भाग्यले भनौं वा दुर्भाग्यले हो, गएको एक महिनाको अवधिमा काम, भेटघाट र अन्य कार्यक्रमहरूको सिलसिलामा देशका स्थानीय, प्रदेशस्तरीय र केन्द्रिय नेताहरूसँग भेट्ने तालमेल जुर्यो ।
आम जनमानसले नेता भन्ने बित्तिकै कुन नजरले हेर्छन् भन्ने बारेमा मैले यहाँ चर्चा गरिरहनु परोइन। नेता याने फटाहा, नेता माने भ्रष्ट, नेता मतलब ....। समष्टिमा बदनाम राजनीतिमा सही व्यक्तित्व भेटिँदैन् भन्ने कुरामा नेपाली नजमानस करिब करिब निश्चित नै भइसकेको छ ।
तर आम नागरिकले यसरी सोच्छन् भने, एकजना नेताले नै चाहिँ अर्का नेतालाई कसरी हेर्छन् त?। के राजनीतिको प्रतिस्पर्धामा लाग्ने र सँगसँगै हिँड्ने एउटा नेताले अर्को नेतालाई सही नै देख्छन्, सोच्छन् र स्विकार्छन त ?। बेला-बेलामा यस्तो प्रश्न मनमा आउँथ्यो, तर राजनीतिसँगको लगाव र नेतासँग हिँडे ठूलो भइन्छ भन्ने लघुताभास कहिल्यै नरहेकोले कहिले पनि तिनका वरिपरि बसेर यो कुरा बुझ्ने इच्छा नै भएन। नेता भन्नेका गतिछाडाका बोलीमा ताली बजाउने त कुरै छाडौं, तिनका दुई पैसे बोलीको चिरोधमा शब्द खर्चिनु समेत समयको सत्यानाश सम्झने मान्छेले तिनका बारेमा अध्ययन वा अनुसन्धान गर्नु असम्भव नै हुन्थ्यो । तर माथि नै भनिसकेँ भाग्य वा दुर्भाग्यले तिनका संगत नगरी नहुने परिस्थितिमा देशका सबै स्तरका नेतासँग भेटघाट गर्नुपर्ने बाध्यता आइलाग्यो ।
अँ त, अव अस्विकरणतिर लागौं: “ यस लेखौटमा उल्लेख गरिएका सबै पात्रहरू वास्तविक हुन र तिनका उद्दरणहरू पनि यथार्थ नै, तर म आफू कुनै पनि दलसँग आबद्ध नभएको र मेरो उदेश्य पनि कुनै दल वा व्यक्ति विशेषलाई जुठ्याउने वा चोख्याउने नभएकोले यहाँ कुनै पनि व्यक्ति वा दलको नाम उल्लेख गर्दिनँ”।
अब लागौं कुरोको चुरो तर्फ:
पात्र नं १—ती सबै चोर हुन् ।
करिब एक महिना अगाडि नेपाल देशकै कुनै वडाबाट अघिल्लो पटकको चुनावमा झिनो मतले जितेर एक पदावधी सक्केका तर यस पटक टिकट नपाएर थन्केका ‘युवा नेता’ सँग भेट भयो। यस पटकको चुनावमा उनको स्थानमा प्रतिस्पर्धी अर्कै दलकाले जिते र ती ‘बेरोजगार’ भएका थिए । कुनै जमघटमा अन्य केही व्यक्तिहरूसँग भेट हुँदा, नेपालीको सबैभन्दा सस्तो र लोकप्रिय विषय राजनीतितिर कुरा तन्क्यो। उपस्थित एकजनाले तिनलाई फ्याट्टै सोधिदिए :” हैन्, तपाईँको वडामा त राम्रै थियो क्यार, किन यस पटक उठ्नु भएन?” । “के गर्नु सब चोरै चोर छन्...” तिनले सिधै अति नकारात्मक टिप्पणीका साथ जबाफ फर्काए “...म उठेको भए यस पटक पनि जित्थैँ ... तर चोरहरूले अर्कैलाई टिकट दिए। मलाई उठ्न पनि दिएनन्, पार्टिले नि हार्यो” ।
जनताले नेतालाई चोर देख्न्नु वा भन्नु मेरो लागि नौलो कुरा थिएन, तर एकजना स्थानीय स्तरका नेताले आफ्नै दलका उपल्लो तहका नेतालाई ‘चोर’ जस्तो आलङ्कारिक शब्द प्रयोग गरेर सम्बोधन गर्छन् भन्ने मलाई चाहिँ साँच्चै थाहा थिएन ।
राजनीति जस्तो घटिया विषयमा वार्तालाप धेरैबेससम्म लम्बियो र तिनले उठ्न नपाएको झोकमा होस वा तितो पोख्न पाएको अवसरको सदुपयोगमा होस, निक्कै बेरसम्म आफ्नो पहुँच भएका आफ्ना दलका सबै नेताहरूको बदख्वाईँ गरेर समय बिताए ।
पात्र नं २ – यिनले काम गर्नेलाई दिन्छन् र ?
दोस्रो पात्र, एकजना प्रदेशस्तरीय नेता, मेरो सिधै चिनजान नभए पनि एकजना आफन्तको बिहेको भोजमा ती ‘महामानव’ सँग एउटै टेबुलमा परियो । भर्खरै चुनाव जितेका र हाउभाउ हेर्दा पाए एक्लैले सिँगै देशै चलाउँछु गर्ने, गज्जबको ‘आत्मभ्रम’ पर्दशन गर्दैथे तिनी। ३ जना चिया खान बस्दा त राजनीतिको कुरा गर्ने नेपालीले पहिलो पटक चुनाव जितेका नेता भेटे’सि के गर्थे र ?, कुरा फेरि उही फोहरी खेलतिरै फर्क्यो । कुरैकुरामा एकजनाले “हैन्, तपाईँ जस्तो युवा र योग्य मानिस त मन्त्री हुनु पर्ने नि, किन मन्त्री बन्नु भएन?” भनेर सोधे ।
प्रश्न के निस्केको थियो तिनले उकुसमुकुस भएको कुण्ठा छताछुल्ल पार्दै विषवमन गर्न थाले “बेइमानहरूले के दिन्थे मन्त्री बन्न?, काम गर्नेलाई कसले मौका दिन्छ र... पद त सबै आफ्नो मान्छेलाई मात्रै दिने त हो नि !” उनले त्यसपछि के के भने मैले सुनिनँ... खाना लिने बहानमा म त्यो टेबलबाट उठेँ। तर एउटा कुरा चैँ ‘क्लिएर’ भइसकेको थियो..आम जनताको मात्रै हेन्, आ-आफ्ना दलका नेताको पनि आफूभन्दा माथिका नेताप्रति गज्जबको ‘श्रद्धा’ र ‘आदर’ हुँदो रहेछ ।
पात्र नं ३—यो देश यसै बिग्र्या छ र?
एक हप्ता अगाडि एकजना अघिल्ला दुई भन्दा पनि उपल्लो तहका र अघिल्लो कार्यकालमा १-२ वटा ठुलै पद ‘ओगटी सकेका’ व्यक्तित्वसँग एउटै कोठामा ‘मिटिङ’मा परियो । पात्र चर्तित थिए, हक्की पनि हुन् तर यस पटक भने के ‘गणित’ नमिलेर मिल्काइएका थिए। हरेक वाक्यमा असन्तोष र अप्रसन्नताले बिना कारण पनि आफूभन्दा माथिका ‘लाउके’हरूलाई प्रहार गरिरहेका उनलाई एकजना सहभागीले ‘हैन् ...अब तपाईँ यो प्रदेशको राजनीति छाडेर केन्द्रमा आउनु पर्यो..” मात्रै के भन्या थे ती विष्फोटै भए :” आउन दिन्छन् र ?... काम गर्नेलाई कसले अगाडि बढ्न दिन्छ? उनकै भरौटेहरूले मात्रै हो हो अघि बढ्ने मौका पाउने..” तिनको बोलीमा असन्तोष त थियो नै तर करा सुन्दा यथार्थता पनि त्यत्तिकै थियो । देश यसै बिग्र्या छ र?…” भन्दै तिनले के के भने र कसलाई कसलाई भने भनेर लेखाजोखा गरे यहाँ इमान्दार चैँ तिनै एकजना मात्रै रहेछन् जस्तो देखिन्थ्यो ।
स्मरण सहोस्, माथिका तीनै पात्र देशका भिन्दाभिन्दै दललाई प्रतिनिधित्व गर्ने पात्र थिए र तिनका कुरा सुनेपछि देशको राजनीति धमिलो मात्रै हैन्, लेदो नै भइसकेकोमा कुनै शङ्का रहेन् ...धन्न त्यसपछि ती भन्दा माथिका ‘राजनेताहरू’सँग भेट भएन र मात्रै नत्र तिनेर’ले कस्लाई दोष थोपार्दा हुन् र कोमाथि विषवमन गर्दा हुन् ? ।
देश यसै बिग्रेको छ र ? गजब ।
ReplyDeleteदेशमा सबैको सोच नै यस्तै भईसक्यो कि आफू बाहेक बाँकी अरू सबै खत्तम र विश्वास गर्नै नसकिने छन्। त्यसैले हामी तल तल जाँदैछौं जस्तो लाग्छ दिलिप जी
ReplyDeleteआफु बिग्रिएको कसैले देख्दैन ... दोष सबै अरुलाई थुपार्दा नेपालीहरु गर्व गर्न सिपालु छन ... जनता बिग्रे पछी मात्रै अरु सब बिग्रिने त !
ReplyDeleteI liked your blog, thanks for sharing this
ReplyDelete