कामको सिलसिलामा धेरै पटक करिब २ घण्टा जत्तिको बाटोबाट ओहोर-दोहर गरे पनि म स्वर्गद्वारीको यो पवित्र तिर्थस्थलमा पुग्न भ्याएको थिइन् । भालुवाङबाट करिव ५५ किलोमिटर जत्ति प्यूठानतर्फ लागेपछि प्यूठानकै भीङ्गृ बजार पुगिन्छ । भिंगृसम्म पिच बाटो नै छ भने त्यहाँबाट भने कच्ची बाटोबाट करिब १३ किलोमिटरको बाटो कच्ची तर गाडि चल्ने छ । त्यसपछि भने केही सिँढी फेरि केही कच्ची बाटोबाट उकालो लागेपछि करिब आधा घन्टको हिँडाइमा यो पवित्र मन्दिरको द्वारमा पुगिन्छ ।
तिहारको औँसी, वैशाख पुर्णिमा आदिमा यहाँ विशेष मेला लागे पनि सामान्य यात्रु र धर्माबलम्बीहरूको भीड भने सधैं नै हुने रहेछ यहाँ ।
किम्बदन्ती र पौराणिक आख्यानलाई मान्ने हो पाँच पाण्डवहरूले सीधै स्वर्ग प्रस्थान गरेको मानिन्छ । यसरी सिधै स्वर्गको यात्रा गर्न सकिने यस ‘द्वार’ मा रोल्पा रुम्टीका १०८ महाप्रभु बालतपस्वी नारायण गौतमले १९५१ मा वेदमन्त्रद्वारा अग्नि प्रज्वलित गरी १९५२ वैशाख पूणिर्मादेखि अखण्ड महायज्ञ सुरु गरेको इतिहास छ । त्यसैले यस स्थानको धार्मिक, समाजिक र गहन आध्यात्मिक महत्व रही आएको छ ।
वास्तवमा यस पवित्र तिर्थस्थलको विहानी पूजा, हवन र साझको आरति सहित महाप्रभुले तपस्या गरेको गुफा लगायतका सम्पूर्ण क्षेत्रको अवलोकन गर्ने हो भने पुरै दिनको समय लिएर जानु पर्ने रहेछ । मन्दिरमै रहने, वस्ने उचित व्यवस्था रहेछ तर समयाभावको कारण अर्कोपाला फेरि जाने अभिलाषा सहित यसपाला भने केही तस्विरहरू लिएर फर्कियौँ । आजको पोस्टमा यही पवित्र तिर्थस्थलका केही तस्विरहरू : (तस्बिरलाई ठूलो पारेर हेर्न सोही तस्बिरमा क्लिक गर्नुहोस्, तस्बिरआफैँ ठूलो आकारमा अर्को पेजमा खुल्ने छ )
(गाडिको यात्रा पछिको चढाइको लागि बनाइएका सिँढी-- बादल भित्रको देश जस्तै)
(सीढी सक्केपछिको ढुङ्गेबाटो)
(मुख्य मन्दिर)
(गोबर्धन पर्वत-- यो गोबरले नै बनेको छ है)
(मुल मन्दिर अगाडिको दीपशाला)
(भक्तजनहरूको लाम-- डराउनु पर्दैन यो लाम म जाँदा यत्ति मात्रै थियो)
(हाम्ले आकाश छोएनौ त ? -- मन्दिर परिसरकै ध्वजाबाहक लिङ्गो)
(अनि यो घण्टीहरूको तँछाड-मछाड)
(माथिबाट देखिने पल्लो डाँडा)
के तपाईँ पनि पुग्नुभा'छ त स्वर्गद्वारीमा ?
नोट:यो ब्लगबाट Google Plus comments हटाएर ब्लगरको डिफल्ट कमेन्ट स्थापना गर्दा बिचमा पाठकहरूले गर्नु भएको कमेन्ट मेटिन गएकोले सोको स्क्रिनशट यहाँ राखिएको छ: (असुबिधाको लागि क्षमा चाहन्छू):-
मैले पनि यहिँ बाट दर्शन गरें|
ReplyDeleteदामी फोटाहरु । (अनि यो घण्टीहरूको तँछाड-मछाड) :) :)
ReplyDeleteदाइको सानो सानो कुराले यो ब्लगलाइ उच्चकोटीको बनाउछ । कमन सेन्स नै विग सेन्स । मेटीएको कमेन्ट फेरी राख्नु पाठक प्रतिको श्रद्भा हो ।
ReplyDelete@विशाल भाइ, रमाइलो कुरा गर्नुभयो । पाठकको सम्मान त गर्नै पर्छ नि कसो :)
Deleteबैसाखे पुर्णिमामा लाग्ने मेला हेर्न होस चाहे गाइ तिहारे औसी देखि अन्य सिजनमा होस, बच्चा देखि बयस्क रहदा सम्म २०औ पटक भन्दा माथि पुगे हुला तर हालसालै मोटर चले देखि अथवा १०/१२ वर्ष देखि गएको छैन र अवसर पनि मिलेको छैन.... हामी सुरुमा जादाको अवस्थामा धर्मसाला र खानेपानीको निकै समस्या थियो, तिन घण्टा तल खोलाबाट तुम्लेटमा पानी बोकेका छौ. आधा उकालो नसकिदै पानी सकिएको थाहा हुदैनथ्यो नौडाडा भन्ने ठाउमा पानीको धारोबाट भरेर लगेका छौ.. बैसाखे झरी कति पटक परेर निथ्रुक्क भएर ओत खोज्न गाईको गोठ भित्र छिरेका छौ... जति दुख भएपनि त्यो बेला मेलाको रौनक र संगीको संगतले मज्जै अर्कै थियो तर अहिले साच्चिकै स्वर्गद्दारी स्वर्ग जस्तै भएको छ बिजुली,धर्मसालाको राम्रो व्यवस्था,होटेलहरु देखि दांग-होलेरी-सुर्पाल हुदै स्वर्गद्दारी मोटरबाटो र भालुबांग-भिंग्री हुदै स्वर्गद्दारी दुवै तिरबाट मोटरबाटो खुलेको छ, जसले आन्तरिक दर्सनार्थीहरुलाई सुलभ र सजिलो बनाई दिएको छ... भारतको उत्तर प्रदेशबाट आउने ठुलो तीर्थयात्री त्यहाको मुख्य दर्सनार्थी मानिन्छन.. उनीहरुको सेवाको लागी दैनिक भिंग्री-कृष्णनगर दिवासेवा बस संचालन गरेको छ ...जय प्रभु महाराज ....!!!!
ReplyDelete