कामको सिलसिलामा धेरै पटक करिब २ घण्टा जत्तिको बाटोबाट ओहोर-दोहर गरे पनि म स्वर्गद्वारीको यो पवित्र तिर्थस्थलमा पुग्न भ्याएको थिइन् । भालुवाङबाट करिव ५५ किलोमिटर जत्ति प्यूठानतर्फ लागेपछि प्यूठानकै भीङ्गृ बजार पुगिन्छ । भिंगृसम्म पिच बाटो नै छ भने त्यहाँबाट भने कच्ची बाटोबाट करिब १३ किलोमिटरको बाटो कच्ची तर गाडि चल्ने छ । त्यसपछि भने केही सिँढी फेरि केही कच्ची बाटोबाट उकालो लागेपछि करिब आधा घन्टको हिँडाइमा यो पवित्र मन्दिरको द्वारमा पुगिन्छ ।
तिहारको औँसी, वैशाख पुर्णिमा आदिमा यहाँ विशेष मेला लागे पनि सामान्य यात्रु र धर्माबलम्बीहरूको भीड भने सधैं नै हुने रहेछ यहाँ ।
किम्बदन्ती र पौराणिक आख्यानलाई मान्ने हो पाँच पाण्डवहरूले सीधै स्वर्ग प्रस्थान गरेको मानिन्छ । यसरी सिधै स्वर्गको यात्रा गर्न सकिने यस ‘द्वार’ मा रोल्पा रुम्टीका १०८ महाप्रभु बालतपस्वी नारायण गौतमले १९५१ मा वेदमन्त्रद्वारा अग्नि प्रज्वलित गरी १९५२ वैशाख पूणिर्मादेखि अखण्ड महायज्ञ सुरु गरेको इतिहास छ । त्यसैले यस स्थानको धार्मिक, समाजिक र गहन आध्यात्मिक महत्व रही आएको छ ।
वास्तवमा यस पवित्र तिर्थस्थलको विहानी पूजा, हवन र साझको आरति सहित महाप्रभुले तपस्या गरेको गुफा लगायतका सम्पूर्ण क्षेत्रको अवलोकन गर्ने हो भने पुरै दिनको समय लिएर जानु पर्ने रहेछ । मन्दिरमै रहने, वस्ने उचित व्यवस्था रहेछ तर समयाभावको कारण अर्कोपाला फेरि जाने अभिलाषा सहित यसपाला भने केही तस्विरहरू लिएर फर्कियौँ । आजको पोस्टमा यही पवित्र तिर्थस्थलका केही तस्विरहरू : (तस्बिरलाई ठूलो पारेर हेर्न सोही तस्बिरमा क्लिक गर्नुहोस्, तस्बिरआफैँ ठूलो आकारमा अर्को पेजमा खुल्ने छ )