पुरानो कथा हो: एउटा चोर चोरी गर्नको लागि झ्याल चढेर घर भित्र घुस्न लागेको हुन्छ । झ्यालको काठ भाँच्चिएर भूईमा थचारिन्छ । चोरको खुट्टा भाँचिन्छ र उ दोस्रो दिन सिधै अदालतमा घर मालिकलाई मुद्दा हाल्न जान्छ ।
अदालतले घर मालिकलाई तुरुन्तै बोलाउँछ र चोरको क्षतिपूर्तिको लागि आदेश दिन्छ । उल्टो चोरले मुद्दा हालेर फसेको घर मालिक कुनै उपाय न सुझेपछि यो व्यर्थको जिम्मेवारीबाट बच्न झ्याल बनाउने सिकर्मीमाथि दोष थोपर्छ । सिकर्मीलाई बोलाईन्छ, उ पनि आफुले चौकोस खापा सबै राम्रो बनाएको तर डकर्मीले जोडाइ गर्ने बेलामा गाह्रो नराम्रो लाएकोले झ्याल कमजोर भएको दलिल दिएर बच्छ ।
कथामा फेरि डकर्मीलाई पनि बोलाइन्छ । आफ्नो दोष स्वभावगत रूपमा अरूमा थोपर्ने क्रममा डकर्मीले पनि आफूले गाह्रो लगाउन लाग्दा बाटोमा एउटी सुन्दर स्त्री देखेको र त्यसैलाई हेर्दा ध्यान भङ्ग भएर गाह्रो बाङ्गीएको बखान दिन्छ । तुरुन्तै सो स्त्री लाई अदालतमा हाजिर गराइन्छ । चतुर स्त्रीले आफू सुन्दर नभएको तर त्यसदिन एउटा रङ्गीन ओढने ओढेर हिँडेकोले डकर्मीको ध्यान अकर्षण भएको हुनसक्ने बताएर अन्तिम दोष कपडा रङ्गाउने मा पुर्याउँछिन् ।
अन्धेर नगरीको राजमा अन्तमा सो कपडा रङ्गाउने को खोजी गरिन्छ बोलाइन्छ । कथाको अन्तमा गजब मोड आउँछ। त्यो कपडा रंगाउने अरू कोही नभएर चोर स्वयं नै हुन्छ ।
सानैमा पढेको यो कथा मलाई अचेल बारम्बार याद आउन थालेको छ । सुनमा सुद्धता जाँच गर्न नहुने कुरालाई लिएर एक जमात चोरहरू विरोधमा उत्रदाँ होस वा दूधमा फोहर मिसाएर पनि बेच्न पाउने पर्ने अर्का जमात डाँकाको आवाजमा होस। कथामा अबुझ लाग्ने कृत्यहरू अहिले हाम्रो सामु गज्जबले मिल्न आएका छन् ।
कथा पढ्दा अबुझ लागेको थियो, कुरा जेसुकै भएपनि र चोर नै घाइते भएपनि आखिर उ चोर नै थियो र उ कुनै इमानदार आशयले अरुको घरमा छिर्न लागेको थिएन । त्यसैले न्यायको सिद्धान्तमा उ स्वयं दोषी थियो र उसले घर मालिकलाई मुद्दा हाल्न पाउनु नै नपर्ने थियो । तर त्यो चौपट राजमा अगाडि आएको चोरलाई समात्नुको सट्टा उल्टो घर मालिकलाई क्षतिपूर्तिको लगि बोलाइन्छ ।
हामीकहाँ यस्ता चोर र डाकाँहरू अहिले जताततै बिगबिगी छ । कहिले ग्याँस कहिले दूध कहिले पानी त कहिले सुन हरेक बस्तुमा ठगी हुन्छ र उल्टै ठगले यहाँ सरकार हल्लाउँछ ।
कथाको देशमा त कमसेकम त्यसपछिका कारकतत्वको समेत सोधखोज भएको थियो तर हाम्रो देशमा भने सो समेत हुँदैन र जो पहिला ठूलो स्वरले कराउँछ चोर, डाँका, फटाहा, ज्यानमारा जे भएपनि उसैको कुरोमा सरकार झुक्छ ।
कथाको सुरुमा जहाँ सोध खोजको कृत्य हास्यास्पद र बेबुझ देखिए पनि सोध खोज गर्दै जाँदा चोर आफै नै यसमा जिम्मेवार देखिन्छ र उ नै अपराधी ठहरिन्छ हाम्रो वास्तविकतामा भने चोर सधै छुट्छ र हरके ठगी, चोरी र डकैतीमा उल्टो घर मालिक नै दण्डित हुन्छ । कथाको देशमा जहाँ, चोर र अन्य चरित्रसँग कमसेकम अर्को दोस्रो व्यक्तिमा दोष थोपर्दै जाने युक्ति गर्छन् । तर हाम्रो देशमा चोर त्यो पनि गर्दैनन्, उनीहरू सिधै चोरी गर्न पाउनु पर्ने आफ्नो नैसर्गिक अधिकार भएको, डकैती गर्ने छूट प्रकृतिक भएको र ठगी गर्ने कार्य पारम्पारीक व्यापार भएको दलिल दिन्छन् र हाम्रो सरकारले त्यसलाई सहर्ष लालमोहर लगाउँछ ।
सानैमा यो कथा कतै पढ्दा म निकै दिनसम्म कथा सम्झेर हाँसेको थिएँ । यस्तो पनि कहीँ देश हुन्छ र ?, चोर उल्टो न्यायालयमा गएर घर मालिकलाई मुद्दा हाल्ने हिम्मत गर्छ र ? भन्ने कुरा त्यति बेला मलाई अनौठो र हास्यास्पद लागेको थियो । अहिले बुझ्दै छु कथा सहि रहेछ। वास्तवमा चोरले नै ठूलो आवाज गर्दा रहेछन् ।
कथा हास्यास्पद रहेनछ । कथा गम्भीर रहेछ । अत्यन्त अबुझ शैलीबाट घटनाक्रम अगाडि बढेको कथाले अन्तमा यही सन्देश दिदो रहेछ कि यदि खोज-तलास र अनुसन्धान गर्ने हो भने जसले जे-जस्तो दलिल दिए पनि अपराधी आखिरमा अपराधी नै साबित हुनेछ । तर खोज-तलास त सुरू हुनु पर्यो नि । वास्तवमा अन्धेर नगरी कथाको त्यो देश हैन्, वास्तविकताको हाम्रो देश रहेछ । संयोग नै मान्नुपर्छ चोर, फटाहाको एक-पछिको अर्को मागम सहमति जनाउने सरकार प्रमुख हाम्रो देशमा पनि न्यायमूर्ति नै छन् । जसले कथाको अबुझ न्यायाधीशले जस्तो सोध-खोज गर्ने हिम्मत पनि गर्दैनन् । ‘सुनमा मिलावट गर्न पाउनु पर्छ’ – “हुन्छ !” । ‘प्राकृतिक स्रोतको अनियन्त्रित दोहन गर्न पाउनु पर्छ’ – “हुन्छ !” । ‘दूध- पानी- ग्यास आदि यावत अत्यावश्यक कुरामा ठगी गर्न पाउनु पर्छ’ – “हुन्छ !!!” । हामीकहाँ को स्थिति कथाको अन्धेर नगरीको भन्दा नाजुक र गए गुज्रेको छ। यहाँ जो चोर उसकै ठूलो स्वर र जसको ठुलो स्वर त्यही नै ईश्वर हुन्छ ।
कथाको चोर अन्तमा अशोचनीय ढङ्गले आफ्नै जालमा फस्छ तर वास्तविकताका चोरहरू आवाज ठूलो गरेकै भरमा आफ्नो अनैतिक माग र कृत्यहरूलाई वैधानिक बनाउन सफल हुन्छन् ।
स्थिति, परिस्थिति र समय जे जस्तो भएपनि कुनै पनि कृत्य, चर्को आवाज र धम्कीको भरमा अपराधीले छुट पाउनु हुँदैन भन्ने मेरो मान्यता हो । झ्याल फोडेर चोर्न जाने चोर झ्यालबाट खसे, घाइते भए वा मरे नै पनि उ चोर नै हो । त्यस्तै चर्को स्वर, बन्दको धमास वा तालाबन्दीको हौवा जे दिए पनि अपराधी नै हुन र तिनलाई अपराध बोध हुने कार्य राज्यले गराउनै पर्छ । नत्र भोलिका दिनमा चामलमा ढुटो मिसाउन पाउनु पर्ने आन्दोलन होलान व्यापारीले गर्लान, पर्सी बिरामीको अंग प्रत्यङ्ग बेच्न पाउनु पर्ने माग अस्पतालले राख्लान् , अर्को दिन फेरि साँझपरेपछी पाकेट मार्न पाउनु पर्ने माग राख्दै पाकेटमारहरू उत्रेलान् । अनि अगाडिका ‘नजिर’लाई टेकेर हेर्दा तिनलाई ‘हुन्न’ भन्न मिल्ने आधार पनि नभेटिन सक्छ ।
यस्तो क्रम जारी रहे हामीले कथाको राज्यको कुरा गर्ने हैन, हाम्रो देश नै कुनै दिन कथा बन्ने छ । अनि त्यो अन्धेर नगरी र चौपट राजा कुनै अवास्तविक दुँनियाका काल्पनिक स्थान र चरित्र हुने छैनन् । म कथा पढ्छु तर मेरो देशलाई नै कथा बन्ने बाटोमा हिँडन भने दिन्न । कमसेकम मेरो व्यक्तिगत प्रयास भने त्यसमा रहन्छ नै । तपाईँको नि ?
No comments:
Post a Comment