अन्तत: मानसपटलका भावहरू अक्षर बनेर कुनै विधाबाट प्रकट हुन्छन् र लेखक आफैंले आफूलाई एक किसिमको ऋणाबाट मुक्त भएको र हल्का महसुस गर्छ। यसरी कुनै पनि लेखक आफ्नो लेखको प्रथम पाठक मात्रै हैन्, प्रथम विश्लेषक अनि पहिलो ‘टार्गेट’ पनि हुने गर्छ ।
अँ त, विषयमा प्रवेश गर्दा, आजभन्दा करिब पन्ध्र वर्षअघि जानी-नजानी एउटा ब्लग खोलियो र आफ्नो मालिक आफैं, अनि आफैं लेखक, आफैं सम्पादक, आफैं विश्लेषक बनेर करिब ४-५ वर्षसम्म निरन्तर लेखियो। बिचमा त्यही ब्लगका कारण धेरै आत्मिय मित्रहरूसँग परिचय पनि भयो र अरू केही उपलब्धि नभए पनि आफैले आफैलाई परिस्कृत गर्ने र अध्ययनशील बनाउनको लागि ब्लगले धेरै मद्दत गर्यो ।
Samuel Johnson ले कतै भनेका छन्: "What is written without effort is in general read without pleasure."। ब्लग लेखनकालमा सो कुरा प्रष्ट महसुस भयो। सामान्य रहरले सुरु गरिएको ब्लगमा पछि लेख्दै गर्दा आफ्नो पोष्ट आफैंले गुणस्तर निर्धारण गर्न थालियो र एउट पोष्ट लेख्नलाई पनि निकै अध्ययन गर्नुपर्ने भयो । त्यसको असर वा परिणामहरू पनि ब्लगमा देखिएकै थिए। मेहनत गरेर लेखेका लेखहरू धेरै हदसम्म मन पराइए, बाँडिए (चोरिए पनि)।
पछि बिस्तारै काम र पारिवारिक व्यस्तता, अभिव्यक्तिका लागि सामाजिक सञ्जालको सहजता अनि अन्य विविध कारणले (सबैभन्दा प्रमुख कारण “अल्छिपना” नै हो) गर्दा लेख्ने काम कम कम हुँदै शुन्यमा नै झर्यो । त्यो बिचमा मनमा लेख्ने भाव नआएको पनि हैन्, विषयहरू नभएका पनि हैनन् र लेख्नुको कुनै एउटा लक्ष नभएको पनि हैन्, तर ‘जा ! लेख्दिन्’ भन्ने अल्छे भावले सबैलाई पछाडि पार्ने काम गर्यो ।
धेरै साथीहरूले घचघच्याए, भौतिक रूपमा नभेटिएका तर ब्गलकै कारण चिनिएका (कमाईका?) मित्रहरूले लेख्न जारीराख्न भनि रहे। कतिले सोधे, कतिले अनुरोध नै गरे, तल अल्से मनले मनमा लागेका कुरालाई ‘जिप’ गरेर १४०-२४० अक्षरमा ट्वीट गर्ने वा फेसबुकका भित्तामा पेल्ने बाहेकका अन्य काममा सहयोग नै गरेन् ।
एक मनले ‘लेखेर के हुन्छ र?’ भन्ने दह्रो तर्क बनाइसकेको थियो भने, ‘हैन् कहीलेकाहीँ लेख्नु पर्छ’ भन्ने झिनो विचार मनमा कतैबाट चियाउन खोज्दै पनि थियो। बिचमा लेखपढको ‘लेख’ छुटे पनि ‘पढ’सँगको नाता भने अविरल चलिरह्यो ।
‘अब लेख्दिन’ भनेर बसीसकेपछि अचानक कुनै दिन कुनै पत्रिकाका सम्पादकको फोन आउँछ र “तपाईँको फलानो विज्ञानकथा मधुपर्कमा छाप्छौं है ?” भनेर सोधिन्छ। कहिले सामाजिक सञ्जालको सहयताले कोही नव प्रवेशीले सम्पर्क गर्छन् र मेरो कुनै कथालाई ‘शर्ट मुभी’ मा ढाल्ने अनुमति माग्छन्। लाग्छ, मेरा लेखौटहरू लेख्नु अगाडि मात्रै मेरा सोच हुन, लेखिसकिएपछी मेरा जस्तै सोच मिल्नेहरुको साझा चासोको विषय बन्ने रहेछ।
यतै कतै, कसैले मेरो लेख आफ्ना कुनै संग्रहमा छाप्न भन्छन् त कतै जीवनमा कहिल्यै कुनै पनि माध्यमबाट अपरिचितको इमेल आउँछ “तपाईँको ‘स्वर विज्ञान’ पढेर मेरो वर्षौं पुरानो पिनास निको भयो”। मन रोमान्चित हुन्छ,। कुनै अपरिचित व्यक्तिले “तपाईँको एउटा लघुकथा कक्षागत नेपाली किताबको पाठ्यक्रममा राखौं है?” भनेर सोद्धा त मदन पुरस्कार नै पाएको आभास हुन्छ ।
हो, यि र यस्तै विभिन्न परिचित र अपरिचबाट आएका सन्देशहरूले नै हो म भित्रको लेख्ने उर्जालाई सुषुप्त अवस्थामै भए पनि जीवित राखेको । ओशोको कुनै किताबमा पढेको एउटा सानो कथा याद आयो:
अचानक भिडको बिचबाट एकजना सानो बालक बालुवाको थुप्रोबाट एक-एक वटा माछा समाउँदै समुद्रमा फ्याक्दै गरेको देखिन्छ। भिडको बिचबाट एकजना प्रौढ व्यक्तिले त्यो सानि बच्चाको मुर्खतामा हाँस्दै बच्चालाई सोध्छन् :”यहाँ हजारौंको संख्यामा माछाहरू छन्, तिम्ले यसरी एउटा-दुईट माछालाई पनीमा फिर्ता गरेर के फरक पर्छ?” । बच्चा त्यो प्रौढ व्यक्तिलाई फर्केर हेर्दै नहेरी फेरि एउटा माछालाई समातेर समुद्रमा फ्याँक्छ र भन्छ: “यसलाई त फरक पर्यो नि !”।
मलाई प्रष्टै थाहा छ, मेरो लेखौटले हजारौंलाई असर गर्दैन्, सैयौलाई पनि प्रेरित गर्न सक्दैन्। तर हो, माथि लेखे जस्तै कुनै एकजनाको पिनास निको हुनु, कुनै नव प्रवेशीको उत्साह बढाउनु र कुनै नयाँ समूहलाई तरङगीत गर्न सक्यो भने पनि मेरो सुषुप्त उर्जा सधैँ जीवन्त रहने छ।
ऐतरेव ब्राहृमणमा यौटा श्लोक छ:
कलिः शयानो भवति संजिहानस्तु द्वापर ।
उतिष्ठंस्त्रेता भवति कृतं संपद्यते चरन ।। चरैवेति । चरैवेति ।।
अर्थात्: सुतुन्जेल हामी सबऔ कलिमा हुन्छौं, ब्युँझेपछि द्वापर, उठेपछि त्रेतामा र हिँडन थालेपछि सत्य युगमा । त्यसैले केही समयको विश्रामपछि फेरि उठेको छु। अब फेरि हिँड्ने छु। चरैवेति ! चरैवेति !! ।
गज्जब गर्नु भएछ ल
ReplyDeleteGreat job
ReplyDeleteराम्रो'
ReplyDeleteफेरि लेख्न थाल्नुभएको मा बधाई छ
ReplyDeleteनयाँ नयाँ लेखहरू पढ्न पाइयोस्। आगामी लेखन यात्राको शुभ कामना।
ReplyDelete-राजु अधिकारी
worth to read !
ReplyDelete