Showing posts with label संस्मरण / यात्रा. Show all posts
Showing posts with label संस्मरण / यात्रा. Show all posts

21 August, 2013

यात्रा लुम्बिनीको !

म धेरै पटक पुगेको, तर जत्ति पटक पुगे पनि मलाई फेरि-फेरि जान मनलाग्ने नेपालको कुनै ठाउँ छ भने त्यो लुम्बिनी हो । सुरूमा भगवान बुद्धको जन्मस्थल अर्थात मायादेवी मन्दिर नै त्यस क्षेत्रको मुख्य आकर्षण हुन्थ्यो भने हाल भने करिब ६ किलोमिटर लम्बाइ र २ किलोमिटर चौडाइको विशाल क्षेत्रलाई छुट्याएर त्यहाँ विभिन्न देशले आ-आफ्नै शैलीमा मन्दिर, चैत्य आदि निर्माण गरेपछि लुम्बिनीको सुन्दरतामा नयाँ आयाम थपिएको छ।

कामको व्यस्तताको बीच अगिल्लो हप्ता फेरि मलाई सो पवित्र क्षेत्रको भ्रमण गर्ने मौका मिल्यो । सीमित समय भएकोले सोचे जत्ति मन्दिरहरू हेर्ने मौका मिलेन तर पनि आजको पोस्टमा दर्शन गरेका मध्येका केही मन्दिर र लुम्बिनीको तस्विरहरू बाँड्दै छु । (तस्विर ठूलो आकारमा हेर्न कुनै पनि तस्विरमा क्लिक गर्नुहोला । सो तस्विर आफैँ अर्को पेजमा ठूलो आकारमा खुल्ने छ )

Lumbini (20)

(मायादेवी मन्दिर—जहाँ भगवान बुद्धको जन्म भएको मानिन्छ)

18 July, 2013

प्यूठान—प्रकृतिको आँखीझ्याल !

गएको हप्ता नितान्त व्यस्तताको बीचमा बित्यो । कामको सिलसिलामा धुलो-धूवाँको काठमाण्डौ छाडेर हरियाली र स्वच्छताको गाउँमा पुगेको थिएँ । हो, म काठमाण्डौ देखि करिव चारसय किलोमिटर परको प्यूठान जिल्लाको गोठीबाङ्ग, भिङ्ग्री आदि गाउँमा थिएँ ।

हुन त तस्विर खिच्नको लागि कुनै स्थान विशेष वा ‘स्पट’ थिएन त्यहाँ, तर फोटोमा उतार्नको लागि सुन्दरताको कुनै कमी थिएन । वा भनौ करिब करिब जता फर्कियो उतै कैद गर्न लायक दृश्यहरू थिए त्यहाँ । आजको पोस्टमा त्यही गाउँको हरियाली र माटोको सुवास । तस्बिर ठूलो पारेर हेर्न सोही तस्बिरमा क्लिक गर्नु होला तस्बिर आफैँ अर्को पेजमा ठूलो आकारमा खुल्ने छ ।

Pyuthan (2)

(गाउँको एउटा कुना --  सायद प्रकृति-दर्शनको आँखीझ्याल)

10 June, 2013

साँच्चै स्वर्गजस्तै स्वर्गद्वारी !

कामको सिलसिलामा धेरै पटक करिब २ घण्टा जत्तिको बाटोबाट ओहोर-दोहर गरे पनि म स्वर्गद्वारीको यो पवित्र तिर्थस्थलमा पुग्न भ्याएको थिइन् । भालुवाङबाट करिव ५५ किलोमिटर जत्ति प्यूठानतर्फ लागेपछि प्यूठानकै भीङ्गृ बजार पुगिन्छ । भिंगृसम्म पिच बाटो नै छ भने त्यहाँबाट भने कच्ची बाटोबाट करिब १३ किलोमिटरको बाटो कच्ची तर गाडि चल्ने छ । त्यसपछि भने केही सिँढी फेरि केही कच्ची बाटोबाट उकालो लागेपछि करिब आधा घन्टको हिँडाइमा यो पवित्र मन्दिरको द्वारमा पुगिन्छ ।

तिहारको औँसी, वैशाख पुर्णिमा आदिमा यहाँ विशेष मेला लागे पनि सामान्य यात्रु र धर्माबलम्बीहरूको भीड भने सधैं नै हुने रहेछ यहाँ ।

किम्बदन्ती र पौराणिक आख्यानलाई मान्ने हो पाँच पाण्डवहरूले सीधै स्वर्ग प्रस्थान गरेको मानिन्छ । यसरी सिधै स्वर्गको यात्रा गर्न सकिने यस ‘द्वार’ मा रोल्पा रुम्टीका १०८ महाप्रभु बालतपस्वी नारायण गौतमले १९५१ मा वेदमन्त्रद्वारा अग्नि प्रज्वलित गरी १९५२ वैशाख पूणिर्मादेखि अखण्ड महायज्ञ सुरु गरेको इतिहास छ । त्यसैले यस स्थानको धार्मिक, समाजिक र गहन आध्यात्मिक महत्व रही आएको छ ।

वास्तवमा यस पवित्र तिर्थस्थलको विहानी पूजा, हवन र साझको आरति सहित महाप्रभुले तपस्या गरेको गुफा लगायतका सम्पूर्ण क्षेत्रको अवलोकन गर्ने हो भने पुरै दिनको समय लिएर जानु पर्ने रहेछ । मन्दिरमै रहने, वस्ने उचित व्यवस्था रहेछ तर समयाभावको कारण अर्कोपाला फेरि जाने अभिलाषा सहित यसपाला भने केही तस्विरहरू लिएर फर्कियौँ । आजको पोस्टमा यही पवित्र तिर्थस्थलका केही तस्विरहरू : (तस्बिरलाई ठूलो पारेर हेर्न सोही तस्बिरमा क्लिक गर्नुहोस्, तस्बिरआफैँ ठूलो आकारमा अर्को पेजमा खुल्ने छ )

24 November, 2012

फेरि केही रमाइला संस्मरणहरु !

मेरो विद्यार्थी कन्सेसन

कुरो करिब २ वर्ष अगाडिको हो । त्यति बेला म पब्लिक युथ क्याम्पसमा पढाउथें । प्राय: मोटरसाइकलमा जान्थे । तर एक दिन मोटरसाइकल बिग्रिएको ले बसमा फर्कदेँ थिएँ । बसको कण्डक्टरले पैसा उठाउँदै मेरो सिट सम्म आयो। मेरो सिटको साइडमा एकजना २४-२५ वर्षकी युवती बसेकी थिइन । तिनले आफ्नो विद्यार्थी परिचय पत्र र कन्सेसन काट्दा तिर्नुपर्ने न्यूनतम भाडा कण्डक्टरको हातमा थमाइन् । करिब २५-२६ कै केही शिक्षित जस्तो पनि देखिने कण्डक्टरले उनको त्यो परिचय पत्र हातमा लिएर निक्कै बेर त्यसमा दृष्टि गोचर गर्‍यो र तीनी सँग पुरै पैसा माग्यो । सायद त्यति बेला कन्सेसनमा जम्मा रू. १० मात्रै तिर्नु पर्थ्यो र तीनले त्यत्ति मात्रै दिएकी थिइन ।

उनीहरूको बीच निकै बेर विवाद भयो । ती युवती रू. १० भन्दा बढी तिर्न राजी थिइनन् भने कण्डक्टर पनि पुरै पैसा नलिई नछाड्ने सुरमा थियो । यता कण्डक्टर,“तपाईको यो कार्ड ठीक छैन पुरै पैसा दिनुस !...” कण्डक्टर भने जोड जोडले कराउँदै थियो । ती युवती पनि आफू विद्यार्थी नै भएको दलिल दिँदै थीइन् । सँगैको सिटमा बसेको भए पनि कुरो के थियो मैले चासो लिएको थिइँन। अन्तमा आफ्नो दलिल बलियो गर्न कण्डक्टरले ती युवतिको परिचयपत्र मेरो हातमा थमाउँदै भन्यो “ ल हेर्नुस त तपाईँ पनि ... यो डेट सबै केरमेट गरेको छ...” मैले झ्वाट्ट हेरेँ साँच्चै कार्डमा बहाल रहने मितिमा थाहा हुने गरी नै केरेमेट भएको थियो । “...यो आफैले सच्याएको हैन त ? ...” उसले मेरो समर्थन जुटाउन खोज्यो “अँ ...के हो..?...” फोक्कडको विवादमा किन अलमलिनु भनेर मैले समर्थन न विरोधको बीचको झारा टार्ने प्रतिक्रिया दिएँ ।

16 October, 2012

ढाँटेको कुरा ढाँटेपछि मिल्छ !! (मैले ढाँटेको कथा)

अघिल्लो पोस्टको बाँकी

“…अनि.. एक्लै पो आउनु भएछ त ?...” कुराकानी मिलेको तेस्रो दिन केही सर्जाम जुटाएर घरबेटीकोमा छिर्दा-छिर्दे दुबै बुढा-बुढीले एकैमुख गरेर सोधे । उनीहरूको इशारा सिधै, मेरो हुँदै नभएको श्रीमतीतर्फ थियो । अगाडिका केही दिनका खुराफाती दिनचर्याका कारण केही तयारीका साथ प्रवेश गरेकोले मलाई मुख रातो गर्न वा उत्तर दिन सोच्नु परेन । “...अँ ! यता अलिकता तयारी गरेपछि मात्रै बोलाउँ भनेर ...” । मैले सोचेको थिएँ यत्ति बोलेपछि कमसेकम महिनादिनको लागि अर्को बहाना चाहिँदैन् । “...भर्खर- भर्खरै त बिहे ‘भा होला नि तपाईँको...” घरबेटीको अप्रत्याशित उत्तरले म झस्केँ “...कोठा भइ हाल्यो, सामान भइ हाल्यो ... अब भोलिपर्सि बोलाए भै’गो नि !” । “अँ ....! त्यसै गर्नुपर्ला ... अब ५-७ दिनमा बोलाउनु पर्ला ....” ढाँट्ने प्र्याक्टिस पुरा नभएको ज्ञात भयो, तैपनि घरबेटीको ‘भोलि-पर्सी’ लाई ५-७ दिनमा लम्ब्याउने कोसिस भने जारी राखेँ ।

कोठामा छिरेँ । सामान मिलाउने, अफिसमा सम्पर्क गर्ने र अफिसको गर्नुपर्ने काम निकै थियो । तर दिमागमा भने ‘अब हुँदै नभएको स्वास्नी कसरी यता ल्याउने’ भन्नेमा मात्रै दबाब बन्न थाल्यो ।

अर्को ३-४ दिन यसै बित्यो ...। एक हप्ता बित्न थालेपछि भने घरबाट बाहिर-भित्र गर्दा पनि घरबेटी बुढा-बुढी देखिएलान् भनेर ‘चोर पाइला’ चालेर हिँड्न थालेँ । बाहिर निस्कने बेलामा त ध्यानसँग वरिपरि कोही नभएको मेसो पाएपछि मात्रै ढोका खोल्थेँ । छिर्ने बेलामा भने सधैं ‘रिस्की’ प्रवेश हुन्थ्यो । ढोकामा, भरेङ्गमा वा घर बाहिर कतै तीनले देखेर “खै त?...” भने भने के भन्ने होला भनेर सयौँ जबाफहरू पनि तयारी गर्दै थिए म ।

एक दिन बाहिरबाट घर छिर्ने बेलामा घरबेटी ठ्याक्कै बाहिर निस्कन लागेका रहेछन् । ढोकामा टाउकै ठोक्किएला जस्तो गरेर भेट भयो ...। म सम्भावित खतरालाई मनन गरेर एकदमै हत्तारमा छिरे जस्तो गरि खिसिक्क हाँसेर हत्तपत्त आफ्नो कोठामा छिरेँ । ‘ए बाबा!, चोरकै जस्तो जिन्दगी भयो...’ भन्ने सोचेर खाटमा पल्टिएर अगाडिको लागि योजना बनाउन थालेँ ।

09 October, 2012

डेरा खोज्दाको डायरी !

घरमा हुँदा डेरा चहिएन ( घरमै बस्दा त कसलाई चहिन्छ र ?), पढ्ने बेलमा विदेशीदाँ पनि होस्टेलमा बसियो त्यसैले डेरा भनेको के हो भन्ने कहिल्यै अनुभव भएन । पढाइ सकेर फर्केपछि एक फेरा प्राइवेट अफिसको जागिरे भएर जिल्ला जानु पर्‍यो । जागिर ‘राम्रै’ लागेर खाईयो तर खटिएर नेपालगन्ज पुगिएपछि भने बढो आपत आइलाग्यो । मतलब त्यहाँ तुरुन्तै डेरा खोजेर बस्ने जोहो गर्नु थियो । १-२ दिन धम्बोजी तिरको होटेलमा बसेर बिताइयो तर सधैं होटेलमा बस्ने हो भने त ‘राम्रो’ जागिरको तलबबाट नपुग्ने मात्रै हैन्, घरबाट पैसो लेराएर तिर्नु पर्ने देखिएपछि सुरू गरें डेरा खोज्ने अभियान ।

कुरो करिब १२-१३ वर्ष जत्ती अगाडिको हो । एउटा प्राइभेट अफिसको ‘रिजनल मेनेजर’ भएर नेपालगन्ज पुगेको थिएँ तिन ताका । अफिसले २-३ दिन भन्दा बढीको होटेल खर्च न व्यहोर्ने भए पनि “आ ! खोजेपछि पाइ हालिन्छ नि” भनेर सुरूका २-३ दिन त होटेलमै आराम फर्माएरै बिताईएको थियो । तिथि मिति ठ्या्कै याद नभए पनि गन्तिका आधारमा यस्ता रहेका थिए ती दिनहरु:

पहिलो दिन

टिपीकल नेपाली बानी अनुसार अफिसले होटेल खर्च नव्यहोर्ने दिन सुरू भएपछि मात्रै पूर्ण आत्म विश्वासका साथ होटेलमा नास्ता गरेर निक्लिएँ डेरा खोज्न। २५-२६ वर्षको उमेरसम्म बरू आफ्नै घरमा अरूलाई डेरामा राखिए पनि आफू भने कहिल्यै डेरामा न बसेकोले सुरूमा त कुन घरमा जाने, कोसँग के भनेर कुरा सुरु गर्नेमा नै अलमल पर्‍यो । त्यसमाथि झन् अफिसको ‘टाइट’ बजेटमा धेरै कोठा भएको राम्रो पायक पर्ने स्थानमा विविध सुविधा भएको घर खोज्न निस्केको थिएँ म ।

30 June, 2012

अजब-गजब ढोंगहरू !

ढोंगी समाजमा गजब गजबका ढोंगहरू विद्यमान छन् राजनैतिक ढोंग, सामाजिक ढोंग, पेशागत ढोंग आदि आदि। आज भने म ती सब ढोंग भन्दा पृथक धार्मिक ढोंगको कुरा गर्दैछु । त्यसो त आफूले प्रतक्ष भेट्नु अगाडि पनि यस्ता ढोंगीहरूको बारेमा नसुनेको वा नपढेको भने होइन। तर आफैले प्रतक्ष्य भेटेपछि भने ती ढोंग र धार्मिक ढोंगीका बारेमा नलेखि नहुने भएको छ । त्यसो त धार्मिक ढोंग भित्रै पनि अनगिन्ती ‘ढोंग-कर्महरू’ हुन्छन् तर आज भने त्यसमा पनि धनको लालसा त्यागेका केही महान ढोंगीहरूको चर्चा गर्दैछु:

ढोंगी नम्बर एक: पैसा नछुने-नभइ पनि नहुने: करिब ५-७ वर्ष अगाडिको कुरा हो । तिन ताका एउटा प्राइवेट कम्पनीमा जागिरे थिएँ । कम्पनीका ‘साहू’हरू आफूलाई धार्मिक देखाउन रुचाउथें । एकदिन तिनका गुरुले व्यापार फलाउन-फुलाउन अर्को एकजना घागडान महागुरुलाई ल्याएर पूजा गराउनु पर्ने बताएछन् । नभन्दै एकदिन कार्यालयको ठूलो हलमै रातोवस्त्रधारी महागुरु र तीनका ‘भन्तेहरू’ को लाम लाग्यो ।

ती ‘उपलब्ध’ गुरू सांसारिक विषयबाट माथि उठी सकेका र तीनलाई धनको कुनै मोह नभएको भन्ने कुरा पनि कम्पनीकै साहूको मुखबाट सुनियो । ‘तीनले पैसा नै छुँदैनन्’ भन्ने सुनेपछि भने सुरुमा त मलाई पनि निकै आस्था जाग्यो। तर तिनको क्रियाकलाप सुरु भएपछि भने मनमा चिसो पस्न थाल्यो । दिनभर अनुष्ठान, सङ्ख फुकाइ र घर वरिपरि सवैतिर ‘ध्वजा-पताका’ लगाउने कार्य सुरु भयो । महागुरु कोठै रङ्गभङ्याएर कसैले नबुझ्ने पाठ पढ्थे भने तिनका भन्तेहरू चामल छर्न, घण्ट बजाउन र रङ्गीचङ्गी झन्डाले घर घेर्न व्यस्त देखिन्थे ।

आफूले कहिल्यै नदेखेको महा अनुष्ठान दिनभर चल्ने स्थिति देखेपछि म सोच्न थालेँ “यी महान आत्माले सधैं यस्तै काम गरे भने यीनको र यीनका ‘असिस्टेन्ट’का दिनचर्या कसरी चल्लान र ! ।”, पैसा नै नछुने भनेपछि यीनले आफ्नो सेवा शुल्क र आफ्ना भन्तेहरूका ‘लेवरचार्च’ कसरी जुटाउँदा हुन ? । किनकी पेट त तीनका पनि थिए र खानु लाउनु तीनलाई पनि पर्थ्यो (भलै रातै बख्खु किन नलगाउन) ।

20 December, 2011

चीनका उज्याला रातहरू ….

केही दिन देखि कामको सिलसिलामा चीनमा छु । एकदम छोटो समयको अन्तरालमा आउँदा पनि एकदम ठूलै भिन्नता देखिनु चीनको लागि सायद सामान्य कुरा भइसकेको छ, त्यसैले केही महिनाको फरकमा आइ पुग्दा देखिएका सुधार वा विकासका प्रकटनहरू यहाँ देख्दा भने अचम्म लाग्न छाडेको छ आजकल ।

यस अघि पनि चिनमा आउँदा यताका अनुभवका बारेमा पोस्ट लेख्ने वा तस्बिरहरू बाँड्ने नगरेको हैन्, तर यस पाला भने चीनको रात्रि दृश्यहरू मात्रै समेटेर केही तस्बिरहरू पोस्ट गर्न मन लाग्यो ।

यसैपनि लोडसेडिङगको चपेटामा परेका हामीलाई रातिको झिलिमिलीले मन तान्छ नै, त्यसमा पनि चीनका प्राय: सबै सहर र ठूला ठूला संरचनाका डिजाइन गर्दा आजकल रात्रि दृश्यलाई पनि ध्यानमा राखेर गरिएको हुन्छ, त्यसैले यहाँको रात, दिन जस्तै मात्रै हैन, करिब करिब दिन भन्दा उज्यालो हुन्छ भन्दा पनि फरक पर्दैन ।

आउनुस्, आज केही तस्बिर मार्फत चीनको उज्यालो रात्री जीवन हेरौँ:

13 December, 2011

...स्वर्गादपि गरियसी !

केही समय अगाडि फेरि एक पटक देश दर्शनमा निस्किने मौका मिलेको थियो । ‘मार्ग चित्र’ ले काठमाण्डौ देखि नारायणगढ-बुटवल हुँदै प्यूठानसम्मको यात्रा गराउने कुरा इङ्गित गरेको थियो । २-४ पटक यही रूटमा हिँडी सकेकोले यो बाटोमा केही नौलो कुरा देखिँदैन भन्ने सोचका कारण यस पटक पनि न क्यामरा बोकिएको थियो न त तस्बिर खिच्ने विचार नै थियो।

त्यसो त तस्विर खिच्ने कला नजानेकोले पनि क्यामरा बोक्न अल्छी लाग्छ । ... लाग्छ, म कहिल्यै पनि आफूले देखेकै दृश्य फोटोमा उतार्न सफल हुँदिन । सायद हेरिने कोण, फोटो खिच्ने बेलाको चित्त दशा र प्राकृतिक परिवेश र तस्विर हेर्ने बेलाको मानसिक अवस्था फरक भएर पनि सजीव अस्तित्व निर्जीव फोटोमा अट्दैन होला । तैपनि हरेक पटक ‘केही’ देखेपछि फेरि खिचौं खिचौं हुन्छ र मोबाइलबाटै भएपनि केही तस्विरहरू उतारिन्छन् । यस पाला पनि त्यस्तै भयो .... धेरै पटक हिँडिसकेको त्यही पुरानै बाटोमा एस पटक फेरि धेरै नयाँ कुराहरू देखिए ।

06 December, 2011

....र अनि नदौडेको कथा !

Sleeping (अघिल्लो पोस्टको बाँकी)

...भोलिपल्ट बिहान मस्त निन्द्रामा थिएँ । घर बाहिर एकोहोरो सिट्ठी बजेपछि यसो घडि हेरेको बल्ल सवा पाँच भएको थियो । ‘ह्या ! साँच्चिकै पो आए त !’ भन्ने भाव लिएर जबरजस्ती उठेँ । घरमुनि ‘नयाँ जोगीको बाक्लो खरानी’ भने जस्तै स्पोर्ट्स सुज, ट्र्याकसुट र टिसर्ट आदिमा सज्जिएका ५-७ जना जम्मा भैसकेका रहेछन् । ‘लौ ... अब दौडिनै पर्‍यो’ भनेर बाँकी २-४ जनालाई पनि बटुलेर करिब दर्जनको सङ्ख्यामा हामीहरू “हे !” “हो !” गर्दै टोलको चक्कर काट्न थाल्यौँ ।

जाडो महिना कटि सकेको हुनाले खलखली पसिना आयो । करिब ४० मिनेट जत्ति कहिले हिँड्दै, कहिले दौड्दै र कहिले रोकिदैं गरेपछि उनै ‘स्काउटे साथी’ ले ‘आज यत्ति मात्रै गरौँ’ भनेपछि सबै घर घर लाग्यौँ । घर पुग्दा जिउमा खलखली पसिना आएकोले पहिला त नुहाउने काम भयो । त्यसपछि कोठामा आएर घडी हेर्दा ६ पनि बजेको रहेनछ । अहिले जस्तो टि भी, कम्प्युटर केही थिएन अब के गरेर टाइमपास गर्ने त ? । सोच्दै गर्दा चिसो पानीले नुहाएको जिउले ‘जाडो भयो!’ भन्ने सन्देश दियो । अगाडि, बिहान हत्तार-हत्तार उठ्दाको नपट्याइएको सिरकले पनि ‘च्यालेन्ज’ नै दिइरहेको थियो । तब त के चाहिन्थ्यो । फेरि दोस्रो सीफ्ट सुत्ने बाहेर अर्को कुनै विकल्प पनि रहेन र मज्जाले सिरक ओढेर सुतियो ।

दौडेर आएर थाकेको जिउ, दोस्रो सिफ्ट सुते पछि ठ्याक्कै साढे आठतिर मात्रै बिउँझिएँ (सायद सबैले त्यसै गरे होलान) । यस पटकको कसरत पनि यस्तै रह्यो.... बिहान एक छीन दौडियो अनि दिनभर कसरतको ‘क’ पनि नगर्ने ।

29 November, 2011

मेरो ‘एगसरसाइज’को कुरा …

Eggsercise

(अघिल्लो पोस्टको बाँकी…)

…एक्सरसाइज गर्दा दुईसरसाइज भएर लडेको साथी एक हप्तामै तङ्ग्रियो, तर त्यसको एक महिनासम्म पनि हामीले फेरि कसरत गर्ने कुरो समेत निकालेनौं । हुन पनि करिब हप्ता- दस दिन गरेको कसरतले एक महिनासम्म पनि खुब मस्त निन्द्रा लाग्ने बनाएको थियो शरीरलाई ।

करिब डेढ महिना जत्तिपछि एकदिन फेरि कुरै कुरामा अर्को एकजना स्कुलमा पढ्दा ‘स्काउट’ मा लागेको साथीले ४-५ जना जम्मा भएर व्यवस्थित कसरत गर्ने कुरो निकाल्यो । वास्तवमा त्यो कसरतको लागि भन्दा पनि पट्यार लाग्दो लामो बिदाको ‘टाइमपास’ गर्ने मेसो थियो त्यति बेला । हामी दुई भुक्तभोगीले अघिल्लो पटकको आफ्नो कथा बताएपछि उसले यो सब अव्यवस्थित तरिका अपनाएकोले भएको बताएर सुरुमा हप्तामा ३ दिन, अनि चार दिन गर्दै बढीमा पनि हप्तामा ५ दिन भन्दा बढि शरीरलाई श्रममा लगाउन नहुने बतायो । त्यस बीचमा ‘डाइट’ ले पनि पेल्नु पर्ने र यो सबै मिलेमा मात्रै जिउ बन्ने बतायो । कुरो सुन्दा ‘स्काउट साथी’ को कुरो चित्त बुझ्ने नै लाग्यो र फेरि ४-५ जना मिलेर एकदिन बिराएर सुरुमा हप्तामा ३ फलाम उचाल्ने सहमति भयो ।

हामी दुई सुरुमै आ-आफ्नो घरमा झन्डै-झन्डै ठूलै खप्की खानबाट बचेकाले अर्कै साथीको घरमा सबैले आ-आफ्नो घरमा भएको फलाम, स्प्रिङग, बालुवा भरेको बोरा र ‘नाइनचक्कु’ समेत पुर्‍याएर राख्यौँ । सबै मिलेर २-४ सय पनि उठाएर डाइटको पनि व्यवस्था गरियो । अनि सुरु भयो व्यवस्थित कसरत ! । सुरूमा आइतवार, मङ्गलवार र शुक्रवार मात्रै पसिना बगाउने निर्णय पनि सर्वसम्मतिबाट पारित भयो ।

08 November, 2011

मैले नगरेका कसरतहरू !

Me and he

(यस पोस्टमा लेखिएका सबै घटना र पात्रहरू वास्तविक हुन्। यी घटनाहरू अरू कसैको जिन्दगीसँग मिल्न गएमा सामान्य कुरा र न मिलेमा भने संयोग हुने छ ! Winking smile)

कुरो आजभन्दा धेरै वर्ष अगाडिको हो । एस.एल.सि. सकेर रिजल्ट पर्खने बेलामा समय कटाउन दिनभरि गफ चुटेर बसिन्थ्यो । आजकल जस्तो फलानो, ढिस्कानो कोर्सको बाढी नआइ सकेको हुनाले त्यो समय कसै-कसैले कुनै “भाषा प्रशिक्षण” मा बिताउथे भने अरूहरूको भने अधिकांश समय गफ्फिन मै व्यतीत हुन्थ्यो तिन ताका । एकदिन कुरै करामा घर सँगैको एउटा साथीले यो बीचमा 'जिउ बनाउने' कुरो निकाल्यो । हुन त मन मनमा मलाई आफ्नो दुब्लो पातलो ज्यान केही गरे पनि बन्दैन जस्तो लाग्थ्यो, तर साथीले ‘केही गरे पो बन्छ, गर्दै नगरे के बन्छ र?’ भने पछि लौ त नि, के गर्ने भनेर कुरो बढाइयो । उसले भोलिपल्ट देखि बिहान बिहान ‘एक्सरसाइज’ गर्ने र जिउ बनाउने आइडिया निकाल्यो ।

मेरो घरको पुरानो भँडारमा खानतलासी गर्दा कतै पुरानो एक जोडि डमबेल (Dumbbell) फेला परे भने साथीले एउटा छाती चौडा पार्ने स्प्रिङको बन्दोबस्त गर्‍यो । अनि सबेरै उठेर ताजा अक्सिजन लीन दौडने र साँझमा घरैमा बसेर फलाम उचालेर मसल बनाउने निर्णय भयो । एक मनले त बल्ल बल्ल जाँच सक्केर केही आरामले सुत्न पाइएको छ, कहाँ फेरि बिहान बिहानै उठ्ने जस्तो लागेको थियो । तर फेरि उसको ‘४-५ महिना अलिकता समय बिताए कलेज जाने बेलामा हिरो जस्तो जीउडाल बन्ने’ भन्ने आकर्षक प्रलोभनले पनि उक्साइ रहेको थियो ।

25 August, 2011

चीन यात्रा - केही संस्मरण, केही सम्झना -

करिब तीन हप्ताको चीन यात्रा सकेर भर्खरै घर फर्केको छु । तीन हप्ताको समयमा धेरै कुराहरूको अनुभव र अनुभूति भयो र प्रसङ्ग मिलाएर लेख्ने हो भने यी यात्रानुभूतिको निकै लामो खाका तयार होलान् । अघिल्लो पोस्टमा केही तस्विरहरू बाँडेको थिए भने पछिका कुनै पोस्टमा अरू तस्विरहरू राख्नेछु । आजको पोस्टमा भने केही क्रम रहित र अनौपचारिक संस्मरणहरू राख्दै छु :

चीनको विकास र हाम्रो दुर्भाग्य !

हुन त अध्ययन र कामको सिलसिलामा धेरै वर्ष रहेको र धेरै पटक गएकोले चीन मेरो लागि नौलो नहुनु पर्ने हो । तर अविश्वसनीय रफ्तारका साथ विकासमा लागेकोले केही महिनाकै फरकमा गए पनि मैले सधैँ त्यहाँ नयाँपन र परिवर्तनको आभास पाउने गरेको छु । फराकिला सडक र गगनचुम्बी घरहरूले मात्रै हैन, चिनियाँ जनताको जीवनशैली र वैचारिक परिवर्तनले पनि चीन विकासको लामै फड्को मार्दैछ भन्ने प्रष्टै महसुस हुन्छ । माओले बाधेको अनुशासनमा तङ स्वाउ फिङले खोलेको वैदेशिक द्वार र विकासको नीतिले खुल्दै गएको चीन आजको दिनमा आइपुग्दा साँच्चै ‘नयाँ चीन’ भइसकेको छ ।

पुरानो चीन कस्तो थियो भन्ने राम्रो नदेखे पनि कस्तो हुँदै यस्तो भयो भन्ने चाही आफैले देखेकोले चीनको यो परिवर्तन साँच्चै अनुकरणीय छ । बेला बखत चिनिँया साथीहरूसँग कुरा गर्दा म उनीहरूलाई यो परिवर्तनको कारक तत्वको बारेमा सोध्ने गर्छु। शब्द वा भाषागत स्वरूपमा केही भिन्नता भए पनि प्रायः सबैले दिने जबाफ निम्न अनुसार हुने गर्छन :

12 March, 2011

Random Clicks~केही मोबाइल फोटोहरू !!

अघिल्लो २ हप्ता निकै व्यस्त रहियो । ब्लग लेख्ने वा हेर्ने त कुरै छाडौँ, केही दिनको लागि त इन्टरनेट र कम्प्युटरको पहुँचसम्म थिएन । कामको सिलसिलामा फेरि 'देश दर्शन' मा हिँडेकोले इन्टरनेट र करिब करिब समाचारको दुनियाँबाट समेत केही हदसम्म टाढिएको थिए ।

सामान्यतया पढ्ने वा नयाँ कुराको जानकारी राख्ने बाहेक अरू सोखहरू कम हुँदै गएको र समाचार र जानकारीका लागि छापा वा कागजी किताब भन्दा अन्तर सञ्जालमै निर्भर रहने बानी पर्दै गएकोले सूचना प्रविधिबाट टाढा हुँदा केही खालीपन हुने भएपनि प्रकृतिसङ्ग भने झनै निकटता बढ्ने स्थानहरूमा पुग्दा त्यसको छुट्टै स्वाद मिल्ने पनि गर्छ ।

तथाकथित सहरी जीवन र धूलो-धूवाँबाट पर, केही दिनकै लागि भएपनि प्रकृतिको निकट पुग्दा चल फिर गर्ने प्राणी मात्रै हैन, हिमाल, पहाड र नदि नालामा समेत अभेद्य वा अदृश्य जीवन लुकेको आभास हुन थालेको छ अचेल।

चेतनाको स्तर वा आयाम फरक होलान्। तर रूख बिरुवाले अनुभूति, पहाडले अभिव्यक्ति र नदिले ईशारा गर्छन भनेर कसैले भन्यो भने अचेल मलाई विश्वास गर्न गाह्रो नलाग्न थालेको छ । भौतिक विज्ञानले चेतनाको सुक्ष्मतम अभिव्यक्तिलाई समेत पदार्थकै दर्जामा राखे पनि आध्यात्मिक दृष्टिबाट हेर्ने हो भने 'पदार्थ' भनेर किटिएका हरेक तत्वमा पनि चेतनाकै चरम अस्तित्व भेटिन्छ । सायद यस्तै प्रतिनिषेधात्मक र अन्तर्विरोधात्मक परिस्थितिको बीचको तालमेललाई एउटै सूत्रमा उनेर ओशोले कतै भनेका छन :" पकृति परमेश्वरको देखिने अंश हो र परमात्मा प्रकृतिको अदृशय भाग" ।

15 December, 2010

आकाशे यात्रा र वैभवशाली हिमालहरु

लेख्ने मुड र विषयहरू प्रशस्तै हुँदा हुँदै पनि समयको उचित व्यवस्थापन नहुँदा यसपाला केही लेख्न भ्याइएन । मनमा भएका विषयहरु फुर्सद हुने बेलासम्ममा 'बासी' भएनन् भने पछि लेखौँला भन्ने विचार गर्दै यसपाला भने केही तस्विरहरुले ब्लग भर्दै छु ।

यही डिसेम्बर महिनाको ७ तारिख देखि चिनको यात्रामा निस्केको थिएँ । काठमाण्डौँबाट ल्हासा उड्ने जहाजको उडान समय जम्मा एक घण्टा मात्रै हुने भएपनि मौसम राम्रो भएको अवस्थामा त्यो एक घण्टा आँखा नै झीम्क्याउन नभ्याउने गरि वैभवशाली हिम श्रीङ्खलाहरु को दर्शन हुन्छ । त्यसपछि ल्हासाबाट छङ्तु जाने उडानबाट पनि अनगिन्ती थुम्काहरु देखिन्छन् । क्यामरा नबोक्ने पुरानो बानीका कारण यसपाला पनि त्यो वैभवलाई केवल मोबाइलको सहारामा कैद गर्ने प्रयास गरीयो । आउनुस आजको पोस्टबाट तपाईँ पनि आकाशे यात्रा गर्नुस (तस्विरहरु ठूलो गरेर हेर्न कुनै पनि तस्विरमा क्लिक गर्नुहोला--तस्विर आफैँ अर्को पेज वा ट्याबमा ठूलो आकारमा खुल्ने छ)

11 November, 2010

मेरो देश ! सुन्दर देश !!

तिहारको ठ्याक्कै अगाडि कामको सिलसिलामा म काम गर्ने कार्यालयको एउटा टोली ‘देश दर्शन’ मा निक्लेको थियो । भ्रमणको मुख्य उदेश्य काम नै भएकोले घुम्ने ‘मुड’ र तयारी दुवै थिएन । त्यसैले सुरुमा हिँड्दा छिटो काम सक्केर छिट्टै फर्कने सहमति बनेको थियो । पोखरा-बाग्लुङ हुँदैँ बेनीसम्म पुगेर त्यहाँबाट फेरि बुटबल-भालुबाङ हुँदैँ रोल्पाको सिमानासम्म पुग्ने कार्यक्रम बनेको थियो । करिब ४-५ दिन लाग्ने सो भ्रमणमा सबैजना छिटो काम सकेर काठमाण्डौको धूलो-धूवाँमै तुरुन्तै फर्केने मुडमा भएका र १-२ दिन ढिला भएमा तिहार छुट्ने सम्भावना रहेकोले सबैजना कतै- कुनैपनि ठाउँमा नअल्मल्लीने र सिधा काम सकेर फर्कने अघोषित सहमतिमा घरबाट हिँडेका थिए ।

तर काठमाण्डौँको  धूलो-धूवाँबाट बाहीरिने बित्तिकै सबैलाई आफ्नो सहमति र ‘पूर्व सर्त’ मा पछुतो लाग्न थाल्यो । केही दिन अगाडि निक्लेको भए वा केही दिनको ‘मार्जिन’ राखेर निक्लेको भए कामको साथ-साथै अलिकता प्राकृतिक सुन्दरताको रसपान गर्न पनि मिल्थ्यो भनेर सबै जनालाई चेतना भयो । सुरुमै समय सिमा तोकेर निस्केकोले समय बढाउन सम्भव थिएन तर ‘टाइट-सेड्युल’ लाइ गर्न मिल्ने हदसम्म ‘लुज’ गर्ने प्रस्ताव गाडीमै सर्वसम्मतिमा पारित भयो ।

धेरै घुमफिर नगरे पनि कुनै सुन्दर दृश्य भएको ठाउँमा गाडी रोकेर तस्बिर खिच्ने सहमति भएपछि केही ठाउँमा गाडी रोकिए र फोटो खिच्ने अन्धधुन्द उपक्रमहरु हुन थाले। उसैपनि तस्बिर खिच्ने कौशल नभएको, ‘काम’ मात्रै गरेर फर्कने मनस्थितिमा भएको र क्यामेर बोकेर हिँडन अल्छि लाग्ने स्वभाव भएकोले मैले भने क्यामेरा समेत बोकेको थिईन। तर बाटोमा यस्ता यस्ता दृश्यहरु देखिए जसलाई  देख्ने बित्तिकै अनायस सबैको मुखबाट "वाह!", "आहा!!" निक्लन थाले । ती दृश्यहरुलाई तस्बिरमा नउतार्दा ती दृश्यकै उपहास गरेको ठहरिएला जस्तो लाग्न थाल्यो । सबैजना आ-आफ्ना साथमा भएका क्यामरा, मोबाइल आदि लिएर फोटो उतार्न मस्त भएपछि मैले पनि आफ्नो मोबाइलको सहाराबाट केही फोटोहरू कैद गरेँ । 

10 August, 2010

केही रमाइला संस्मरणहरु !

कथा, कविता, व्यङ्ग्य आदि ब्लगमा चली नै रहन्छन् । आज केही फरक कुरा लेख्ने जमर्को गर्देछु । ‘लेख्ने’ भन्दा पनि यो वास्तवमा ‘लिपिबद्ध’ गर्ने काम मात्रै हो । किनकि यी सबै सत्य घटना नै हुन । जीवनमा कहिलेकाहीँ केही यस्ता घटनाहरू घट्छन् जुन अनौठा र रमाइला हुन्छन् । आजको पोस्टमा मेरा यस्तै केही रमाइला संस्मरणहरु:

कथा हेलमेटको:

कुरा करिब ५ वर्ष जत्ति अगाडिको हो । तीनताका मेरो अफिस सातदोबाटो नजिकै थियो । एकदिन अफिसबाट फर्कने क्रममा कुपण्डोल स्थित एकजना साथीको अफिसमा गएको थिएँ ।

म सातदोबाटोबाट कुपण्डोल पुग्दा करिब साढे चार बजेको थियो। म आफ्नो मोटरसाईकल साथीको अफिस मुनि रोकेर, हेल्मेट बोकेरै साथीको अफिसमा उक्लेँ । करिब आधा घण्टा पछि हामी दुवै उसको अफिसबाट निस्क्यौँ र  आ-आफ्नो घरतर्फ लाग्यौँ ।

मेरो घर गहना पोखरीमा भएकोले म कुपण्डोलबाट बाग्मती पुल, थापाथली हुँदैँ पुतली सडकको बाटोबाट घरतर्फ लाग्दै थिएँ । बागबजारको बाटो काटेर कमल पोखरी तिर अलिकता अगि बढ्ने बेलामा मलाई बाटो छेउमा रहेका एकजना ट्राफीक प्रहरीले बाईक रोक्न इसारा गरे।  त्यो कुनै नियमित चेक जाँच थिएन र मलाई मात्रै रोक्न भनिएको थियो ।

24 December, 2008

एउटा मौन यात्रा !

पहिला यौटा कथा:

ओशोको कुनै किताबमा पढेको थीएँ :-

तीनजना ध्यानीहरु एकान्तमा बसेर ध्यान गर्न भनेर कुनै जंगलमा गएछन । अनी जंगलमै आसन जमाई मौन ध्यानमा मस्त डुबेछन । त्यस्तैमा करिव छ महिना बितेछ । छ महिना पछि एकदिन उनिहरु ध्यान गरिरहेको स्थान नजिकै यौटा बाघ आएछ। बाघ एकैछिन उनिहरुको वरिपरि घुमेर कसैलाई केहि नगरी फर्केछ ।

त्यसको करिव छ महिना पछि तीनजना मध्यका एकजना ध्यानीले भनेछ: “वाह! कत्ति शुन्दर बाघ थियो! ” । त्यसको करिव एक बर्ष पछी दोस्रो ध्यानीले भनेछ: “धेत्! त्यो कहाँ बाघ हुनु, त्यो त चितुवा थियो” । अनी त्यसको छ महिना पछि तेस्रो ध्यानीले भनेछ: “तिमिहरु दुई जना कत्ती हल्ला गरिरहेको, तिमिहरु यस्तै वक-वक गर्ने हो भने म अन्तै गएर ध्यान बस्छु …… ”

अब मेरो कुरा:

अघिल्लो हप्ता करिव करिव माथिको रुपक जस्तै घटना आफैंसग घटेकोले यो यहा राख्‍दैछु:

16 December, 2008

फ्लिम नगरीमा एक दिन!

करिव २ बर्ष देखी दक्षिण भारतमा बसेर पनि म यहाको प्रसिद्ध फ्लिम नगरी, “रामोजी फ्लिम सिटि” मा भने गएको थिईन । यसको बारेमा चर्चा-परिचर्चा सधैं सुने पनि, आफुलाई फ्लिमप्रति खासै आकर्षण नभएकोले म त्यहा नगएको हो। हालसालै यसले विश्‍वको सबैभन्दा ठुलो चलचित्र निर्माण कम्प्लेक्सको रुपमा Guinness World Records मा नाम दर्ता गराईसकेको कुरा पनि प्रामाणिक रुमपा थाहा भएपछि भने म पनि लागें एक दिनको घुमघाममा ।

आन्ध्र प्रदेशको राजधानि हैदराबादबाट करिब २५ कि‍ मि जत्ति टाडा रहेको यो फ्लिम सिटि १६६६ एकडको क्षेत्रफलमा फैलीएको छ र यहा भीत्र यसको नाम जस्तै यौटा शहरमा हुनुपर्ने सबै कुरा (असली वा नक्कली) छ।

फ्लिमको छाँयाङ्कन देखी, ईडिटिङ, डबिङ, साउण्ड मिक्सिङ, रेकर्डीङ लगाएत सम्पूर्ण सुबिधा युक्त यो फ्लिम नगरी १९९६ देखी खुला भएको हो । हाल यसलाई फ्लिम निर्माण साथै पर्यटनस्थलको रुपमा पनि बिकास गरीएको छ र दैनिक हजारौंको संख्यामा दर्शकहरु आउने गर्छन ।

18 November, 2008

एउटा अर्को गान्धि !

Arko Gandhi (1)दुब्लो, पातलो शरिर, उचों कद अनी हातमा यौटा लामो डोलो लौरो; टाढाबाट हेर्दा मात्रै होईन नजिकै बाट हेर्दा पनि माहात्मा गान्धिकै प्रतिरुप झै देखिने यि व्यक्तिलाई मैले देख्‍न थालेको करिव दुई बर्ष जत्ती भयो ।

दक्षीण भारत, आन्ध्र प्रदेशको चित्तुर जिल्लामा तिरुपातिको सडकमा यि व्यक्ति घाम-पानी, जाडो-गर्मी सधैं यहि हालतमा भेटिन्छन । यिनको जिउमा सधैं पाईपमा लगाईने सिल्भर कलर लगाईएको हुन्छ र दिनभरि जस्तो यिनि बसस्ट्याण्ड वरिपरिको सडक पेटी वा छेउछाउमा कतै यसरी नै बसेका हुन्छन् । बाटो हिड्ने मानिसहरु उनलाई हेर्छन, अनी अनौठो मान्छन् । कामको सिलसिलामा त्यो स्थानमा जाँदा-आँउदा धेरै पटक यि व्यक्तिलाई देखेर मेरो मनमा पनि कौतुहल जागेको थियो किन त्यो मानिस त्यसरि बस्छ त?।

धेरै स्थानीय व्यक्तिहरुलाई पनि सोधें, कसैले भने त्यो पागल हो, कसैले सन्कि त कसैले केवल भीखारिको संज्ञा दिए । मलाई भने त्यो मानिससंग आफै कुरा गर्ने रहर थियो। आफूलाई स्थानीय भाषा (तेलुगु) नआउने र नेपालमा हाम्रा उपराष्ट्रपतिले ‘सबैले बुझ्ने भनेर’ हिन्दि बोले पनि दक्षीण भारतमै हिन्दी अधिकांश मानिसले नबुझ्ने भएकोले ति व्यक्तिसंग मेरो सिधा कुरा हुनु त्यति सम्भव थिएन, अनी कहिले समय नमिल्ने कहिले ति व्यक्ति नै भेट नहुने भएकोले यो वार्तालाप हुन पाएको थिएन ।