प्रदान चलेको रहेछ ।
केही समय पछि कुनै कारणले त्यो परिवारले नै त्यहाँको डेरा छाडेर अन्तै बसाई सरे, नत्र आउँदा जाँदा साथीको झन्डैको ससुरा र झन्डैको जन्ती जानु पर्ने गर देख्दा मलाई नि असजिलो लाग्न लागिसकेको थियो ।
रमाइला स्मरणहरू अरु पनि छन् ....अरू पछि कुनै दिन ।
यो पनि हेर्नुस्: केही रमाइला संस्मरणहरु !
विद्यार्थीकार्डको सम्बन्धमा मेरो पनि त्यस्तै अनुभव छ २ वर्ष अघिजतिको । २४-२५ कै देखिने एक महिलाले भाडामा साह्रै किचकिच गरिन, नेपाल यातायातमा । उनले कार्ड देखाएर छुट मागेकिथिइन, तर मिती त्यसरी नै तन्काइएको कार्ड परेछ, कन्डकटरले आइडिकार्ड नै फिर्ता नदिने अड्डि कसेपछि उनले पुरै पैसा तिरिन् । मैले पनि सहुलियत कै पैसा दिँए, उसले कार्ड देखाउनुसम्म भनेन । मलाई अचम्म लागेर सोधेँ, मेरो कार्ड चाँहि हेर्नुपर्दैन? उसले भन्यो, प्राय: केटाहरु भाडमा किचकिच गर्दैनन्,झुटो बोल्दैनन् । उसले के सोचेर भन्यो थाहा छैन, तर हिजोआज गाडीमा हिँड्दा आफू फूल भाडा तिरिन्छ, धेरैले त 'डिस्काउन्ट' नै दिन्छन् । बसमा १ रुपैँयाको लागि ठूलै लफडा चलिरहेकोहुन्छ ।
ReplyDeleteमलाई एकपटक कुपन्डोल देखि कोटेश्वरसम्म जानुपर्ने थियो । नेपाल यातायात चढेँ, बिजुलीबजार पुगेपछि कन्डकटरले ल भाडा दिउँ भाडा दिउँ भने । मैले नि पैसो निकालेर कोटेश्वरसम्म भनेँ । कन्डकटरले भाडानै लिन मानेन, मैले सोचेँ झर्नेबेलामा मात्रै लिनेहोला । अनि कोटेश्वर पुगेर झरियो, अनि भाडा दिन खोज्दैथिए, उसले भन्यो भाडा पर्दैन । अनि भाडा नदिइ हिँडियो, तर आजसम्म पनि यो कुरा सोच्दा आफैँ छक्क पर्छु, आखिर किन उसले भाडा लिएन भनेर ।
निकै रमाइला संस्मरणहरु ! लेख्नु भएको रहेछ ....त्यो पनि रमाइलो तरिकाले 'नभएको लाइसेन्सको नम्बर' चाही गजबकै लाग्यो !
ReplyDeleteओहो तपाई २ वर्ष अगाडी सम्म Public youth मा पढाउनु हुँदो रहेछ | म १ वर्ष अगाडी देखि त्यहिँ पढ्दैछु |
ReplyDeleteSir ! some time many old man also show the identity card and say i am the student!!! big shame
ReplyDeleteHa Ha Ha Ha......, such a great comedy!!!
ReplyDelete