पृष्ठभूमि:
केही दिन अगाडि एकजना नजिकको नातेदारको आकस्मिक मृत्यु भयो । मृत्युको खबर सबै परिवार आफन्तमा पुग्यो र त्यसै क्रममा एकजना विदेशमा बस्ने परिवारकै सदस्यले फेसबुकमा सोधिन : “के भएको थियो ?” । दिवङ्गत व्यक्तिलाई वास्तवमै केही भएको थिएन वा देखिने कुनै रोग थिएन । मैले फेसबुकबाटै उनलाई लेखेँ:
“He was suffering from a very lethal disease called 'birth'. After seeing so many such cases, I've now come to the conclusion that 'birth' is the most dangerous disease, because everyone, born has to die ultimately. So, there is no more disease which is dangerous than birth itself.
People suffering from Cancer, DCM or even Aids might be cured, but however and whatever is done anyone who is born has to die without any way-out.”
विषय प्रवेश:
समाजमा सबैले बुझेर पनि अबुझ लाग्ने, ज्ञात भएर पनि अज्ञात लाग्ने र हुनलाई अत्यन्त सामान्य प्राकृतिक प्रक्रिया भएर पनि जहिले पनि घटित हुने बेलामा वा जस-जसको वृत्तमा घटित हुन्छ तीनलाई अत्यन्त अप्राकृतिक लाग्ने एउटा शारीरिक प्रक्रिया छ । यही असामान्य पीडा बोकेर ल्याउने सामान्य घटना नै मृत्यु हो, जसको बारेमा मानिसहरू बोल्न, लेख्न वा सोच्न समेत हच्किने गर्छन् ।
विगतको करिब डेढ वर्षको अवधिमा मैले त्यो असामान्य तर प्राकृतिक घटनालाई एकदमै नजिकबाट व्यहोर्नु पर्यो । वा सामान्य शब्दमा भन्दा, गएको डेढ वर्षको समयावधिमा म आफ्नो परिवार र आफन्तको ४-५ वटा मृत्यु संस्कारमा सरिक हुनुपर्यो । ती मध्य पनि दुईवटा घटनामा म त्यस अबुझ घटनाको प्रत्यक्ष साक्षी समेत बनेँ । अर्थात् मैले हेर्दा हेर्दै वा मेरै आँखा अगाडि दुईवटा जीवन ऊर्जाहीन भएर मृत्युको मुखमा प्रवेश गरे ।