सानैमा सायद पञ्चतन्त्र हो कि कुनै कमिकमा एउटा कथा पढेको थिएँ । कुनै देशमा एकजना ‘महामूर्ख’ राजा हुन्छन् ( राजा र राजनेताको पछाडि यो ‘अलङ्कार’ सायद प्राकृतिक रूपमै युग पर्यन्त स्वतः विभूषित हुन्छन् ) । अँ त, कथाको लम्बाइलाई घटाएर मुख्य अंशमा आउँदा, एकदिन राज्यमा कुनै अपराधी समातिन्छ र उसलाई फाँसीको सजाय सुनाइन्छ ।
अपराधीलाई फाँसी दिन तयार गरिएको ‘मचान’ मा लगिन्छ । तर अपराधी अग्लो भएकोले फाँसी दिने डोरी घाँटीमा हाल्दा पनि उसको खुट्टाले भुइँमा छुन्छ र उसलाई झुन्ड्याउन मिल्दैन । उसै त स्वभावै ले सन्की राजा, त्यसमा पनि महामूर्ख। अपराधी अग्लो भएकोले झुन्ड्याउन नमिलेको कुरा जाहेर नगरी अरू कुनै सजाय दिँदा पछि ‘राज कोप’ सहनु पर्ने गाम्भीर्यलाई मध्यनजर राखेर तीनका भारदार तुरुन्तै राजा कहाँ पुग्छन् । “...महाराज!, अपराधी साह्रै अग्लो भएकोले त्यसलाई फाँसीको ‘तख्त’ मा झुन्ड्याउन सकिएन” । तीनका दिग्गज भारदारले महाराजमा बिन्ती चढाउँछन् । “...अपराधी अग्लो भएर के भो त...”, सिंहासनमा गद्दीसीन महाराज फरमान जारी गरे “... कुनै एउटा होचो मान्छे खोजेर झुन्ड्याउन सक्दैनौ तिमीहरु...जाओ कुनै एकजना होचो मान्छे खोजेर झुन्ड्याओ ...” ।
सायद पाँच वा छ कक्षामा पढने बेलामा यो कथा पढेको थिएँ मैले । समाज, राजनीति र सासक भनेका कस्ता हुन्छन् भन्ने नबुझीसकेकोले त्यतीबेला यो कथा पढ्दा शासन पक्षमा बसेका मानिस यत्तिसम्म मूर्ख हुनै सक्दैनन् र यो नितान्त हास्य कथा मात्रै होला भनेर धेरै दिनसम्म हाँसेको थिएँ ।